मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौडामा भएको सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधी रिगल हेटौँडा रिसोर्ट मकवानपुरको पोल्टामा परेको छ । बुधबार प्रतियोगिताको उपाधीका लागि भएकाे फाइनलमा रियल स्टार क्लबलाई हराउँदै रिगल हेटौंडा रिसोर्टले उपाधी हात पारेको हो ।
एफसी मुण्डियाल क्लबको आयोजनामा भएको प्रतियोगिताको उपाधी रक्षाकालागि रिगलले रियललाई ४–० गोल अन्तरको जीत निकालेको हो । उपाधी रक्षासँगै रियल हेटौडाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात गर्याे भने उपविजेतामा चित्त बुझाएकाे रियल स्टारले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ ।
रिगलकाे जीतमा पहिलो हाफकाे खेलमा मोहित गुरुङले १ गाेल गरे । त्यस्तै दोस्रो हाफको खेलमा सुजल श्रेष्ठले १ गोल तथा अनिष महर्जनले २ गोल गर्दै जीत पक्का गरेका थिए । फाइनलखेलकाे म्यान अफ द म्याच रिगलका अनिष महर्जन घोषित भए ।हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा नवजनजागृति युवा क्लब सिमरालाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै रियल स्टारले फाइनलमा स्थान बनाएको थियो । यस्तै, सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा रिगल हेटौंडा रिसोर्टले अखिल नेपाल खेलकुद महासंघ बागमतीलाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै फाइनल प्रवेश गरेको थियो ।
रिगलका मोहित गुरुङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदा नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक रिगलकै क्रिशल मोक्तान भए । उत्कृष्ट रक्षक रियल स्टारका उर्गेन रुम्बा, उत्कृष्ट मिडफिल्डर रिगलका रितिक श्रेष्ठ, उत्कृष्ट फरवार्ड रिगलकै कप्तान प्रितम स्याङ्बो, उत्कृष्ट प्रशिक्षक पनि रिगलकै विजयलाल श्रेष्ठ घोषित भए ।
एफसी मुण्डियाल क्लब अध्यक्ष सुविन घिमिरे अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा प्रतियाेगिताकाे समापन तथा पुरस्कार वितरण कार्यक्रम भएको हाे । प्रतियाेगिता विजेता तथा उपविजेतालाई नगर उपप्रमुख राजेश बानियाँले पुरस्कार वितरण गरेका थिए ।
हेटौंडा स्पोर्टस् एफसी मुण्डियाल क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको थियो । “राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड” भन्ने नाराका साथ युवा खेलाडीलाई प्रोत्साहन गर्न उमेर समूहको प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक सुदीप सिंह ठकुरीले बताए । प्रतियोगिता संचालनबाट बचत भएको रकम जाजरकोट भूकम्प पीडितहरुका लागि सहयोग गरिने अध्यक्ष घिमिरेले जानकारी दिए ।

