मकवानपुर । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशका महिलाहरुलाई निःशुल्क ड्राइभिङ तालिम दिने भएको छ ।
नवनियुक्त श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले यस्तो निर्णय गरेका हुन् । सार्वजनिक यातायातको क्षेत्रमा महिला चालकको सहभागिता बढाएर आत्मनिर्भर बनाउने उदेश्यका साथ तालिम दिन लागिएको हो । देशमा सीपमुलक श्रमको अभिवृद्धि तथा यातायात क्षेत्रमा महिला सहभागिता वृद्धि गर्ने उद्देश्यले तालिमको व्यवस्था गर्न लागिएको मन्त्री महर्जनले जानकारी दिए ।
यातायात क्षेत्रलाई समावेशी, मर्यादित एवं सुरक्षित बनाउन महिला चालक उत्पादन तथा महिला लक्षित रोजगार कार्यक्रम अन्तर्गत रहेर कम्तिमा २५० जना महिलाहरुलाई तीन पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधन प्रशिक्षण सीप प्रदान गर्ने मन्त्री महर्जनले बताए । मन्त्री महर्जनले सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षामा तीन पटक सम्म फेल भएकाले ९० दिन सम्म कुर्नुपर्ने व्यवस्था खारेज गर्ने पनि निर्णय गरेका छन् । उक्त समय घटाएर १ महिनामा ल्याउने निर्णय गरिएको मन्त्री महर्जनले बताए । उनका अनुसार उक्त निर्णय कार्यान्वयनका लागि यातायात व्यवस्था विभाग, मीनभवन काठमाडौंसँग समन्वय भइरहेकाे छ ।
मन्त्री महर्जनले पदभार सम्हाले लगतै मातहतका कार्यालय तथा सेवाग्रहीका समस्याको विषयमा चासो देखाएका छन् । १४ साउन सोमबार काठमाडौंमा मातहतका १३ वटा यातायात व्यवस्था कार्यालयका प्रमुखहरुसँग उनले अन्तरक्रिया समेत गरेका थिए । अन्तरक्रियामा उपस्थित कार्यालय प्रमुखले सेवाग्रहीहरुले सेवा लिन लामो समय खर्चनु पर्ने, हाल प्रयोग भैरहेको सर्भर डाउन हुने, लाइसेन्स छपाई ढिला हुँदा सेवाग्राहीहरुले भोग्नु परेका लगायतका समस्या मन्त्री समक्ष राखेका थिए ।
मन्त्री मर्हजनले यातायात क्षेत्रमा देखिएका समस्या समाधानकालागि संघीय मन्त्री, प्रदेशका मन्त्रीहरु, सचिव, सम्बन्धित कार्यालयका प्रमुखलगायतका सरोकारवालासँग छलफल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

