मकवानपुर । संघीय स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा माग गरिएकाे छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मन्त्री खतिवडाकाे राजिनामा मागेकाे हाे । खतिवडाले हालै सगरमाथा टिभीको एक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला कोभिडविरुद्धको पहिलो खोप ५ हजार रुपैयाँमा ‘किनेर लगाएको’ भनी दिएको अभिव्यक्ति प्रति आपत्ती जनाउँदै एमालेले उनकाे राजिनामा माग गरेकाे हाे ।
एमालेले मंगलबार विज्ञप्ती जारी गर्दै खतिवडाकाे अभिव्यक्ती गैरजिम्मेवार रहेको र यस्तो झुठो बोल्ने व्यक्ति मन्त्रीजस्तो गरिमामय पदमा बसिरहन नहुने भन्दै राजीनामा मागेको हो । एमालेकाे स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख याेगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘खोप किनेर लगाएको’ भन्ने स्वास्थ्यमन्त्री खतिवडाको उक्त भनाइ सरासर झुटो र अफवाहपूर्ण छ । सिभिल अस्पताल, बानेश्वरमा उहाँले पहिलो मात्रा खोप १९ फागुन २०७७ मा लगाएको अभिलेख सुरक्षित छ । तत्कालीन सरकारले १९–२१ फागुन ०७७ फागुनसम्म संघीय संसद्का सदस्यहरूलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएको बेला सिभिल अस्पतालको रजिष्टर ‘ख’ मा क्र.सं. ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै हस्ताक्षरसमेत गर्नुभएको छ । उक्त अभिलेखमा ६२ बर्षका खतिवडाले Batch no. 4120 Z 004 को कोभिसिल्ड खोप लगाएको स्पष्ट छ । सांसदहरूका लागि सरकारले दोस्रो डोज संसद् भवन, बानेश्वरमा र तेस्रो डोज सीसीएमसी कार्यालय परिसरमा व्यवस्था गरेको कुरा सबैलाई विदितै छ ।’
स्वास्थ्यमन्त्री खतिवडाको यो अभिव्यक्ति पूर्ववर्ती सरकारलाई बद्नाम गर्नका लागि मात्रै दिएको एमालेको दाबी छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीबाट यस्तो गैरजिम्मेवार अभिव्यक्ति आउनु निन्दनीय र आपत्तिजनक रहेको एमालेले जनाएको छ । आमजनता कोभिड–१९ बाट आक्रान्त भइरहेको बेलामा मन्त्रीले दिएको उक्त अभिव्यक्तिको निन्दा र भत्र्सना गर्दै झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन उचित नहुने जारी विज्ञप्तिमा उल्लेख छ । आफ्ना मन्त्रीको यस्तो गैरजिम्मेवार अभिव्यक्ति र व्यवहारप्रति संवेदनशील हुँदै उनलाई मन्त्री पदबाट बर्खास्त गर्न एमालेले प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराएको छ ।

