मकवानपुर । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको कार्यमा संलग्नलाइ कारवाही गर्न नेकपा (एकीकृत समाजवादी) मकवानपुरको मोर्चा संगठनहरुले माग गरेको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै मोर्चा संगठनले मानव बेचबिखन र भ्रष्टाचारको डिजाइनको विरुद्धमा आफूहरु खुला रुपमा सडकमा उत्रेको उल्लेख गरे ।
“यो कुकृत्यमा संलग्न सबै अपराधीहरुलाई गिरफ्तार गरी कानूनी कावाही गर्न हाम्रो पार्टीले विगतदेखि नै सार्वजनिक रुपमा माग तथा आह्वान गर्दै आएको हो” ज्ञापन पत्रमा भनिएको छ ।
नक्कली भुटानी शरणार्थी काण्डका भ्रष्टाचारीहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउन हालसम्म सरकारले राखेको अडान, कार्य र सकृयताले आमनागरिकको वीचमा सकारात्मक सन्देश प्रवाह गरेको ज्ञापन पत्रमा भनिएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कुप्रचार गरी देशलाई अराजक परिस्थतितिर लैजान खोजिएको भन्दै नक्कली भूटानी शरणार्थी काण्डलाई आधार बनाएर संसद भित्रैबाट संविधानका विरुद्धसमेत बोल्ने काम गरिएको मोर्चाको ठम्याई छ । यसबाट परिवर्तनकामी राजनीतिक शक्तिको मनोवल खसाल्ने प्रयास गरिएको पनि ज्ञापनपत्रमा उल्लेख छ ।
विगतका धेरै भ्रष्टाचार काण्ड यत्तिकै बीचैमा सामसुम पारिएका हुँदा आमजनताका मनमनमा कतै यो संगीन मुद्दालाई पनि कमजोर पार्ने काम त भैरहेको भन्ने आशंका जन्मिएको भन्दै एकीकृत समाजवादी निकट मोर्चाहरुको ज्ञापन पत्र बुझाएका हुन् ।
“हाम्रो पार्टी यो विषयप्रति धेरै नै संवेदशील छ र गम्भीरपूर्वक अध्ययन गरिरहेको छ । कुनै पनि प्रकारको मिलोमतोमा अपराधीलाई उन्मुक्ति दिई जनताको भावनामाथि खेलवाड गर्न थालियो भने त्यो देश र जनतामाथि थप कुठाराघात मात्र हुनेछ भनी हामी सरकारलाई सचेत गराउन चाहन्छौ” ज्ञापनपत्रमा उल्लेख छ ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहाल, सचिव ध्रुव भुजेल, युवा संघका किरण बल, कविन पन्त, अनेरास्ववियुका किशोर टन्डन, समाजवादी प्रेस संगठनका रामकुमार एलनलगायतको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

