मकवानपुर । मकवानपुर इन्द्रसरोवरको कुलेखानी फाखेल हुमाने फर्पिङ सडकखण्ड र हुमाने–मातातीर्थ हुँदै काठमाडौँ जोड्ने सडकखण्ड आज सोमबारबाट दुई महिना बन्द हुने भएको छ ।
हेटौंडा-काठमाडौ जोड्ने छोटो मार्गको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्ड स्तरोन्नति गर्नुपर्ने भएकाले दुई महिना बन्द हुने भएको गाउँपालिकाले जनाएको छ । कुलेखानी–फाखेल-हुमाने खण्ड र हुमाने–मातातीर्थ हुँदै काठमाडौ जोड्ने सडक निर्माण र स्तरोन्नति गर्नुपर्ने भएकाले आज पुस १६ गते बिहानदेखि आगामी फागुन १५ गतेसम्मका लागि यातायात आवागमन बन्द गरिएको इन्द्रसरोवर गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार उक्त सडकखण्ड बन्द हुँदा वैकल्पिक सडकको व्यवस्था गरिएको छ । यातायातका साधनका लागि हेटौँडा भीमफेदी हुँदै कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी–दक्षिणकाली तथा कुलेखानीको कलङ्की-मार्खु-चित्लाङको बाटो हुँदै काठमाडौँको थानकोट पुग्न सकिने गाउँपालिकाकाले जानकारी दिएको छ ।
पालिका अध्यक्ष देवकृष्ण पुडासैनीले आज बिहानदेखि वैकल्पिक मार्गका रुपमा हेटौँडाबाट आउने हल्का सवारी साधन उक्त खण्डमा सञ्चालन हुने बताए । यस्तै वैकल्पिक मार्गको रुपमा काठमाडौँको चापागाउँ हुँदै कान्तिलोकपथबाट हेटौंडा सवारी साधन सञ्चालनमा ल्याइने बताइएको छ ।

