मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
लागू औषध सहित पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका–१३ बस्ने २३ वर्षीय निक्मा लामा, हेटौडा–१० घर भई हेटौंडा–८ बस्ने ३१ वर्षीय राजेश बिक र मकवानपुरढी गाउँपालिका वडा नम्वर ७ घर भई हेटौंडा–५ बस्ने २६ वर्षीय मानवीर थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले विभिन्न मितिमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
मकवानपुर प्रहरीको अनुसार, हेटौंडा–१३ का निक्मा लामालाई लागूऔषध डाईजेपाम १ एम्पुल, फेनारगन १ एम्पुल र नुफिन १ एम्पुल गरी ३ एम्पुललाई १ सेट बनाई राखेको अवस्थामा ११ सेटमा ३३ एम्पुल डाईजेपामसहित बुधबार पक्राउ गरेको हो ।
यस्तै, विहीबार हेटौंडा–४ स्कुलरोडमा पैदल हिडिरहेका हेटौंडा–१० बस्ने राजेश बिक र हेटौंडा–५ बस्ने मानवीर थिङको साथबाट लागूऔषध वनरेक्स २६ बोतल बरामद भएपछि निजहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
उक्त लागूऔषधसहित पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका भइरहेको प्रहरीले जानकारी दिएको छ ।
In: राष्ट्रिय, सुरक्षा खबर, स्थानीय खबर/समाज
Tags: No Comments