मकवानपुर । हेटौंडा ४ स्थित रेडियो थाहा सन्चार ९९ दशमलव ६ मेगाहर्जले सोमबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । विन्दवासिनी मिडिया प्रालिद्वारा संचालित उक्त रेडियोले आफ्नो १४ औं वार्षिकोत्सको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम सोमबार हेटौंडाको बुद्धचोकमा गरेकाे रक्तदान कार्यक्रम ५२ जनाले रक्तदान गरेका थिए ।
रक्तसञ्चार केन्द्र हेटौंडाको सहकार्यमा बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म संचालन भएको रक्तदान कार्यक्रमको लागि आइएमई लाइफ इन्स्योरेन्स हेटौंडाका योग्यराज सापकोटा, सन्चो हस्पिटल प्रालिका उदय बिडारी र ऋद्धि सिद्धी सिमेन्ट प्रालिले सहयोग गरेका थिए ।
रेडियोले यसअघि फागुन १ गते पर्यावरण प्रवर्द्धका लागि साइकल र्यालीको आयोजना गरेको थियो । सप्ताहव्यापी कार्यक्रमअन्तरगत मंगलबार तेस्रो दिन रुपचन्द्र विष्ट र अहिलेको राजनीतिक परिवेश विषयक अन्तरक्रिया कार्यक्रमको रेडियोले प्रत्यक्ष प्रशारण गर्ने भएकाे छ । रेडियाेले चौथो दिन दुग्ध उत्पादन क्षेत्रको अवसर र चुनौती विषयक अन्तरक्रिया गरिने छ भने पाँचौ दिन ‘सडक दुर्घटना न्युनिकरण नहुनुमा जिम्मेवारी कस्को’ भन्ने विषयमा मावि स्तरीय वक्तृत्वकला कार्यक्रम आयाेजना गर्नेछ ।
यसैगरी छैठौं दिन कोरोना रोकथाम तथा नियन्त्रणमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गर्ने स्टेशन म्यानेर मणिराज गौत्तमले जानकारी दिए । सातौं अर्थात अन्तिम दिन थाहा सम्मान तथा वार्षिकोत्सव समापन समारोह एवम् साहित्य सम्मेलन हुने स्टेशन म्यानेर गौत्तमले जानकारी दिए ।

