हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगिताः उपाधी रिगल हेटौँडा रिसोर्टको पोल्टामा
Tags: No Comments
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौडामा भएको सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधी रिगल हेटौँडा रिसोर्ट मकवानपुरको पोल्टामा परेको छ । बुधबार प्रतियोगिताको उपाधीका लागि भएकाे फाइनलमा रियल स्टार क्लबलाई हराउँदै रिगल हेटौंडा रिसोर्टले उपाधी हात पारेको हो ।
एफसी मुण्डियाल क्लबको आयोजनामा भएको प्रतियोगिताको उपाधी रक्षाकालागि रिगलले रियललाई ४–० गोल अन्तरको जीत निकालेको हो । उपाधी रक्षासँगै रियल हेटौडाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात गर्याे भने उपविजेतामा चित्त बुझाएकाे रियल स्टारले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ ।
रिगलकाे जीतमा पहिलो हाफकाे खेलमा मोहित गुरुङले १ गाेल गरे । त्यस्तै दोस्रो हाफको खेलमा सुजल श्रेष्ठले १ गोल तथा अनिष महर्जनले २ गोल गर्दै जीत पक्का गरेका थिए । फाइनलखेलकाे म्यान अफ द म्याच रिगलका अनिष महर्जन घोषित भए ।हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा नवजनजागृति युवा क्लब सिमरालाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै रियल स्टारले फाइनलमा स्थान बनाएको थियो । यस्तै, सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा रिगल हेटौंडा रिसोर्टले अखिल नेपाल खेलकुद महासंघ बागमतीलाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै फाइनल प्रवेश गरेको थियो ।
रिगलका मोहित गुरुङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदा नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक रिगलकै क्रिशल मोक्तान भए । उत्कृष्ट रक्षक रियल स्टारका उर्गेन रुम्बा, उत्कृष्ट मिडफिल्डर रिगलका रितिक श्रेष्ठ, उत्कृष्ट फरवार्ड रिगलकै कप्तान प्रितम स्याङ्बो, उत्कृष्ट प्रशिक्षक पनि रिगलकै विजयलाल श्रेष्ठ घोषित भए ।
एफसी मुण्डियाल क्लब अध्यक्ष सुविन घिमिरे अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा प्रतियाेगिताकाे समापन तथा पुरस्कार वितरण कार्यक्रम भएको हाे । प्रतियाेगिता विजेता तथा उपविजेतालाई नगर उपप्रमुख राजेश बानियाँले पुरस्कार वितरण गरेका थिए ।
हेटौंडा स्पोर्टस् एफसी मुण्डियाल क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको थियो । “राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड” भन्ने नाराका साथ युवा खेलाडीलाई प्रोत्साहन गर्न उमेर समूहको प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक सुदीप सिंह ठकुरीले बताए । प्रतियोगिता संचालनबाट बचत भएको रकम जाजरकोट भूकम्प पीडितहरुका लागि सहयोग गरिने अध्यक्ष घिमिरेले जानकारी दिए ।
मकवानपुर । अन्तरपालिका फुटबल प्रतियोगिताको उपविजेता बनेको मनहरी गाउँपालिकाको फुटबल टिमलाई पालिकाले सम्मान गरेको छ । आइतबार गाउँपालिकामा अध्यक्ष रञ्जन कालाखेती, उपाध्यक्ष रेखा पुलामी, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी लगायतले खादा, प्रमाणपत्रसहित खेलाडिहरुलाई सम्मान गरेको हो ।
मकवानपुरको बकैया गाउँपालिकामा भएको अन्तरपालिका फुटबल प्रतियोगितामा उपविजेतामा चित्त बुझाएको मनहरीले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको थियो ।
उपविजेता हुँदा ५० हजार रुपैयाँ प्राप्त गरेको टिमलाई सम्मान कार्यक्रममा प्रोत्साहनस्वरुप १ लाख रुपैयाँ दिने पालिका अध्यक्ष रञ्जन कालाखेतीले घोषणा गरे ।आगामी कार्यपालिका बैठकबाट प्रोत्साहन रकम अनुमोदन गरी प्रदान गरिने अध्यक्ष कालाखेतीले बताए ।
शनिबार बकैया गाउँपालिकामा भएको पहिलो सहिद स्मृति अन्तरपालिका फुटबल प्रतियोगिताको फाइनल खेलमा बागमती गाउँपालिकासँग टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित भई मनहरी उपविजेता बनेको थियो ।
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा आजबाट थाहा फिल्म फेस्टिभल हुँदैछ । पर्यटन प्रर्वद्धन गर्न तथा थाहा नगर क्षेत्रलाई मिनि फिल्म सिटि बनाउने उदेश्यको साथ पहिलो पल्ट फिल्म फेस्टिभल हुने भएको हो ।
थाहा कला केन्द्रले पर्यटनका लागि फिल्म फेस्टिवल भन्ने नाराका साथ आज मंसिर ९ गतेबाट मंसिर १५ सम्म फिल्म फेस्टिभलको आयोजना गर्न लागेको हो । फेस्टिवलमा चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लग लगाएत प्रर्दशन हुने आयोजकले जनाएको छ ।
थाहा नगरमा चलचित्र छायांकनको स्थल विकास तथा प्रचार गर्ने गरि आयोजकले विभिन्न पर्यटकीय स्थलमा चलचित्रकर्मीलाई भ्रमण समेत गराउने छ । थाहा नगरपालिकाको मुख्य पर्यटकीय क्षेत्रहरुको पहिचान गरि फेस्टिभलमा बृत्तचित्र प्रर्दशन गरिने आयोजक थाहा कलाकेन्द्रका सानुबाबु मुक्तानले बताए । चलचित्र छायांकनको लागि उपयुक्त स्थलहरुको बारेमा फेस्टिभलमा आएका चलचित्र निर्माता, निर्देशक तथा कालाकारहरुलाई जानकारी दिनेगरि बृत्तचित्र तयार पारिएको मुक्तानले जानकारी दिए ।
कार्यक्रम अवधिभर थाहाको पर्यटकीय क्षेत्रको अवलोकन गर्ने थाहानगरको पर्यटन बढाउने तस्वीरहरु कार्यक्रम स्थलमा राखी अवलोकन गराइनेछ । यसैगरी चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लगलगायतका निर्माता, निर्देशक, कलाकार तथा निर्माण पक्षलाई थाहा नगरपालिकासङ्ग पारस्परिक गराउन प्रयास गर्ने आयोजकले जनाएको छ ।
चलचित्र, लघु चलचित्र, म्युजिक भिडियाको निर्माता, निर्देशक तथा निर्माण समूहसंग विषेश अन्तरक्रिया गराइनेछ । मकवानपुर जिल्लामै पहिलो पटक फिल्म फेस्टिवलको आयोजना हुन लागिरहेकोले फेस्टिवलका विशेष आकर्षक हुने आयोजकको दाबि छ । फेसिटवलमा विभिन्न समूहबाट सहभागि भई आएका सामग्रीहरुबाट छानिएका डकुमेन्ट्रि, फिचर फिल्म र सर्ट फिल्महरुको प्रदर्शनी हुने बताइएको छ । कार्यक्रमको कुल लागत २७ लाख ८० हजार लाग्ने अनुमान गरिएको छ ।
फेस्टिभल अबधिभर सयौँको संख्यामा नेपाली चलचित्रका कलाकार, निर्माता तथा निर्देशकहरु आएर थाहा क्षेत्रको अबलोकन गर्ने विश्वास आयोजकको रहेको छ ।
मकवानपुर । आन्तरिक राजश्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७९/०८० मा ८८ प्रतिशत राजश्व संकलन गरेकाे छ । कार्यालयले गत आवमा राजश्व असुली लक्ष्य ७ अरब ५० कराेड ३९ लाख ४२ हजार गरेकाेमा उक्त आवमा ६ अरब ६० कराेड ८८ लाख २२ हजार राजश्व असुली गरेकाे हाे ।
आन्तरिक राजश्व कार्यलय मकवानपुरले राष्ट्रिय कर दिवस तथा कर सप्ताह अन्तर्गत मंगलबार हेटौंडामा गरेको अन्तरक्रिया कार्यक्रममा राजश्व लक्ष्य तथा असुली विवरण सार्वजनिक गर्दै गत आवमा ८८.०७ प्रतिशत राजश्व असुली भएकाे जानकारी गराएको हाे ।
कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा राजश्व असुलीकाे लक्ष्य ८ अरब ८० कराेड ४५ लाख २४ हजार राखेकाे छ । यसैगरी चालु आवकाे कार्तिक महिनासम्म राजश्व असुलीकाे लक्ष्य २ अरब ४७ करोड ५९ लाख ६४ हजार रहेकाेमा उक्त अवधीमा राजश्व असुली १ अरब ८७ करोड ४६ लाख ६४ हजार अर्थात ७५.७१ प्रतिशत रहेकाे आन्तरिक राजस्व कार्यलय मकवानपुरका प्रमुख कर अधिकृत तुलसी प्रसाद भट्टराईले जानकारी दिए ।
यसैगरी मकवानपुर जिल्लाका १ लाखभन्दा बढी जनसंख्या करको दायरामा रहेका उनले बताए । जिल्लाको करिब ४ लाख ६६ हजार जनसंख्यामध्ये १ लाख २ हजार ६ सय ८९ जना करको दायरामा रहेको प्रमुख कर अधिकृत भट्टराईले जानकारी दिए ।भट्टराईका अनुसार आयकर तर्फ ३१ हजार ८ सय ५७ जना, मुल्य अभिबृद्धिकरमा ५ हजार ५ सय ३१ जना, अन्तःशुल्क दर्ता १ हजार ६ सय १६ जना, डब्लु प्यानतर्फ ६ सय ६८ जना, पिप्यानतर्फ ७० हजार १ सय ६४ जना करदाता रहेका छन् ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा गाेविन्द गिरी प्रेरणाका कविता सुनिएका छन् । साहित्य सङ्गम मकवानपुरले साहित्यकार गोविन्द गिरी प्रेरणाका एकल कविता वाचन कार्यक्रम गरी उनका कविता सुनिएकाे हाे ।
विहीबार कवि गिरीले १० वटा कविता वाचन गरेका थिए । मकवानपुर थातथलाे भई हाल अमेरिकालाई कर्म थलाे बनाउँदै आएका उनले विभिन्न देशमा रहँदाकाे अनुभवलाई सङ्गाली लेखिएका आमा, छुटेको रेल लगायतका १० कविताहरू सुनाएका थिए । गिरीका आधा दर्जन बढी कथा सङ्ग्रह, उपन्यास र कविता संग्रह प्रकाशित छन् । साहित्यकार गिरीले हेटौंडाबाट साहित्यकाे पाइला टेकेकाे बताउँदै काठमाडौंमा रहँदा त्यसलाई प्रष्फुटन गर्ने वातावरण मिलेको बताए ।
साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनालले गिरीकाे व्यक्तिगत व्यक्तित्वकाे चर्चा गर्दै उनले हालसम्म मैनाली कथा पुरस्कार, वासुशशी स्मृति पुरस्कार, नारायणी वाङ्गमय पुरस्कारलगायत प्राप्त गरेकाे बताए । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले नेपाली साहित्यका लागि महत्वपूर्ण योगदान दिएकाे गिरीले विभिन्न देशमा रहेर साहित्यका विधामा कलम चलाइ रहनु भएकाेमा गर्व गर्दै उनका सृजनाले मकवानपुर तथा राष्ट्रलाई गुन लगाएकाे बताए ।
कविता वाचन कार्यक्रममा मकवानपुरका पुराना पुस्ता र नयाँ पुस्ताका साहित्यिक सर्जकहरुकाे उपस्थितिमा भएकाे कविता वचान कार्यक्रम सर्जक सञ्जाल मकवानपुर संयाेजक निमेष निखिलकाे प्रमुख आतिथ्यता र साहित्य सङ्गम मकवानपुर अध्यक्ष डीबी बर्ताैलाकाे सभाध्यक्षतामा भएकाे हाे । कार्यक्रमलाई संगम सहसचिव भवानी तिमल्सिनाले सहजीकरण गरेकी थिइन् ।