मकवानपुर । बागमती प्रदेश सरकारले प्रादेशिक संरचना निर्माणका योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रशासनिक केन्द्र निर्माण योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
हेटौंडा–१७, हटियामा प्रदेश सरकारका प्रशासनिक निकायका भवन तथा संरचना निर्माण योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेकाे भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल जानकारी दिए । मन्त्री दुलालका अनुसार आयोजना स्थलमा वन क्षेत्रको केही जग्गा भएकाले सहजीकरण गर्न गौरवको आयोजनाको रुपमा समेट्न सिफारिस गर्ने निर्णय गरिएको हाे ।
बैठकले सिन्धुपाल्चोकको चौतारामा निर्माण भइरहेको प्राविधिक शिक्षालयमा पर्ने वन क्षेत्रको जग्गा भोगाधिकार प्राप्तिका लागि संघीय सरकारलाई सिफारिस गर्ने समेत निर्णय गरेको उनले बताए । वन क्षेत्रको जग्गाको भोगाधिकार प्राप्त गर्न संघीय सरकारको प्राथमिकता प्राप्त आयोजना हुनुपर्ने कानूनी प्रावधान रहेकाे छ ।
त्यसैगरी मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा नियमावलीका केही दफाहरु संशोधन गर्ने निर्णय गरेको छ । प्रदेश विश्वविद्यालय स्थापना, संचालन र शैक्षिक कार्यक्रम निर्धारणका लागि अनुकुल नदेखिएका दफाहरु संशोधन गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश विश्वविद्यालयको विधान परिवर्तन गरी स्वीकृत गर्ने निर्णय गरेको छ । यसअघि निर्माण गरिएको विधानमा धेरै विषयहरु परिवर्तन गर्नुपर्ने देखिएकाले सो विधानलाई परिमार्जन परिवर्तन गरी स्वीकृत गर्ने निर्णय गरेको हो ।
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा अपाङ्गता भएका व्यक्तिहरुको लागि नेपालमा बनेका ऐन कानूनहरुको एकीकृत पुस्तिका सार्वजनिक गरिएको छ ।
शुक्रवार हेटौंडामा सामाजिक विकास मन्त्रालयका उपसचिव खुविराम अधिकारीले उक्त पुस्तिका सार्वजनिक गरेका हुन् । पुस्तक सार्वजनिक गर्दै उपसचिव अधिकारीले एकीकृत पुस्तिका उपयोगी हुने बताए । उनले सार्वजनिक भएको पुस्तकलाई बागमती प्रदेशका सबै पालिका तथा वडाहरुमा पनि पु¥याउन सके अपाङ्गता भएकाहरुको लागि योगदान पुग्ने बताए । ‘अपाङ्गता भएका व्यक्तिहरुका क्षेत्रमा बागमती प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ’ उपसचिव अधिकारीले भने ‘आगामी दिनमा पनि मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’
त्यसैगरी राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश सचिव पर्वतराज विष्टले सार्वजनिक पुस्तकले अपाङ्गता भएका व्यक्ति तथा उनीहरुका अभिभावकलाई राज्यबाट प्रदान गरिएका सेवा, सुविधा, अवसर र यससँग सम्बन्धित कानूनी व्यवस्थाका बारेमा सुसुचित गराई अधिकार उपभोगमा सघाउ पु¥याउने बताए ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको आयोजना तथा सामाजिक विकास मन्त्रालयको सहजीकरणमा भएको पुस्तक सार्वजनिकीकरण कार्यक्रममा सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत लक्ष्मण पुडासैनी, अपाङ्गता भएका व्यक्तिहरुको उपस्थिति थियो ।
मकवानपुर । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान कोही कसैकाे नीजि सम्पत्ती नभइ प्रदेशको गौरवको आयोजना रहेको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताएका छन् । प्रतिष्ठानको चौथो वाषिर्कोत्सवको अवसरमा शुक्रबार हेटौंडामा मुख्यमन्त्रीले यस्तो बताएका हुन् ।
‘प्रतिष्ठान प्रदेश सरकारको अभिन्न अंग हो’ मुख्यमन्त्री जम्कट्टेलले भने ‘स्वास्थ्य क्षेत्रकाे लागि दक्ष जनशक्ति उत्पादन गर्ने स्थापना भएकाे हाे ।’ ‘अरु प्रतिष्ठान संघीय सरकारबाट स्थापना भएका भए पनि मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान बाग्मती प्रदेश सरकारबाट स्थापना भएकाे र प्रतिष्ठानकाे ऐन प्रदेशले पारित गरेकाे हाे’ उनले भने । उनले स्वास्थ्य क्षेत्रमा डाक्टर पढ्न र नर्स पढ्न चाहनेले पढ्न नपाएकाे बताए । ‘हाम्रो ऐन काेटा निर्धारण हुने गरी बनेकाे छ’ उनले भने ‘देशमा डाक्टर पढ्न कोटा निर्धारण गर्ने नियम तोडिनुपर्छ । पढ्न इच्छा हुनेलाई पढ्न दिइनु पर्ने उनले बताए ।
‘सरकारले विद्यार्थीबाट लिने फि को एउटै मापदण्ड बनाउनुपर्छ’ उनले भने । प्रतिष्ठानले अहिले ४ वटा विषय मात्रै पढाइरहेकाेले २८० विद्यार्थी छन् । बनिरहेकाे संरचनाले पूर्णता पाएपछि हजारौं विद्यार्थी पढाउन सक्ने उनले जानकारी दिए । प्रतिष्ठान प्रदेश गौरवको आयोजना भएकाेले कानूनले दिएको काम गर्ने बताउँदै उनले भने ‘संस्थालाई विवादरहित बनाउँदै अगाडि बढाउनु पर्छ ।’
हेटौंडा अस्पताल संघीय सरकारले प्रादेशिक अस्पताल बनाएको जानकारी दिदै उनले ५ वटा अस्पतालहरु प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने उनले बताए । प्रतिष्ठानले गर्दा नै हेटौंडा अस्पताल सुधार भएकोले अन्य भ्रममा नपर्न समेत उनले आग्रह समेत गरे । बागमती प्रदेश भरी स्वास्थ्य जनशक्ति उत्पादन गर्ने प्रतिष्ठान भएकाेले लक्ष्यमा अगाडि बढ्नु पर्ने उनकाे भनाई थियाे ।
मकवानपुर । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ । बिहीबारको प्रदेशसभा बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो । प्रदेश सभाकाे दोस्राे कार्यकालकाे चौथी अधिवेशनकाे ३१ औ बैठकले बजेट पारित गरेकाे हाे ।
गत असार १ गते प्रदेश सभामा पेश भएकाे बजेट सम्बन्धमा प्रदेश सभामा असार ६ बाट छलफल सुरु भएकाे थियाे । प्रदेश सरकारका तर्फका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले अर्थ सम्बन्धीमा प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक संसदमा पेस गरेका थिए । सभामुख भुवन कुमार पाठकले प्रदेश सभाकाे बिहीबार राती बसेकाे तेस्राे बैठकमा प्रदेश सरकारको अर्थ सम्बन्धी विधेयक र विनियोजन विधेयक प्रदेशसभामा निर्णायार्थ पेस गरेकोमा बहुमतले पारित भएकाे हो ।
प्रदेशसभाको बैठकले ९ जना सांसदहरूले राखेको खर्च कटौतीको प्रस्ताव अस्वीकृत गरेकाे छ । प्रदेश सरकारकाे तर्फबाट आर्थिक मामिला मन्त्री थपलियाले गत असार १ गते आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्ब ५४ लाख रुपैयाँ बजेट प्रदेश सभमा प्रस्तुत गरेका थिए । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढीको बजेट ल्याएकाे थियो ।
बजेट पारित भएसँगै सभामुख पाठकले प्रदेश सभाकाे अर्काे बैठक आज शुक्रबार दिउँसो ३ बजेबस्ने गरी बिहीबारकाे बैठक स्थगित गरे ।
मकवानपुर । मकवानपुर जिल्लाका १० वटा राजनीतिक दल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रममा सहभागी नहुने भएका छन् । प्रतिष्ठानले शुक्रबार हेटौंडामा चौथो वार्षिकोत्सव मनाउने तयारी गरिरहँदा जिल्लामा क्रियाशील राजनीतिक दलले विरोधस्वरुप कार्यक्रममा सहभागी नहुने निर्णय बिहीबार गरेका हुन् ।
नेपाली कांग्रेस पार्टी मकवानपुरकाे हेटौंडा–२ स्थित कार्यालयमा बिहीबार बसेको बैठकले २०८१ असार १४ गतेकाे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाको चौथो वार्षिक उत्सव कार्यक्रममा मकवानपुर जिल्लाका १२ वटा राजनीतिक दलहरु सहभागी नहुने निर्णय संयुक्त विज्ञप्ती मार्फत गरेकाे हुन् ।
नेकपा एमालेका बाहेकका दलहरुले जिल्लामा रहेको संगठितरुपमा हेटौंडा प्रादेशिक अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संघीय कानून विपरित प्रदेश ऐन २०७६ जारी गरी गाभ्ने निर्णयको विरोधमा चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गर्दै आइरहेका छन् । संयुक्त बैठक चरणबद्ध आन्दोलनका कार्यक्रमहरु निरन्तररुपमा अगाडी बढिरहने जनाइएको छ । जिल्लामा रहेका दलहरुले हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभिएको विषयमा लामो समयदेखि आन्दोलन गरिरहेको छ ।
वैठकमा नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, नेकपा माओवादी केन्द्र जिल्ला अध्यक्ष भीम पाख्रिन, राष्ट्रिय स्वतन्त्र पार्टीका किशोर अर्याल, नेकपा एकीकृत समाजवादीका विष्णुप्रसाद दाहाल, राप्रपा नेपालका गुरुप्रसाद सापकोटा, राप्रपाका अर्जुनप्रसाद गौतम, नेकपाका राम सि, जनता समाजवादीका दीपक सिन्तान, नेकपा मालेका हरि अधिकारी, क्रान्तिकारी कम्युनिष्ट पार्टीका सद्धाम हुसेनलगायत सहभागी थिए ।
‘जिल्लाका दलहरु चरणबद्धरुपमा आन्दोलित भएको अवस्थामा सम्बद्ध पक्षबाट बेवास्ता गर्दागर्दै पनि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको छुट्टै अस्थित्व रहनेगरी समृद्धि र प्रगतिको शुभकामना दिन चाहान्छौं’ १० दलद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ । दलहरुले बिहीबार साँझ हेटौंडामा पत्रकार सम्मेलन गर्दै हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने त्रुटीपूर्ण ऐनका दफाहरु खारेज नगरेसम्म प्रतिष्ठानले आयोजना गर्ने कुनैपनि कार्यक्रममा सहभागी नहुने जनाएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलकाे प्रमुख आतिथ्यतामा शुक्रबार बिहान हेटौडामा हुने भएकाे छ ।