मकवानपुर । मकवानपुरकाे हेटाैडामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा विचार गोष्ठी गरिएकाे छ । वीपी विचार समाज मकवानपुरको आयोजना तथा नेपाली कांग्रेस मकवानपुरको संयोजनमा ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा विचार गोष्ठी भएको हाे।
पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बीपी) लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ ।
गोष्ठीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले सम्बाेधन गरेका थिए । भण्डारीले विश्वेश्वरप्रसाद कोइराला आफ्नो दृष्टिकोणबाट कहिले पनि बिचलित नभएको नेताको रुपमा रहेको बताए ।
नेपालको राजनीतिमा वीपीको विचारलाई अनुशरण गर्न नजानेकाे स्वीकार गर्दै उनले अब पुरानो शैलीकोे राजनैतिक नेतृत्वबाट देश अघि बढ्न नसक्ने बताए । उनले पद र प्रतिष्ठाका लागि मात्र नेताहरुले लुछाचुँडी गरेको अवस्था देखिएको बताए । देशलाई गतिशील बनाउन युवाहरुलाई आशा जगाउने काम राजनीतिले गर्नु पर्ने तथा युवाहरुलाई देश फर्कने वातावरण बनाउन उनले आग्रह गरे । उनले निर्वाचन प्रणालीमा केही परिवर्तन गर्दै जनप्रतिनिधिको सङ्ख्या घटाउनुपर्नेसमेत उल्लेख गरे ।
मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका बीपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायतका नेताहरु मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवनपछि भारतबाट २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।
स्वदेश फर्किएका नेता कोइराला, गणेशमान सिंहलगायतलाई त्रिभुवन विमानस्थलमा विमानबाट ओर्लिने बित्तिकै सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो । तत्कालीन राजा महेन्द्र शाहले २०१७ पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री कोइरालालगायत कांग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए ।
शाही ‘कु’पछि कांग्रेस नेताहरुलाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाई सोही वर्षको फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दीगृह बनाएर स्थानान्तरण गरिएको थियो । नेपालमा केही समय जेल जीवन बिताइसकेपछि २०२५ सालमा भारत प्रवासमा गएका कांग्रेस नेताहरु राष्ट्रियतामाथि खतरा देखिएपछि प्रवास जीवन त्यागेर स्वदेश फर्किएका थिए । चौबीस रोपनी क्षेत्रफलमा फैलिएको सुन्दरीजल बन्दीगृहलाई २०६१ भदौ २४ गते बीपी संग्रहालयका रुपमा परिणत गरिएको छ ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, नेकपा (एस) का केन्द्रीय सदस्य मुनु सिग्देल, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य प्रह्लाद लामिछाने, वीपी विचार समाजका केन्द्रीय अध्यक्ष लोकेश ढकाललगायतले आफ्ना विचार राखेका थिए ।
वीपी विचार समाज मकवानपुरका अध्यक्ष विनोद चन्द्र ढकालको सभाध्यक्षतामा भएको गोष्ठीमा नेपाली कांग्रेस मकवानपुरका महासमिति सदस्य उमा दाहाल, पुर्व सभापति माइकल रामचन्द्र अर्याल, कार्यबहाक सभापति धर्मराज लामिछाने, नेकपा (एस) मकवानपुर अध्यक्ष विष्णु दाहाल लगायतको आतिथ्यता रहेको थियो । समाजका सचिव हरिप्रपाद पौडेलले कार्यक्रम सहजिकरण गरेका थिए ।

