भीम विराग कला प्रतिष्ठानले ११ जना स्रष्ट्रालाई पुरस्कृत गर्ने
Tags: No Comments
मकवानपुर । भीम विराग सङगीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले ११ जना स्रष्ट्रालाई पुरस्कृत गर्ने भएकाे छ । प्रतिष्ठानले बैशाख २२ गते शनिबार हेटौडामा सांगितिक तथा साहित्यिक कार्यक्रम गर्दै एउटै मन्चबाट ११ जनालाई पुरस्कृत गर्ने भएको हाे ।
मंगलबार प्रतिष्ठानले पत्रकार भेटघाट गर्दै पुरस्कारकाे जानकारी गराएकाे हाे । भीम विराग सक्रिय रहेका साहित्य, सङ्गीत, कला र पत्रकारिता चारवटा क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाको सहयाेगमा ४ वटा पुरस्कारकाे स्थापना भएकाे प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाकाे आर्थिक सहयाेगमा स्थापना गरिएकाे भीम विराग राष्ट्रिय साहित्य पुरस्कार, २०८० कुन्ता शर्मा (सुनसरी) लाई, भीम विराग राष्ट्रिय सङ्गीत पुरस्कार, २०८० लाल श्रेष्ठ (मकवानपुर) लाई, भीम विराग राष्ट्रिय कला पुरस्कार, २०८० बी.एस. राना (मकवानपुर) र भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार, २०८० जयदेव भट्टराई (ललितपुर) लाई प्रदान गरिने छ । उक्त ४ वटै पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ रहेको छ ।
प्रतिष्ठानले विगत वर्षहरूदेखि नै भाषा, कला, सङ्गीत तथा विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई निरन्तर समर्पण गर्दै आइरहेका अन्य पुरस्कार ७ पुरस्कार समेत शनिबार नै प्रदान गरिनेछ । प्रतिष्ठानले तुलसीमाया शिवकुमारी सृजनशील नारी पुरस्कार, २०८० मञ्जु खराल, (मकवानपुर) लाई प्रदान गरिने भएकाे छ । मुक्तिगोविन्द वैद्यले स्थापना गरेकाे उक्त पुरस्कारकाे राशी १५ हजार रुपैया रहेकाे छ । यसैगरी भीम – मथुरा बाल प्रतिभा पुरस्कार, २०८० ईशान्तकुमार मिश्र (मकवानपुर) लाई प्रदान गरिने भएकाे छ । पुरस्कार संस्थापन विन्दुगोपाल गोर्खाली रहेकाे उक्त पुरस्कारकाे राशी ७ हजार ५ सय रहेकाे छ ।
यस्तै शिला नारी पुरस्कार, २०८० निरु मगर (मकवानपुर) लाई प्रदान गरिने छ । पुरस्कारकाे राशी १५ हजार रहेकाे उक्त पुरस्कारका संस्थापक आशीष श्रेष्ठ रहेकाे छन् । रामकृष्ण बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार, २०८० (साविक विजय बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार) पम्फा थापा मगर (मकवानपुर) लाई प्रदान गरिने जानकारी दिइएकाे छ । संस्थापक चुन बानियाँ रहेकाे उक्त पुरस्कार राशी २० हजार रहेकाे छ । यसैगरी चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार, २०८० आर.आर. चौलागाईं (मकवानपुर) लाई प्रदान गरिने भएकाे छ । पुरस्कार संस्थापक रामबहादुर पाख्रिन रहेका छन् । उक्त पुरस्कारकाे राशी १५ हजार रहेकाे छ ।
यसैगरी १० हजार राशी रहेकाे मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार, २०८० सिमा मिश्र (मकवानपुर) लाई प्रदान गरिने भएकाे छ । उक्त पुरस्कारकाे संस्थापक देवप्रसाद श्रेष्ठ र दीपकप्रसाद श्रेष्ठ हुन् । यस्तै १० हजार राशी रहेकाे अजित सेन गुप्ता भिन्न क्षमता पुरस्कार, २०८० अन्जु धिताल (बारा) लाई प्रादन गरिने भएकाे छ । उक्त पुरस्कारका संस्थापक रोशन सेन गुप्ता रहेका छन् ।
वरिष्ठ कलासाधक भीम विरागको सम्मानमा २०५९ साल भाद्र ७ गते स्थापना भएको भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल’ नेपाली सङ्गीत, साहित्य र कला क्षेत्रमा क्रियाशील संस्था रहेकाे महासचिव छवि अनित्य बताए । देश तथा विदेशमा रही नेपाली वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका सर्जक, स्रष्टाहरूलाई सम्मानित एवम् पुरस्कृत गर्दै उनले बताए । संस्थाले मकवानपुरबाट वार्षिक रुपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान समर्पण गर्दै आइरहेको उनले जानकारी दिए ।
आंचल साहित्य कला पुञ्जले ९ जनालाई सम्मान गर्ने
Tags: No Comments
मकवानपुर । मकवानपुरको हेटौंडामा रहेकाे महिलाहरुको साहित्यिक सस्था आंचल साहित्य कला पुञ्जले ९ जनालाई पुरस्कृत र सम्मान गर्ने भएको छ ।
पुञ्जले सोमबार हेटौंडामा पत्रकार भेटघाट गरि २०८० सालमा प्रदान गर्ने सम्मान र पुरस्कारको जानकारी दिएको हो । पुञ्जले चैत १५ गते हेटौडामा आयाेजना गरी ९ जना स्रष्टालाई सम्मानित गरिने अध्यक्ष भावना सापकाेटाले बताइन् ।
पुञ्जले स्थापना गरेको ८ वटा पुरस्कार र एउटा सम्मानबाट ९ जना सम्मानित हुने पुञ्जकी अध्यक्ष सापकोटाले जानकारी दिइन् । उनका अनुसार हरिवंश भेटवाल र बिजुला भेटवालले स्थापना गरेको बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान २०८० बाट रौतहटकी स्रष्टा रेणुका जीसी सम्मानित हुने भएकी छिन् । उक्त सम्मानको राशी १० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
१ लाख २५ हजारको अक्षयकोषबाट सुरु गरिएको यो सम्मान २०७४ सालमा स्थापना भएको हो । साहित्यमा कलम चलाउने नारी साहित्यकारलाई मात्र दिइने यो सम्मानबाट २०७४ मा कवि प्रतिमा पाठक, २०७५ मा साहित्यकार रुकु कार्की, २०७६ मा साहित्यकार डा. विन्दु शर्मा २०७७ मा समालोचक/कवि ज्ञानु अधिकारी, २०७८ मा मकवानपुरे साहित्यकार तथा साहित्यिक संगठक तिर्थदेवी सिलवाल, २०७९ मा मकवानपुरे कवि तथा गजलकार बबि थापालाई प्रदान गरिएको थियो । यो सम्मान आँचलमा स्थापना भएको अक्षयकोष सहितको पहिलो सम्मान हो ।
यसैगरी प्रतिभा धिताल छन्द सम्मान,२०८० बाट नुवाकोटकी साहित्यिक स्रष्टा सुमित्रा सुमी सम्मानित हुने भएकी छिन् । उक्त सम्मानको राशी १० हजार रुपैयाँ रहेको छ । आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक अध्यक्ष मुना अर्यालले आफ्नी दिदी प्रतिभा धितालको नाममा स्थापना गरेकाे उक्त सम्मान एक लाख अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष छन्दमा कलम चलाउने नारी साहित्यकारलाई प्रदान गरिने छ । २०७५ सालमा स्थापना भएको सम्मानबाट २०७५ मा बुनु लामिछाने, २०७६ मा प्रभा भट्टराई, २०७७ मा नवलपरासी निवासी कृष्णदेवि शर्मा, २०७८ मा भुषिता वशिष्ठ, २०७९ इटहरी निवासी टीका आत्रेयलाई सम्मानित भइसकेका छन् ।
यस्तै ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान २०८० बाट मकवानपुरकी पत्रकार सरिता दाहाल सम्मानित हुने भएकी छिन् । उक्त सम्मानकाे राशी ७ हजार पाँच सय रुपैयाँ रहेकाे छ । दाहाल २ दशकदेखि मकवानपुरमा रहेर पत्रकारितामा क्रियाशील छिन् । आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष स्वर्गीय अप्सरा तिम्सिना लम्साल तथा प्रकाश लम्सालले आफ्नो ससुराबा/बुबाको नाममा स्थापना गरेका उक्त सम्मान एक लाख अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष पत्रकारिताको क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तिलाई प्रदान गरिन्छ । २०७५ सालमा २०७५ सालमा स्थापना भएको यो सम्मानबाट स्थापना भएकाे वर्ष मकवानपुरका अग्रज पत्रकार कौशल पाण्डे, २०७६ मा नवराज शर्मा, २०७७ मा प्रताप विष्ट, २०७८ मा कृष्णराम परियार, २०७९ मा राममणी दाहाल सम्मानित भइसकेकाे छन् ।
टीकादत्त-मायादेवी-कुलकुमारी साहित्यिक सम्मान-२०८० बाट काठमाडौैकी स्रष्टा प्रभा बराल सम्मानित हुने भएकी छिन् । उक्त सम्मानकाे राशी ११ हजार १ सय ११ रहेकाे छ । साहित्यकार रुकु कार्कीलगायत उनका बहिनी प्रमिला शर्मा, अम्बिका उप्रेती, अन्जु उप्रतीले पिता तथा माताद्धयको नाममा १ लाख ५० हजारको अक्षयकोषसहित सुरुवात गरिएको यो सम्मान २०७६ सालमा स्थापना भएको हो । २०७६ मा कवि ललिता दोषी, २०७७ मा कवि निमेष निखिल, २०७८ मा देवराज खरेल, २०७९ मा साहित्यकार माधव पोखरेल सम्मानित भएका छन् ।
यस्तै अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान-२०८० बाट नेत्र एटम काठमाडौं सम्मानित हुनेछन् । गंगाधर तिमल्सिना र यशोधरा तिमल्सिनाले स्थापना गर्नुभएको अप्सरा स्मृति सम्मानको राशि १५ हजार एक रुपैयाँ रहेको छ । आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष स्वर्गीय अप्सरा तिम्सिनाको नाममा उहाँका मातापिता गजाधर तिम्सिना तथा यशोधरा तिम्सनाले १ लाख ९० हजार रुपैयाँको अक्षयकोषसहित सुरु गरिएकाे उक्त सम्मान साहित्यको क्षेत्रमा विशेष योगदान पुर्याउनु हुने व्यक्तिलाई प्रदान गरिन्छ । यो सम्मानबाट २०७६ मा मकवानपुरे साहित्यकार आरसी रिजाल, २०७७ काठमाडौं निवासी कवि प्राज्ञ लक्ष्मी माली, २०७८ मा चितवन निवासी कवि तथा साहित्यकार सरिता तिवारी, २०७९ मा आख्यानकार माया ठकुरी सम्मानित भएका थिए ।
मंगलादेवि श्रेष्ठ बाल प्रतिभा सम्मान-२०८० बालजागृति इङलिस स्कुलकी प्रसिद्धि लामिछाने सम्मानित हुने भएकी छिन् । मकवानपुरका स्रष्टा लामिछानेलाई ३ हजार ५ सय रुपैयाकाे उक्त सम्मान प्रदान गरिने छ । शिक्षा सेवी देवप्रसाद श्रेष्ठले विद्यालय तहमा अध्ययनरत विशेष प्रतिभा भएका विद्यार्थीहरूलाई प्रदान गरिने गरी उक्त सम्मान स्थापना गरेका हुन् । उक्त सम्मानबाट २०७७ मा अमर माविमा अध्ययनरत् प्रज्वल ढुंगाना, २०७८ मा बालजागृति इङलिस स्कुलका ऋत्विक केवि, २०७९ मा जीएस निकेतनका समर्पण न्यौपाने सम्मानित भइएका छन् ।
मुक्ति-तारा नवप्रतिभा सम्मान-२०८० बाट मकवानपुरकी स्रष्टा स्वस्तिका बाँनिया सम्मानित हुने छिन् । ५ हजार रुपैया राशीकाे उक्त सम्मानकाे स्थापना मुक्तिगाेविन्द वैद्य र तारादेवी वैद्यले गरेका हुन् । २०७७ मा स्थापना भएकाे उक्त सम्मान २०७७ सालबाटै प्रदान गरिएकाे हाे । यो पुरस्कारबाट २०७७ मा मकवानपुरे नवप्रतिभा प्रसिद्धिका लम्साल, २०७८ मा प्रसन्ना चौलागाई, २०७९ मा कृतिका लौडारी सम्मानित भएकी थिइन् ।
मकवानपुरका स्रष्टा दीपक गौतमलाई सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान २०८० प्रदान गरिने छ। १० हजार रुपैया राशी रहेकाे सम्मानकाे संस्थापक चन्द्रकिरण श्रेष्ठ र मेनुका शर्मा हुन् । समाजसेवी श्रेष्ठ र शर्माले २०७७ मा स्थापना गरेकाे उक्त सम्मान २०७७ सालबाट प्रदान गरिदै आइएकाे छ । यस सम्मानबाट २०७७ मा कवि सुवास खनाल, २०७८ मा कवि छवी अनित्य, २०७९ मा मकवानपुरका बाँसुरी वाधक विष्णु बहादुर विश्वकर्मा सम्मानित भएका थिए ।
यस्तै आँचल सम्मान २०८० बाट हरिवंश भेटवाल सम्मानित हुने भएका छन् । आँचल साहित्य कला पुञ्ज मकवानपुरले प्रदान गर्ने गरेको आँचल सम्मान २०८० मकवानपुरमा रहेर निरन्तर रुपमा साहित्य श्रीवृद्धिका लागि योगदान गर्नु हुने सामाजिक व्यक्तित्व साहित्यसेवी भेटवाललाई प्रदान गरिने भएको हाे । संस्थाको अक्षयकोक्ष स्थापना गरेर सहयोग गर्नुका साथै आफूलेसमेत अक्षयकोष स्थापना गरेर आँचललाई संस्थागत गर्न सघाउ पुर्याउनु भएकाे कदर गर्दै उनलाई उक्त सम्मानद्वारा सम्मानित गरिने भएकाे हाे ।
चैत १५ गते विद्यालयस्तरीय एकल गायन प्रतियोगिता हुने छ । आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा एकल गायन प्रतियोगिता हुने भएको हो । वृहत् साहित्यक साँस्कृतिक कार्यक्रमसहित हुने गायन प्रतियोगितामा जिल्ला भरीका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाउने अध्यक्ष सापकाेटाले जानकारी दिइन् । गायन प्रतियोगिता सँगसँगै स्रष्टा सम्मान, बहस र रचना वाचन कार्यक्रम पनि हुने जनाइएको छ ।
आँचल साहित्य कला पुञ्ज मकवानपुरमा रहेको महिलाहरूको कृयाशील संस्था हो । २०६९ सालमा स्थापना भएको संस्थाले मकवानपुरमा रहेर विभिन्न साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ । हरेक महिनाको तेस्रो शनिबार नियमित भेटघाटको कार्यक्रम अन्तर्गत महिलाहरू मात्र जम्मा भएर साहित्यिक गतिविधि सञ्चालन गर्दै आइरहेको यस संस्थाले वर्षमा चारओटा वृहत कार्यक्रम गर्दै आइरहेको छ । यस संस्थाले हरेक वर्ष ९ जना श्रष्टालाई फरक फरक सम्मान तथा पुरस्कार प्रदान गर्ने गरेको सापकाेटा बताउँछिन् ।
मकवानपुर । साहित्य सङ्गम मकवानपुरले एकै मञ्चमा १४ जना लेखकलाई सम्मान गरेको छ । २०८० साल भित्र पुस्तक प्रकाशन गर्ने मकवानपुरले लेखकलाई सङ्गमले शनिबार एकै मञ्चमा सम्मान गरेको छ ।
सङ्गमको ३ सय ४२ औ साहित्य सन्ध्याका प्रमुख अतिथि नवराज शर्मा तिमल्सिनाले सम्मान गर्दै पुस्तक प्रकाशन गराएका स्रष्टाहरूलाई सम्मान गर्ने परम्पराले अन्य पुस्तक लेखन र प्रकाशनमा हौसला मिल्ने बताए ।
सङ्गमले माटोको मोहका लागि तुलसी घिमिरे, महाकाशका लेखक मुना अर्याल, अकिञ्चनका आर्तहरू- देवराज खरेल, घुम्दै फिर्दै- जनार्दन खनाल,अनुत्तरित प्रश्न- समीर पाख्रिन, जुनेली- पुरूषोत्तम आचार्य, बैङ्किङ क्षेत्रमा बढेका पाइलाहरू- सुदर्शन अधिकारी,अन्तर्दृष्टी- किशन पौडेल,व्यथाभित्रको कथा- श्यामप्रसाद श्रेष्ठ, म कथा भन्छु नि ल- सिएम रिमाललाई सम्मान गरेको हो ।
यस्तै हार्न नसक्ने मान्छे म- गणेशकुमार तिमल्सिना,प्रारम्भिक संस्कृत व्याकरण- उदिम पन्त,पल्लवित पाइला- कृशु अर्याल, मेकिङ इट इजी- आदर्श पौडेललाई सम्मान गरेको छ ।
अनुशुया खनालले बालोरी छन्दको कविता वाचन गरेको सन्ध्यामा राजबहादुर बुढा, राजकुमार चौधरी, एलिजा ढकाल, ऋषिराम पाण्डे, स्वस्तिका दाहालले कविता वाचन गरेका थिए । यसैगरी मसान उपासक, देवराज तिवारी र देवराज खरेलले गजल साथै सुबास सजलले मुक्तक वाचन गरे । सम्मानित स्रष्टाहरूले समेत रचना वाचन गरेका थिए ।
सङ्गमका अध्यक्ष डीबी बर्तौलाले सम्मानित स्रष्टाहरूलाई सम्मान गर्ने अघिल्लो कार्यसमितिदेखिको परम्पराले निरन्तरता पाएको बताए । सम्मान कार्यक्रमलाई हेटौंडा १८ का लक्ष्मण भुजेलबाट सहयोग प्राप्त भएको उनले जानकारी दिए ।
यसैगरि लेखक गणेशकुमार तिमल्सिनाले ५० प्रति पुस्तक सङ्गमलाई सहयोग गरेका छन् । विधान संशोधनका क्रममा रहेको बताउँदै बर्तौलाले सङ्गमबाट भएको सहयोग सङ्कलनमा हालसम्म ४ लाख ५० हजार रुपैयाँ भएको जानकारी दिए ।
लामाले गरे साहित्य सङ्गम मकवानपुरलाई १ लाख सहयोग
Tags: No Comments
मकवानपुर । मकवानपुरको अग्रणी साहित्य संस्था साहित्य सङ्गम मकवानपुरलाई डा.गणेश लामाले १ लाख रुपैया सहयोग गरेका छन् ।
लामाले प्रदान गरेको उक्त रकमबाट अक्षय कोष निर्माण गरिएको सङ्गम अध्यक्ष डीबी बर्तौलाले बताए । उक्त कोषबाट वार्षिक रुपमा प्राप्त व्याजबाट उत्कृष्ट प्रतिभालाई समान गर्ने गरी ‘डा.गणेश लामा प्रतिभा सम्मान’स्थापना गरिएको उनले जानकारी दिए । प्रतिभा सम्मानको राशी १० हजार रुपैयाँ रहेको छ ।
बर्तौलाले लामाले सङ्गम परिवारलाई विश्वास गर्नु भएकोमा खुसी व्यक्त गर्दै सङ्गमको तर्फबाट धन्यवाद दिए । उक्त कार्यमा सङ्गमका सल्लाहकार निमेष निखिलले पहल गर्नु भएको थियो ।
बर्तौलाले सङ्गममार्फत साहित्यिक उन्नयनमा निरन्तर लागि रहेको बताए ।
मकवानपुर । मकवानपुरकाे अग्रणी साहित्य संस्था साहित्य सङ्गम मकवानपुरले एउटै मञ्चमा ७ जनालाई सम्मान गरेको छ ।
सङ्गमद्वारा स्थापित विभिन्न सम्मान तथा पुरस्कार २०८० सालकाे लागि शनिबार उनिहरु सम्मानित भएका हुन् । सङ्गमको ३ सय ४१ औं साहित्य सन्ध्या तथा सम्मान समर्पण कार्यक्रममा प्रमुख अतिथि साहित्यकार निर्मोही ब्यासलगायतले ७ जना सर्जकलाई सम्मानित गरेका हुन्।
तत्कालीन जिल्ला विकास समिति मकवानपुर र साहित्य सङ्गम मकवानपुरद्वारा स्थापित १५ हजार ५ सय ५५ रुपैयाँ राशिको ‘मकवानपुर साहित्यश्री सम्मान २०८०’ बाट ईन्द्रजित शर्मा चौलागाईं सम्मानित भएका छन् । मकवानपुरे साहित्यकार शर्मा हास्य तथा टेलिश्रृङ्खलामा अभिनयमा समेत सक्रिय छन् । गत वर्ष उक्त सम्मानबाट शम्भु बास्काेटा सम्मानित भएका थिए ।
यसै गरी १५ हजार ५ सय ५५ रुपैया राशिको ‘भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८०’ बाट धनकुटाकी स्रष्टा कल्पना काफ्ले सम्मानित भएकी छिन् । उक्त सम्मान मकवानपुरे साहित्य सर्जक विशाल अधिकारी आशुतोषले स्थापना गरेका हुन् । उक्त सम्मानबाट गत वर्ष सुदेश सत्याल सम्मानित भएका थिए ।
यस्तै १० हजार राशिको ‘विनोद-सुनिता सुवेदी साहित्य सम्मान २०८०’ बाट ललितपुरका स्रष्टा श्रीराम पाण्डे सम्मानित भए । उक्त सम्मान बालजागृति इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुल हेटाैडाका प्रिन्सिपल विनोद सुवेदी तथा शिक्षक सुनिता सुवेदीले स्थापना गरेका हुन् । ‘सुभद्रादेवी-मदन मुडवरी स्मृति सम्मान २०८०’ बाट मकवानपुरका साहित्यकार विश्वनाथ सञ्जेल सम्मानित भएका छन् । १० हजार रुपैया राशिको उक्त सम्मान हेटौंडाका (हाल अमेरिका निवासी) दीपक मुडवरीले स्थापना गरेका हुन् । उक्त सम्मानबाट गत वर्ष पूर्णकला घिमिरे सम्मानित भएकी थिइन् ।
यसैगरी हेटौंडाका शिक्षासेवी देवप्रसाद श्रेष्ठले स्थापना गरेकाे १० हजार रुपैया राशिको ‘मङ्गलादेवी श्रेष्ठ नारी स्मृति सम्मान २०८०’ बाट मकवानपुरकी साहित्यकार भावना सापकोटा सम्मानित भएकी छिन् । सापकाेटा आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष हुन् । उक्त सम्मानबाट गत वर्ष साहित्यकार विना थिङ्ग सम्मानित भएकी थिइन् । यस्तै १० हजार राशिको ‘मुक्ति-तारा सम्मान २०८०’ बाट मकवानपुरे स्रष्टा सानुभाइ विश्वकर्मा सम्मानित भए । उक्त सम्मान हेटौंडाका साहित्यसेवी मुक्तिगोविन्द वैद्य र तारादेवी वैद्यले स्थापना गरेका हुन् । गत वर्ष उक्त सम्मानबाट साहित्यकार एसके निधन सम्मानित भएका थिए ।
हेटौंडाका साहित्यिक स्रष्टा, अधिवक्ता ऋषि केबी र शिक्षक पूण्यशिला श्रेष्ठले स्थापना गरेकाे १० हजार राशिको ‘रामहरि-देवु सम्मान २०८०’ बाट मकवानपुरका साहित्यकार किशन पौडेल सम्मानित भएका छन् । पौडेल लघुकथा चौतारी मकवानपुरका अध्यक्ष हुन् । गत वर्ष उक्त सम्मानबाट लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्य सम्मानित भएका थिए ।
सङ्गम अध्यक्ष डीबी बर्तौलाकाे सभाध्यक्षता तथा साहित्यकार निर्मोही ब्यासकाे प्रमुख आथिथ्यतामा भएकाे कार्यक्रममा सम्मानित सातै जना स्रष्ट्राले मन्तव्यसहित आआफ्नाे रचना वाचन गरेका थिए । कार्यक्रमकाे सहजीकरण सङ्गम सचिव मनोज पोखरेलले गरेका थिए ।
२५ हजार राशिको निबन्ध पुरस्कार प्रदान गरिने
साहित्य सङ्गम मकवानपुरका संस्थापक केशव श्रेष्ठ ‘ज्योति’ द्वारा स्थापित साहित्य सङ्गम मकवानपुर कृति सम्मान २०७९ संस्थाको कार्यविधिअनुरुप प्रदान गरिने भएकाे छ । २५ हजार १ रुपैयाँ राशिको सो सम्मानकाेलागि सर्वोत्कृष्ट कृति छनौटकाे दर्ता आह्वान गरिएको संगम अध्यक्ष डीबी बर्तौलाले बताए ।
उक्त सम्मानकाे लागि २०७९ बैशाखदेखि चैत्र मसान्तसम्म प्रकाशन भएको निबन्ध विधाका मौलिक सङ्ग्रह पुरस्कार छनौट समितिलाई उपलब्ध गराउनु पर्ने तथा कृति अन्य कुनै पनि राष्ट्रिय पुरस्कारका लागि छनोट नभएको हुनुपर्ने बर्तौलाले जानकारी दिए । आगमी चैत्र २० गतेभित्र पुस्तक, श्रष्टाको नाम, ठेगाना, सम्पर्क नम्बर, प्रकाशित मिति समेत उल्लेख गरी छनोट समितिसमक्ष उपलब्ध गराउनु पर्ने उनले बताए ।