मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा ‘बकैया कला–साहित्य महोत्सव–२०७८’ हुने भएको छ ।
झरना साहित्यिक परिवार मकवानपुरले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा तेस्रो ‘बकैया कला–साहित्य महोत्सव–२०७८’ गर्ने झरनाका सचिव मसान उपासकले जानकारी दिए । साेमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै सचिव उपासकले आउँदो फागुन २७ र २८ गते बकैया-३ हात्तीसुँडेस्थित बुद्ध माविको प्राङ्गण र गाउँपालिकाको सभाहलमा साहित्य महोत्सव गर्ने तयारी रहेको बताए ।
२०५० साल फागुन १२ गते तत्कालिन छतिवन गाविसमा स्थापना भएको झरनाले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा बहत् साहित्य गोष्ठी गर्दै आएकोमा पछिल्ला २ वर्ष (२०७६) देखि बकैया साहित्य महोत्सव आयोजना गर्दै आएकाे छ । यसवर्षबाट स्थानीय कलासंस्कृतिको समेत जगेर्ना गर्ने उदेश्यले खैंजडी भजन,तामाङ,माझी,राई लगाएत जनजातिका कलाको प्रदर्शनीका साथै पुस्तक प्रदर्शनी हुने सचिव उपासकले बताए । २ दिवसीय महोत्सवमा कविता, गजल, मुक्तक विशेष कार्यक्रम हुने भएकाे छ ।
यसैगरि,पत्रकार सम्मेलनमा झरनाका अध्यक्ष दीपक गौतमले कला–साहित्य महोत्सवमा साहित्य बहसमूलक कार्यक्रम समेत हुने बताए । उनले आफुहरुले गर्न लागेको कला–साहित्य महोत्सवले साहित्य क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।साहित्य महाेत्सवमा देशभरबाट ५० जना साहित्यकारहरु र बकैया गाउँपालिकाका राजनीतिक,सामानिक अगुवासहित करिब ५ सय जनाको उपस्थिति रहने बताइएकाे छ । महोत्सवमा करिब ५ लाख खर्च हुने आयोजकको अनुमान रहेको छ ।
१० जना सम्मानित हुने
यसैगरि,झरना साहित्यिक परिवार मकवानपुरले यस वर्ष साहित्यका विविध क्षेत्रमा योगदान पुर्याउने १० जनालाई विभिन्न सम्मानहरू प्रदान गर्ने भएको छ ।
यस वर्षको होमनाथ–टीकामाया प्रतिभा सम्मानबाट अग्रज साहित्यकार एवं प्राज्ञ डा.देवी नेपाल (भक्तपुर) सम्मानित हुने भएका छन् । २१ हजार १ सया २१ रुपैंया सहित नेपाललाई सम्मानित गरिने छ । यसैगरी शिव सावित्री अधिकारी स्मृति मुक्तक सम्मान १५ हजार ५ सय ५५ रुपैंया सहित अग्रज मुक्तककार वियोगी बुढाथोकी (काठमाडौं), बाबुलाल–भोजमाया स्मृति प्रतिभा सम्मान १५ हजार ५ सय ५५ रुपैंया सहित अग्रज साहित्यकार आरसी रिजाल (मकवानपुर) सम्मानित हुने भएका छन् ।
यस्तै खडानन्द मनमाया स्मृति युवा प्रतिभा सम्मान ७ हजार ७ सय ७७ रुपैंया सहित युवा कवि यात्रीप्रकाश पाण्डे (धादिङ), सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान ७ हजार ७ सय ७७ रुपैंया सहित युवाकवि शान्ति प्रियवन्दना (मकवानपुर), सञ्जीवनी बुटी साहित्य सेवा सम्मान ७ हजार ७ सय ७७ रुपैंया सहित साहित्यसेवी/समाजसेवी बेलप्रसाद दाहाल (बकैया-४,मकवानपुर) लाई सम्मानित गरिने भएकाे छ ।
यसैगरी खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान ७ हजार ७ सय ७७ रुपैंया सहित कलाकार बाबुलाल वाईवा मकवानपुर, झरना–बकैया पत्रकारिता सम्मान ७ हजार ७ सय ७७ रुपैंया सहित स्व पत्रकार गोकर्ण गौतम (मरणोपरान्त) (बकैया मकवानपुर), झरना–बकैया उत्कृष्ट नवप्रतिभा सम्मान ५ हजार ५ सहित उदीयमान गजलकार विजय दोङ (बकैया-५ मकवानपुर) र झरना–बकैया उत्कृष्ट बालसाहित्य सम्मान सम्मानपत्र र १० थान विशेष पुस्तकसहित झरना महेन्द्र बालसाहित्य समिति (महेन्द्र मावि बकैया ४) सम्मानित हुने झरना साहित्यिक परिवार मकवानपुरले जनाएको छ ।

