मकवानपुर / मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरमा गएराति लागु पदार्थ नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फइरीङ गरेको छ ।
लागु पदार्थ विक्रीवितरण भएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिने क्रममा हवाइफायरीङ गरेको हो । ड्युटीमा खटिएको प्रहरी माथी नै आक्रमण भएपछि आफूहरुले फायरीङ गर्न परेको प्रहरीले जनाएको छ ।
प्रहरीलाई ह्यान्ड नकले आक्रमण गरेपछि प्रहरीले आफ्नो सुरक्षाकोलागि पेस्तोलले एक राउन्ड हवाई फाईरीङ गरेको बताइएको छ । लागु पदार्थसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–३ बस्ने ३४ वर्षिय रवि घलान र सोहि स्थानमा बस्ने ३० वर्षिय विनोद बल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट लागू औषध वानरेक्स ३४ पिस फेलापारी बरामत गरेको छ । लागु पदार्थसहित नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।
मकवानपुर । हेटौंडामा बसको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-९ कर्रा पुल नजिकै बसको ठक्करबाट गम्भीर घाईते भएका पैदलयात्रीको उपचारको क्रममा हैटौंडा अस्पतालमा मृत्यु भएको हो ।
बसकाे ठक्करबाट मृत्यु हुनेमा अन्दाजी ३०–३५ वर्षकाे पुरुष रहेकाे तथा मृतककाे सनाखत हुन नसकेको मकवानपुर प्रहरीले जनाएकाे छ । पूर्वबाट आउँदैगरेको बागमती प्रदेश ०३–००१ खा १६३३ नम्बरको बसले बुधबार बिहान ३ बजेर ३० मिनेटको समयमा पैदल यात्रीलाई ठक्कर दिएको थियो । बसलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
मकवानपुर । वैदेशिक रोजगारबाट फर्केकाहरुलाई स्वदेशमै टिकाउनको लागि आकर्षक नीति तथा कार्याक्रमहरु नबनेको सरोकारवालाहरुले बताएका छन् ।
आप्रवासी कामदारहरुको पुन एकीकरणका लागि योजना तथा नीति सुझाव संकलन कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
सुरक्षित आप्रवासको लागि राष्ट्रिय संजालको आयोजनामा हेटौंडामा भएको कार्यक्रममा वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुनः एकीकरणका लागि आवश्यक योजना र नीतिहरुका विषयवस्तुहरु संकलन गरिएको छ ।
संजालका उपाध्यक्ष चिरन्जिवी बरालले वैदेशिक रोजगारबाट फर्केकाको पुनः एकीकरण कसरी गरिने, सरकारले ल्याएका नीतिलाई आत्मसाथ गर्दै थप सुझाव संकलन गरिनुका साथै वैदेशिक रोजगार ऐनले भारत जाने कामदारलाई पनि समेट्नु पर्ने बताए ।
वैदेशिक रोजगार नीति २०६८ जारी भएको र वैदेशिक रोजगार बोर्ड स्थापना भई सेवा प्रदान गर्दै आइरहेको भएपनि अझै धेरै समस्या भएको उनले बताए । सन् २०१९/२० मा ४७ लाख ९२ हजार २०९ जनाले श्रम स्वीकृति लिएर वैदेशिक्षक रोजगारका लागि गएको बताए । यस आवमा बैशाख सम्ममा नयाँ श्रम स्वीकृति लिनेमा २ लाख ७५ हजार १७४ जना रहेको बताए ।
कार्यक्रममा पुनः एकीकरण सम्बन्धी अब बन्ने नीति निर्देशिकामा समेट्नुपर्ने विषयवस्तु संकलन गरिएको थियो । सहभागिहरु मध्येबाट चार समूहमा विभाजन गरी सञ्चारकर्मी, गैर सरकारी संस्था, आप्रवासीको काम गर्ने संस्थाहरु र मन्त्रालय, प्रशासन र स्थानीयहरुका प्रतिनिधिहरुको समूह बनाई सुझाव संकलन गरिएको थियो ।
कार्यक्रममा सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
लागू औषध सहित पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका–१३ बस्ने २३ वर्षीय निक्मा लामा, हेटौडा–१० घर भई हेटौंडा–८ बस्ने ३१ वर्षीय राजेश बिक र मकवानपुरढी गाउँपालिका वडा नम्वर ७ घर भई हेटौंडा–५ बस्ने २६ वर्षीय मानवीर थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले विभिन्न मितिमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
मकवानपुर प्रहरीको अनुसार, हेटौंडा–१३ का निक्मा लामालाई लागूऔषध डाईजेपाम १ एम्पुल, फेनारगन १ एम्पुल र नुफिन १ एम्पुल गरी ३ एम्पुललाई १ सेट बनाई राखेको अवस्थामा ११ सेटमा ३३ एम्पुल डाईजेपामसहित बुधबार पक्राउ गरेको हो ।
यस्तै, विहीबार हेटौंडा–४ स्कुलरोडमा पैदल हिडिरहेका हेटौंडा–१० बस्ने राजेश बिक र हेटौंडा–५ बस्ने मानवीर थिङको साथबाट लागूऔषध वनरेक्स २६ बोतल बरामद भएपछि निजहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
उक्त लागूऔषधसहित पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका भइरहेको प्रहरीले जानकारी दिएको छ ।
मकवानपुर । मुल्य वृद्धिको विरोधमा आन्दोलनमा उत्रेको कारण प्रहरी गिरफ्तारमा परेका विद्यार्थी नेताहरु रिहा भएका छन् ।
मुल्य वृद्धिको विरोधमा मकवानपुर जिल्लाको हेटौंडा बजारमा आज सरकारी नम्बर प्लेट भएको सवारी नियन्त्रण गरी प्रहरीलाई चाबि बुझाउने कार्यक्रम अन्तरगत सडकमा उत्रेका अनेरास्ववियुका नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सरकारले गरेको मूल्यवृद्धि विरुद्ध नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आज आयोजना गरेको देश ब्यापि विरोध कार्यक्रम अन्तरगत हेटौंडामा सवारी नियन्त्रणको प्रयास गर्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
आन्दोलनका क्रममा अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेल सहित जिल्ला कमिटी उपाध्यक्ष भुवन मैनाली, जिल्ला कमिटी सचिव पुस्कर तिम्ल्सिना र युवा संघ नेता राजकुमार घिमिरेलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
आज बिहान मकवनापुर बहुमुखी क्याम्पस सडकमा सरकारी सवारीलाई आवतजावतमा रोक लगाउने क्रममा पक्राउ परेका उनीहरुलाई केही बेर अघि छाडिएको छ । सरकारले मूल्यवृद्धि फिर्ता नलिएसम्म अनेरास्ववियुले विभिन्न चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रमहरु जारी राख्ने जनाएका छ।
सरकारले आइतबारबाट पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डरमा २०० रुपैयाँले मूल्य बढाएको छ । यो संगै अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ र ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ ।
प्रहरीले विद्यार्थी नेताहरूलाई पक्राउ गर्नुअघिसम्म १० वटा सरकारी सवारी साधनहरूलाई नियन्त्रणमा लिएको र नियन्त्रणमा लिएको सवारीको चाबी प्रहरीमा बुझाउने कार्यक्रम रहँदै गर्दा विद्यार्थी नेताहरू पक्राउ परेको उनले जानकारी दिए ।