मकवानपुर । मकवानपुरको हेटौंडाबाट लागूऔषध प्रयोग गरि सवारी चलाउने १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुरका विभिन्न स्थानमा गरिएको सवारी जाँचका क्रममा लागूऔषध सेवन गरेर सवारी चलाउने १० जना चालकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको ३९औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चालकले सवारी चलाउँदा लागूऔषध सेवन गरे नगरेकाे परीक्षण गरिएको हाे ।
उक्त परीक्षणमा पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका–७ निवासी २० वर्षीय मोस्तकी अन्सारी, गोरखा सहिद लखन गाउँपालिका–३ निवासी २६ वर्षीय निर्मल श्रेष्ठ, सुनसरी इटहरी उपमहानगरपालिका–७ निवासी २७ वर्षीय अन्जित चौधरी, पर्सा वीरगञ्ज महानगरपालिका–२७ निवासी ४० वर्षीय रामनारायण मण्डल, सर्लाही लालबन्दी नगरपालिका–१५ निवासी ३४ वर्षीय अमिर योन्जन रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
यसैगरी पक्राउ पर्नेमा रौतहट ईशनाथ नगरपालिका–५ निवासी ३५ वर्षीय पुकार यादव, मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ निवासी २३ वर्षीय रोहन लामा, महोत्तरी बर्दिबास नगरपालिका–१४ निवासी २७ वर्षीय रुद्रप्रसाद दाहाल, रौतहट फतुवा विजयपुर नगरपालिका–६ निवासी ३३ वर्षीय उमेश राय यादव तथा पर्सा वीरगञ्ज महानगरपालिका–१२ निवासी ३४ वर्षीय मैनिदिन मियाँ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्वको ३९ औ अन्तराष्ट्रिय दिवसको अवसरमा जिल्ला कार्यालय कार्यालय, ट्राफिक प्रहरी कार्यालय, सियान पुनस्थापनाको केन्द्र, जनस्वास्थ्य कार्यालयका प्रतिनिधिहरु, स्थानीय तहका जनप्रतिनिधि समेतको सहभागितामा सवारी साधनका चालकहरुले लागूऔषध प्रयोग गरे नगरेकाे जाँच गरिएकाे थियो ।
मकवानपुर । नारायाणी यातायत व्यवसायी कम्पनी प्रा.लिले सवारी धनी, चालक र सहचालकको हितमा हुने गरी विशेष राहत कोषको सुरुवात गरेको छ ।
कार्यक्षत्रमा खटिदा सवारी दुर्घटनाको कारण ज्यान गुमाएका सवारी धनी, चालक र सहचालकको परिवारलाई राहत हुने गरी कम्पनीले ५ लाख रकम प्रदान गर्न सुरु गरेको हो । अब यस कम्पनीमा आवद्ध सवारी धनी, चालक र सहचालकको सवारी दुर्घटनामा ज्यान गुमेमा आश्रित परिवारले कम्पनिबाट ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यो राहत नेपाल सरकारले व्यवस्था गरेकाे मजदुर बीमा अन्तरगत प्राप्त हुने ५ लाख बाहेकको राहत रकम हाे । ‘नियम अनुसार बीमाबाट पाउने ५ लाख छंदैछ हामीले कम्पनीबाट छुट्टै थप राहत दिन सुरु गरेका हौ’ नारायणी यातायात कम्पनी प्रा.लिका अध्यक्ष गोकर्णप्रसाद पराजुलीले भन्नुभयाे । ‘दुर्घटनामा कसैकाे ज्यान नजाओस् यसरी राहत दिनुपर्ने परिस्थति नआओस्, यदि परिआएमा हामीले केही राहत दिउँ भनेर सुरु गरेका हौं’ पराजुलीले भन्नुभयो ।
कम्पनीले कार्यविधि बनाएर यो राहत कोषको थालनी गरेकाे बताइएको छ । विशेष राहत कोषमा सहभागी गराउनको लागि कम्पनीले प्रति सवारी धनीसँग वार्षिक १ हजार ५ सय लिने गरेको छ । सवारी धनी एक जनाले तिरेको वार्षिक १ हजार ५ सयबाट दुर्घटनामा ज्यान गुमेमा परिवारलाई राहत ५ लाख प्रदान गरिने पराजुलीले बताउनु भयो ।
यस कार्यक्रमको पहिलो लाभ हेटौडा ३ निवासी २४ वर्षिया सर्मिला न्यौपानेले प्राप्त गर्नु भएको छ । विहीबार कम्पनीका अध्यक्ष तथा सञ्चालकहरुले सर्मिलालाई रकम हस्तान्तरण गरेको सञ्चालक खेम काफ्लेले बताउनुभयो । कम्पनीमा २ हजार ४ सय ७५ सवारी धनीहरु आवद्ध छन् ।
को हुन् सर्मिला
१८ महिना अघि विवाह गरेकी हेटौडा ३ बसामाडिकी २४ वर्षिया सर्मिला न्यौपानेको काँधमा पारिवारिक जिम्मेवारी थपिएको छ । काखमा छ ८ महिनाको छोरा, साथमा हुनुहुन्छ ७३ वर्षिया सासु रामकुमारी बर्तौला । यि नाबालक र वृद्ध सासुको साहारा बन्नु परेको छ २४ वर्षिया सर्मिला।
उनका श्रीमान् ३० वर्षीय दलबहादुर बर्तौला सवारी चालक हुनुहुन्थ्यो । गत जेठ १६ गते कान्तिराजपथ अन्तरग बगुवा खोला नजिकै दलबहादुरले चलाएको ट्रक दुर्घटना भयो । र घटना स्थलमै दलबहादुरको ज्यान गयो ।
हेटौँडाबाट ललितपुरमा निर्माणाधीन बागमती जलविद्युत् आयोजनाका सामग्री लिएर त्यसतर्फ गइरहेको ट्रक भएको थियो । राति खोलामा डुबेको ट्रक केही घण्टापछी निकालिएको थियो । खोलामा डुबेको ट्रक यान्त्रिक सहायताबाट निकाल्दा चालकको शव चालक सिटमा नै भेटिएको थियो ।
मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा दिनेशचन्द्र देवकोटाले हेटौंडा–काठमाडौँ मार्गमा पर्ने जीर्ण चिसापानी पुलको स्थलगत निरीक्षण गर्नुभएको छ । मंगलबार मन्त्री देवकोटाले भीमफेदी–कुलेखानी खण्डअन्तर्गतको उक्त पुलको अवस्थाबारे जानकारी लिनुभएको हो ।
हेटौंडाबाट काठमाडौँ प्रवेश गर्ने र फर्कने हजारौँ सवारीसाधन गुड्ने यो पुल करिब ३० वर्ष पुरानो हो । काठ, फलाम, ढुङ्गा र सिमेन्ट प्रयोग गरी परम्परागत शैलीमा निर्माण गरिएको यस पुलको काठ कुहिएपछि संरचना जोखिमपूर्ण बनेको छ । पुल जुनसुकै बेला भत्किएर दुर्घटना हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै मन्त्री देवकोटाले असार महिनाभित्रै मर्मत सम्पन्न गर्न निर्देशन दिनुभएको छ । उहाँले तोकिएकै समयमा काम सक्ने गरी आवश्यक जनशक्ति परिचालन गर्न समेत कर्मचारीहरूलाई निर्देशित गर्नुभयो ।
निरीक्षणका क्रममा मन्त्री देवकोटाले संघीय राजधानी र प्रदेश राजधानी जोड्ने यो सडक यात्रुको मुख्य रोजाइमा पर्ने भएकाले तत्कालका लागि सवारी चापलाई ध्यान दिएर मर्मत गर्न लागिएको बताउनुभयो । उहाँले सो स्थानमा नयाँ पक्की पुल निर्माणका लागि स्रोत सुनिश्चित भई ठेक्का प्रक्रिया अघि बढिसकेको र सम्झौता भएलगत्तै काम सुरु हुने जानकारी दिनुभयो ।
पूर्वाधार विकास कार्यालय मकवानपुरका अनुसार असार २०–२२ गतेभित्र काम सक्ने गरी मर्मत कार्य तीव्र गतिमा भइरहेको छ । कार्यालयका सब–इन्जिनियर वसन्त पौडेलका अनुसार तानसेनमा पक्की पुल बनेपछि प्रयोगविहीन अवस्थामा रहेको बेलीब्रिजका सामग्री ल्याएर यहाँ मर्मत सुरु गरिएको हो । करिब १० लाख रुपैयाँको लागतमा २० दिनभित्र मर्मत सक्ने गरी श्री गौरव नेपाल इन्जिनियर्स प्रा।लि।लाई जिम्मेवारी दिइएको छ ।
मर्मतका क्रममा पुलका कुहिएका काठ र खिएका फलामका पार्टपुर्जाहरू परिवर्तन गरिनेछ । नयाँ पुल नबनुञ्जेल पुरानै पुलबाट सुरक्षित यात्रा गर्ने वातावरण सुनिश्चित गर्न यो अल्पकालीन मर्मत गरिएको हो । सोही स्थानमा करिब ९ करोड रुपैयाँको लागतमा ५५ मिटर लामो र ११ मिटर चौडा नयाँ पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता अन्तिम चरणमा पुगेको सब–इन्जिनियर पौडेलले बताउनुभयो । चालू आर्थिक वर्षभित्रै ठेक्का सम्झौता भई आगामी आर्थिक वर्षबाट नयाँ पुलको निर्माण सुरु हुनेछ ।
साँघुरो र जीर्ण पुलका कारण जोखिमपूर्ण यात्रा गर्न बाध्य चालक, यात्रु र स्थानीय बासिन्दाहरू पुल मर्मत हुने र नयाँ पुल बन्ने खबरले हर्षित भएका छन् ।
मकवानपुर । मौसमी प्रतिकुलतामा गर्नुपर्ने उद्दार कार्यबारे श्री गोरख बहादुर गण सुपारेटारले डेमो प्रर्दशन गरेको छ ।
नेपाली सेनाको नेतृत्वमा शसस्त्र प्रहरी बल नेपाल, नेपाल रेडक्रस सोसाइटी, जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुर सहितको संयुक्त टोलीले आज मकवानपुरको भिमफेदी ४ रानीखोला ईलाकामा यस्तो डेमो गरेको हो । “अभ्यास मनसुन ६” विपद् प्रतिकार्य तथा व्यवस्थापन (पहिरो) सम्बन्धी डेमोस्ट्रेसन गरेको हो ।
डेमोस्ट्रेसनमा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, भिमफेदी गाउँपालिका ४ का वडा अध्यक्ष सागर पाण्डे, गोरख बहादुर गणका गणपति रविन्द्र कुमार श्रेष्ठ, शसस्त्र प्रहरी उपरीक्षक निवन खड्का, जिल्ला रेडक्रस सोसाइटीका प्रतिनिधीहरु, जिल्ला जनस्वास्थ्य कार्यलयका प्रतिनिधिको उपस्थिती रहेको थियो ।
डेमोस्ट्रेसनमा वाराही माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थीहरूलगायत स्थानीयहरुले मनसुन प्रतिकार्यबारे ज्ञान हासिल गरेको गोरख बहादुर गणका गणपति श्रेष्ठले बताउनु भयो ।
डेमोस्ट्रेसनमा पहिरोको काल्पनिक कथावस्तु तयार गरी पहिरोमा फसेका घाइतेहरूको उद्धार बारे जानकारी गराइएको थियो । स्थानीय स्रोत साधनहरुको प्रयोग गरी उद्वार सामग्री मार्फत उद्वार गरिएको थियो । जसले स्थानीय सामग्रीबाट पनि उद्वार गर्न सकिन्छ भन्ने व्यवहारिक ज्ञान हासिल गरेका थिए ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले स्थानीयलाई प्रदान गरिने ज्ञान र सिप आपत पर्दा उपयोगी हुने बताउनु भयो ।