चितवन । बाघको आक्रमणबाट घाइते पशुपति श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाल अस्पताल आएका छन् ।
आईतवार बिहान भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा मर्निङ्गवाकमा हिडिरहेका चितवनका ६० वर्षीय श्रेष्ठ बाघको आक्रमणमा परि घाईते भएका थिए । हाल चितवन मेडिकल कलेजमा उपचाररत श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न मन्त्री सिलवाल सोमबार अस्पताल पुगेका हुन् ।
घाईते श्रेष्ठसँग भेटका क्रममा मन्त्री सिलवालले स्वास्थ्यलाभको कामना सहित बिरामीको अवस्थाबारे चिकित्सक र परिवारसंग बुझेका थिए । यस्तै मन्त्री सिलवालले बिरामीको उपचारमा कुनैपनि कमी नहोस भन्दै आवश्यक परेको खण्डमा प्रदेशको वन तथा वातावरण मन्त्रालयले आर्थिक सहायता समेत गर्ने प्रतिबद्धता जनाए ।
यस्तै भरतपुर महानगरपालिका- २ बेलटाँडी निवासी श्रेष्ठले आफू घाइते भई उपचार गर्दै गरेको अवस्थामा प्रदेशको मन्त्री अस्पतालमै आएर भेट्दा खुसी लागेको बताए । श्रेष्ठलाई आक्रमण गरी घाइते बनाएको बाघलाई निकुञ्जको टोलीले आईतवार राती नियन्त्रणमा लिएर सौराहा निकुञ्ज लगेकाे छ ।
काठमाडौं । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रको विकृति र बिसङ्गती हटाउने गरि काम गर्ने बताएका छन् । स्वास्थ्य क्षेत्रमा कमिकमजोरीका कुराहरू सुनिने गरेको भन्दै मन्त्री थापाले यसको न्यूनीकरणका लागि सदैव तत्पर रहने बताए ।
भक्तपुरको सुर्यविनायक नगरपालिका ९ नखेलस्थित नन्दिकेशर महादेव मन्दिरमा भैरहेको श्रावणी मेलामा प्रमुख अतिथि रहनु भएका मन्त्री थापाले स्वास्थ्य सेवाबाट कोहि पनि वन्चित हुन नहुने बताए । जनताको काम गर्न मन्त्री पदमा रहेकाे भन्दै उनले लोभ लालचमा आफू नफस्ने समेत स्पष्ट पारे ।
आफूले मन्त्रीको पदभार ग्रहण गरेकै दिन क्यान्सरका विरामीहरुलाई १ लाख सहयोग उपलब्ध गराउने निर्णय गरेकाे समेत उनले जानकारी दिए । ‘विगतमा प्रदेश सरकारले विपन्न परिवारका क्यान्सरपीडितलाई ५० हजार सहयोग गर्ने गरेको थियो । अबदेखि एक लाख दिने निर्णय भएको छ’ मन्त्री थापाले भने ।
भक्तपुरमा धेरै धार्मिक स्थल भएकोले यसको प्रवर्द्धनमा प्रदेश सरकार लाग्ने उनले बताए । सबै धार्मिक स्थलमा दर्शनका लागि सहज पहुँचका लागि प्रदेश सरकारसँग समन्वय गर्ने जानकारी दिए । प्रदेश सभा सदस्य निर्वाचित भएपछि नै स्वास्थ्य, शिक्षा, पुर्वाधारसङ्गै धार्मिक पर्यटन प्रवर्द्धन एवम् अन्य विकास निर्माणमा आफूले सहजीकरण गरिरहेको उनले बताए ।
मकवानपुर । बागमती प्रदेश कांग्रेसको भौतिक पूर्वाधार, निर्माण तथा यातायात विभागमा २४ जना सदस्य मनोनित गरिएकाे छ । कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले उक्त विभागमा २४ जना सदस्य मनोनीत गरेका हुन् ।
काठमाडौंमा शनिबार भएको सदस्य मनोनित कार्यक्रम प्रदेश अन्तरगतकाे १३ जिल्लाका २४ सदस्यलाई विभागमा मनोनीत गरिएको हाे । विभागमा मनोनित सदस्यमा चेत बहादुर तामाङ, सन्तोष कुमार रोक्का, नेत्रमान प्रधान, रामेश्वर पुडासैनी, राजकुमार चौरेल, बिनुलक्ष्मी ताम्राकार, खड्कप्रसाद शिवाकोटी, बिकास काजी श्रेष्ठ, म्हेन्दो लामा, छिरिङ डोल्मा लामा छन् ।
यसैगरी चेतना थापा कार्की, निर्मल लामा स्याङतान, कविता भट्टराई, हरी पनेरू, पदमबहादुर भण्डारी, अशोककुमार तण्डुकार, शिवकुमार खड्का, बाबुराम प्रधान, राज ढुँगाना, दीपेन्द्र खरेल, कमल खत्री, रमेश पौडेल, राजन कार्की र निर्मल थापालाई विभागको सदस्यमा मनोनित गरिएकाे छ । सदस्यहरुलाई शनिबार नै प्रमाणपत्र वितरण समेत गरिएको थियो ।
सदस्य मनोनीत कार्यक्रमलाई सम्बोधन गर्दै सभापति बानियाँले अहिले ब्यवस्था जोगाउन र देशको समृद्धिको लागि प्रमुख दुई ठूला दल मिलेर सरकार बनाएकाे बताए । ‘सरकारलाई असफल हुने छुट छैन’ उनले भने । ‘प्रत्यक्ष निर्वाचनमा नै समानुपातिक, समावेशी सहभागीता सुनिश्चितता गरी संविधान संशोधन आवश्यक रहेको छ’ उनले भने ‘राणा, राजा र माओवादीसम्मलाई मिलाएर देश र जनताको हितमा काम गरेको कांग्रेस पछि पर्नुमा आन्तरिक मनमुटाव प्रमुख कारण हाे । उनले यसमा केन्द्रीय नेतृत्व तहले विशेष ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा प्रदेश सदस्य जगदिश नरसिं केसी, बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भंडेललगायतले शुभकामना मन्तव्य दिएका थिए ।
मकवानपुर । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशका महिलाहरुलाई निःशुल्क ड्राइभिङ तालिम दिने भएको छ ।
नवनियुक्त श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले यस्तो निर्णय गरेका हुन् । सार्वजनिक यातायातको क्षेत्रमा महिला चालकको सहभागिता बढाएर आत्मनिर्भर बनाउने उदेश्यका साथ तालिम दिन लागिएको हो । देशमा सीपमुलक श्रमको अभिवृद्धि तथा यातायात क्षेत्रमा महिला सहभागिता वृद्धि गर्ने उद्देश्यले तालिमको व्यवस्था गर्न लागिएको मन्त्री महर्जनले जानकारी दिए ।
यातायात क्षेत्रलाई समावेशी, मर्यादित एवं सुरक्षित बनाउन महिला चालक उत्पादन तथा महिला लक्षित रोजगार कार्यक्रम अन्तर्गत रहेर कम्तिमा २५० जना महिलाहरुलाई तीन पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधन प्रशिक्षण सीप प्रदान गर्ने मन्त्री महर्जनले बताए । मन्त्री महर्जनले सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षामा तीन पटक सम्म फेल भएकाले ९० दिन सम्म कुर्नुपर्ने व्यवस्था खारेज गर्ने पनि निर्णय गरेका छन् । उक्त समय घटाएर १ महिनामा ल्याउने निर्णय गरिएको मन्त्री महर्जनले बताए । उनका अनुसार उक्त निर्णय कार्यान्वयनका लागि यातायात व्यवस्था विभाग, मीनभवन काठमाडौंसँग समन्वय भइरहेकाे छ ।
मन्त्री महर्जनले पदभार सम्हाले लगतै मातहतका कार्यालय तथा सेवाग्रहीका समस्याको विषयमा चासो देखाएका छन् । १४ साउन सोमबार काठमाडौंमा मातहतका १३ वटा यातायात व्यवस्था कार्यालयका प्रमुखहरुसँग उनले अन्तरक्रिया समेत गरेका थिए । अन्तरक्रियामा उपस्थित कार्यालय प्रमुखले सेवाग्रहीहरुले सेवा लिन लामो समय खर्चनु पर्ने, हाल प्रयोग भैरहेको सर्भर डाउन हुने, लाइसेन्स छपाई ढिला हुँदा सेवाग्राहीहरुले भोग्नु परेका लगायतका समस्या मन्त्री समक्ष राखेका थिए ।
मन्त्री मर्हजनले यातायात क्षेत्रमा देखिएका समस्या समाधानकालागि संघीय मन्त्री, प्रदेशका मन्त्रीहरु, सचिव, सम्बन्धित कार्यालयका प्रमुखलगायतका सरोकारवालासँग छलफल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पदभार ग्रहण गरेका छन्।
शुक्रबार प्रदेश राजधानी हेटौंडास्थित कार्यालयमा उनले पदधार ग्रहण गरेका हुन् । देवकोटा बागमती प्रदेशका चौथो प्रदेश प्रमुख हुन् ।
गत साउन १४ गतेको संघीय मन्त्रिपरिषद्ले बागमती प्रदेश प्रमुख देवकोटालाई नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो ।मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले देवकोटालाई बुधबार प्रदेश प्रमुखमा नियुक्त गरेका थिए भने बिहीबार पद तथा गोपनीयताको शपथ गराएका थिए ।
यसैबीच निवर्तमान प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई शुक्रबार बिदाइ गरिएको छ । नवनियुक्त प्रदेश प्रमुख देवकोटाले शर्मालाई बिदाइ गरेका हुन् ।
पदभार कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, प्रदेश सभाका सभामुख भुवनकुमार पाठक, प्रदेशका मन्त्रीहरू, मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।