मकवानपुर । बागमती प्रदेशको एक मात्रै उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न २ अर्ब ७१ करोड ७९ लाख बजेट आज १० असारमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
अनुमान गरिएको खर्च व्यहोर्ने आन्तरिक स्रोतबाट ९४ करोड ३६ लाख, राजस्व बाँडफाँटबाट ५८ करोड ९३ लाख, प्रदेश सरकारको विभिन्न अनुदानबाट ९ करोड ५८ लाख, सङ्घीय सरकारको अनुदानबाट १ अर्व ६ करोड ९५ लाख व्यहाेरीने गरी तयारी गरिएको बुझिएको छ ।
यस्तै अन्य आय र संघसंस्था अनुदानबाट १ करोड ९६ लाख व्यहोरिने गरी बजेट ल्याउने तयारी भएको आन्तरीक स्रोतले जनाएको छ । तर सार्वजनिक गर्दै गरिएको बजेट एकलौटी रुपमा तयार गरिएको भन्दै तिव्र विरोध भएको छ । नगर कार्यपालिका सदस्यहरुबिच मनमुटाव हुँदा आगामी बजेट माथि पनि सल्लाह र सहमति हुन सकेको छैन ।
३ दिन अघि नगरको कार्यपालिका बैठक बसेर नीति तथा कार्यक्रम प्रस्ताव गर्ने तयारी भएको थियो । तर कार्यपालिका बैठकमा बहुमत नपुगेपछि नीति तथा कार्यक्रममाथि छलफल नै भएन । कार्यपालिकामा एमालेको स्पष्ट बहुमत छ । नीति तथा कार्यक्रम सम्बन्धी छलफल गर्न बोलाइएको कार्यपालिका बैठकमा एमालेले बैठक सञ्चालन कार्यविधिका केही बुँदा संशोधन गर्नु पर्ने प्रस्ताव गरेको थियो । २९ कार्यपालिका सदस्य मध्ये १८ सदस्य रहेको एमालेले बैठक सञ्चालन कार्यविधि–२०७४ को १५(२) र १५(३) मा रहेको व्यवस्थालाई संसोधन गरिनुपर्ने माग राखेको हो । एमाले सदस्यहरुले बैठक सञ्चालन कार्यविधि सशाेधन गर्न माग गरेपछि बैठकमा सहमति हुन सकेको छैन । एमाले सदस्यहरुले राखेको प्रस्तावलाई पेलेर लैजान खोजिएको भन्दै विरोध जनाएका छन् ।
बजेट सार्वजनिक हुँदै गर्दा बहुमत कार्यपालिका सदस्यसँग छलफल नै नगरिएको भन्दै एमालेले विरोध जनाएको छ । एकलौटी ढंगले बजेट ल्याउन लागेकोमा आफूहरुको विरोध रहेको एमालेले जनाएको छ । जनताद्वारा निर्वाचित बहुमत कार्यपालिका सदस्यहरुसंग कुनै पनि छलफल नै नगरिकन एकलौटी ढंगले बजेट ल्याउन लागेको भन्दै असन्तुष्टि ब्यक्त गरिएको हो । कार्यपालिका सदस्यहरुसँग बजेटबारे कुनै पनि छलफल नभएको एमालेबाट वडा अध्यक्ष विजयी भएका कार्यपालिका सदस्यहरुले बताएका छन् ।
यद्यपी असार ७ गते मंगलबार विहान बसेको नगर कार्यपालिकाको वैठकले आगामी आव २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । कार्यपालिका वैठकबाट पारित गरिएको नीति तथा कार्यक्रम र बजेट असार १० गते बस्ने नगरसभामा पेश गरिने उनले बताए ।
हेटौंडाका १९ वटै वडाहरुका नागरिकलाई सम्बोधन गर्ने गरी बजेट ल्याउनका लागि सबै कार्यपालिका सदस्यहरुका बिचमा छलफल गरेर ल्याउनु पर्ने माग आफूहरुको रहेको एमालेको उपमहानगरपालिका संसदीय दलका नेता नविन सिग्देलले बताए ।बजेट निर्माण गर्दा विभिन्न बिषयगत समितिमा छलफल गरिनु पर्ने भएपनि स्रोतका अनुसार हेटौंडा उमहानगरपालिकामा यस्ता विषयगत समितिहरु नै बनेका छैनन् ।
कार्यपालिका बैठकबाट पास नगरिएको, चुनाबका बेलाका गठबन्धनमा रहेका दलका प्रतिबद्धता अनुसार मात्र बजेट हालिएको, बैठक कार्यबिधि संसोधन गर्न मेयर लामाले निवेदन समेत दर्ता गर्न नमानेको लगायतका विषयमा आफूहरुको असन्तुष्टि रहेको सिग्देलले बताए । उपमहानगरपालिकामा बिजयी एमालेका ५४ जना नगरसभा सदस्यहरु सहितको बैठकले स्थानीय सरकार संचालन ऐन सञ्चालन सम्बन्धी बैठक कार्यबिधि सशाेधनका लागि दर्ता गराउन निवेदन दिदा दर्ता गर्न अस्वीकार गरिएको सिग्देलले बताए ।
एमालेका प्रदेश कमिटीका सदस्य रघुनाथ खुलाल, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ सहितको बैठकले सहमति र सहकार्यबाट मात्र बजेट ल्याउनका लागि नगरका मेयर मिना लामा र उपमेयर राजेश बानियाँलाई आग्रह गरिएको उनले बताए ।उपमहानगरपालिका वडा अध्यक्षहरुलाई समेत कुनै वास्ता नगरिकन बजेट ल्याउन खोज्नु जनभावना विपरित भएको हेटौंडा १५ का वडा अध्यक्ष सुनिल मुक्तानले बताए । १८ जना कार्यपालिका सदस्य रहेको एमालेले बैठक संचालन कार्यविधि–२०७४ को १५(२) र १५(३) मा रहेको ब्यवस्थालाई संसोधन गरिनुपर्ने माग राखेको थियो । तर मागको विषयमा मेयर–उपमेय लचिलो नबनेपछि आफुहरुले वाध्य भएर गत मगलबारकाे कार्यपालिका बैठक बहिस्कार गर्नुपरेको वडा नंबर १५ का वडाध्यक्ष तथा एमाले हेटौँडा नगर दलका प्रमुख सचेतक सुनिल मोक्तानले बताए ।
सहकार्य र छलफलका लागि एमालेका तर्फबाट हेटौंडा १८ का वडा अध्यक्ष अनिल बानियाँको संयोजकत्वमा तीन सदस्य समिति चयन गरिएको छ । जसमा सदस्यहरुमा हेटौंडा–१५ का वडा अध्यक्ष सुनिल मोक्तान, हेटौंडा–१० का वडा अध्यक्ष फुर्वा दोर्जे लामा रहेका छन् ।
हेटौँडा उपमहानगरपालिकाको कार्यपालिकामा एमालेबाट १८ जना, कांग्रेसबाट ९ तथा नेकपा एकिकृत समाजवादीबाट २ जना सदस्यहरु रहेका छन् । नगरसभामा पनि नेकपा एमाले ५१ जना सहित पूर्ण बहुमतमा छ । कानुनी व्यवस्था अनुसार असार १० गते सवै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु पर्ने तथा असार मसान्तमा प्रस्तुत नीति तथा कार्यक्रम पारित गर्नु पर्ने हुन्छ । साेही अनुसार आज उपमहानगरपालिकाकाे ११ औं नगर सभा अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न लागिएकाे हाे ।
नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेलगत्तै बहालवाला मन्त्रीले ‘नहट्ने’ अडान राखेपछि भाँडभैलो सुरु भएको छ ।
नेकपा एकीकृत समाजवादीले गत २२ जेठमा आफ्ना मन्त्री फिर्ता गर्ने निर्णय गरेको थियो । तर, लगत्तै हालका मन्त्रीले ‘बजेट स्वीकृत हुनुअघि नहट्ने’ अडान राखेपछि नयाँ मन्त्री आउने कार्य रोकिएको थियो । अहिले बजेट स्वीकृत भइसक्दासमेत सो पार्टीबाट नयाँ मन्त्री आउन सकेका छैनन् ।
एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय तीन सातादेखि अलपत्र पर्दै आएको हो ।
निर्णय गरेको १८ दिन बितिसक्दासमेत मन्त्री सिफारिस भएकाले जिम्मेवारी पाएका छैनन् । उनीहरू १८ दिनदेखि शपथको प्रतीक्षामा छन् । त्यसबेला एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँगको परामर्शमै ‘आफ्नो पार्टीका मन्त्री फिर्ता बोलाउने’ निर्णय गराएको बताएका थिए ।
स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा रहेका भवानी खापुङलाई भने स्वास्थ्यमन्त्रीमा बढुवा गर्ने र अन्य नयाँ मन्त्रीको जिम्मेवारीमा जीवनराम श्रेष्ठलाई पर्यटन, शेरबहादुर कुँवरलाई श्रम, मेटमणि चौधरीलाई सहरी विकासमन्त्री र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा पठाउने निर्णय त्यतिबेलै गरिएको थियो ।
पार्टीको सो निर्णय कार्यान्वयन गराउन अध्यक्ष नेपाललाई नै निकै हम्मे पर्दै गएको पार्टीका नेताले बताएका छन् । प्रधानमन्त्री देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहयोग नगर्दा नेपाल अप्ठ्यारोमा परेको र पार्टी निर्णय कार्यान्वयन गराउन नसकेको एकीकृत समाजवादी नेताको भनाइ छ ।
पार्टीनिकट स्रोतका अनुसार गत २२ जेठको निर्णय कार्यान्वयन हुन नदिन एकीकृत समाजवादीबाट मन्त्री भएका प्रेम आले, विरोध खतिवडालगायतले माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवालाई दबाब दिएका थिए ।
त्यसबेला उनीहरूले संसद्मा बजेटमाथि छलफल भइरहेको र त्यस विषयमा जवाफ दिनुपर्ने भएकाले ‘तत्काल मन्त्रीबाट हटाउन नहुने’तर्क गरेर देउवा र प्रचण्डलाई मनाएका थिए । देउवाले पनि संसद्बाट बजेट पारित नभई मन्त्रिपरिषद् हेरफेर नहुने जवाफ नेपाललाई दिएपछि मन्त्रिपरिषद् हेरफेर स्थगित भएको थियो ।
सम्मानित नेता’ झलनाथ खनाल र सिफारिस भएका मन्त्रीले दबाब दिएपछि पार्टी अध्यक्ष नेपालले सरकारमा रहेका मन्त्रीसँग बुधबार आफ्नो निवासमा छलफल गरेका थिए । पार्टी निर्णय कार्यान्वयनमा सघाउन उनले मन्त्रीलाई आग्रहसमेत गरेका छन् ।
तर, मन्त्रीबाट फिर्ता बोलाउँदा केहीले ‘पार्टी नै छाड्ने’सम्मको धम्की दिएपछि अध्यक्ष नेपाल अप्ठ्यारोमा परेको एकीकृत समाजवादीकै नेता स्विकार्छन् ।
मन्त्री रहेका नेताको एउटा समूह र मन्त्री सिफारिस भएकाको अर्को समूह भएका कारण ‘दुई वटा पार्टी’जस्तो अवस्था रहेको र यसले गम्भीर समस्या निम्तिन सक्ने स्रोतले जानकारी दियो ।
बुधबारको छलफलमा मन्त्री रामकुमारी झाँक्री र प्रेम आलेले मन्त्रीबाट हटाउने निर्णय’bout पुनर्विचार गर्न आग्रह गरेका छन् । आफूहरूले राम्रो काम गरिरहेका बेला ‘किन हट्नुपर्ने ?’ भनेर उनीहरूले नेपालसँग प्रश्न गरेका छन् । त्यसक्रममा उनीहरूले मन्त्री हटाउने पार्टी निर्णय प्रक्रियामाथि पनि प्रश्न उठाएका थिए । मन्त्री झाँक्रीले मन्त्री फिर्ता बोलाउने निर्णय संसदीय दलबाट नगरेर किन सचिवालयबाट गरेको भन्दै प्रश्न गरेकी थिइन् । राजधानी दैनिकबाट
मकवानपुर । थाहा नगरपालिकामा नमूना युवा नगरसभा अभ्यास सम्बन्धी प्रशिक्षण कार्यक्रम आयाेजना गरिएकाे छ । थाहा नगरपालिकाको आयोजना तथा जिल्ला युवा समितिको कार्यालय मकवानपुरको संयोजनमा थाहामा पहिलो पटक नमूना युवा नगरसभा अभ्यासकाे ४ दिने प्रशिक्षण कार्यक्रम बुधबार सकिएकाे हाे ।
४ दिने प्रशिक्षण पछि नमूना नगर सभा संचालन गरि कार्यक्रम समापन गरिएकाे हाे । नमूना नगरसभा अध्यक्ष तथा नमुना युवा नगर प्रमुख बिस्मिता गोपालीले संचालन गरिएकाे थियाे । नमूना नगर सभा उपाध्यक्ष ओमस प्रधानले बजेट, बिनियोजन बियेयक २०७९ र आर्थिक बिध्येयक २०७९ पेश गरि सभामा छलफल पश्चात पारित गरिएकाे थियो ।
थाहा नगरपालिकाका १२ वटै वडाका ४५ जना युवाहरुलाई युवा नीति, नेतृत्व, राज्यप्रणाली, नेतृत्व विकाश, युवा मार्गदर्शन, नगरपरिषद, यसको संरचना लगायतका बिषयबस्तुमा प्रशिक्षण प्रदान गरिएको जिल्ला युवा समितिका अध्यक्ष शिबहरि दाहालले जानकारी दिए ।
अध्यक्ष दाहालले तालिममा युवा जीवन र मार्गदर्शन, लोकतन्त्र र लोकतान्त्रिक संस्कृति, सूचनाको हक, नेपालमा युवा संसदको अवधारणा र अभ्यास, युवा क्लब र युवा क्लब गठन प्रक्रिया, स्थानीय योजना निर्माणका सात तहहरु र योजना निर्माणमा युवा क्लबको भूमिका, नगरसभा संचालन सम्बन्धी कार्यविधि तथा गाउँ/ नगर सभामा पालना गर्नुपर्ने नियमहरुका विषयमा समेत राष्ट्रिय प्रशिक्षक मुना तिवारी र अशोक खनालले सहजीकरण गरेका थिए ।
थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर बिष्टले उद्घाटन गरेकाे प्रशिक्षण कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली, वडा अध्यक्ष, समाजसेवी बिमल कुमार ढकाल, शिक्षाबिद् सानोभाइ कार्की, युवा अभियान्ता दिनेश कार्की लगायतकाे उपस्थिति रहेको थियो ।
सत्ता गठबन्धनमा आबद्ध पाँच दल अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विपक्षमा उभिन सहमत देखिएका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको सत्ता गठवन्धन आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठकमा एसपीपीको विषयमा छलफल भएको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको हितविपरीतका कुनै पनि सम्झौतामा आफूले हस्ताक्षर नगर्ने विषयमा प्रस्ट हुन गठबन्धन आबद्ध दलका शीर्षस्थ नेतालाई आग्रह गरेका थिए ।
बैठकमा सहभागी नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनको बैठकमा अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को विषयमा व्यापक छलफल भएको र आफूहरूले सो सम्झौता नेपालको हितमा नभएकाले त्यसको विपक्षमा उभिनुपर्ने धारणा राखेको जानकारी दिए ।
‘एसपीपीको विषयमा बैठकमा व्यापक छलफल भयो, सो सम्झौता नेपालको हितमा छैन भन्ने सबैको राय छ, प्रधानमन्त्रीले पनि बैठकमा आफू एसपीपीको पक्षमा नरहेको भनेर स्पष्ट पार्नु भयो,’ नेकपा एसका सम्मानित नेता खनालले भने ।
बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई अनुमोदन भने गरेको छ । ‘बैठकमा प्रधानमन्त्री अमेरिकामा हुन लागेको कार्यक्रममा सहभागी हुन जाने विषयलाई अनुमोदन गरेको छ तर, प्रधानमन्त्रीले राष्ट्रहित विपरितका कुनै पनि समझदारी नगर्ने सहमति भएको छ,’ बैठकमा सहभागी गठवन्धन आबद्ध दलका अर्का एक नेताले भने ।
बैठकमा नेपाली सेनाले एसपीपीमा सहभागिताको विषयमा अमेरिकी दूवातासलाई लेखेको पत्रका विषयमा पनि छलफल भएको थियो । ‘नेपाली सेनाले अर्को देशको कूटनीतिज्ञलाई चिठी पठाउने ठीक थियो कि थिएन भन्ने विषयमा छलफल हुनुपर्छ भन्ने विषय बैठकमा उठेको छ, नेकपा एसका अध्यक्ष माधव नेपालले भने ।
एसपीपी सम्झौता मस्यौदामा हस्ताक्षर गर्न नेपाली सेना र नेपाल सरकारलाई अमेरिकी सेनाले ताकेता गरेपछि प्रधानमन्त्रीलाई अमेरिका भ्रमण नगर्न संसदीय समितिले सुझाव दिइसकेको छ । राजधानी दैनिकबाट
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत सामाजवादी) निकट रहेको युवा संघ नेपाल हेटौंडा उपमहानगरपालिका कमिटिले पुर्णता पाएको छ । हेटौंडामा भएको संघको भेलाले निरज सिं ठकुरीको अध्यक्षतामा ३१ सदस्य सचिवालय गठन गरेकाे हाे ।
संघको सचिवालयमा पदाधीकारीहरु सहित रहेका छन् । संघका अध्यक्ष ठकुरीको अध्यक्षतामा भएको भेलामा संघका केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला उत्प्रेरक कविन पन्त, सचिवालय सदस्य प्रकाश बानियाँ, जिल्ला अध्यक्ष किरणमान बल, उपाध्यक्षद्धय सफल अधिकारी र लिसेन बस्नेतको आतिथ्यता रहेको थियो । उक्त भेलाले स्थानिय तह निर्वाचन सहित संघको गतिविधी बारे जानकारी लिएको थियो । सचिवालयले संघको गतिविधीलाई उपमहानगरको वडा तहसम्म पु¥याउँदै नयाँ कमिटि गठन र पुरानालाई पुर्णता दिने निर्णय गरेको छ ।
त्यस्र्तै पार्टी निकट नेपाल खेलकुद महासंघ समाजवादीको नगर कमिटि गठन गरीएको छ । नवगठिन महासंघ भेलाले नरेन्द्र आले मगरको अध्यक्षतामा ३१ सदस्य रहेकाे उपमहानगर कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा बिजयता राणा मगर र सचिबमा निरज दुलाललाई चयन गरेको छ ।