मकवानपुर । हेटौंडामा २७ औँ जनयुद्ध दिवस मनाएको छ । दिवसकाे अवसरमा नेकपा माओवादी केन्द्र उपमहानगर कमिटि हेटाैडाले आइतबार चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरेका हाे ।
कार्यक्रम माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटीका अध्यक्ष तीर्थ बहादुर थापाको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश कटिमीका उपाध्यक्ष प्रेम बहादुर पुलामीको पनि उपस्थिति रहेको थियो । जनयुद्ध कालमा मकवानपुरका ११ जना वेपत्ता भएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
यसैगरी जनयुद्ध दिवसका अवसरमा आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धन टुटाउन, सरकार गिराउन र निर्वाचन प्रक्रिया बिथोल्न अनेक प्रपञ्च भइरहेको बताएका छन् ।
अध्यक्ष प्रचण्डले प्रतिगमनविरोधि सत्ता गठबन्धन विरुद्ध षड्यन्त्रहरु जारी रहेको बताएका हुन् । ‘प्रतिगमनविरोधि गठबन्धन टुटाउन, यो सरकार गिराउन र निर्वाचन प्रक्रिया बिथोल्न अनेक प्रपञ्च भइरहेका छन्’, अध्यक्ष प्रचण्डले भने, ‘गठबन्धन संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनेको हो ।’

