मकवानपुर । मकवानपुरगढी गाउँपालिका स्थित कार्की खाेलाले बगाउँदा १ जना बेपत्ता भएका छन् । मकवानपुर प्रहरीका अनुसार मकवानपुरगढी –२ तल्लो छापस्थित उक्त खोलाले बगाउँदा १ जना बेपत्ता भएका हुन्।
इलाका प्रहरी कार्यालय मकवानपुरगढीका अनुसार तल्लो छाप बस्ने २५ वर्षीय विनोद बम्जन ७ नम्बरकाे सुकौरा तर्फबाट घर फर्कने क्रममा खोलाले बगाएको हो । ह्युमपाइप राखेर आवतजावत गर्ने गरिएको कार्की खोलामा शुक्रबार दिउँसो पानीको बहाव बढ्दा बम्जनलाई बगाएकाे बताइएकाे छ । प्रहरी निरीक्षक बिरेन्द्र रायमाझीसहितकाे प्रहरी टोली स्थानीयवासीसहित घटनास्थलमा खोजतलास कार्य सुरू गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट करिब ७ किलोमिटर उत्तरतर्फ पर्छ। हालसम्म बम्जनको अवस्था थाहा हुन नसकेको र खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रजनन स्वास्थ्यकालागि पत्रकार महासंघ मकवानपुरद्वारा कोष स्थापना
Tags: No Comments
मकवानपुर । पत्रकारिता क्षेत्रमा संलग्न पत्रकार महिलाहरुको लागि नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले प्रजनन स्वास्थ्य तथा सुरक्षित सुत्केरी प्रवर्द्धन कोष सुरु गरेको छ । महासंघले बिहीबारबाट औपचारिक रूपमा यो कार्यको शुभारम्भ गरेको हो।
महिला पत्रकारहरूको प्रजनन स्वास्थ्य उपचार र सुरक्षित सुत्केरी प्रवर्द्धनका लागि सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको कोषको हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको हो । कोषका लागि उपमहानगरपालिकाले ५ लाख रुपैयाँ अनुदान व्यवस्था गरेसँगै कोषको शुभारम्भ गरिएको हो ।
नगर प्रमुख लामाले महिला पत्रकारहरूको प्रजनन स्वास्थ्य र सुरक्षित सुत्केरीका लागि महासंघले यस्तो कोष स्थापना गर्नु प्रशंसनीय भएको बताइन् । उनले उपमहानगर महिलाको विषयमा निकै संवेदनशील रहेको उल्लेख गर्दै यो कोषले महिला पत्रकारहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन् । उनले कार्यक्रमकैबीच कोषमा व्यक्तिगत रुपमासमेत १० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरिन् ।
यसैगरी उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले महिला पत्रकारहरूका लागि यो कोष सञ्चालन गर्नु ऐतिहासिक कदम भएको धारणा राखे । राज्यले महिलालाई प्राथमिकतामा राखेर काम गरिरहेको सन्दर्भलाई जोड्दै उनले उपमहानगरपालिका पत्रकारका सबै खालको हितमा सहयोग गर्न सधैं तयार रहेको बताए । उपप्रमुख बानियाँले पनि व्यक्तिगत तर्फबाट कोषमा १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।
त्यसैगरी, महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी र ब्रोडकस्टिङ एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष उज्ज्वल चौलागाईंले पनि कोषमा १०/१० हजार रुपैयाँ सहयोगको घोषणा गरे । कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप विष्ट र पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान उपाध्यक्ष सम्झना कार्कीले २/२ हजार रुपैयाँ सहयोग गरे ।
यसका साथै महासंघ मकवानपुर शाखाको कार्यसमितिबाट ११ हजार संकलन गरी कोषमा राखिएको छ । कोषले मकवानपुरका महिला पत्रकारहरूको प्रजनन स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ । कार्यक्रममा स्वास्थ्यकर्मी महासंघ मकवानपुरको तर्फबाट पत्रकार महासंघका लागि महिनावरी प्याड, सुत्केरी महिला पत्रकारका लागि खाद्य सामग्री प्रदान गरिएको थियो । सहयोगी मन नेपालले पनि महासंघलाई ब्लड प्रेस नाप्ने उपकरण सहयोग गर्नुका साथै प्रत्यक सुत्केरी पत्रकारलाई ५ लिटर तेल सहयोग गर्ने घोषणा गरेको छ ।
साथै महासंघले बिहीबार तीज विशेष कार्यक्रम समेत आयोजना गरेको अध्यक्ष बालकृष्ण अधिकारीले बताए ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो मनहरी–६,हाङलाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
चट्याङ लागेर मनहरी–६, दैलीडाँडाका ४२ वर्षीय विशालको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी चट्याङ लागेर ७ जना घाइते भएका छन् । घाइते हुनेमा मनहरी ६ का १२ वर्षीया वर्षा घलान, १२ वर्षीय सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेम बहादुर घलान, ३७ वर्षीय राजकुमार घलान छन् यसैगरी चितवन जिल्लाको राप्ति नगरपालिका–११ का ४७ वर्षीय पान बहादुर मोक्तान समेत घाइते भएका छन् ।
घाइतेहरुकाे अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ । घेवा (किरिया) भइरहेकै ठाउँमा परेको चट्याङका परेकाे बताइएकाे छ । प्रहरीका अनुसार घाइतेहरुको उपचार मनहरी अस्पतालमा भइरहेकाे छ ।
मकवानपुर । अखिल नेपाल महिला संघ (अनेमसंघ), मकवानपुरले महिलामैत्री कानुन निर्माणको माग गरेको छ ।
बुधबार अनेमसंघ मकवानपुरले सरकारले निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी छुट दिने गरी कानुनको मस्यौदा तयार गरेको प्रति विरोध जनाएका हुन् । नीतिगत सुधारको पक्षमा दबाबमुलक कार्यक्रमदेखि, महिला सशक्तिकरणका लागि लड्दै आइरहेको संघले उक्त कार्य गैरजिम्मेवारपूर्ण तथा आपत्तिजनक रहेको ठहर गर्दै प्रस्ताव तत्काल रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएको हो ।
पितृसत्तात्मक सोच र संरचनाको अन्त्य गर्न प्रभावकारी कानुन निर्माणको माग गर्दै अनेमसंघले एक ज्ञापनपत्र सरकारसमक्ष पेस गरेको छ । संघले जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत सरकारलाइ ज्ञापनपत्र बुझाउँदै महिलाहरूले पितृसत्तात्मक भूमिकाको अन्त्यका लागि लामो समयदेखि संघर्ष गर्दै आए पनि व्यावहारिक रूपमा अझैसम्म अपेक्षित सुधार नआएकोमा गम्भीर चिन्ता व्यक्त गरेको छ ।
“महिला संघले २०७५ भदौ १ गतेदेखि पूर्णतया निषेध गरिएकोे मुलुकी अपराध संहिता २०७४ लाइ संशोधन गरी निश्चित परिस्थितिमा बहुविवाह गर्न पाउने कानुन ल्याउन लागेको विषयले सम्पूर्ण नेपालीको ध्यानाकर्षण गरिएको छ ।” ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा हालको सरकारले यस अघि लागू गरेका कानुनलसमेत पितृसत्तात्मक सोचलाई प्रश्रय दिएको र महिलामाथिको हिंसा तथा विभेदलाई कानुनी संरक्षण मिलिरहेको उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझाउँदै संघकी अध्यक्ष सुमित्रा काफ्लेले महिलामाथिको विभेद अन्त्य गर्न बनेका कानुनहरू व्यवहारमा लागु नभएको र महिलाको अधिकार सुनिश्चित गर्न संशोधित कानुन तुरुन्त कार्यान्वयनमा ल्याउनुपर्ने बताइन् ।
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । मकवानपुरगढी गाउँपालिका-५ बुङदलमा मानबहादुर शिवभक्तीले घाँटी थिचेर श्रीमतीकाे हत्या गरेका हुन् ।
माइतीमै बस्दै आएकी ४० वर्षीय दुर्गालक्ष्मी शिवभक्तीलाई शनिबार बिहान ४५ वर्षीय मानबहादुरले हत्या गरेकाे मकवानपुर प्रहरीले जनाएकाे छ । दुर्गालक्ष्मी उच्च रक्तचापका कारण प्यारालाइसिस भइ बोल्न समेत नसक्ने अवस्थामा रहेकाे बताइएकाे छ । दुर्गालक्ष्मीको हत्या गरी मानबहादुरले आत्महत्या प्रयास समेत गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मानबहादुरले आत्महत्या गर्न प्रयोग गरेको डोरी चुँडिएपछि प्रहरी समक्ष आत्मसमर्पण गरेकाे मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएकाे छ ।