मकवानपुर । आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरका अध्यक्ष मधु बजगाईं क्षेत्रीलाई हटाउने बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटन हेटौंडा इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
प्रदेश स्वास्थ्यमन्त्री स्तरको निर्णयबाट प्रदेशभरका जिल्ला आयुर्वेद अस्पताल र जिल्ला अस्पतालका अध्यक्षहरूलाई हटाउने निर्णय भएको थियो । सोमवार न्यायाधीश मेरिना श्रेष्ठको एकल इजलासले स्वास्थ्य मन्त्रीस्तरको गत माघ २८ गतेको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
मन्त्रालयले आयुर्वेद केन्द्रकाे अध्यक्षमा सुदीप बतौलालाई नियुक्त गरेको थियो । क्षेत्रीलाई हटाउने र बर्ताैलालाई नियुक्त गर्ने दुवै निर्णय हाललाई कार्यान्वयन नगर्न अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हाे । अदालतकाे आदेशसँगै तत्कालका लागि अध्यक्ष बजगाईं क्षेत्रीकाे अध्यक्ष पद जाेगिएकाे छ भने बर्ताैलाकाे नियुक्ती कार्यान्वयनमा आउने छैन ।
अदालतले रिट निवेदक बजगाईं र विपक्षीहरू सबैलाई फागुन ११ गते छलफलका लागि उपस्थित हुन आदेश गरेको छ । निवेदकका तर्फबाट अधिवक्ताहरू मदनकुमार दाहाल, ध्रुवप्रसाद चौलागाईं, मनप्रसाद भट्टराई, प्रमिला केसी, ऋषि केबी, शिवप्रसाद बन्जराले बहस गरेका थिए ।

