मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) मकवानपुर संस्थापन पक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मकवानपुरमा समायोजित भएको छ । शुक्रबार हेटौंडामा नेकपा माओवादी केन्द्रले समायोजन कार्यक्रम आयोजना गर्दै जनता समाजवादी पार्टीको संस्थापन पक्षका एक सय २९ जना नेता तथा कार्यकर्तालाई पार्टीमा समायोजन गरेको हो ।
जनता समाजवादी पार्टी बागमती प्रदेशका पूर्व परिषद अध्यक्ष एवं अनुशासन समिति संयोजक शुभरत्न गोले तामाङको नेतृत्वमा एक सय २९ जना नेता, कार्यकर्तालाई नेकपा माओवादी केन्द्रका नेताहरुले पार्टीमा स्वागत गरेका हुन् । कार्यक्रमकी प्रमुख अतिथी तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले रगतसँग साटेर ल्याएको गणतन्त्र जोगाउन एकजुट हुनुको विकल्प नभएको बताईन् ।
‘गणतन्त्र जोगाउने र संस्थागत गर्ने मुख्य जिम्मेवारी माओवादीको हो,’ उनले भनिन्, ‘गणतन्त्र विरुद्ध आवाज उठ्दा जनताको मन दुःखेको छ, सबै शक्ति एकजुट भएर गणतन्त्र जोगाउनुपर्ने बेला आएको छ ।’ प्रदेशको आवश्यक्ता बागमती प्रदेश सरकारले मुख्य रुपमा पुष्टि गरेको भन्दै उनले तामाङ र नेवारको भाषालाई प्रदेशको भाषाको रुपमा राखेर नयाँ आयाम थपेको दाबी गरिन् । पद भन्दा पनि जिम्मेवारी महत्वपूर्ण रहेको जिकिर गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास एकढिक्का भएर गर्नुपर्नेमा जोड दिईन् । विचारको हिसावले सबैभन्दा अग्रगामी विचार र कार्यदिशा भएको पार्टी माओवादी भएकाले देशमै एक नम्बरको जिल्ला कमिटी बनाउनुपर्नेमा जोड दिईन् । हामीले यही देशमा उज्वल भविष्य देख्नुपर्ने भन्दै उनले जिल्लामा एक नम्बरको पार्टी निर्माणमा लाग्न नेता, कार्यकर्तालाई आग्रह गरिन् ।
कार्यक्रमका विशेष अतिथि तथा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष एवं बागमती प्रदेश सांसद प्रेम बहादुर पुलामीले समाजवाद हुँदै साम्यवाद ल्याउन सबै राष्ट्रबादी एकजुट हुन मकवानपुरबाट राम्रो सन्देश गएको बताए । परिवर्तनको शुरुवात सानो झिल्कोबाट हुने भन्दै उनले मकवानपुरले देशभर सकारात्मक र एकजुट हुन पहल गरेको दाबी गरे । जनता समाजवादी पार्टी बागमती प्रदेशका पूर्व परिषद अध्यक्ष एवं अनुशासन समिति संयोजक शुभरत्न गोले तामाङले समाजवादको अन्तिम यात्रा तय गर्न माओवादी केन्द्र मात्र विकल्प रहेकाले आफूहरु मातृसंस्था माओवादी केन्द्रमा गोलबन्द भएको बताए । उत्पीडित जाती, वर्गको उत्थानका लागि जसपामा लागेर काम गरेको स्मरण गर्दै विदेशी दलालहरुले नेकपा माओवादी केन्द्रलाई घेराबन्दीमा पारिरहेकाले सिद्धान्त र गन्तव्य एउटै भएकाले समायोजन भएको दाबी गरे ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य एवं जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, पार्टीका बागमती प्रदेश सदस्य प्रेम भुजेलले मन्तव्य व्यक्त गरेको कार्यक्रम नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक सर्केश घलानको अध्यक्षतामा सम्पन्न भएको थियो ।
मकवानपुर । राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृतहरु परिवर्तन भएका छन् । निर्वाचन अधिकृतमा नियुक्त भएका जिल्ला न्यायाधीश उच्च अदालतका न्यायाधीश नियुक्त भएपछि निर्वाचन अधिकृतहरु परिवर्तन गरिएकाे निर्वाचन आयाेगले जनाएकाे छ ।
निर्वाचन आयोगले गत पुस १२ गते कोशी प्रदेशमा दुर्गाप्रसाद ढुङ्गेल, बागमती प्रदेशमा महेन्द्रबहादुर कार्की, मधेश प्रदेशमा नारायणप्रसाद सुवेदी, गण्डकी प्रदेशमा केशवप्रसाद बास्तोला, लुम्बिनी प्रदेशमा कृपासुर कार्की, कर्णाली प्रदेशमा विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशमा ओमप्रसाद अर्याललाई निर्वाचन अधिकृतमा नियुक्त गरेको थियो ।
पुस १८ गतेको न्याय परिषद्ले बागमती प्रदेश बाहेकका प्रदेशमा नियुक्त भएका निर्वाचन अधिकृतहरु उच्च अदालतको न्यायाधीश नियुक्तिको निर्णय गरेको थियो । आायोगका प्रवक्ता शालिग्राम शर्मा पौडेका अनुसार बागमती प्रदेशका लागि अधिकृत तोकिएका महेन्द्रबहादुर कार्कीले स्वास्थ्य समस्याका कारण काम गर्न नसक्ने जनाइ निवेदन दिएका थिए ।
त्यसपछि आयोगले पहिले ताेकिएका निर्वाचन अधिकृतकाे स्थानमा जगेडा सूचीमा रहेका अन्य जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृत तोकेको हो । आयोगका अनुसार अब कोशी प्रदेशमा मोरङका जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतम, मधेशमा धनुषा अदालतका न्यायाधीश चित्रबहादु्र गुरुङलाई अधिकृत नियुक्त गरिएको छ ।
प्रवक्ता पौडेलका अनुसार बागमती प्रदेशमा श्रीप्रसाद सन्जेल, गण्डकी प्रदेशमा ऋषिराम आचार्य, लुम्बिनी प्रदेशमा कुलप्रसाद पाण्डेलाई निर्वाचन अधिृकत नियुक्त गरिएको छ भने कर्णालीमा न्यायाधीश मनोज श्रेष्ठ, सुदूरपश्चिममा विष्णुप्रसाद अवस्थीलाई नियुक्त गरिएको छ ।

मकवानपुर । मकवानपुरकाे हेटाैडामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा विचार गोष्ठी गरिएकाे छ । वीपी विचार समाज मकवानपुरको आयोजना तथा नेपाली कांग्रेस मकवानपुरको संयोजनमा ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा विचार गोष्ठी भएको हाे।
पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बीपी) लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ ।
गोष्ठीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले सम्बाेधन गरेका थिए । भण्डारीले विश्वेश्वरप्रसाद कोइराला आफ्नो दृष्टिकोणबाट कहिले पनि बिचलित नभएको नेताको रुपमा रहेको बताए ।
नेपालको राजनीतिमा वीपीको विचारलाई अनुशरण गर्न नजानेकाे स्वीकार गर्दै उनले अब पुरानो शैलीकोे राजनैतिक नेतृत्वबाट देश अघि बढ्न नसक्ने बताए । उनले पद र प्रतिष्ठाका लागि मात्र नेताहरुले लुछाचुँडी गरेको अवस्था देखिएको बताए । देशलाई गतिशील बनाउन युवाहरुलाई आशा जगाउने काम राजनीतिले गर्नु पर्ने तथा युवाहरुलाई देश फर्कने वातावरण बनाउन उनले आग्रह गरे । उनले निर्वाचन प्रणालीमा केही परिवर्तन गर्दै जनप्रतिनिधिको सङ्ख्या घटाउनुपर्नेसमेत उल्लेख गरे ।
मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका बीपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायतका नेताहरु मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवनपछि भारतबाट २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।
स्वदेश फर्किएका नेता कोइराला, गणेशमान सिंहलगायतलाई त्रिभुवन विमानस्थलमा विमानबाट ओर्लिने बित्तिकै सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो । तत्कालीन राजा महेन्द्र शाहले २०१७ पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री कोइरालालगायत कांग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए ।
शाही ‘कु’पछि कांग्रेस नेताहरुलाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाई सोही वर्षको फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दीगृह बनाएर स्थानान्तरण गरिएको थियो । नेपालमा केही समय जेल जीवन बिताइसकेपछि २०२५ सालमा भारत प्रवासमा गएका कांग्रेस नेताहरु राष्ट्रियतामाथि खतरा देखिएपछि प्रवास जीवन त्यागेर स्वदेश फर्किएका थिए । चौबीस रोपनी क्षेत्रफलमा फैलिएको सुन्दरीजल बन्दीगृहलाई २०६१ भदौ २४ गते बीपी संग्रहालयका रुपमा परिणत गरिएको छ ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, नेकपा (एस) का केन्द्रीय सदस्य मुनु सिग्देल, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य प्रह्लाद लामिछाने, वीपी विचार समाजका केन्द्रीय अध्यक्ष लोकेश ढकाललगायतले आफ्ना विचार राखेका थिए ।
वीपी विचार समाज मकवानपुरका अध्यक्ष विनोद चन्द्र ढकालको सभाध्यक्षतामा भएको गोष्ठीमा नेपाली कांग्रेस मकवानपुरका महासमिति सदस्य उमा दाहाल, पुर्व सभापति माइकल रामचन्द्र अर्याल, कार्यबहाक सभापति धर्मराज लामिछाने, नेकपा (एस) मकवानपुर अध्यक्ष विष्णु दाहाल लगायतको आतिथ्यता रहेको थियो । समाजका सचिव हरिप्रपाद पौडेलले कार्यक्रम सहजिकरण गरेका थिए ।
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै शनिबार हेटौंडामा विरोध प्रदर्शन गरेको छ ।
ललितपुरको बालकुमारीमा शुक्रबार दिउँसो प्रहरीको गोली लागेर दुई युवकको मृत्यु भएको घटनाको विरोध गर्दै प्रदर्शन गरिएको रास्वापा मकवानपुरले जनाएको छ । रास्वपाले जिल्ला पार्टी कार्यालय हेटौडा भुटनदेवी मन्दिरराेडबाट ब्यानरसहित विरोध र्याली गर्दै हेटौंडाको मुख्य बजार क्षेत्र बुद्ध चोकसम्म प्रदर्शन गरेको थियो ।
प्रदर्शन पछि विरोध सभाको आयोजना गरेको थियो पार्टीकाे कार्यक्रममा प्रतिनिधि सभा सदस्य विन्दवासिनी कंशाकार समेतकाे सहभागिता रहेको थियो । प्रदर्शनमा पार्टीका नेता तथा कार्यकर्ताहरुले ‘हत्यारा सरकार जवाफ दे, गठबन्धन सरकार चाहिदैन, जनता मार्न पाइदैँन, निरकुंश गृहमन्त्री जवाफ दे,’ लगाएतका नारा लगाएका थिए । विरोध प्रदर्शनमा प्रतिनिधि सभा सदस्य विन्दवासिनी कंशाकारको पनि सहभागिता रहेको थियो ।