मकवानपुर । संघीय स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा माग गरिएकाे छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मन्त्री खतिवडाकाे राजिनामा मागेकाे हाे । खतिवडाले हालै सगरमाथा टिभीको एक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला कोभिडविरुद्धको पहिलो खोप ५ हजार रुपैयाँमा ‘किनेर लगाएको’ भनी दिएको अभिव्यक्ति प्रति आपत्ती जनाउँदै एमालेले उनकाे राजिनामा माग गरेकाे हाे ।
एमालेले मंगलबार विज्ञप्ती जारी गर्दै खतिवडाकाे अभिव्यक्ती गैरजिम्मेवार रहेको र यस्तो झुठो बोल्ने व्यक्ति मन्त्रीजस्तो गरिमामय पदमा बसिरहन नहुने भन्दै राजीनामा मागेको हो । एमालेकाे स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख याेगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘खोप किनेर लगाएको’ भन्ने स्वास्थ्यमन्त्री खतिवडाको उक्त भनाइ सरासर झुटो र अफवाहपूर्ण छ । सिभिल अस्पताल, बानेश्वरमा उहाँले पहिलो मात्रा खोप १९ फागुन २०७७ मा लगाएको अभिलेख सुरक्षित छ । तत्कालीन सरकारले १९–२१ फागुन ०७७ फागुनसम्म संघीय संसद्का सदस्यहरूलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएको बेला सिभिल अस्पतालको रजिष्टर ‘ख’ मा क्र.सं. ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै हस्ताक्षरसमेत गर्नुभएको छ । उक्त अभिलेखमा ६२ बर्षका खतिवडाले Batch no. 4120 Z 004 को कोभिसिल्ड खोप लगाएको स्पष्ट छ । सांसदहरूका लागि सरकारले दोस्रो डोज संसद् भवन, बानेश्वरमा र तेस्रो डोज सीसीएमसी कार्यालय परिसरमा व्यवस्था गरेको कुरा सबैलाई विदितै छ ।’
स्वास्थ्यमन्त्री खतिवडाको यो अभिव्यक्ति पूर्ववर्ती सरकारलाई बद्नाम गर्नका लागि मात्रै दिएको एमालेको दाबी छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीबाट यस्तो गैरजिम्मेवार अभिव्यक्ति आउनु निन्दनीय र आपत्तिजनक रहेको एमालेले जनाएको छ । आमजनता कोभिड–१९ बाट आक्रान्त भइरहेको बेलामा मन्त्रीले दिएको उक्त अभिव्यक्तिको निन्दा र भत्र्सना गर्दै झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन उचित नहुने जारी विज्ञप्तिमा उल्लेख छ । आफ्ना मन्त्रीको यस्तो गैरजिम्मेवार अभिव्यक्ति र व्यवहारप्रति संवेदनशील हुँदै उनलाई मन्त्री पदबाट बर्खास्त गर्न एमालेले प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराएको छ ।
मकवानपुर । आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरका अध्यक्ष मधु बजगाईं क्षेत्रीलाई हटाउने बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटन हेटौंडा इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
प्रदेश स्वास्थ्यमन्त्री स्तरको निर्णयबाट प्रदेशभरका जिल्ला आयुर्वेद अस्पताल र जिल्ला अस्पतालका अध्यक्षहरूलाई हटाउने निर्णय भएको थियो । सोमवार न्यायाधीश मेरिना श्रेष्ठको एकल इजलासले स्वास्थ्य मन्त्रीस्तरको गत माघ २८ गतेको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
मन्त्रालयले आयुर्वेद केन्द्रकाे अध्यक्षमा सुदीप बतौलालाई नियुक्त गरेको थियो । क्षेत्रीलाई हटाउने र बर्ताैलालाई नियुक्त गर्ने दुवै निर्णय हाललाई कार्यान्वयन नगर्न अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हाे । अदालतकाे आदेशसँगै तत्कालका लागि अध्यक्ष बजगाईं क्षेत्रीकाे अध्यक्ष पद जाेगिएकाे छ भने बर्ताैलाकाे नियुक्ती कार्यान्वयनमा आउने छैन ।
अदालतले रिट निवेदक बजगाईं र विपक्षीहरू सबैलाई फागुन ११ गते छलफलका लागि उपस्थित हुन आदेश गरेको छ । निवेदकका तर्फबाट अधिवक्ताहरू मदनकुमार दाहाल, ध्रुवप्रसाद चौलागाईं, मनप्रसाद भट्टराई, प्रमिला केसी, ऋषि केबी, शिवप्रसाद बन्जराले बहस गरेका थिए ।
मकवानपुर । नेपाल कम्युनिष्ट पाटी (एमाले) मकवानपुरका निर्विरोध निर्वाचित सदस्यहरुले साेमबार पद तथा गोपनियताको सपथ लिएका छन् । यस अघी पदाधिकारी र केही सदस्यहरुले मात्र सपथ लिएका थिए । कोरोना संक्रमणका कारण हुन नसकेकाे सपथग्रहण काेराेना संक्रमणकाे जाेखिम कम भएसँगै साेमबार भएकाे हाे ।
एमाले मकवानपुरको गत पुस २३–२५ गते हेटौँडामा सम्पन्न ११ औँ जिल्ला अधिवेशनबाट निर्विराेध भएका सदस्यहरुको सपथ ग्रहण करिब डेढ महिना भएको हो । एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठले निर्वाचित सदस्यहरुलाई सपथग्रहण गराएका हुन् ।
अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र उप–सचिव दुइ जना सहित १ सय ५ सदस्यीय जिल्ला कमिटि निर्वाचित गरेको थियो । तर कोभिडको कारण सपथग्रहण रोकिएको थियो । गत माघ ११ गते जिल्ला पार्टीको कामलाई सहज बनाउ पदाधिकारी सहित अधिवेशनमा पदाधिकारीबाट आफ्नो उम्मेद्वारी फिर्ता लिएकाहरुको सपथग्रहण गरिएको थियो ।

सपथग्रहण लगतै एमाले मकवानपुर कमिटीको बैठकले जिल्ला कमिटीका सदस्यहरु मनोनित गर्ने निर्णय गरेको छ । मनोनित गरिएकाहरुलाई बागमती प्रदेश कमिटी र केन्द्रीय कमिटीमा सिफारिस गरिने र त्यहाँबाट स्वीकृती भएर आएपछी सपथग्रहण गराइने अध्यक्ष श्रेष्ठले जानकारी दिए । यसैगरी बैठकले एमाले मकवानपुरले आफ्ना पार्टीका गतिबिधिहरुलाई जिल्लाका १० वटै स्थानीय तह, प्रत्यक वडासंगै टोलटोलमा पु¥याउने भएकाे छ ।
सपथग्रहण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, भारती पाठक, एमाले पूर्व केन्द्रीय सदस्य एवम् पुर्व मुख्यमन्त्री डोरमणी पौडेल, प्रदेश कमिटीका सदस्यहरु अनन्त पौडेल, बलराम बल, रामचन्द्र राई, रघुनाथ खुलाल, एकराज उप्रेती, अणराज जर्गामगर, कमल विष्ठ, पद्मा पौडेल, भगवती पुडासैनी लगाएतका नेताहरुको आतिथ्यता रहेको थियो ।
मकवानपुर । हेटौंडामा आइतबार अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध विरोध प्रदर्शन गरिएको छ । नेकपा एकीकृत समाजवादीमा आवद्ध जनवर्गीय संगठनहरुको आयोजनामा हेटौंडामा एमसीसी विरुद्ध विरोध प्रदर्शन गरिएको हाे ।
पार्टीको जनवर्गीय संगठनहरुको आयोजनामा देशैभर एमसीसी सम्झौता विरोधका कार्यक्रम भएका छन् । राष्टिय कार्यक्रम अन्तर्गत हेटौंडामा पनि प्रदर्शन गरिएको हो । हेटौंडाको शितलमहलचोकबाट सुरु भएको प्रदर्शन बुद्धचोक हुँदै सिमाचोकमा पुगेर सभामा परिणत भएको थियाे । सभामा युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य कविन पन्तले एमसीसी सम्झौता कुनै हालतमा स्वीकार गर्न नसकिने बताए । अघिल्लाे सरकारले संसदबाट पास गर्नुपर्ने गरी एमसीसी सम्झौता गरेर राष्ट्रघाती काम गरेकाले यो परियोजना कुनै हालतमा कार्यान्वयन गर्न नहुने बताए उनले बताए।
यस्तै, अनेरास्ववियुका केन्द्रीय उपमहासचिव किशोर टण्डनले एमसीसी खारेज हुनुपर्ने बताए । विरोध कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज ललित बस्नेत, पार्टी केन्द्रीय सदस्य मुनु सिग्देल, मकवानपुर अध्यक्ष श्रीधर पाख्रेल, सचिव विष्णुप्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।
विरोध प्रदर्शनमा सहभागीहरुले ‘देश बेच्न पाइँदैन, एमसीसी चाहिँदैन’, ‘सहयोगको नाममा दासत्व स्वीकार्य छैन’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
मकवानपुर । हेटौंडामा २७ औँ जनयुद्ध दिवस मनाएको छ । दिवसकाे अवसरमा नेकपा माओवादी केन्द्र उपमहानगर कमिटि हेटाैडाले आइतबार चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरेका हाे ।
कार्यक्रम माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटीका अध्यक्ष तीर्थ बहादुर थापाको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश कटिमीका उपाध्यक्ष प्रेम बहादुर पुलामीको पनि उपस्थिति रहेको थियो । जनयुद्ध कालमा मकवानपुरका ११ जना वेपत्ता भएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
यसैगरी जनयुद्ध दिवसका अवसरमा आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धन टुटाउन, सरकार गिराउन र निर्वाचन प्रक्रिया बिथोल्न अनेक प्रपञ्च भइरहेको बताएका छन् ।
अध्यक्ष प्रचण्डले प्रतिगमनविरोधि सत्ता गठबन्धन विरुद्ध षड्यन्त्रहरु जारी रहेको बताएका हुन् । ‘प्रतिगमनविरोधि गठबन्धन टुटाउन, यो सरकार गिराउन र निर्वाचन प्रक्रिया बिथोल्न अनेक प्रपञ्च भइरहेका छन्’, अध्यक्ष प्रचण्डले भने, ‘गठबन्धन संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनेको हो ।’