मकवानपुर । साहित्य सङ्गम मकवानपुरले एकै मञ्चमा १४ जना लेखकलाई सम्मान गरेको छ । २०८० साल भित्र पुस्तक प्रकाशन गर्ने मकवानपुरले लेखकलाई सङ्गमले शनिबार एकै मञ्चमा सम्मान गरेको छ ।
सङ्गमको ३ सय ४२ औ साहित्य सन्ध्याका प्रमुख अतिथि नवराज शर्मा तिमल्सिनाले सम्मान गर्दै पुस्तक प्रकाशन गराएका स्रष्टाहरूलाई सम्मान गर्ने परम्पराले अन्य पुस्तक लेखन र प्रकाशनमा हौसला मिल्ने बताए ।
सङ्गमले माटोको मोहका लागि तुलसी घिमिरे, महाकाशका लेखक मुना अर्याल, अकिञ्चनका आर्तहरू- देवराज खरेल, घुम्दै फिर्दै- जनार्दन खनाल,अनुत्तरित प्रश्न- समीर पाख्रिन, जुनेली- पुरूषोत्तम आचार्य, बैङ्किङ क्षेत्रमा बढेका पाइलाहरू- सुदर्शन अधिकारी,अन्तर्दृष्टी- किशन पौडेल,व्यथाभित्रको कथा- श्यामप्रसाद श्रेष्ठ, म कथा भन्छु नि ल- सिएम रिमाललाई सम्मान गरेको हो ।
यस्तै हार्न नसक्ने मान्छे म- गणेशकुमार तिमल्सिना,प्रारम्भिक संस्कृत व्याकरण- उदिम पन्त,पल्लवित पाइला- कृशु अर्याल, मेकिङ इट इजी- आदर्श पौडेललाई सम्मान गरेको छ ।
अनुशुया खनालले बालोरी छन्दको कविता वाचन गरेको सन्ध्यामा राजबहादुर बुढा, राजकुमार चौधरी, एलिजा ढकाल, ऋषिराम पाण्डे, स्वस्तिका दाहालले कविता वाचन गरेका थिए । यसैगरी मसान उपासक, देवराज तिवारी र देवराज खरेलले गजल साथै सुबास सजलले मुक्तक वाचन गरे । सम्मानित स्रष्टाहरूले समेत रचना वाचन गरेका थिए ।
सङ्गमका अध्यक्ष डीबी बर्तौलाले सम्मानित स्रष्टाहरूलाई सम्मान गर्ने अघिल्लो कार्यसमितिदेखिको परम्पराले निरन्तरता पाएको बताए । सम्मान कार्यक्रमलाई हेटौंडा १८ का लक्ष्मण भुजेलबाट सहयोग प्राप्त भएको उनले जानकारी दिए ।
यसैगरि लेखक गणेशकुमार तिमल्सिनाले ५० प्रति पुस्तक सङ्गमलाई सहयोग गरेका छन् । विधान संशोधनका क्रममा रहेको बताउँदै बर्तौलाले सङ्गमबाट भएको सहयोग सङ्कलनमा हालसम्म ४ लाख ५० हजार रुपैयाँ भएको जानकारी दिए ।

