मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिकामा सामुदायिक आँखा केन्द्र उद्घाटन गरिएकाे छ । मनहरी गाउँपालिकाको आर्थिक र हेटौडा सामुदायिक आंखा अस्पतालको प्राविधिक सहयोगमा आँखा केन्द्र स्थापना भइ उद्घाटन गरिएकाे हाे । गाउँपालिका अध्यक्ष एकराज उप्रेती र नेपाल आँखा कार्यक्रमका कार्यकारीणी सदस्य सिद्धिलाल श्रेष्ठले केन्द्रको उद्घाटन गरेका हुन् ।
नेपाल रेडक्रश सोसाईटी मनहरी उपशाखा र सामुदायिक आंखा अस्पतालको समन्वयमा यस अघी साप्तााहिक रुपमा संचालित आँखा केन्द्रलाई गाउँपालिकाको समन्वयमा दैनिक रुपमा संचालन गर्ने गरी केन्द्र स्थापना गरिएकाे हाे । गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले आँखा स्वास्थ्य सेवाको विकास गर्न मनहरी गाउँपालिका सहयोग गर्न तत्पर रहेको बताए ।
नेपला आंखा कार्यक्रमका कार्यकारीणी सदस्य सिद्धिलाल श्रेष्ठले तिलगंगा सदैव अन्धोपन निवारणकोलागि लागि परिरहेको र मकवानपुरमा पहिलो पटक आँखा स्वास्थ्यको सेवा मनहरीबाट शुरु गरेको बताए । केन्द्र उद्घाटनकाे अवसरमा श्रेष्ठले आफ्नो बुबाको स्मृतिमा स्थापित संस्था पञ्चसिद्धि फाउण्डेशन मार्फत २५ जना विपन्न बिरामीहरुलाई निशुल्क मोतिविन्दुको शल्यक्रिया गर्न सहयोग गर्ने बताए ।
गाउँपालिकाले २ जना कर्मचारी र भवनको भौतिक सुधार गर्ने भएकाे छ । आँखा केन्द्रका लागि होण्डाई मोटर फाउन्डेसन र योङसाई विश्वविद्यालय दक्षिण कोरियाले २० लाख रुपैयाँ बराबरको उपकरण उपलब्ध गराएको छ । योग्सी युनिभर्सिटी र चुगंमुगं कोग कोरीयाबाट उपकरणहरुको सहायोगमा सामुदायिक आंखा केन्द्र सचालित छ ।
मनहरी गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालबीच सम्झौता भएको २ महिनापछि आँखा केन्द्र नियमित रुपमा सञ्चालनमा आएको हो । अस्पताल प्रमुख डा. सुनिल थकाली र गाउँपालिकाका अध्यक्ष उप्रेतीले २ महिनाअघि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
आँखा केन्द्र उद्घाटन कार्यक्रममा तिलगंगा आंखा कार्यक्रममा प्रमुख संचालन अधिकृत पिताम्बर अधिकारी, बाह्य कार्यक्रम प्रबन्धक डा. मोहनकृष्ण श्रेष्ठ, मनहरी प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष ठाकुर तितुङ लगायतकाे उपस्थिति रहेकाे थियाे । यसअघि हेटौंडा सामुदायिक आँखा अस्पतालले मकवानपुरको बागमती गाउँपालिकामा पनि आँखा केन्द्र सञ्चालनमा ल्याएको छ ।

