मकवानपुर । हेटौंडामा आइतबार अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध विरोध प्रदर्शन गरिएको छ । नेकपा एकीकृत समाजवादीमा आवद्ध जनवर्गीय संगठनहरुको आयोजनामा हेटौंडामा एमसीसी विरुद्ध विरोध प्रदर्शन गरिएको हाे ।
पार्टीको जनवर्गीय संगठनहरुको आयोजनामा देशैभर एमसीसी सम्झौता विरोधका कार्यक्रम भएका छन् । राष्टिय कार्यक्रम अन्तर्गत हेटौंडामा पनि प्रदर्शन गरिएको हो । हेटौंडाको शितलमहलचोकबाट सुरु भएको प्रदर्शन बुद्धचोक हुँदै सिमाचोकमा पुगेर सभामा परिणत भएको थियाे । सभामा युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य कविन पन्तले एमसीसी सम्झौता कुनै हालतमा स्वीकार गर्न नसकिने बताए । अघिल्लाे सरकारले संसदबाट पास गर्नुपर्ने गरी एमसीसी सम्झौता गरेर राष्ट्रघाती काम गरेकाले यो परियोजना कुनै हालतमा कार्यान्वयन गर्न नहुने बताए उनले बताए।
यस्तै, अनेरास्ववियुका केन्द्रीय उपमहासचिव किशोर टण्डनले एमसीसी खारेज हुनुपर्ने बताए । विरोध कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज ललित बस्नेत, पार्टी केन्द्रीय सदस्य मुनु सिग्देल, मकवानपुर अध्यक्ष श्रीधर पाख्रेल, सचिव विष्णुप्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।
विरोध प्रदर्शनमा सहभागीहरुले ‘देश बेच्न पाइँदैन, एमसीसी चाहिँदैन’, ‘सहयोगको नाममा दासत्व स्वीकार्य छैन’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
