मकवानपुर । मकवानपुरको मनहरी ज्यामिरेमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो मनहरी ९ ज्यामिरे स्थित पुर्व पश्चिम सडकखण्डमा हेटौडा बाट चितवनतर्फ जादै गरेको ना ४ ख ८९२१ नम्बरको ट्रक र मनहरीबाट ज्यामिरे तर्फ जादै गरेको ना ४६ प ६०२८ नम्बरको मोटरसाइकल ठोकिएर भएको दुर्घटनामा मोटरसाइकल चालक सुर्य बहादुर मोक्तानको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक मनहरी ७ बस्ने ४० वर्षीय मोक्तान घाइते भएकोमा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते मोक्तानलाई मनहरी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि भरतपुर रिफर गरिएको थियो ।
दुर्घटना भएको स्थानमा बाटो अवरोध नभएको तथा मोटरसाइकल ट्रक र ट्रक चालक हेटौडा ११ थानाभर्याङ बस्ने ५४ वर्षीय बुद्धि बहादुर स्याङतानलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि निर्वाचन प्रहरी भर्ना प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।
देशभरका जिल्ला प्रहरी कार्यालयहरूले आ-आफ्नो कोटा अनुसार सूचना जारी गर्दै आज शुक्रबारदेखि आवेदन माग गरेका छन् ।
यसअघि प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको कोटाअनुसार १ लाख ३३ हजार ९ सय ८० जनाका लागि मात्रै आवेदन खुलाएको थियो । तर, गृह मन्त्रालयको निर्देशनपछि जिल्लाहरूले सशस्त्र प्रहरीको कोटा १५ हजार १ सय १० जना समेत समेटेर संयुक्त रूपमा आवेदन आह्वान गरेका हुन् ।
सशस्त्र प्रहरीले आफ्नो कोटाको भर्ना कसरी गर्ने भन्ने विषयमा गृह मन्त्रालयमा छलफल गरेपछि दुवै निकायको कोटा उल्लेख गरेर सूचना निकाल्न निर्देशन दिइएको थियो ।
सूचनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको कोटा छुट्टाछुट्टै उल्लेख भए पनि छनोट प्रक्रिया भने संयुक्त रूपमा गरिने जनाइएको छ । सबै प्रक्रिया टुंगिएपछि मात्रै कुन उम्मेदवार नेपाल प्रहरी र कुन सशस्त्र प्रहरी मातहत रहने भन्ने तय हुनेछ । त्यसपछि दुवै सुरक्षा निकायले आ-आफ्नो टोलीलाई १० दिनको तालिम दिनेछन् ।
तालिमपछि करिब एक महिनासम्म निर्वाचन सुरक्षामा खटाइने निर्वाचन प्रहरीको करार अवधि ४० दिन (तालिमसहित) तोकिएको छ । यद्यपि, निर्वाचनको अवस्था अनुसार म्याद थप वा नियुक्ति बदर हुन सक्ने व्यवस्था सूचनामा उल्लेख गरिएको छ । निर्वाचन स्थगित वा रद्द भएमा नियुक्ति स्वतः रद्द हुने पनि स्पष्ट पारिएको छ ।
निर्वाचन प्रहरीले दैनिक ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनको ३४ हजार ७ सय ७६ रुपैयाँ तलब पाउनेछन् । साथै, आवतजावत भत्ता, खाजा भत्ता, पोशाक खर्च र अन्य सुविधा नेपाल प्रहरीका जवान सरह उपलब्ध गराइनेछ । सबै रकम बैंक खातामार्फत भुक्तानी गरिने व्यवस्था गरिएको छ । निर्वाचनमा खटिँदा घाइते वा मृत्यु भएमा सरकारले तोकेअनुसार क्षतिपूर्ति पनि उपलब्ध गराइनेछ ।
इच्छुक नेपाली नागरिकले आजदेखि पाँच दिनभित्र देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । यो भर्ना प्रक्रियाले निर्वाचन सुरक्षासँगै ठूलो संख्यामा युवालाई अस्थायी रोजगारीको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाकाे सडक विस्तार गर्दा भत्काइएका जोखिम पूर्ण घरहरूमा व्यापार व्यवसाय नगर्न भनेकाे छ ।
मंगलबार प्रशासन कार्यालयले सूचना प्रकाशित गर्दै हेटौंडा बजार क्षेत्रका पूर्व पश्चिम राजमार्ग तथा त्रिभुवन राजपथकाे सडक सिमा भित्रका संरचना भत्काइदा जोखिमपूर्ण अवस्थामा रहेका घर टहराहरूमा व्यापार व्यवसाय सञ्चालन नगर्न निर्देशन दिएको हो । प्रशासनले सडक सीमाभित्र परेर भत्काइएका संरचनाहरूमा अझै पनि व्यापार व्यवसाय सञ्चालन भइरहेको पाइएकोले तत्काल रोक्न निर्देशन दिएकाे छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार उक्त निर्देशन दिइएकाे हाे । हाल सर्वोच्च अदालतको आदेशका कारण सडक विस्तारको कार्य स्थगित भए पनि भत्काइएका संरचनाहरू व्यवस्थापन गर्ने क्रममा कतिपय व्यवसायीले जोखिमपूर्ण घरमै व्यापार गरिरहेको देखिएकाले प्रशासनले उक्त कार्य रोक्न सूचना मार्फत भनेकाे छ ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी सूचनामा भनिएको छ, ‘भत्किएका तथा जोखिमपूर्ण संरचनाभित्र कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन नगर्न र नगराउनु हुन अनुरोध छ ।’ यदि कसैले चेतावनीको बेवास्ता गरी व्यवसाय सञ्चालन गरेमा र त्यसबाट कुनै पनि किसिमको विपद्जन्य घटना वा दुर्घटना घटेमा त्यसको पूर्ण जिम्मेवार घरधनी र सम्बन्धित व्यवसायी स्वयं हुने प्रशासनले सूचना मार्फत जानकारी गराएकाे छ । साथै, संरचना व्यवस्थापनका क्रममा कामदारहरूको सुरक्षालाई उच्च प्राथमिकता दिन समेत सम्बन्धित सबैमा आग्रह गरिएको छ ।
डिभिजन सडक कार्यालय हेटौंडाले रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्मको सडक विस्तारका क्रममा गत मंसिर २० गते घर टहराहरू भत्काइएको थियो । सडक कार्यालयले गत मंसिर ५ गते सूचना जारी गर्दै राजमार्गकाे क्षेत्रकाे घर तथा संरचना १५ दिन भित्र खालि गरी आफैं हटाउन भनेकाे थियो । सो समय भित्र घर संरचना खाली गरी नहटाइएकाेले डोजर लगाइ करिब ५ सय घर तथा टहरा भत्काएकाे हाे ।
सडक डिभिजनकाे उक्त सूचना अनुसारकाे कार्य रोक्न पूर्व सांसद विन्दवासिनी कंसाकारलगायतकले सर्वोच्च अदालतमा दायर गरेकाे मुद्दा हाल सर्वोच्च अदालतमा चलिरहेकाे छ ।
मकवानपुर । आइतबार सांझ मकवानपुरको भिमफेदी जुरिखेतमा भएको सुमो दुर्घटनामा ज्यान गुमाएका तथा घाइतेमध्ये केहिको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेहरूमा:
१. देश भारत बिहार राज्य पटना बस्ने बर्ष अं.४२ को रजनिस कुमार टाउको शरीरको बिभिन्न भागमा चोट डाक्टरले चेकजाच गर्दा मृत घोषणा गरेको ।
२. मकवानपुर हेटौडा उ.म.न.पा.४ कमलडाँडा बस्ने बर्ष अं.४० की सबिता लम्साल टाउको शरीरको बिभिन्न भागमा चोट डाक्टरले चेकजाच गर्दा मृत घोषणा गरेको ।
३. मकवानपुर हेटौडा उ.म.न.पा.२ कान्तिराजपथ बस्ने बर्ष अं.२९ को निखिल अग्रवाल टाउको र शरिरको बिभिन्न भागमा चोट डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको ।
४. देश भारत बिहार राज्य बेगुसराई बस्ने बर्ष ४९/५० को अरबिन्द कुमार टाउको शरीरको बिभिन्न भागमा चोट डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको ।
५. तत्काल नाम थर वतन नखुलेको बर्ष ३५/३६ को पुरुष व्यक्ति टाउको शरीरको बिभिन्न भागमा चोट डाक्टरले चेकजाच गर्दा मृत घोषणा गरेको ।
६. तत्काल नाम थर वतन नखुलेको अम्दाजी बर्ष ४० को पुरुष व्यक्ति टाउको शरीरको बिभिन्न भागमा चोट डाक्टरले चेकजाच गर्दा मृत घोषणा गरेको ।
उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनको लागि रिफर भएका घाइतेहरु :
१. सुमो चालक मकवानपुर हेटौडा उ.म.न.पा.४ कर्रा चोक बस्ने बर्ष अं.४०/४५ को गणेश थापा शरीरको बिभिन्न भागमा चोट अवस्था गम्भिर,
२. मकवानपुर हेटौडा उ.म.न.पा.४ कमलडाँडा बस्ने सबिता लम्सालको छोरा बर्ष अं.१२ को अभ्यास लम्साल टाउको र शरीरको बिभिन्न भागमा चोट अवस्था गम्भिर, उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनको लागि रिफर भएको ।
३. रौतहट चन्द्रपुर न.पा.२ बस्ने बर्ष अं.२१ कि रिचा चौधरी टाउको शरीरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।
पुस २० गते काठमाण्डौबाट हेटौडा तर्फ आउदै गरेको ना.१ज १७७८ नं.को सुमो सडकबाट करिब १०० मिटर तल खोल्सामा खस्न गई दुर्घटना भएको थियो ।
मकवानपुर । मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका–६ जुरीखेत सडक खण्डमा सुमो दुर्घटना हुंदा ६ जनाको ज्यान गएको छ ।
दुर्घटनाबाट ४ जनाको घटनास्थल मै ज्यान गएको प्रहरीले जनाएको छ । अर्को २ जनाको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको हो । अन्य ३ जनाको हेटौंडा अस्पतालमा उपचार हुंदैछ ।
स्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको सुमो सांझ दुर्घटना भएको थियो ।
आईतबार साँझ काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको ना १ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सुमोमा ६ जना पुरुष, १ महिला, १ बालिका र १ बालक रहेका थिए । मृतक तथा घाईतेहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।