मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा जारी नागस्वती राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितामा ठमेल चियापप भेट्रान्स फाइनलमा प्रवेश गरेको छ ।
हेटौंडा–७ नागस्वतीमा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा जोरपाटी भेट्रान्सलाई १–० गोलले पराजित गर्दै ठमेल भेट्रान्स फाइनलमा प्रवेश गरेको हो ।
ठमेल भेट्रान्सको लागि विजय गुरुङले गरेको पहिलो गोल नै जित दिलाउन निर्णायक भयो । गुरुङ म्याच अफ द म्याच घोषित भए । ठमेल भेट्रान्स अब बुधबार दिउँसो हुने फाइनल खेलमा आयोजक नागस्वती भेट्रान्स र पोखराको बगरभाई खलक बीचको विजेतासँग खेल्नेछ ।
मंगलबार भएको क्वाटरफाइनलको अन्तिम खेलमा कोटेश्वर भेट्रान्सलाई ३–१ गोलअन्तरले पराजित गर्दै आयोजक नागस्वती भेट्रान्स सेमिफाइनल प्रवेश गरेको हो । यस्तै थापागाउँ भेट्रान्सलाई पराजित गर्दै बगरभाई खलक सेमिफाइनलमा प्रवेश गरेको हो ।
नागस्वती र बगरभाई बीचको सेमिफाइनल खेल मंगलबार नै हुने कार्यतालिका रहे पनि पानी परेको कारण स्थगित भएको र खेल बुधबार बिहान हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल बुधबार दिउँसो हुने जनाइएको छ । प्रतियोगिताको विजेता टिमले नगद २ लाख १ हजार रुपैयाँ र उपविजेताले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
मकवानपुर । मकवानपुर जिल्लामा पहिलो पटक रग्बी खेल हुँदैछ । भोलिबाट मकवानपुरको हेटौंडा ५ क्याम्पा रंङ्गशालामा खेल हुनेछ । आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै मकवानपुर रग्बी संघले यसबारे जानकारी गराएको हो ।
खेलमा मकवानपुर रग्बी संघ र चितवन रग्बी संघका रग्बी टिमले मैत्रीपुर्ण खेल खेल्नेछन् । महिला रग्बी टिम र पुरुष रग्बी दुबै टिमले मैत्रीपुर्ण खेल खेल्नेछन् । पत्रकार सम्मेलनमा मकवानपुर रग्बी संघका अध्यक्ष लिला कुमार घलानले नवौं राष्ट्रिय खेलकुदका लागि छनौट अगाडी मैत्रीपुर्ण खेल हुन लागेको बताए । खेलले दुई जिल्लाका खेलाडी बीच सम्बन्ध र मैत्रीभाव प्रकट हुने उनले बताए । अहिले मकवानपुरमा रग्बी नयाँ खेल जस्तै भएकाले कुनै संघसंस्थाले यस खेललाई चासो नदिएकोमा उनले गुनासो गरे । चासो कम भएकै कारण आर्थिक जोहो गर्न नसक्दा खेलाडीहरुसँग समेत रकम संकलन गरेको उनले बताए ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिका निमित्त कार्यालय प्रमुख माधव कोइरालाले जिल्ला खेलकुद विकास समितिले रग्बी खेलको विकासमा आवश्यक सहयोग गरिने बताए । रग्बी संघ मकवानपुरका प्रशिक्षक विक्रम भारतीले अहिले मकवानपुरका रग्बी खेलाडीहरुले नियमित प्रशिक्षण गर्दै आएको बताए । रग्बी अन्य खेलको तुलनामा जिल्लामा नयाँ भएका कारण खेलाडीले थोरै मिहेनत गरेमा राम्रो स्थान पाउन सक्ने उनले बताए ।
भाेली शनिबार हुने मैत्रीपुर्ण खेलमा मकवानपुर रग्बी टिमको पुरषतर्फको कप्तानी विकल भोलन र महिलातर्फको टिमको ज्योती बोम्जनले कप्तानी गर्नेछिन् । यस्तै चितवनको रग्बी टिमको पुरुषतर्फ यदु अधिकारी र महिलातर्फको टिमको पुस्तिका वाग्लेले कप्तानी गर्नेछिन् । यस अघि मकवानपुर रग्बी टिमले अन्य जिल्लाहरुमा आयोजना भएको प्रतियोगिताहरुमा भने सहभागिता जनाउँदै आएको थियो । मकवानपुरकाे पुरुष रग्बी टिम गत बैशाखमा चितवनमा भएको प्रतियोगितामा द्वितीय हुन सफल भएको थियो । यस्तै महिला रग्बी टिमले गत वर्ष काठमाडौंमा आयोजना भएको प्रतियोगितामा प्रथम उपाधी जितेको थियो ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाभित्र रहेका नगरवासीलाई आजबाट पिउने पानी नि:शुल्क उपलब्ध हुने भएकाे छ ।
हेटाैंडा उपमहानगरपालीकाले १० हजार लिटर खानेपानी नि:शुल्क उपलब्ध गराउने भएकाे हाे । हेटौंडा उपमहानगरपालिका र खानेपानी व्यवस्थापन बोर्डबीच गत २२ साउनमा भएकाे सम्झौता अनुसार आज १ भदाैबाट पानी नि:शुल्क प्रदन गरिने भएकाे हाे । खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्ठ र हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाका बिचमा संझौता भएको थियाे।
नगरवासीलाई १० हजार लिटर खानेपानी नि:शुल्क उपलब्ध गराउने हेटाैंडा नगर देशकै पहिलो उपमहानगरपालिका हो । साउन १६ गते बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले नगरभित्र रही हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको धारा जोडेका नगरवासीलाई १० हजार लिटर सम्म निःशुल्क रुपमा खानेपानी उपलब्ध गराउने निर्णय गरेको थियो ।
सम्झौता अनुसार बोर्डमार्फत वितरण भएको पानीको धारा जोडेका नगरवासी, समुदायिक विद्यालय र क्याम्पसले खानेपानीको न्यूनतम महशुल तिर्न नपर्ने भएको छ ।
सम्झौता अनुसार नगरक्षेत्रमा रहेर नियमित खानेपानी प्रयोग गरिरहेका नगरवासीले प्रति १० हजार लिटर बराबर ८५ रुपियाँ, सामुदायिक विद्यालयलाई प्रतिधारा अनमिटर ७ सय लिटर, सामुदायिक क्याम्पसलाई प्रतिधारा अनमिटर १५ सय र सहरी सवास्थ्य केन्द्रलाई अनमिटर प्रतिधारा ७ सय रुपैयाँका दरले उपमहानगरले खानेपानी व्यवस्थापन बोर्डलाई महशुल रकम उपलब्ध गराउने छ ।
सहमति अनुसार खानेपानीको बिलिङ भएको महिनाको १० गतेभित्र महशुल रकम बुझाउनु पर्नेछ । सहमतिपत्रमा हेटौंडा उपमहानगरपालिकाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवराज चौलागाईं, प्रशासन महाशाखा प्रमुख रामकृष्ण थापा तथा खानेपानी व्यवस्थापन बोर्डबाट निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकाल र लेखापाल संजयकुमार न्यौपानेले हस्ताक्षर गरेका छन् ।
सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनको समयमा न्यूनतम शुल्क बराबरको खानेपानी र विद्युत निःशुल्क उपलब्ध गराउने घोषणा गरेको थियो । गठबन्धनबाट निर्वाचित भएको ५ महिनालाग्दै गर्दा उपमहानगरकी मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँले चुनावी घोषणा पत्रअनुसार प्रतिबद्धता पूरा गरेका हुन् ।
उपमहानगरको २३ हजार ५ सय धारामा याे लागू हुनेछ । यस सुविधाबाट १ लाख ४५ हजार जनसंख्या लाभान्वित हुने बताएको छ । खानेपानीको न्युनतम महशुल निःशुल्क उपलब्ध गराए बापत् उपमहानगरले खानेपानी बोर्डलाई वार्षिक करिब २ करोड ३९ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउने उपमेयर बानियाँले बताए ।
उपभोक्ता समितिमार्फत् खानेपानी प्रयोग गरिरहेका नगरका उपभोक्ताहरुले खानेपानी बोर्डमा आवद्ध भएपछि उक्त सुविधा पाउने उपमहानगरपालिकाले जनाएको छ । उक्त सुविधा पाउनका लागि खानेपानी बोर्डमा आवद्ध हुन मेयर लामाले आह्वान गरेकी छन् ।
हेटाैडा उपमहानगरपालिकामा सामुदायिक धाराबाट पानी पिउनेकाे सङ्ख्या भने उपमहानगरले अध्याबधिक गरेकाे छैन । यसरी बाेर्डभन्दा बाहिरकाे पानी पिउनेकाे हकमा भने केही पछि निर्णय गरिने लामाले बताइन् ।
मकवानपुर । सिस्नुपानी नेपाल मकवानपुरले आज श्रावण २७ गते शुक्रबार गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम आयोजना गर्दैछ ।
आज रक्षा बन्धन जनै पूर्णिमा सहित गाइजात्रा समेत एकै दिन परेकाेले कार्यक्रममा हास्यव्यङ्ग्य कविता, गजल, मुक्तक, निबन्ध, कथा लगायतकाे प्रस्तुती रहने सिस्नुपानी नेपाल मकवानपुर अध्यक्ष राजकुमार लामिछानेले बताए । साथमा प्यारोडी गायन र कार्टुन कला प्रदर्शनी समेत गरिने उनले जानकारी दिए ।
हास्यव्यङ्ग्य कार्यक्रममा पहिलो पोस्टका कार्टुनिस्ट रविन्द्र मानन्धर, थाहा सञ्चारका कार्टुनिस्ट अनुप गुरुङ, मकवानपुरका पहिलो कार्टुनिस्ट ऋषि केबी तथा ऋत्वीक केबीका कार्टुन चित्रहरु प्रदर्शनीमा राखिनेछन् ।
यस पटकको गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम हेटौंडा पार्टी प्यालेसमा आयोजना हुनेछ । कार्यक्रममा सिस्नुपानी मकवानपुरका सदस्य,अन्य संघ संस्थामा आबद्ध भएका व्यक्ति, साहित्यकार तथा हास्यव्यङ्ग्यलाई माया गर्ने अन्य व्यक्तिहरुको समेत उपस्थिति रहने आयाेजकले बताएकाे छ ।
आर्थिक व्यवस्थापन गरेर हास्यव्यङ्ग्य साहित्य कार्यशाला, विद्यालयस्तरीय तथा खुला प्रतियोगिता, हास्यव्यङ्ग्य चित्र (कार्टुन) तथा फेस क्यारिकेचर चित्रकला कार्यशाला संचालन गर्ने योजना संस्थाकाे रहेकाे सदस्य संप्रस पौडेलले जानकारी दिए ।
सिस्नुपानी नेपाल मकवानपुर अध्यक्ष रामकुमार लामिछाने, उपाध्यक्ष मीनप्रसाद लामिछाने, सचिव गोविन्द पौडेल, कोषाध्यक्ष शुभद्रा हुमागाईं, सदस्यहरु सानुभाई विश्वकर्मा, चिरञ्जीवि लामिछाने र संप्रस पौडेल सहितकाे कार्य समिति रहेकाे छ ।
मसान घाट, यसरी बन्यो धार्मिक पर्यटकीय पार्क
Tags: No Comments
मकवानपुर । मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९, १०, ११ र पदमपोखरी गाविस (हाल हेटौंडा १३) को सिमानामा पर्ने ३ नदीको संगम त्रिवेणी । जहाँ मानवीय चोलाको अन्त्यपछि जमघट हुन्थ्यो स्थानीयहरुको । अर्थात् दाह संस्कारको कर्ममा सहभागी हुन्थ्ये स्थानीयहरु ।
गाई बस्तु चराउन जाँदा डराउँथे र छेउ पर्दैनथे हम्मेसी । तर अब घण्टौं लगाएर, दिन तथा हप्ता बिताएर धाउँदै हेर्न आउने स्थान बनेको छ यही ठाँउ । “हेर्दा हेदै त्यो घाट यस्तो धाम बन्यो” हेटौंडा ९ का शम्भु न्यौपानेले भने । वि.स २०५२ साल अघि यो स्थान दाहसंस्कार गर्ने घाट थियो । जहाँ महादेवको सानो जीर्ण मन्दिर थियो सबैले मसान घाट भन्ने गर्थे, गोठालाहरु बस्तुभाउ चराउन जाँदा मसान लाग्ने भन्दै परपर हुन्थे ।
स्थानीय ६८ वर्षीय ईवरी न्यौपानेको अनरवत लगावको परिणाम आज पवित्र तीर्थ स्थल बनेको छ । घाटलाई धाम बनाउने न्यौपानेको सपनामा होस्टेमा हैंसे थपिदिए दानवीरुहरुसँगै स्थानीय तथा संघीय सरकारले । हाल दिनहुँ सयौंको सङ्ख्यामा धार्मिक पर्यटक तथा ज्येष्ठ नागरिक तीर्थयात्राका क्रममा आउने गरेका छन् । भ्रमणका लागि विभिन्न स्थानमा हिँडेका तीर्थयात्री पनि पूर्वपश्चिम राजमार्गबाट नजिक पर्ने हुनाले त्रिवेणीधाममा दर्शन गरेर मात्र जाने गरेका छन् ।
धामको नजिकै निवास भएका ईश्वरी न्यौपाने उज्यालो हुनु पूर्व नै यहाँ आइपुग्छु र उज्यालो घर्कदाँसम्म यहि हुन्छन् । न्यौपानेले भन्छन् “कहाँ कहाँ के के बनाउने भन्ने योजना दिउँसो यहाँ काम गर्दा सोचेको हुन्छु, बेलुकी सुत्नुअघि त्यसलाई लिपिबद्ध गर्छु, जसले गर्दा योजनाबद्ध रुपमा काम गर्न सहज छ ।”
पूर्व जनप्रतिनिधि न्यौपाने अहिले राजनीतिबाट पूर्ण रुपमा अलग्गीएका छन् । बहुदलिय व्यवस्थाकाे प्रारम्भ पछीकाे पहिलाे स्थानीय निकायकाे निर्वाचन, २०४९ मा हेटौडा नगरपालिकाका वडा नम्बर ९ काे वडा सदस्यमा विजयी न्याैपाने २०५४ मा वडाध्यक्ष भएका थिए । न्यौपानेले आफू जनप्रतिनिधि हुँदा यसबारे चिन्तन गर्न भ्याएनन् । बहालवाल वडा अध्यक्ष हुँदा नै यो ठाउँको ऐतिहासिक महत्व बोकेको जानकारी खोजकर्ता पण्डित देवीप्रसाद कोइरालाबाट पाए । त्यसपछि नै हो न्यौपानेले यो मसान घाटलाई धाम बनाउने योजना बुन्न थालेका ।
धाम बनाउने सपनाको सुरुवातमा ज्योतिष पण्डित केशवप्रसाद धितालको अध्यक्षता एकमहिने पाठपारायण लगाइयो । त्यसलगतै कुष्माण्ड सरोवार त्रिवेणीधाम विकास समितिको अध्यक्ष बनेका न्यौपानेले निकै लोकप्रिय कामको थालनी गरे । हाल त्रिवेणीधामको चर्चा र पहिचान देशभरि नै बनिसकेको छ । साढे ७ बिघा क्षेत्रफलमा फैलिएको उक्त धार्मिक स्थल निर्माण गर्न तत्कालीन जिल्ला विकास समितिको पर्यटन विकास समितिले ३ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
पर्यटन विकास समितिले गरेकाे ३ लाख सहयोग नै सरोवर निर्माणको जग हो । “सुरुमा कम्पाउण्ड वाल र शिलान्यासको लागि हामीले ७२ टिप ढुङ्गा उठाएका थियौ ।” कुष्माण्ड सरोवरलाई हालको स्थानमा ल्याउन आफूमाथि भौतिक आक्रमण समेत भएको उनी स्मरण गर्छन् ।
कुष्माण्ड सरोबर त्रिवेणी धाममा एक महिने मकर मेला लाग्ने गरेको छ । रत्नावती, कर्णावती र कौशबाहीनीको संगमस्थलमा कुष्माण्ड सरोबर त्रिवेणीधाम स्थापना भएको हो । धाममा विशेष गरी उत्तरबाहिनी नदीको मूलबाट १०८ गौमुखी धारामा स्नान गर्ने भक्तजनको भिड लाग्ने गरेको छ । १०८ धारा निर्माण प्रारम्भ भएको यो स्थलको परिवर्तन अत्यन्त लोभलाग्दो छ ।
द्वापरयुगको अन्त्यतिर पाण्डवहरू गुप्तबास बस्ने क्रममा रत्नावती (राप्ती), कर्णावती (कर्रा) र कौषबाहिनी (कुख्रेनी) को संगमस्थलमा स्नान गरेको स्कन्दपुराणमा व्याख्या गरिए अनुसार मकरमेला लाग्ने गरेको हो । यसै स्थानमा पाण्डवहरूले स्नान, सन्ध्या, तर्पण, दान आदि गरी देवीदेवताको आराधना गरेको विश्वास छ ।
माता कुष्माण्ड भगवतीले तपस्या गरी सिद्धि प्राप्त भएको सिद्धिक्षेत्र, पाँच पाण्डवहरूले श्राद्ध तर्पण गरेको, अम्वरिष राजाले भगवान विष्णुको आज्ञाले १०८ धारामा स्नान गरी सन्तान लाभ भएको लगायत बिभिन्न रोगहरू निदान भएको धर्म शास्त्रमा उल्लेख भएअनुसार यस क्षेत्रको महत्व रहेको अध्यक्ष न्यौपानेले बताए । तीनवटा नदीको संगमस्थलका साथै उत्तरबाहिनी नदीका कारण पनि यस क्षेत्रमा आएर गरिने स्नान विशेष महत्व रहेको उनले बताए ।
त्रिवेणीधाममा पर्यटक आकर्षणका विभिन्न माध्यम भएका कारण पनि आवतजावत गर्नेको सङ््ख्या दिनहुँ बढिरहेको त्रिवेणीधाम विकास समितिका अध्यक्ष न्यौपानेले बताए । पण्डित देवीप्रसाद कोइरालाको अगुवाइमा यस स्थानको नाम कुष्माण्ड सरोबर त्रिवेणीधाम नामाकरण गरी २०६६ देखि मकरमेला लगाइ निर्माणको प्रक्रिया सुरु गरीएको थियो ।
कुष्माण्ड सरोबर त्रिवेणी धामको विकासका लागि विभिन्न समयमा लगाइएका धार्मिक कार्यक्रम तथा मेला महोत्सवमा उठेका रकमबाहेक नेपाल सरकार, बागमती प्रदेश सरकार, हेटौंडा उपमहानगरपालिकालगायतले पनि यसको निर्माणका लागि बजेट उपलब्ध गराइरहेको छ ।

धामका आकर्षण यि केन्द्रहरु
यो क्षेत्रको विशेष आकर्षणका केन्द्रहरु धेरै छन् । १०८ गौमुखी धारा, बोटिङ गर्ने डुङ्गा, सिस महल पार्क आदी । कुष्माण्ड सरोवर, हेटौंडाको इतिहास झल्काउने हेडम्बा नगरीको आकृति निर्माण गरिएको छ । पर्यटकलाई आकर्षण गर्ने डुङ्गामा गर्मीको राहत मिल्न सक्छ ।
त्रिवेणीधामका देशकै नमूना धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको अध्यक्ष न्यौपानेले बताए । पार्कको भित्रिभागमा अवस्थित सिस महल अर्को आकर्षणको केन्द्र हो । सिस महल भित्रै पाँच पाडवले भगवतीलाई परिक्रमा गरिरहेको आकृति छ । यसै परिसरमा नेपालको नक्सालाई बोकेको महिलाको आकृति जो कोहीलाई पनि लोभ्याउने छ । देशभर र भारतीय तीर्थयात्रीहरु आउन थालेका छन् । यसै परिसरमा रहेको नेपाल धर्तिमाताले नेपालको नक्सालाई बोकेर बसेको फोटो झनै आकर्षक छ । हेटौंडाको नामाकरणबारे इतिहास बुझ्नको लागि समेत सहज होस् भनेर यहाँ पाँच पाण्डवहरु र हिडम्बालाई भिमसेनले आक्रमण गरिरहेको आकृति निर्माण गरिएको छ ।
मेला अर्को आकर्षक पाटो
यहाँ लाग्ने विभिन्न मेलाहरु पनि विशेष आकर्षणका केन्द्र हुन् । जसले धार्मिक पर्यटकहरुलाई लोभ्याउने गरेको छ । हरेक वर्ष माघ महिनामा लाग्ने एक महिने मकर मेलामा पुराणवाचन, बटुकाहरूको सामूहिक व्रतबन्ध, प्रत्येक दिन पाठपारायण, नित्य पूजाआजा हुने गरेको छ ।
द्वापरयुगको अन्त्यतिर पाण्डवहरू गुप्तबास बस्ने क्रममा रत्नावती (राप्ती), कर्णावती (कर्रा) र कौषबाहिनी (कुख्रेनी) को संगमस्थलमा स्नान गरेको स्कन्दपुराणमा व्याख्या गरिए अनुसार मकरमेला लाग्ने गरेको हो । यसै स्थानमा पाण्डवहरूले स्नान, सन्ध्या, तर्पण, दान आदि गरी देवीदेवताको आराधना गरेको विश्वास छ ।
यसैगरी यो स्थानमा कुष्माण्ड नवमीको दिनमा कुभिन्डोमा सुनको प्रतिमा राखेर दान गरेमा पृथ्वी दान गरेबराबरको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । मेलामा भक्तजनले कुभिण्डो र त्यसमाथि सुवर्ण (सुन) दान गर्नेहरुको भीड लाग्ने गरेको छ । भक्तजनहरूलाई पापहरूबाट मुक्त गराउने माताका रुपमा कुष्माण्ड परिचित छिन् । उनै कुष्माण्डको नामबाट स्थापित कुष्माण्ड सरोवर त्रिवेणीधामले वर्षेनी मेला गर्ने गर्दछ । तीन नदीको संगममा रहेको यस ठाउँमा कुष्माण्ड नवमीका दिन कुष्माण्ड भगवतीले तपस्या गरेर सिद्धि प्राप्त गरेको दिनको रुपमा विश्वास गरिन्छ ।
त्यहाँ कुष्माण्ड भगवतीको मन्दिर, गणेश मन्दिर, ब्रह्मकुण्ड, विष्णुपादुका, एक सय आठ गौमुखी धारा, कुष्माण्ड भगवती सरोवर, शिवालय, राधाकृष्ण मन्दिर, हवन कुण्डलगायत सुन्दर बगैंचा निर्माण गरिएको छ । धामको एक छेउमा पहिलेदेखि चल्दै आएको दाहसंस्कारलाई व्यवस्थित गरेर निरन्तरता दिइएको छ । जहाँ दहासंस्कारको लागि स्थान बनाइएको छ भने क्रियापुत्री भवन समेत सञ्चालनमा ल्याइएको छ ।

मेला माथिको मान्यता
कार्तिक शुक्ल नवमी कुष्माण्ड नवमी सत्य युगादी शुरूवात भएको दिन र कुष्माण्डा भगवतीले तपस्या गरी सिद्धी प्राप्त गरेको दिन मानिन्छ । यसै दिनमा यस तीर्थमा देवीदेवता आउने विश्वासको साथ १०८ धारामा स्नान गरी कुभिण्डोमा सुनको प्रतिमा राखी पहेंलो कपडाले छोपी दान गर्नाले आयु, आरोग्य, सुख शान्ति र मोक्ष प्राप्त हुने उल्लेख पाइन्छ । मकरसंक्रान्ति एवं माघमेला महिना भरी लाग्ने हुँदा महा पर्व मानिन्छ । सूर्य धनुराशिबाट मकर राशिमा सरेर उक्त राशिमा रहेसम्म माघ १ गते देखि मसान्तसम्मको समयलाई मकर मास भनिन्छ ।
माघ १ गतेबाट उत्तरायण प्रारम्भ हुन्छ । दक्षिणायनमा भन्दा उत्तरायणमा गरिने शुभ कर्मबाट फल प्राप्त हुने कुरा धार्मिक मान्यता रहेको छ । सत्य युगमा तप गरेको फल मकर सक्रान्ति तथा मकर माहनामा स्नान, दान गर्दा पाउन सकिन्छ भन्ने शास्त्रको भनाइ छ । धाममा १८ पुराण तथा उपपुराण मध्ये एक माघ एक महिनाभर पाठ परायण कथा प्रवचन, हवन, तपेण आदि गरिन्छ, माघमा गरिने कार्यलाई विशेष महत्व शास्त्रले दिएको छ ।
“१०८ गौमुखी धारा र एक माता कुष्माण्डा भगवतीका पाउबाट प्रवाहित जलबाट स्नान गर्न मिल्ने ढुङ्ग धारा समेत गरी १०९ धाराको व्यवस्था गरिएको छ । परिसरमा रहेको गणेश मन्दिर, कुष्माण्डा भगवती मन्दिर, विष्णु पादुका, बम्हकुण्ड, राधाकृष्ण मन्दिर, शिव मन्दिर, हवन भवन, व्यासासन भवन, नाग स्थान, तपस्यारत भगवती सहित सरोवर, बालउद्यान, हेटौडाको चिनारी सहित हिडिम्बा तथा शिशमहल विशेष आकर्षणको केन्द्र हुन् ।
यसैगरी क्रिया पुत्री भवनले स्थानीयको आवश्यकतालाई सम्बोधन गरेको छ । सरोवर परसरमै रहेको विश्राम स्थलहरू, फूल बगैचा, हिंड्ने स्थानमा गरिएको सजावट पनि आकर्षक छन् । समितिले परिसर भित्र गौतम बुद्वको मुर्ति बनाइने योजना पनि रहेको छ । पार्क भित्र अतिथि गृह, स्नान गर्दा कपडा फेर्ने लकर सहित भवन, खानेपानी तथा सिंचाई लगायतको व्यवस्था रहेको छ ।

उत्पत्ति बारे
कुष्माण्ड सरोवर त्रिवेणी धाम धार्मिक मान्यताका आधारमा कुशको जराबाट उत्पत्ति भएको भन्ने विश्वास छ । न्यौपानेका अनुसार हेटौंडा उपमहानगरपालिका ९, १०, ११ र १३ नं. वार्डको सिमानामा अवस्थित यो स्थान सनातन धार्मिक ग्रन्थहरू स्कन्द पुराणको हिमवत खण्ड, महाभारतको आदि पर्व, वनपर्व, वराह, वायुपुराण आदिमा यस त्रिवेणी धामको महिमा वर्णन भएको पाइन्छ ।
तीन नदीको संगम यो धामले नदी क्षेत्रको जग्गालाई संरक्षण गरेको छ । धामको पूर्वमा कर्रा नदी, पश्चिम तर्फ कौशवाही उत्तर वाहिनी नदी, उत्तर तर्फ रत्नवती, दक्षिण तर्फ व्यक्तिगत भोग चलनमा रहेको ऐलानी जमिन छ । यहाँ १०८ गौमुखी धारा लगायत मन्दिर सरोवर आदि स्थापित छन् । गुरूयोजना अनुसार थप निर्माण गर्न बाँकी रहेको समेत ७ विगाह ५ कठ्का जमिन रहेको छ ।
स्थापना वि.सं. २०५२ सालमा त्रिपुरेश्वर शिवालय स्थापना भई अस्त व्यस्त अवस्था रहेको यो क्षेत्रमा २०६६ सालमा विधिवत् कुष्माण्ड सरोवर त्रिवेणी धाम दर्ता र ०६७ जेष्ठ ५ मा १०८ धाराको शिलान्यास गरी ०६७ कार्तिक शुक्ल नवमी कुष्माण्ड नवमी कार्तिक २९ गतेदेखि १०८ धारामा पानी ल्याइएको थियो । सुरुमा पोलिथियन पाईपको धाराबाट पानी सञ्चालन गरी स्नान गर्ने व्यवस्था गरिएको थियो । अनरवत लगाव र मेहनतपछि ०६७ माघ १ गते गौमुखी धाराबाट पानी प्रवाहित गरी स्नान गर्ने कार्यको थालनी गरिएको थियो ।
२०६७ आश्विन २२ गते शुक्रबार घटस्थापनाका दिन कुश्माण्ड भगवतीको स्थापना र नवरात्री पूजा तथा जमरा राखेर सुरूवात गर्दै २०७० मा भगवती मन्दिर पूर्ण र क्रमशः निर्माण गर्दै अघि बढ्दै गईरहेको छ । पुरानो बगरलाई पन्छाउँदै पन्छाउँदै व्यवस्थित गरिएको छ । नदिको आसपासमा हजार मिटरभन्दा बढी तटबन्धन भइसकेको छ । जसले आपसपासको खेतीको समेत सुरुक्षा गरेको छ ।
३० वर्ष राजनीतिक भूमिकामा रहेका न्यौपाने, अहिले सबै दललाई समान मान्दछन् । “मेरो लागि कुनै पनि दल ठुलो र सानो छैन, सबैको लागि यो धाम साझा बनाउन सकियोस्, यहाँ राजनीतिक रङ्ग दिन चाहन्न” उनले भने “सबै दल र व्यक्तिको साथ छ पनि मैले पाएको छु।”

यि काम बाँकी छन्ः
धामको मुख्य आकर्षणको रुपमा रहेको सिस महलमा पंखाले धान्ने अवस्था छैन, चिसो बनाउन एसीको आवश्यकता छ । अतिथीहरु आउँदा भित्र पस्नै नसक्ने गर्मी छ । हेटौंडाको उत्पात्ति, महत्व, पाँच पाण्डवहरुको सन्दर्भको इतिहास समेटेर वृत्त चित्र बनाउने योजनामा छ, जहाँ वृत्तचित्र हेर्दै व्यत्तिले जानकारीहरु टीपोट गर्न सकोस्, टेलीभिजबाट सबै जानकारी दिन सकियोस् भन्ने योजना छ, बजेटको अभावले काम अधुरा छन् । वृत्त चित्रको लागि लेखन सामग्री आफैंले तयार गरेको तर, बजेट माग गर्ने बेलामा बिरामी परे योजना उसै थन्केको न्यौपानले बताए । अर्को योजना बुद्धको मुर्ति निर्माण बाँकी छ । पार्क भित्र कम्तिमा १० फिट अग्लो बुद्धको मुर्ति बनाउने योजना छ ।
सुरक्षा भवन बनाउन बाँकी छ । क्रिया पुत्रीको लागि बनेको भवनलाई व्यवस्थित गर्न बाँकी छ । कृयापुत्री भवन अहिले पनि छ तर हामीले राम्रो व्यवस्थापन गर्न बाँकी छ । दाहासंस्कारको क्षेत्रमा पनि काम बाँकी छ । १०८ धारामा स्नान गर्नेलाई पोषाक फेर्ने कोठाको व्यवस्था गर्न बाँकी छ । लकर सहितको कोठाको व्यवस्था गर्ने योजना भएपनि काममा बजेट अभाव छ । स्नान गर्न आउनेलाई आफ्ना मोबाइल पर्स, पोषाकहरु लकरमा राखेर चाबि लिएर ढुक्कले स्नान गर्न वातावरण बनाउन सकिएको छैन । मुख्य बजारबाट धामसम्म पुग्ने बाटोको केही भाग स्याब गर्न बाँकी छ ।
न्यौपानेका अनुसार यो धामको लागि हालसम्म ७ करोड रुपैयाँलगानी भएको छ । धामको विकास भएसँगैै प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी ५० जनाले रोजगारी पाएका छन् । नेतृत्वमा रहेको दलका नेताहरुले कार्यकर्ताको आवश्यकतालाई हेरे बजेट छर्ने परिपाटीको कारण समयमा सही विकास हुन नसकेको अध्यक्ष न्यौपानेले गुनासो गरे । “नेतृत्वले सानो एउटा मन्दीर बनाए अलपत्र पार्ने हैन, केही व्यक्तिलाई रोजगार दिन सकियो भन्ने तर्फ ध्यान जानु आवश्यक छ” उनले भने “सदुपयाग हुने ठाँउमा लगानी गर्न सरकारले ध्यान दिओस् ।”

यद्यपि धामको धार्मिक तथा पर्यटकीय विकास हुनुपर्ने आवश्यकतालाई मनन गर्दै भक्तजनहरुले स्वतस्फुर्त रुपमा मन्दीर, प्रतिक्षलय, ब्रम्हकुण्ड, बस्ने कुर्सिहरुमा लगानी गरेका छन् । देश संघीयतामा आएसँगै स्थानीय सरकार (हेटौंडा उपमहानगरपालिका) बागमती प्रदेश सरकार र संघीय सरकारले सिमित सहयोग गरेको छ ।
“ठुला र चौडा सडक, आठ/दश तले घर मात्रै विकासको सुचक हैन । प्रदेशको राजधानीमा आकर्षण गर्ने स्थान पनि चाहिन्छ । प्रदेशको राजधानी मकवानपुर प्रवेश गरेपछि आफ्नो काम सकेर घुमफीर र केही ज्ञान लिन सकियोस भन्ने हेतुले लगानी गरिनु पर्छ” भन्छन् अध्यक्ष न्यौपाने ।
मकवानपुरको हेटौंडाबाट पूर्वमा रहेको मकवानपुरगढी दरबार तथा दक्षण पूर्वमा रहेको मुर्तिपार्क, पश्चिममा रहेको शहिद स्मारक, उत्तरमा रहेको पर्यटकीय नगरी थाहा नगरपालिका तथा पूर्वी उत्तरमा रहेको चिसापानी गढी र दक्षिणमा रहेको चुरियामाइ मन्दिर तथा सुरुङ मार्गलाई स्थानीय सरकारले पर्यटन रुटको रुपमा विकास गर्नुपर्ने उनले औल्याए ।

