मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिकाले आंशिक अपाङ्गता भएका व्यक्तिहरुलाई निर्वाहकाे लागि सहायता रकम उपलब्ध गराएकाे छ ।
मंगलबार गाउँपालिकाले ७८ जना पहेलो कार्ड प्राप्त आंशिक अपाङ्गता भएका व्यक्तिलाई प्रतिव्यक्ति ५ हजार ३ सय रुपैंया सहयाेग उपलब्ध गराएकाे हो । पूर्ण अपङ्गता भएका व्यक्तिलाई केन्द्र सरकारले मासिक रुपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएपनि आंशिक अपाङ्गता भएकाहरुकाे हकमा स्थानीय सरकारले अभिभावकत्व लिनु पर्ने भएकाेले सहायता रकम वितरण गरिएकाे गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताए ।
“आंशिक अपाङ्गता भएका व्यक्ति भनिएपनि कोहि पेशा/व्यवसाय गर्न असक्षम हुन्छन्” अध्यक्ष कालाखेतीले भने, “उनीहरुलाई चाडपर्वमा केही राहत पुगोस भनेर यस्तो कार्यक्रम ल्याइएको हो ।” गाउँपालिकाले आन्तरिक स्राेतबाट उक्त रकम उपलब्ध गराएकाे हाे । गत वर्षबाट गाउँपालिकाले आंशिक अपाङ्गता भएका व्यक्तिकाे लागि सहयोग गर्ने कार्यक्रम ल्याएकाे हाे ।
मकवानपुर । वर्षाकाे कारण अबरुद्ध हेटौंडाबाट काठमाडौं जाने ३ वटा छोटो मार्ग संचालनमा आएकाे छ ।
१०–१२ असोजमा परेको अविरल वर्षाकाे कारंण आएको बाढीपहिरोले बागमती प्रदेश राजधानी हेटौडालाई संघीय राजधानी काठमाडौ जोड्ने छोटो दुरीका ३ वटा मार्ग ९ दिनदेखि अवरुद्ध रहेकाे थियाे ।
हेटौंडा- कुलेखानी-सिस्नेरी-दक्षिणकाली-काठमाडौं, कुलेखानी-फाखेल-हुमानेभन्ज्याङ्ग-काठमाडौं, कुलेखानी- महालक्ष्मी-चखेल-मातातिर्थ-काठमाडौं मार्ग आइतवारबाट संचालनमा आएको हाे। यसैगरी मार्खु-चित्लाङ्ग-चन्द्रागिरी-काठमाडौं सडक बुधबारदेखि नै खुलेको हाे। कुलेखानी ड्याममुनिको डाइभर्सनको काम सकिएपछि फाखेल र सिस्नेरीको दुवैतर्फको मोटरबाटो आइतबारबाट संचालनमा आएको बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्री अमन कुमार मास्केले जनाकारी दिए ।
मन्त्री मास्केका अनुसार दसैंकाे चहलपहल सुरु भएकाेले सवारी साधनको आवागमनको चाप अत्याधिक हुने हुँदा सिस्नेरी र फाखेलकाे बाटो मध्ये आउँदा एकातर्फबाट जाँदा अर्कोतर्फबाट जाने गरी सवारी साधन चलाउने विषयमा छलफल भइरहेको छ। दक्षिणकालीबाट सिस्नेरीसम्मकाे खण्ड भने शुक्रबार नै खुलेको थियाे ।
बाढीपहिरोले क्षतिग्रस्त हटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ भने केही दिनमा संचालन हुने बताइएकाे छ । त्रिभुवन राजपथ हुँदै दामन–पालुङ्ग –चित्लाङ–चन्द्रागिरी–काठमाडौं सडक भने १४ असोजबाट संचालन आएकाे थियाे । बाटो अवरुद्ध हुँदा त्रिभुवन राजपथमा सवारीको चाप बढेको थियो।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा भएकाे जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि हेटौडाकाे पदमपोखरी युथ क्लबले हात पारेकाे छ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा शनिबार भएको फाइनल खेलमा शहीद स्मृति क्लबलाई ३–१ गोलअन्तरले हराउँदै पदमपोखरीले उपाधि जितेको हो ।
प्रतियोगिताको उपाधि विजेतासँगै पदमपोखरीले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएकाे बागमती गाउँपालिकाको शहीद स्मृतिले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।
पदमपोखरीको जितमा दिवस गोलेले पहिलो हाफको २४ औं मिनेटमा, विजेश तितुङ्ले दोस्रो हाफको २१औं मिनेटमा र अमीत स्याङ्तानले इन्जुरी समयमा १ गोल गर्दै पदमपोखरीको जित सुनिश्चित गरेका थिए । एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । शहीद स्मृतिका उप्रान्त आले मगरले पहिलो हाफकाे ३९औं मिनेटमा १ मात्र गोल गरेका थिए ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी पदमपोखरीका रोजक थिङ, फर्वार्ड शहीद स्मृतिका उप्रान्त आले मगर, पदमपोखरीका प्रशिक्षक ज्ञानु मुक्तान, मिडफिल्डर नवराज थिङ, गोलरक्षक रोजक थिङ र उत्कृष्ट डिफेन्डर अरूण आले मगर घोषित भए । उनीहरुले ट्रफि प्राप्त गरेका छन् ।
शहीद स्मृति जिल्ला लिगमा पहिलो पटक सहभागी भएको हो भने पदमपाेखरी पहिलाेपटक लिग विजेता भएकाे हाे । १४ भदौबाट सुरु लिग जिल्लामा रहेका २८ वटा क्लवलाई वर्गीकरण गर्ने गरी संचालन गरिएको थियाे । फुटबल संघमा आबद्ध रही अघिल्लो पटकको लिग खेलेका २८ क्लवलाई ४ समूहमा विभाजन गरि प्रतियाेगिता संचालन भएकाे हाे ।
यसअघि भएको जिल्ला लिगको उपाधि न्यु डाँफे युथ क्लबले जितको थियो भने हटिया स्पोटर्स एकेडेमी उपविजेता रहेकाे थियो।विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई बागमती प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामा, प्रतियोगिता संयोजक युवराज लामालगायतले पुरस्कार प्रदान गरेका हुन् ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा हाडीखोला युथ क्लब र शहीद स्मृति क्लब सेमिफाइनल प्रवेश गरेकाे छ । योसँगै जिल्ला लिगमा सेमिफाइनल समिकरण पुरा भएको छ ।
साविक विजेता न्यू डाँफे क्लबलाई हराउँदै मनहरी गाउँपालिकाको हाँडीखाेला युथ सेमिफाइनलमा स्थान बनाएकाे हाे । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको क्वाटरफाइनलमा न्यू डाँफेलाई ३–१ गोल अन्तरले हाँडीखोला विजयी भएकाे हाे ।
न्यू डाँफेका लागि ४० औं मिनेटमा सुशान्त तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा हाँडीखोलाले ३ गोल गर्दै खेलको निर्णय आफ्नो पक्षमा पार्न सफल भयो । खेलको म्यान अफ द म्याच हाँडीखोलाका उत्सव खड्का घोषित भए । हाँडीखोला समूह ‘घ’ को विजेता र न्यू डाँफे समूह ‘ख’ को उपविजेताको रुपमा क्वाटरफाइनल पुगेका थिए ।
मंगलबार नै भएको अन्तिम क्वाटरफाइनल खेलमा जित निकाल्दै बामगती गाउँपालिकाको शहिद स्मृति क्लब सेमिफाइनल पुगेको छ । उसले गोर्खा ब्वाइज क्लवलाई २–० गोल अन्तरले हराएकाे हाे । खेलमा गोर्खा ब्वाइजले केही मौका पाएपनि सदुपयोग गर्न नसक्दा हार व्यहोर्न बाध्य भयो । खेलको म्यान अफ द म्याच बागमतीका मेसक राई घोषित भए । गोर्खा ब्वाइज समूह ‘ख’ को विजेता र सहिद स्मृति समूह ‘घ’ को उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको थियो ।
सोमबार भएको क्वार्टरफाइनल खेलमा विजयी हुँदै एफसी पोताला र पदमपोखरी युथ क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । न्यू कम्बाइन क्लबलाई २–१ गोलले हराउँदै एफसी पोताला सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै, सक्षम युवा क्लबलाई टाइब्रेकरमा हराउँदै पदमपोखरी युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनल खेल बिहीबार हुने आयोजकले जनाएको छ । १४ भदौबाट सुरु लिगको प्रतियोगिताको फाइनल खेल १२ असोजमा हुनेछ । लिग विजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्ने छन् भने प्रदेशस्तरीय लिगमा सहभागिता जनाउने छन् । उपविजेता टिमले ५० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्ने छन् ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा एफसी पोताला र पदमपोखरी युवा क्लव सेमिफाइनल प्रवेश गरेको छ ।
सोमबार भएको क्वाटरफाइनल खेलमा पोतालाले न्यू कम्बाइन क्लवलाई र पदमपोखरीले सक्षम युवा क्लव नेवारपानीलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । पहिलो क्वाटरफाइनलमा पोतालाले कम्बाइनलाई २–१ ले हराएको हो । दोस्रो खेलमा पदमपोखरीले सक्षमलाई सडनडेथमा हराउँदै सेमिफाइनलकाे यात्रा तय गरेकाे हाे । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथ मार्फत विजेताको छिनोफानो गरिएको हो ।
जारी प्रतियोगितामा मंगलबार पनि क्वाटरफाइनल चरणको दुई खेल हुनेछ । पहिलो खेल गोर्खा ब्वाइज क्लव हेटौंडा र सहीद स्मृति क्लव बागमती गाउँपालिकाको बीचमा हुनेछ । यसैगरी दोस्रो खेल हाँडीखोला यूथ क्लव मनहरी गाउँपालिका र साविक विजेता न्यू डाँफे क्लवले खेल्नेछन् ।
१४ भदौबाट सुरु लिगको प्रतियोगिताको फाइनल खेल १२ असोजमा हुनेछ । लिग विजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्ने छन् भने प्रदेशस्तरीय लिगमा सहभागिता जनाउने छन् । उपविजेता टिमले ५० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्ने छन् ।