मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ को आज मतदान गर्ने कार्य जारी रहेको छ । मकवानपुरबाट राष्ट्रिय राजनीतिमा परिचित व्यक्तिहरुले मतदान गरिसकेका छन् ।
मुख्य पदमा उम्मेदवारी रहेका तथा नेतृत्वमा रहेका व्यक्तिहरुले विहान सबेरै आफ्नो मतदान केन्द्रमा मतदान सकेर आफ्नो वा दलको समर्थनमा मतदान स्थल तथा केन्द्रहरुमा उपस्थित रहेका छन् ।
विहान ७ बजेबाट मतदान सुरु हुने भएपनि मतदाताहरु विहान ४ बजेबाटै मतदान स्थलमा उपस्थित भएका थिए ।

बागमती प्रदेश पुर्व मुख्य मन्त्री डोरमणी पौडेलले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित त्रिभुवन माविको मतदान स्थलबाट मतदान गरेका छन् । उनी नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद सदस्य हुन् ।
मतदान कार्यक्रममा राप्रपा नेपाल अध्यक्ष कमल थापाले हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ६ स्थित बंश गोपाल माध्यमिक बिधालयको मतदान स्थलबाट मतदान गरेका छन् ।

संघीय सरकारका स्वास्थ मन्त्री बिरोध खतिवडाले तथा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को भुटनदेवी माविको मतदान स्थलबाट मतदान गरेका छन् । उनीहरु दुबै नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध छन् ।
यसैगरी नेपाली काङ्ग्रेस प्रदेश सभापति ईन्द्र बहादुर बनियाँले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ को ज्योती माविबाट मतदान गरेका छन् ।
यसैगरी बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले हेटौंडा १३ स्थित कालिका मावि मतदान स्थलबाट मत संकेत गरेकी छिन् ।
संविधान सभा पूर्व सदस्य तथा हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेबाट उम्मेदवार रहेका अनन्त पौडेलले हेटौंडा ९ स्थित प्रगति माविबाट आफ्नो मतसंकेत गरिसकेका छन् ।

यसैगरी गठबन्धनबाट मेयरको उम्मेदवार मिनाकुमारी लामाले हेटौंडा १ को रोप वे मतदान स्थलबाट मतदान गरेकी छिन् । रोप वे को मतदान स्थलबाट सबैभन्दा पहिले लामाले नै मतदान गरेकी थिइन् ।

आफ्नो मतसंकेत गरेपछि हेटौंडा उपमहानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार पौडेल र गठबन्धनबाट मेयरको उम्मेदवार लामा दुबैले आफ्नो जितको सुरुवात भएको दाबि गरे । दुबै उम्मेदवारले मतदातालाई सचेतका साथ मतदान गर्न आग्रह समेत गरेका छन् ।






