मकवानपुर । बागमती प्रदेशमा मन्त्रालय भागबन्डाको विषयमा भएको आपसी खिचातानी केन्द्रीय नेतृत्वको दबाबमा मिलाइएको छ ।
प्रदेश तहमा दलहरुको मागलाई सम्बोधन गर्दै भागबण्डा मिलाउन नसकिएपछि विहीबार दिउँसो नेतृत्वलाई केन्द्रीय नेतृत्वले काठमाण्डौ बोलाएको थियो । काठमाण्डौमा राती अबेरसम्म चलेको छलफलपछि भागबण्डा मिलाइएको बुझिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा यो विषय मिलाइएको हो । भागबण्डा विवाद नमिल्दा माओवादी नेतृत्वको बागमती सरकार निरन्तर दबाबमा परेपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशका नेताहरूलाई बालुवाटार बोलाएका थिए ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा र नेकपा एकीकृत समाजवादीका नेता तथा निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनाललाई राखेर प्रधानमन्त्री प्रचण्डले विवाद मिलाएका हुन् ।
अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सरकारका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको बालुवाटार बैठकमा प्रचण्डले लामा र खनाललाई मिलेर जान सुझाएका थिए ।
गठबन्धनका शीर्ष नेतृत्वको निर्देशनअनुसार भागबन्डा विवाद मिलेको नेता खनालले जानकारी दिएका छन् । खनाका अनुसार यससंगै झण्डै २ महिनादेखि मन्त्रालयको विषयमा भएको विवाद टुङ्गीएको छ ।
उनका अनुसार एकीकृत समाजवादीले २ र काँग्रेसले ३ वटा मन्त्रालय पाउने पक्का भएको छ । यस अघि मंगलबार पनि मोटामोटी यही सवालमा सहमति मिलेपछि आपसी विद्रोह कायम रहेको भन्दै अन्तिम प्रयासको लागि काठमाण्डौ बोलाइएको थियो । नेतृत्वले अबको ३ दिनभित्र सरकार विस्तार गर्नेगरी निर्देशन दिएको छ । “आइतबारसम्म सरकार विस्तार गर्नुपर्ने छ” खनालले भने “अब चाँही विवाद सकियो ।” सत्तासिन दलहरुको मन्त्रालय भागबण्डाको विवादले प्रदेश सरकार आफ्नो गतिमा अघि बढ्न सकेको थिएन ।
यसअघि नेपाली कांग्रेसले ६ वटा र एकीकृत समाजवादीले दुईवटा मन्त्रालय नलिई नछोड्ने अडानका कारण विगत ५४ दिनदेखि सरकार पूर्ण हुन सकेको थिएन । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मंगलबार कांग्रेसलाई पाँचवटा र एकीकृत समाजवादीलाई दुईवटा मन्त्रालय भागमा पर्ने गरी भागबन्डा लगाइदिएपछि विवाद आपसी तिक्तता अझै बढेको थियो । मुख्यमन्त्री जम्मकट्टेलले लगाएको भागबण्डाले चित्त नबुझेपछि एकीकृत समाजवादीले सरकार छोड्नेसम्मको चेतावनी दिएको थियो ।
प्रदेश सरकारमा खटपट हुने संकेत पाएपछि प्रधानमन्त्री प्रचण्डले नेताहरूलाई बालुवाटारमा बोलाएर मन्त्रालयको भागबण्डा मिलाएका हुन् ।
बागमती प्रदेशसभामा नेपाली कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ साँसद छन् ।
मकवानपुर । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको कार्यमा संलग्नलाइ कारवाही गर्न नेकपा (एकीकृत समाजवादी) मकवानपुरको मोर्चा संगठनहरुले माग गरेको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै मोर्चा संगठनले मानव बेचबिखन र भ्रष्टाचारको डिजाइनको विरुद्धमा आफूहरु खुला रुपमा सडकमा उत्रेको उल्लेख गरे ।
“यो कुकृत्यमा संलग्न सबै अपराधीहरुलाई गिरफ्तार गरी कानूनी कावाही गर्न हाम्रो पार्टीले विगतदेखि नै सार्वजनिक रुपमा माग तथा आह्वान गर्दै आएको हो” ज्ञापन पत्रमा भनिएको छ ।
नक्कली भुटानी शरणार्थी काण्डका भ्रष्टाचारीहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउन हालसम्म सरकारले राखेको अडान, कार्य र सकृयताले आमनागरिकको वीचमा सकारात्मक सन्देश प्रवाह गरेको ज्ञापन पत्रमा भनिएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कुप्रचार गरी देशलाई अराजक परिस्थतितिर लैजान खोजिएको भन्दै नक्कली भूटानी शरणार्थी काण्डलाई आधार बनाएर संसद भित्रैबाट संविधानका विरुद्धसमेत बोल्ने काम गरिएको मोर्चाको ठम्याई छ । यसबाट परिवर्तनकामी राजनीतिक शक्तिको मनोवल खसाल्ने प्रयास गरिएको पनि ज्ञापनपत्रमा उल्लेख छ ।
विगतका धेरै भ्रष्टाचार काण्ड यत्तिकै बीचैमा सामसुम पारिएका हुँदा आमजनताका मनमनमा कतै यो संगीन मुद्दालाई पनि कमजोर पार्ने काम त भैरहेको भन्ने आशंका जन्मिएको भन्दै एकीकृत समाजवादी निकट मोर्चाहरुको ज्ञापन पत्र बुझाएका हुन् ।
“हाम्रो पार्टी यो विषयप्रति धेरै नै संवेदशील छ र गम्भीरपूर्वक अध्ययन गरिरहेको छ । कुनै पनि प्रकारको मिलोमतोमा अपराधीलाई उन्मुक्ति दिई जनताको भावनामाथि खेलवाड गर्न थालियो भने त्यो देश र जनतामाथि थप कुठाराघात मात्र हुनेछ भनी हामी सरकारलाई सचेत गराउन चाहन्छौ” ज्ञापनपत्रमा उल्लेख छ ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहाल, सचिव ध्रुव भुजेल, युवा संघका किरण बल, कविन पन्त, अनेरास्ववियुका किशोर टन्डन, समाजवादी प्रेस संगठनका रामकुमार एलनलगायतको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
मकवानपुर । अपाङ्गता बारेको सवाल आगामी बजेट र नीतिमा समावेश गर्न माग गरिएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ- नेपाल, बागमती प्रदेश कार्यालय, हेटौंडाले प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान तथा स्वास्थ सचिब बद्रीबहादुर खड्कालाई यस्तो माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
अपाङ्गता भएका व्यक्तिको हक, हित र अधिकार संरक्षण, सम्बर्धन र प्रवर्धनको लक्ष्यित वर्गलाई लाभ पुग्ने गरि बजेट तथा नीति र कार्यक्रमले सम्बोधन गर्न माग गरिएको हो ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमति प्रदेशले स्थापनाकालदेखि नै अपाङ्गता भएका व्यक्तिको अधिकार स्थापित गर्न समन्वय, सहकार्य, क्षमता विकास र सशक्तिकरणको सवाललाई अनवरत रुपमा उठान गर्न क्रियाशिल रहेको महासंघका प्रदेश अध्यक्ष अश्विन लम्सालले बताए ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशले समग्र अपाङ्गता भएका व्यक्तिहरुको समस्यालाई मध्ये नजर गरी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०।०८१ को लागि नीति तथा कार्यक्रमको तर्जुमा गरिरहेको सन्दर्भमा प्रदेश स्तरका नीति निर्माण तथा कार्यान्वयन, अनुगमन, मुल्याङ्कन, अपाङ्गता भएका व्यक्तिका सवालको समावेशीकरण र अपाङ्गता भएका व्यक्तिको अर्थपूर्ण सहभागिताको सुनिश्चितताको लागि यो माग गरेको हो ।
यस्ता छन् मागहरु:
१. बागमती प्रदेशको सबै मन्त्रालय तथा सरकारी कार्यालयका भवन, शौचालय, सुचना पाटी, पार्किङ स्थल र वेबसाईट आदी अपाङ्गमैत्री निर्माण गरियोस।
२. अपाङ्गता भएका भएका व्यक्तिहरु र उनिहरुको परिवारलाई निशुल्क स्वास्थ्य बिमा गरियोस् ।
३. प्रदेश स्तरको अस्पतालमा सांकेतिक भाषा दोभाषे सहितको अपाङ्गता सहायता कक्षको व्यवस्थापन गरियोस।
४. पुर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई व्यक्तिगत सहयोगि सेवा उपलब्ध गराईयोस।
५. स्थानिय तह र प्रदेश सरकारको समन्वयमा ११९ वटै स्थानिय तहमा अपाङ्गता सहायता कक्ष (Disability Help desk) राखियोस ।
६. आपत्कालिन अवस्थालाई मध्यनजर गरी अपाङ्गता भएका व्यक्तिहरुका लागि प्रदेशस्तरिय आपत्कालिन कोषको स्थापना गरियोस्
७. प्रदेश भित्र रहेका उच्च शिक्षा अध्ययनरत अपाङ्गता भएको विद्यार्थीहरुलाई प्रदेश स्तरबाट नै छात्रवृत्ति सहित शैक्षिक सामग्रीको व्यवस्था गरियोस।
८. अपाङ्गता भएका व्यक्तिहरुका सामाजिक समावेशीकरण र सशक्तिकरणको लागि अपाङ्गता भएका व्यक्तिहरु द्वारा सञ्चालित संघ संस्थालाई संस्थागत अनुदान कार्यक्रमलाई निरन्तरता र वृद्धि गरियोस।
९. अपाङ्गता खेलकुदको सम्वर्धन र प्रवर्धन गर्नका निम्ति प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट नै पाराखेलकुदको प्रशिक्षण र प्रतियोगिताको आयोजना र अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने व्यवस्था गरियोस
१०. अपाङ्गता व्यक्तिका सन्तानहरुलाई आधारभूत तथा उच्च शिक्षा छात्रवृति सहित निशुल्क शिक्षाको व्यवस्था गरियोस ।
११. हिंसा प्रभावित पाता भएका महिला तथा बालिकाहरुको न्यायमा पहुँच, उद्धार र पुनर्स्थापनाको लागि आवश्यक विज्ञान गरियोस ।
१२. बाल विकास कक्षा तथा पूर्व प्रा.वि. कक्षामा आएका रसाउने बालबालिकाहरूको निम्ति विद्यालयमा आधारित प्रारम्भिक शिक्षा प्रदान गर्न ती माया राई रहेका शिक्षकहरूको निम्ति अधारभूत तालिम संचालन गरियोस ।
१३. अपाङ्गता भएका व्यक्तिहरुका लागि सीपमुलक तालिम, आय आर्जन, विउपुजि वितरण, स्वरोजगार वा उद्यमी बनाउने तालिम अपाङ्गता भएका व्यक्तिहरुद्वारा सञ्चालित उद्योगबाट उत्पादित वस्तु, हस्तकलाका सामान तथा कोशेली परहरुलाई प्रोत्साहन गर्न र बजार व्यवस्थापन, लोक सेवा तयारी
कक्षा, दीर्घकालिन माइतिक भाषा शिक्षा तानिए, बेललिपि तालिम, सचित्र सरल छापा तालिम, स्पर्श संचार पुष्टिविहित अपाङ्गता भएको व्यक्तिहरुलाई गमनशिलता तालिम, कम्प्युटर तालिम आदि निरन्तर लिने गरियोस ।
१४. स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ उपदफा (त) अनुसार अपाङ्गता भएको व्यक्तिहरुको तथ्याङ्कलाई व्यवम्बित गर्दै अभिमुखिकरण गर्न सबै स्थानिय तहले अनलाईन डाटा ईन्ट्री पहुँचयुक्त बनाईयोस ।
१५. अपाङ्ता भएका उनीहरुका लागी निशुल्क स्वास्थ्य उपचारको प्रत्याभूति गरियोस ।
१६. विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार अपाङ्गता भएका व्यक्तिको लागि आवश्यक पर्ने सहायक सामग्रीहरुदेखी बैशाखी, वाकर, विधुतिय सुविधा सम्बन्ध ह्विललचेयर, ट्राइसाइकल, बेल्टसिटिङ चैयर स्थानिय स्वास्थ्य संस्थाबाट निःशुल्क र सहज रुपमा पाउने वातावरणको लागि कार्यक्रम तथा बजेटको व्यवस्था गरियोस ।
१७. बौद्धिक, अटिजम, डाउनसिड्रम अपाङ्गता भएको व्यक्तिहरुको अभिभावकहरुलाई स्याहार सम्बन्धि तालिमको व्यवस्था तथा सहयोगी व्यवस्थापन गरियोस।
१८. सुनाई सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरु र श्रवणदृष्टि विहिन अपाङ्ता भएका व्यक्तिहरुकों संचारलाई सहज बनाउन सांकेतिक भाषा तथा स्पर्ष संकेतहरुको विकास तथा दोभाषेहरु उत्पादन गर्ने कार्यक्रमहरु समावेश गरियोस् ।
१९. मेरुदण्ड पक्ष घात अपाङ्गता भएका व्यत्तिहरुका लागि दैनिक रुपमा चाहिने अत्यवाश्यक स्वास्थ्य सामाग्रीहरु (जस्तैः युरिन व्याग सि.आई.सी पाईप, हाईपर जेलि आदी) वितरण कार्यक्रमहरु समावेश गरियोस ।
२०. स्वर बोलाई सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुका लागि Speech Therapy को लागि स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु स्थानिय तहमा र विद्यालयस्तरवाट नै व्यवस्था गरियोस।
२१. सबै स्थानिय तहहरुमा अपाङ्गता सम्बन्धि अभिमुखिकरण तथा जनचेतनामूलक कार्यक्रमहरु आयोजना गरियोस् ।
२२. अपाङ्गताको कारणले निरन्तर औषधी सेवन गर्नुपर्ने जस्तै मनोसामाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता अटिजम, डाउनसिड्रम मष्तिष्क पक्षघात (सेरेब्रल पाल्सी), छारेरोग (एपीलेप्सी) बाट प्रभावित व्यक्तिहरूले निरन्तर सेवन गर्नुपर्ने औषधिहरू र हेमोफेलीयाबाट प्रभावित व्यक्तिहरुलाई एन्टी हेमोफेलिक फ्यक्ट निःशुल्क र सर्वसुलभ रुपमा स्थानीय स्वास्थ्य संस्थाहरुबाट उपलब्ध गराईयोस ।
२३. विद्यालयको पहुंच बाहिर रहेका जटिल अवस्थाका बालबालिकाहरुको शिक्षाको लागि Door to Door services, Home visit program, Therapy services, nursing services a कार्यकमहरुको व्यवस्था गरियोस।
२४. अपाङ्गता भएका विद्यार्थीहरुका लागी सञ्चालित स्रोत कक्षाहरु र विशेष विद्यालयका आयाहरुका लागि हेरचाह सम्बन्धी तालिम, सांकेतिक भाषा तालिमको व्यवस्था, शिक्षकहरुलाई गुणस्तरिय शिक्षा दिनको लागि क्षमता विकासको व्यवस्था गरियोस ।
२५. अपांगता भएको व्यक्तिहरुको वित्तिय क्षेत्रमा पहुंच पुर्याउनको निम्ति सहकारी सञ्चालन कार्यक्रम ल्याईयोस।
२६. आ.वा. २०७९।८० मा रहेका सम्पूर्ण कार्यक्रमहरुलाई निरन्तरता दिईयोस् ।
मकवानपुर । बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक वैशाख ३१ आइतबार बसेको छ । मन्त्रिपरिषद्को बैठकले बागमती प्रदेश सभाको अधिबेशन जेठ ९ गते १ बजेको लागि आव्हान गर्ने निर्णय गरेको छ ।
यस्तै आजको बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी बिधेयक मस्यौदा तयारीको सिद्धान्त स्वीकृति दिने निर्णय गरेको छ ।
बैठकले दोलखाको जिरी नगरपालिका ५ मा प्रदेश गौरबको आयोजनाको रुपमा निर्माण गरिने मानव निर्मित पर्यटकीय ताल निर्माणका लागि जग्गा प्राप्ती (७७५ रोपनी) सम्बन्धी प्रारम्भिक प्रकृया अगाडि बढाउने निर्णय गरेको छ ।
मकवानपुर । नेकपा एमालेकाे केन्द्रीय कमिटीकाे पाचाै बैठक १६ बुँदे प्रस्ताव पारित गर्नै सकिएकाे छ । वैशाख २८ गते विहीबारबाट सुरु केन्द्रीय कमिटीकाे पाचाै बैठक शनिबार १६ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै समापन भएकाे हाे ।
एमालेले अहिले चर्चामा रहेकाे नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक पूर्वाग्रह र दबावविना निष्पक्ष रुपमा छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय माग गरेको छ । यो प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेका एमाले सचिव टोपबहादुर रायमाझीबारे भने प्रतिवेदनमा केही उल्लेख गरेको छैन ।
२०६२/६३ को जनआन्दोलनका क्रममा निरङ्कुश सरकारको गोली लागि घाइते भएका काभ्रेका मुकेश कायस्थको निधनप्रति बैठकले दुःख व्यक्त समेत गरेकाे छ । यसैगरी उसले लडाकु शिविर घोटाला काण्डको छानबिन गर्न सरकारसँग माग गरेको छ । प्रतिवेदकाे पाँचौं बुँदामा लडाकु शिविर घोटाला लगायत चर्चामा रहेका सबै काण्डको निष्पक्ष छानबिन अघि बढाउन माग गरिएको छ ।
उसले सुरुदेखि दोषी कोही नछुटून् र निर्दोष कोही नफसून् भन्दै आएको उल्लेख गर्दै राज्यका वैधानिक निकायबाट गरिने अनुसन्धानमा पूर्ण सहयोग रहने बताएको छ ।
हेर्नुहोस् एमाले बैठकले पारित गरेको समसामयिक प्रस्ताव
नेपाल कम्युनिस्ट पार्टी (एमाले)
केन्द्रीय कमिटी पाँचौँ बैठक
(२८–३० बैशाख, २०८०)
समसामयिक प्रस्तावहरु
विशेष प्रस्ताव
मुलुक राजनीतिक, आर्थिक र सामाजिक रुपमा सङ्कटतर्फ उन्मुख हुँदै गएको छ । भ्रष्टाचार सङ्क्रामक रोग जसरी फैलिँदैछ । राष्ट्रिय हितको रक्षाको प्रश्न चुनौतीपूर्ण बन्दै गएको छ । अस्थिरता र अराजकताका प्रवृत्तिहरु झाँगिन खोज्दैछन् । यस्तो अवस्थामा राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न, राजनीतिक क्षेत्रमा देखा परेको अस्थिरताका प्रवृत्तिहरुलाई नियन्त्रण गर्दै स्थायित्व र स्थिरता कायम गर्न र सामाजिक क्षेत्रमा हुर्किँदै गएको अराजकतालाई नियन्त्रण गर्दै सामाजिक सद्भाव र एकता कायम गर्न देशका प्रमुख राजनीतिक पार्टीहरुबीच न्यूनतम समझदारी बन्नु आवश्यक छ । केन्द्रीय कमिटीको यो बैठक यिनै उद्देश्यका साथ राष्ट्रिय राजनीतिक दलहरुका बीचमा समझदारी निर्माणका लागि पहलकदमी लिने निर्णय गर्दछ ।
प्रस्तावहरु
१. हाम्रो पार्टीका पोलिटब्युरो सदस्य तथा संविधानसभाका सदस्य कमरेड बालकृष्ण ढुङ्गेल, गत बर्ष पार्टीद्वारा ‘कम्युनिस्ट योद्धा‘ सम्मानबाट सम्मानित पुराना नेता कमरेड वसन्त गौचन, हाम्रो पार्टीका केन्द्रीय लेखा आयोगका सदस्य कमरेड खम्ब खत्री, केन्द्रीय सल्लाहकार परिषद् सदस्य रामबहादुर दानी, प्रतिनिधिसभा निर्वाचनका क्रममा बाजुरामा हत्या गरिनुभएका अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन ऐडी, मिसन ग्रासरुट अभियानका क्रममा प्युठानमा दुर्घटनामा परी निधन हुनुभएका कमरेड रामबहादुर थापा (गोपाल), नेपाल खेलकुद महासंघको राष्ट्रिय अधिवेशनका क्रममा दुर्घटनामा परी निधन हुनुभएका कमरेड प्रकाश महत, राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय अधिवेशन प्रतिनिधि कमरेड जीवनबाबु पन्तलगायत यस अवधिमा दिवंगत हुनुभएका पार्टीका नेता–कार्यकर्ताहरुप्रति यो बैठक हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, उहाँहरुले पार्टी तथा आन्दोलनमा पुर्याउनुभएको योगदानको स्मरण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।
२. २०६२/६३ को जनआन्दोलनका क्रममा निरङ्कुश शाही सरकारको गोली लागी घाइते हुनुभएका काभ्रेका मुकेश कायस्थको निधनप्रति यो बैठक गहिरो दुःख व्यक्ति गर्दछ । जनआन्दोलनका ‘जिउँदा शहीद‘ मुकेश कायस्थले आन्दोलनमा सहभागी हुने क्रममा लागेको गोलीका कारण १७ बर्षसम्म हिँडडुल तथा बोलचाल गर्न नसक्ने पीडादायी अवस्थाबाट गुज्रिनु प¥यो । नेपाली जनताको परिवर्तन र रुपान्तरणका आकाङ्क्षालाई सघाउन आफ्नो ज्यानको बाजी लगाएर दिनुभएको योगदानको उच्च सम्मान गर्दै हाम्रो पार्टी शहीद मुकेश कायस्थप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।
३. हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओलीमाथि हालै झापा, इलाम, पाँचथर र तेह«थुममा गरिएको साङ्घातिक आक्रमणको प्रयासलाई बैठकले निकै गम्भीर रुपमा लिएको छ । मुलुकमा मुठभेड निम्त्याउने, राजनीतिक दलहरुबीच द्वन्द्व सिर्जना गर्ने, सामाजिक सद्भाव बिथोल्ने, नेकपा (एमाले) पङ्क्तिको मनोबल कमजोर बनाउने र अस्थिरता सिर्जना गरी धमिलो पानीमा माछा मार्ने प्रयासस्वरुप हाम्रा अध्यक्षमाथि भएको यस प्रकारको आपत्तिजनक, अराजनीतिक र आपराधिक दुष्प्रयासको यो बैठक घोर निन्दा तथा भत्सर्ना गर्दछ । मुलुकको पूर्वप्रधानमन्त्री तथा संसद्मा प्रमुख विपक्षी दलको नेतामाथि यस प्रकारको आपत्तिजनक कार्य हुँदासमेत शान्ति–सुरक्षाको न्यूनतम दायित्वबाट विमुख हुँदै मुकदर्शक बनेकोमा सरकारप्रति यो बैठक खेद प्रकट गर्दछ । साथै, नेकपा (एमाले) को नेतृत्वमाथि यस्ता हर्कतहरु नदोहो¥याउन यो बैठक सम्बन्धित सबैलाई चेतावनी दिन चाहन्छ ।
४. विगत लामो समयदेखि भित्र–भित्रै चलिरहेको नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने घृणित ठगी–धन्दा हालै सतहमा आएको छ । सोच्न पनि नसकिने यस्तो काममा एकातिर गृह मन्त्रालयकै उच्च नेतृत्व संलग्न रहनुले राज्यविरुद्धको अपराध कति सङ्गठित रुपमा अघि बढाइएको रहेछ भन्ने देखिन्छ भने अर्कातिर यसबाट अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको प्रतिष्ठामाथि नै गम्भीर प्रश्न खडा भएको छ । यो बैठक उक्त प्रकरणको कुनै राजनीतिक पूर्वाग्रह र दवावबिना निष्पक्ष रुपमा छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय होस् भन्ने माग गर्दछ । यस क्रममा हिरासतमा राखिएका व्यक्तिहरुलाई छानबिनको दायरामा आउनसक्ने व्यक्तिसँग अवैध रुपमा भेटघाट गराउने, पैसा दिएर मुद्दा मिलाउने प्रयाश गर्ने, असम्बद्ध व्यक्तिहरुको नाम लिन र आफू अनुकूलको बयान गराउन दबाब दिइएको जस्ता सूचना सार्वजनिक भएका छन् । हामीले सुरुदेखि भन्दै आएको– दोषी कोही नछुटून् र निर्दोष कोही नफसून् भन्ने कुरातर्फ यो बैठक गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छ । राज्यका वैधानिक निकायबाट गरिने यस्ता विषयको निष्पक्ष अनुसन्धानमा हाम्रो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने पनि स्पष्ट पार्न चाहन्छ ।
५. नेपाली समाजमा भ्रष्टाचार र अनियमितता सङ्क्रामक रोगका रुपमा रहँदै आएको छ । यस्ता घटनाहरुको निष्पक्ष छानबिन र दोषीहरुलाई कानुनको दायरामा नल्याउँदा यसले लोकतान्त्रिक प्रणाली, राजनीतिक नेतृत्व र पार्टीहरुमाथि नै प्रश्न उठ्ने स्थिति सिर्जना भएको छ । यो बैठक लडाकु शिविर घोटाला काण्ड लगायत चर्चामा आएका सबै काण्डहरुको निष्पक्षतापूर्वक छानबिन अघि बढाउन सम्बद्ध निकायसमक्ष आह्वान गर्दछ । यस्ता छानबिनमा पार्टीको पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छ ।
६. पाँच दलीय गठबन्धन सत्तामा रहँदा चालिएका विगतका राष्ट्रविरोधी नीति र कदमहरुको प्रभाव यतिबेला मुलुकको अर्थतन्त्रले झेल्नुपरेको छ । व्यापारीका प्रतिनिधिहरुलाई अर्थ मन्त्रालयमा राखेर उनीहरुका स्वार्थ अनुकूल करका दर हेरफेर गरी बजेट बनाएको र अर्थतन्त्रको ठेक्का निश्चित व्यापारिक घरानालाई दिएको प्रभावस्वरुप यतिबेला मुलुक चरम आर्थिक सङ्कटतर्फ धकेलिएको छ । यही गठबन्धनकै सरकारले चालू आर्थिक बर्षमा आठ प्रतिशत आर्थिक बृद्धिदर हासिल हुन्छ भनेर बजेटमा घोषणा गरेकोमा दुई प्रतिशत पनि हुन्छ कि हुन्न भन्ने अवस्था उत्पन्न भएको छ । एकातिर अत्यावश्यक क्षेत्रको बजेट कटौती गरिएको छ भने अर्कातिर बीचको छोटो अवधि हामीले अर्थ मन्त्रालय सम्हाल्दा आर्थिक मितव्ययिता अपनाउन लिइएका निर्णयहरु खारेज गरेर फजुल खर्चलाई निरन्तरता दिइएको छ । फलस्वरुप सामाजिक सुरक्षाको भुक्तानीमा समेत समस्या उत्पन्न भएको छ, सही रुपमा सञ्चालन गर्न हुने उद्योग–व्यवसाय पूरै प्रभावित भएका छन् । नयाँ लाइलेन्स, ठेक्कापट्टा र आयोजना जस्ता विषय सत्ता साझेदारहरुबीचको भागबण्डा र मिलेमतोमा निश्चित व्यापारिक समूहको हातमा सुम्पेर मुलुकलाई स्वार्थ समूहहरुको कब्जामा राख्ने कोशिसलाई तीब्रता दिइएको छ । यसले व्यवसायीहरु अत्यन्त हतोत्साहित र निराश बन्न पुगेका छन् । व्यवसाय बन्द हुने र उनीहरु पलायन हुने क्रम बढेको छ । यस्ता क्रियाकलापहरुले राष्ट्रलाई असफल दिशामा लैजाने खतरा बढेकाले हाम्रो पार्टी गम्भीर र चिन्तित छ । अतः यो बैठक मुलुकको बिग्रिँदो अर्थतन्त्रप्रति गहिरो चिन्ता प्रकट गर्दै यस्ता हर्कतहरु बन्द गर्न चेतावनी दिँदै अर्थतन्त्र्रप्रति गम्भीर हुन सरकारसँग माग गर्दछ ।
७. विगत लामो समयदेखि मिटर ब्याजपीडित नागरिकहरु समस्या समाधानका लागि धर्ना तथा प्रदर्शनमा उत्रिएका छन् भने लघुबित्त र अन्य वित्तीय संस्थाहरुबाट पीडितहरुले आफ्नो समस्या समाधानका लागि बारम्बार आग्रह गरिरहेका छन् । आधारभूत तहका नागरिकका यस्ता समस्याप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो बैठक ती समस्याहरु अविलम्ब समाधान गर्नका लागि आवश्यक कानुनी तथा प्रक्रियागत व्यवस्था मिलाउन र तत्काल समाधान गर्न सरकारसँग माग गर्दछ ।
८. आम नागरिकले थेग्नै नसक्ने गरी महङ्गी बढिरहेको छ । सरकारका गलत आर्थिक नीति, कालो बजारीलाई प्रश्रय, अनुगमनको अभाव, अनियन्त्रित बजार जस्ता कुराले तीब्र रुपमा मूल्य बृद्धि भइरहेको छ । एकातिर बजारमा शिथिलता आएको छ र रोजगारीका अवसरहरु घटेका छन्, आय–आर्जनका सामान्य विकल्पहरु पनि बन्द भएका छन् भने अर्कातिर बजार भाउ अचाक्ली बढेकाले नागरिकको चूल्हो बाल्नै धौ–धौ भइरहेको छ । किसानहरुले आफ्नो उत्पादनको उचित मूल्य पाइरहेका छैनन्, रासयनिक मलखादको अभाव छ र यही बीचमा मलको मूल्यबृद्धि गरिएको छ । यसबाट आम जनता ठूलो मारमा परेका छन् । यो बैठक नागरिकले दैनिन्दिन भोगिरहेको समस्याप्रति संवेदनशील हुँदै महङ्गी नियन्त्रण गर्नका लागि तत्काल आवश्यक कदम चाल्न सरकारसँग माग गर्दछ ।
९. मुद्रास्फिति हुँदा, अत्यधिक मूल्य वृद्धि हुँदा र अरु क्षेत्रमा पारिश्रमिक समायोजन हुँदासमेत श्रमिकहरुको न्यूनतम ज्याला वृद्धि भएको छैन । यसबाट आम श्रमजीवी वर्गप्रति सरकारको उदासीनता र अनुत्तरदायीपन प्रस्ट हुन्छ । यसप्रति चिन्ता प्रकट गर्दै यो बैठक सबै क्षेत्रमा कार्यरत श्रमिकहरुलाई बदलिँदो अवस्था अनुसार जीवनयापन गर्न पुग्ने गरी ज्याला बृद्धि गर्न जोडदार माग गर्दछ ।
१०. नेपाली जनताले लामो र कठिन सङ्घर्षबाट प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई पूर्ण रुपमा संस्थागत गर्ने काम अझै पूरा भइसकेको छैन भने जनताका प्रतिनिधिद्वारा संविधानसभामार्फत् निर्मित संविधानको समेत पूर्ण रुपमा कार्यान्वयन हुन बाँकी नै छ । संविधान र गणतन्त्रलाई थप समृद्ध र विकसित बनाउनुपर्नेमा अदालतको समेत दुरुप्रयोग गरी संविधानको अपव्याख्या गर्ने, मुलुकमा राजनीतिक अस्थिरता सिर्जना गर्ने र गठबन्धन सरकारका गलत नीतिका कारण सिङ्गो प्रणालीलाई नै बद्नाम बनाउने जस्ता कामहरु भइरहेको मौका छोपी कतिपय तत्वहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रहार गर्ने कुचेष्टा गरिरहेको अवस्थाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टीलाई यस्ता कुनै पनि कार्य स्वीकार्य नभएको स्पष्ट पार्दै यो बैठक सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानविरोधी हर्कत बन्द गर्न सम्बन्धित सबैलाई सजग गर्न चाहन्छ ।
११. नेकपा (एमाले) सुशासन, समृद्धि, गणतन्त्र, लोकतन्त्र, संविधान र अग्रगमनका पक्षमा दृढतापूर्वक उभिँदै र त्यसका लागि जीवन समर्पित गर्दै आएको पार्टी भएकोमा कहीँ कतै दुविधा छैन । भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना, नागरिकलाई सहज सेवाप्रवाहको व्यवस्था, राज्यका नियामक निकायहरुको सवलीकरण जस्ता कुरामा हामीले निर्णायक काम गरेका छौँ । हामी सरकारमा हुँदा ठूल्ठूला काण्डहरुको छानबिन गर्दै भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाइएको तथ्य सार्वजनिक नै छ । हालसम्म अदालतमा दायर भएका मुद्दा र तिनमाथि भएका फैसलालाई मात्र हेर्दा पनि कुन राजनीतिक दलको सुशासनप्रतिको निष्ठा कति छ भन्ने प्रस्ट हुन्छ । यस्तो अवस्थामा राजनीतिक पूर्वाग्रहका आधारमा जबर्जस्ती रुपमा हाम्रो पार्टीका नेताहरुको नाम जोडेर भ्रम फैलाउने काम केही सञ्चारमाध्यमहरुबाट भइरहेको छ । यो बैठक यस्ता भ्रमपूर्ण अफवाहहरुलाई नेकपा (एमाले) का विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको कडीका रुपमा लिँदै भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई आग्रह गर्दछ । साथै,पत्रकारिताको आधारभूत मान्यता पालना गर्न सम्बन्धित सञ्चारमाध्यमहरुलाई आग्रह गर्दछ ।
१२. यो बैठक लामो समयदेखि थाँती रहेको प्रदेशको नाम ‘कोशी’ का रुपमा नामाङ्कन गर्ने काम सफलतापूर्वक सम्पन्न गरेकोमा तत्कालीन १ नं प्रदेशसभालाई हार्दिक वधाइ ज्ञापन गर्दछ । समग्र मुुलुक जस्तै त्यो प्रदेश पनि बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र भौगोलिक विविधताले युक्त प्रदेश हो । यस प्रदेशलाई बहुपहिचान झल्किने गरी कोशी प्रदेश नामाकरण गरिनु उचित र स्वाभाविक हो भन्ने पार्टीको मान्यता रहेको छ । प्रदेशसभाको ९० प्रतिशतभन्दा बढी सदस्यहरुको सहभागिता र लामो छलफलपश्चात् भएको यस नामाकरणको विरोधको कुनै औचित्य देखिँदैन । कुनै पनि विषयमा शान्तिपूर्ण रुपमा आफ्ना असहमति राख्न पाउने लोकतान्त्रिक अधिकारलाई संविधानले प्रत्याभूत गरेको छ । तर वैधानिक सभाले वैधानिक र लोकतान्त्रिक विधिबाट गरेको नामाकरणको विरोधका क्रममा जातीय सद्भाव खल्बल्याउने, साम्प्रदायिक विद्वेष फैलाउने, समाजमा अराजकता फैलाउने र यसलाई नेकपा (एमाले) र यसबाट निर्वाचित मुख्यमन्त्रीका विरुद्ध राजनीतिक हतियारका रुपमा प्रयोग गर्ने गरी देखा परेका घटनाहरु कुनै पनि अर्थमा उचित, लोकतान्त्रिक र जनचाहना अनुरुप छैनन् । यो बैठक यस्ता कुनै पनि अतिवादी, साम्प्रदायिक र जनविरोधी क्रियाकलापमा सङ्लग्न नहुन सम्बद्ध सबैको ध्यानाकर्षण गर्दछ ।
१३. सुख्खा मौसमका कारण देशका विभिन्न भागमा भएका आगजनीका घटनाबाट नागरिकहरुले ज्यान गुमाइरहेका छन् । यसक्रममा अर्घाखाँचीमा ४ जनाको ज्यान गएको छ भने दैलेख जिल्लाको आठबीस नगरपालिका–६ मा गत वैशाख २७ गते जंगलमा लागेको आगोमा परी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम गरिरहेका १ जनाको ज्यान गएको छ भने ९ जना घाइते हुनुभएको छ । बाँके, गुल्मी लगायत जिल्लामा पनि आगलागीका कारण जनधनको ठूलो क्षति भएको छ । आगलागीमा परी ज्यान गुमाउनु हुने मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो बैठक उपचाररत सात जनाको शीघ्र स्वास्थ्यलाभको कामनासहित उहाँहरु सबैको स्वास्थ्योपचारको सम्पूर्ण व्यवस्था निःशुल्क रुपमा गर्न सरकारसँग जोडदार माग गर्दछ ।
१४. राष्ट्रिय युवा सङ्घ नेपालको स्थापना दिवसको सन्दर्भ पारेर प्रत्येक वर्ष जेठ १ गतेलाई युवा दिवसका रुपमा मनाइँदै आएको छ । यस वर्षको युवा दिवसका सन्दर्भमा नेपालका सबै युवा विद्यार्थीहरुमा यो बैठक हार्दिक वधाइ तथा शुभकामना व्यक्त गर्दछ र युवा दिवसका सन्दर्भमा जेठ १ गते आयोजना हुने विशेष कार्यक्रमलाई भव्य रुपमा सफल पार्न सबै जनसङ््गठनहरु र आम जनसमुदायलाई समेत आह्वान गर्दछ ।
१५. आगामी जेठ ३ गते ३० औं मदन–आश्रित स्मृति दिवसलाई उहाँहरुको सम्झना र नेपाली राजनीतिमा जनताको बहुदलीय जनवादको योगदानको विशेष परिचर्चा सहित भव्य रुपमा मनाउन सबै मातहत कमिटीलाई यो बैठक आह्वान गर्दछ ।
१६. २०७९ फागुन ५ गतेबाट २०८० वैशाख ९ गतेसम्म हाम्रो पार्टीद्वारा सञ्चालित ‘मिसन ग्रासरुट‘ (पार्टी सदृढीकरण र विस्तार अभियान) भव्य रुपमा सम्पन्न भएको छ । यस अभियानका क्रममा पार्टी केन्द्रको योजना र निर्देशन बमोजिम तोकिएको कार्यक्षेत्रमा खट्ने केन्द्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटीका नेता कमरेडहरुका साथै सबै कमरेडहरुलाई यो बैठक धन्यवाद ज्ञापन गर्दछ । हाम्रो अभियानका क्रममा नेकपा (एमाले) प्रति दर्शाएको सद्भाव र विश्वासका लागि जनसमुदायप्रति आभार व्यक्त गर्दै यो बैठक विभिन्न कार्यक्रमका माध्यमबाट पार्टीलाई सुझाव र सल्लाह दिनु हुने सबै संस्था र महानुभावहरुप्रति धन्यवाद व्यक्त गर्दछ । साथै, देशका कुनाकाप्चासम्म भएका अभियानका गतिविधिहरु समेटेर आम नागरिकसमक्ष निरन्तर पुर्याउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सञ्चारमाध्यमहरुप्रति यो बैठक कृतज्ञता ज्ञापन गर्दछ र आगामी दिनमा पनि सकारात्मक सहयोगको अपेक्षा गर्दछ ।