मकवानपुर । वैदेशिक रोजगारबाट फर्केकाहरुलाई स्वदेशमै टिकाउनको लागि आकर्षक नीति तथा कार्याक्रमहरु नबनेको सरोकारवालाहरुले बताएका छन् ।
आप्रवासी कामदारहरुको पुन एकीकरणका लागि योजना तथा नीति सुझाव संकलन कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
सुरक्षित आप्रवासको लागि राष्ट्रिय संजालको आयोजनामा हेटौंडामा भएको कार्यक्रममा वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुनः एकीकरणका लागि आवश्यक योजना र नीतिहरुका विषयवस्तुहरु संकलन गरिएको छ ।
संजालका उपाध्यक्ष चिरन्जिवी बरालले वैदेशिक रोजगारबाट फर्केकाको पुनः एकीकरण कसरी गरिने, सरकारले ल्याएका नीतिलाई आत्मसाथ गर्दै थप सुझाव संकलन गरिनुका साथै वैदेशिक रोजगार ऐनले भारत जाने कामदारलाई पनि समेट्नु पर्ने बताए ।
वैदेशिक रोजगार नीति २०६८ जारी भएको र वैदेशिक रोजगार बोर्ड स्थापना भई सेवा प्रदान गर्दै आइरहेको भएपनि अझै धेरै समस्या भएको उनले बताए । सन् २०१९/२० मा ४७ लाख ९२ हजार २०९ जनाले श्रम स्वीकृति लिएर वैदेशिक्षक रोजगारका लागि गएको बताए । यस आवमा बैशाख सम्ममा नयाँ श्रम स्वीकृति लिनेमा २ लाख ७५ हजार १७४ जना रहेको बताए ।
कार्यक्रममा पुनः एकीकरण सम्बन्धी अब बन्ने नीति निर्देशिकामा समेट्नुपर्ने विषयवस्तु संकलन गरिएको थियो । सहभागिहरु मध्येबाट चार समूहमा विभाजन गरी सञ्चारकर्मी, गैर सरकारी संस्था, आप्रवासीको काम गर्ने संस्थाहरु र मन्त्रालय, प्रशासन र स्थानीयहरुका प्रतिनिधिहरुको समूह बनाई सुझाव संकलन गरिएको थियो ।
कार्यक्रममा सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

