मकवानपुर । मकवानपुरको सबै स्थानीय तहका कूल मतदातामध्ये ६५ प्रतिशत भन्दा बढी मतदाता मतदान प्रक्रियामा सहभागी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाको अनुसार निर्वाचन आयोगले तोकेको अवधिमा मकवानपुरमा ६५ प्रतिशत भन्दा बढी मतदाताले मतदान गरेका हुन् ।
मुख्य निर्वाचन अधिृकत डिल्लिरत्न श्रेष्ठले यकिन तथ्यांक भने आउन बाँकी रहेको बताउँदै जिल्लामा शान्तिपूर्वक निर्वाचन सम्पन्न भएको बताए ।
यसैगरि हेटौंडा उपमहानगरपालिकाको मतगणना आजै रातिबाट हुने भएको छ ।
हेटौंडा-२ स्थित शिद्धार्थ माध्यमिक विद्यालयमा मतगणनाको तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । हेटौंडाका १९ वटै वडाहरुबाट मतपेटीका प्राप्त भएपछी मतगणनाको काम सुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिले हेटौंडाका विभिन्न वडाहरुबाट मतपेटीका संकलनको काम भइरहेको छ ।
मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ को आज मतदान गर्ने कार्य जारी रहेको छ । मकवानपुरबाट राष्ट्रिय राजनीतिमा परिचित व्यक्तिहरुले मतदान गरिसकेका छन् ।
मुख्य पदमा उम्मेदवारी रहेका तथा नेतृत्वमा रहेका व्यक्तिहरुले विहान सबेरै आफ्नो मतदान केन्द्रमा मतदान सकेर आफ्नो वा दलको समर्थनमा मतदान स्थल तथा केन्द्रहरुमा उपस्थित रहेका छन् ।
विहान ७ बजेबाट मतदान सुरु हुने भएपनि मतदाताहरु विहान ४ बजेबाटै मतदान स्थलमा उपस्थित भएका थिए ।

बागमती प्रदेश पुर्व मुख्य मन्त्री डोरमणी पौडेलले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित त्रिभुवन माविको मतदान स्थलबाट मतदान गरेका छन् । उनी नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद सदस्य हुन् ।
मतदान कार्यक्रममा राप्रपा नेपाल अध्यक्ष कमल थापाले हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ६ स्थित बंश गोपाल माध्यमिक बिधालयको मतदान स्थलबाट मतदान गरेका छन् ।

संघीय सरकारका स्वास्थ मन्त्री बिरोध खतिवडाले तथा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को भुटनदेवी माविको मतदान स्थलबाट मतदान गरेका छन् । उनीहरु दुबै नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध छन् ।
यसैगरी नेपाली काङ्ग्रेस प्रदेश सभापति ईन्द्र बहादुर बनियाँले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ को ज्योती माविबाट मतदान गरेका छन् ।
यसैगरी बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले हेटौंडा १३ स्थित कालिका मावि मतदान स्थलबाट मत संकेत गरेकी छिन् ।
संविधान सभा पूर्व सदस्य तथा हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेबाट उम्मेदवार रहेका अनन्त पौडेलले हेटौंडा ९ स्थित प्रगति माविबाट आफ्नो मतसंकेत गरिसकेका छन् ।

यसैगरी गठबन्धनबाट मेयरको उम्मेदवार मिनाकुमारी लामाले हेटौंडा १ को रोप वे मतदान स्थलबाट मतदान गरेकी छिन् । रोप वे को मतदान स्थलबाट सबैभन्दा पहिले लामाले नै मतदान गरेकी थिइन् ।

आफ्नो मतसंकेत गरेपछि हेटौंडा उपमहानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार पौडेल र गठबन्धनबाट मेयरको उम्मेदवार लामा दुबैले आफ्नो जितको सुरुवात भएको दाबि गरे । दुबै उम्मेदवारले मतदातालाई सचेतका साथ मतदान गर्न आग्रह समेत गरेका छन् ।





मकवानपुर । नेकपा समाजवादी पार्टी मकवानपुरले हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका नगर प्रमुख उम्मेदवार मीना कुमारी लामालाई समर्थन गरेको छ । पार्टीको मंगलबार साँझ बसेको वैठकले लामालाई समर्थन गर्ने निर्णय गरेको जिल्ला इञ्चार्ज केदारनाथ दुलालले जानकारी दिए ।
समाजवादी पार्टीबाट नगर प्रमुख पदका उम्मेदवार रहेका रोमनाथ भुर्तेल नेकपा एमालेमा प्रवेश गरेसँगै पार्टीले लामालाई समर्थन गरेको हो । पार्टीले भुर्तेललाई साधारण सदस्य समेत नरहेन गरी कारबाही समेत गरेको छ ।
‘नगर प्रमुख(मेयर) पदमा नेकपा एकीकृत समाजवादीकी नेत्री मीनाकुमारी लामालाई कलम चुनाव चिन्हमा मतदान गरी अत्याधिक मतले विजयी गराउन सबैलाई हार्दिक अनुरोध गर्दछौं ।’ दुलालले भने ।
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा रहेर सक्रिय राजनीति गरेका मधु अधिकारी राप्रपा परित्याग गरेसँगै गठबन्धनकाे पक्षमा उभिएका छन् । चार दशक भन्दा बढी समयदेखि राप्रपामा रही काम गरेका अधिकारी हेटौंडा–४ मा गठबन्धनले प्रदर्शन गरेको ¥यालीपछिकाे कोणसभालाई सम्बोधन गर्दै गठबन्धनकाे पक्षमा उभिएका हुन् ।
शुक्रबार राप्रपा परित्याग गरेका अधिकारी गठबन्धनको पक्षमा उभिँदै गठबन्धनका उम्मेदवारहरुलाई अत्याधिक मतसहित विजयी गराउन आग्रह गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै उनले गठबन्धनको जित भनेको संविधानको जित हुने बताए । गठबन्धनले जितेमा संविधानको रक्षा हुने र त्यसका लागि पनि गठबन्धनको जित आवश्यक रहेको अधिकारीले दाबी गरे । ‘संविधानलाई संकटमा लैजान खोज्ने एमालेले चुनाव जित्न सक्दैन ।’ उनले भने, ‘एमालेलाई सँधैका लागि पाखा लगाउन र संविधानको रक्षाका लागि पनि गठबन्धनले जित्न जरुरी छ ।’
गठबन्धनले एकजुट भएर एमालेलाई पत्तासाफ गर्नुपर्ने उनले बताए । हेटौंडा उपमहानगरको मेयरका उम्मेदवार मिना कुमारी लामा, उपमेयरका उम्मेदवार राजेश बानियाँले जितेमा र गठबन्धनका सबै उम्मेदवारले जितेमा सहरको विकासलाई तीब्र गतिसँगै योजनासहित अघि बढाउन सकिने उनको भनाइ थियो ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले स्थानीय तह सदस्य निर्वाचनमा गठवन्धन बाहेको ब्यक्ति वा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएका आफ्ना कार्यकर्तालाई कारवाही गर्ने भएकाे छ । कांग्रेसले गठवन्धन बाहेको ब्यक्ति वा उम्मेदवारको सामजिक सञ्जालमा प्रचार गर्ने आफ्ना कार्यकर्तालाई कारबाहीको चेतावनी दिएको छ ।
स्थानीय तह सदस्य निर्वाचनमा केन्द्रीय गठवन्धनको निर्णयबाट तिब्र असन्तुष्ट कार्यकर्ताहरुले स्वतन्त्र, बागी तथा अन्य उम्मेदवारको प्रचार गर्न थालेपछि कांग्रेस मकवानपुरको चेतावनी आएको हो । शनिबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि कांग्रेसले चुनावमा गठवन्धनका उम्मेद्वारलाई विजयी गराउन आफ्ना कार्यकर्तालाई निर्देशन समेत दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुनप्रसाद चौंलागाईले जिल्लाको १० वटै स्थानीय तहमा उम्मेदवार बनेका गठबन्धनका व्यक्तिलाई विजयी गराउन कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीको नीति र निर्णय बिरुद्ध कांग्रेसका कार्यकर्ता लाग्न नहुने भन्दै उनले यस्ता क्रियाकलापमा सहभागी भएको थाहा भए विधान बमोजिम कारबाही हुने बताए ।
पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुर जिल्ला अनुशासन समितिका संयोजक प्रभातकुमार दाहालले कांग्रेसको सदस्यहरु गठवन्धनको विषयमा भ्रममा पर्न नहुने भन्दै पार्टी हित विपरित कार्य गरे कारबाहीमा पर्ने बताए । पत्रकार सम्मेलनमा नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महत लगायतकाे सहभागिता थियो ।