मकवानपुर । बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले उद्योग व्यवसायीको हकहितका लागि प्रदेश सरकार सधै सकारात्मक रहेको बताएकी छिन् ।
हेटौंडा उपमहानगरपालिकाले राजस्वमा एक्कसी वृद्धि गरेपछि आन्दोलनरत व्यवसायीसँगको भेटमा मन्त्री तामाङले यस्तो बताएकी हुन् । मंगलवार उद्योग वाणिज्य संघ मकवानपुरकाे ज्ञापनपत्र बुझ्दै मन्त्री तामाङले प्रदेश सरकार व्यवसायीहरुको पक्षमा रहेको बताएकी हुन् ।
मन्त्री तामाङले ब्यवसायीलाई मर्कामा पर्ने कुनै पनि काम नगर्ने समेत प्रतिवद्धता जनाईन् । “व्यवसायीहरुको हकहितका लागि मेरो सँधै समर्थन रहन्छ, व्यवसायीहरुको समस्यालाई समाधान गर्न संघसँग समन्वय गरेर सहजीकरण गर्नेछु” मन्त्री तामाङले भनिन् ।
‘व्यवसायीहरुले व्योहोर्नु परेका झण्झटीलो प्रणालीलाई पनि एकद्वार प्रणालीबाट लैजान प्रयास रहने उनले बताइन् । मन्त्री तामाङले व्यवसायीहरुलाई ढाँड सेक्नेगरी करबृद्धि नगर्न समेत स्थानीय तहलाई समेत आग्रह गरिन् ।
व्यवसायी, उद्यमी चरम मारमा रहेका बेला हेटौंडा उपमहानगरपालिकाले अस्वभाविक रुपमा राजश्वको दर वृद्धि गरेको भन्दै व्यवसायीहरू आन्दोलित छन् । संघको अगुवाईमा मकवानपुरका व्यवसायीले आन्दोलनको घोषणा समेत गरेका छन् । संघले नगर सरकार खोज्दै मैनबत्ति जुलुस, कार्यालयमा धर्नादेखि व्यवसाय नै बन्द गरेर चाँबी बुझाउनेसम्मको आन्दोलनका कार्यक्रम तय गरेको छ ।
असार ७ मा भएको उपमहानगरको १५ औं नगरसभाबाट राजस्व दरमा बृद्धि गर्ने निर्णय भएको थियो । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१।०८२ को लागि घरबहालकरदेखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म राजश्व बृद्धि गरेको हो । व्यवसायीहरुले उपमहानगरपालिको उक्त निर्णयविरुद्ध यसअघि नै ध्यानाकर्षण गराएका थिए ।
उवासंघ मकवानपुरका अध्यक्ष कृष्ण गुप्ता अग्रवालको नेतृत्वमा ज्ञापन पत्र बुझाएको कार्यक्रममा निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बाल गोपाल कँडेल , होटल एशोसिएसन मकवानपुरका अध्यक्ष दिलिश गोविन्द जोशी र उद्योग वाणिज्य महासंघ मकवानपुरका उपाध्यक्ष उज्वल चौलागाईं लगायतको उपस्थिती रहेको थियो ।
आइतबार भएको भेटमा बागमती प्रदेशका प्रदेश प्रमुख देवकोटालाई सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँले बधाइ तथा सफल कार्यकालको शुभकामना दिनु भएको छ । सुदुरपश्चिमका स्थायीवासी देवकोटालाई १४ साउनमा संघीय सरकारको मन्त्री परिषदको बैठकले बागमती प्रदेशका प्रदेश प्रमुखको रुपमा सिफारिस गरेपछि १७ साउनमा राष्ट्रपतिसमक्ष सपथ लिएका थिए ।
सपथ लगतै १८ साउनमा बागमती प्रदेश कार्यालय हेटौंडामा एक समारोहबीच पदबहाली गरेका देवकोटा आइतबार गृहजिल्ला कैलाली पुगेका हुन् । प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला पुगेका देवकोटालाई सुदुरपश्चिम प्रदेश प्रमुख कार्यालयका कर्मचारी तथा स्थानीयवासीहरुले समेत बधाइ दिएका थिए ।
मकवानपुर । बागमती प्रदेश सरकारले लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएकाे छ । प्रदेश सरकार २५ साउनबाट सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने तयारीमा रहेकाे छ।
प्रदेशकाे कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन मार्फत खाेप संचालन गर्ने जानकारी दिएकाे हाे । गाई भैसीमा लाग्ने लम्की स्किन रोगको प्रभावकारी उपचार नभएकाले २५ साउन शुक्रवारदेखि श्रावण ३० गतेसम्म बागमती प्रदेशका १३ वटै जिल्ला खाेप अभियान सञ्चालन गर्ने मन्त्रालयले जानकारी दिएकाे छ।
कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले लम्की स्किन रोगको नियन्त्रण प्रयासबाट किसानको समस्या केहीहदसम्म समाधान हुने बताए। ‘प्रदेश सरकार किसानहरूको आर्थिक समृद्धिका लागि यस्ता प्रयासलाई निरन्तरता दिने प्रतिबद्ध छ” उनले भने ।
मन्त्रालयले चालु आर्थिक वर्ष प्रदेशका ७६ हजार २ सय ७५ गाई भैसीलाई खोप लगाउने लक्ष्य राखेको छ। गत आर्थिक वर्षमा प्रदेशका ४८ हजार ३ सय ६४ र मकवानपुरका ३१ हजार ६ सय ६ खोप लगाइएकाे थियो। लम्की स्किनका कारण गत वर्ष ११ हजार २ सय १८ पशुको मृत्यु भएको थियो । नेपालमा कूल ७५ अर्ब ४८ करोड रुपैयाँको आर्थिक क्षति भएको अनुमान गरिएको छ।
यो रोग २०७७ साल असारमा प्रथम पटक नेपालमा देखापरेकाे थियाे । हाल ७७ वटै जिल्लामा राेग देखा परेकाे छ । रोगका कारण सामन्यतया १० देखि २० प्रतिशत पशुहरु बिरामी हुने र करिब १ देखि ५ प्रतिशतसम्म मृत्युदर देखिन सक्ने कार्यक्रममा जानकारी दिइएकाे थियाे ।
लम्पी स्किन रोगका कारण गाईभैंसीमा उच्च ज्वरो, शरीरमा गिर्खाहरू, सुन्निने जोर्नी र खुट्टा, थुनेलो देखापर्ने र दुध उत्पादन ८० प्रतिशतसम्म घट्ने गरेको छ। प्रत्येक जिल्लामा स्थानीय तहसँगकाे समन्वयमा पशु सेवा कार्यालयहरु मार्फत खोप कार्य संचालन गरिने भएकाे छ । प्रत्येक स्थानीय तहहरुको लागि आवश्यकता अनुसार स्थानीय तहको समन्वयमा भ्याक्सिनेटरहरु समेत नियुक्ति गरिएको बताइएकाे छ ।
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले विकट क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्नुपर्ने बताएका छन् । सेभ द चिल्ड्रेनको ग्लोबल फण्ड अनुदान मार्फत् निर्माण गरिएको स्वास्थ्य सामग्री भण्डारण भवन हस्तान्तरण कार्यक्रममा बिहीबार मन्त्री थापाले उक्त कुरा बताएका हुन् ।
‘नागरिकहरुको गुनासो सम्बोधन गर्दै विकट क्षेत्रमा सरकारका सेवा सुविधा र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्न चुनौति रहेको छ’ उनले भने ‘तीन तहको सरकारसँगको समन्वयमा स्वास्थ्य उपचार सेवालाई गुणस्तरीय बनाउनु गम्भीर हुनुपर्छ ।’ उनले आम नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनु नीति कार्यक्रम र योजना निर्धारण गरेर सेवा प्रवाहलाई प्रभावकारी बनाउनु पर्ने बताए ।
सरकारका कमजोरीका कारण नागरिक स्वास्थ्य सेवाबाट बन्चित हुनुपर्ने अवस्था रहेकाेले पिछडिएका वर्गलाई समेत स्वास्थ्य सेवाको मुलधारमा ल्याउन पहल गरिने उनले बताए । ‘प्रदेश सरकारसँग पर्याप्त भौतिक संरचना नहुँदा औषधी तथा भ्याक्सिनजन्य सामग्रीहरुको भण्डारणमा समेत समस्या हुँदै आएको थियाे’ उनले भने ‘नयाँ भवन प्राप्त भएसँगै भण्डारणका कारण औषधीजन्य पदार्थको गुणस्तर कायम गर्न तथा व्यवस्थापनमा समस्या भोग्नु परेको अवस्था अन्त्य भएको छ ।’
अन्तर्राष्ट्रिय दातृ संस्था सेभ द चिल्ड्रेनद्वारा ३ करोड २८ करोडको लागतमा निर्मित स्वास्थ्य सामग्री भण्डारण भवन बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । बिहीबार हेटौंडामा सेभ द चिल्ड्रेन नेपालकी निर्देशक तारा क्षेत्रीले औपचारिक रुपमा भवन प्रदेश सरकारलाई हस्तान्तरण गरेकी हुन् । राष्ट्रिय निर्देशक तारा क्षेत्रीले स्वास्थ्य सेवा आपूर्तिलाई सुदृढ बनाउनुका नवनिर्मित भवन उपयोगी हुने बताइन् । सरकारको विकेन्द्रीकृत र पहुँचयोग्य स्वास्थ्य प्रणालीको अवधारणा अनुरुप सो भवन निर्माण गरिएको उनले जानकारी दिइन् । क्षयरोग,औलो,एचआईभी सम्बन्धी स्वास्थ्य सेवाहरु र औषधीहरु प्रभावित नागरिकको पहुँचमा पुर्याउन तथा अस्पताल र फार्मेसीहरुबीचको समन्वयमा भवन महत्वपूर्ण हुने उनले बताइन् ।
४७० वर्ग मिटर क्षेत्रफलमा निर्माण भएकाे भवन अपांगता–मैत्री, सीसीटीभी क्यामरा निगरानी, फायर अलार्म प्रणालीयुक्त र चौबिसै घण्टा सौर्य उर्जा व्याकअप प्रणाली जडित भवन ३ महिनामा नै निर्माण सम्पन्न गरिएको हो । सेभ द चिल्ड्रेन नेपालका अनुसार २०८० चैत ४ मा निर्माण सुरु गरिएको उक्त भवन २०८१ असारमा नै निर्माण सम्पन्न भएकाे हाे ।
उक्त भवन विविध प्रकारका औषधि तथा चिकित्सा क्षेत्रको सामग्रीहरु उचित तवरले भण्डारण गर्न निकै उपयोगी हुनेछ । विशेषगरी स्वास्थ्य सेवाबाट बञ्चित सर्वसाधारणको औषधीसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्न भवन प्रभावकारी हुने बताइएकाे छ ।
मकवानपुर । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले चालु आर्थिक वर्षबाट कृषि ऋणमा ब्याज अनुदान दिन सुरु गर्ने बताएका छन् ।
बुधबार मन्त्रालय अन्तरगतकाे कृषि विकास निर्देशनालयले गरेकाे वार्षीक प्रगति समीक्षा गोष्ठीमा उनले यस्ताे बताएका हुन् । गोष्ठीमा मन्त्री श्रेष्ठ श्रेष्ठले कृषि क्षेत्रमा बजेट बढाउनु पर्ने बताउँदै पहल गर्ने जानकारी दिए ।
कृषि विकास निर्देशनालयले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा मन्त्रालयका सचिव विनोद कुमार भट्टराईले कार्यालयको उपलब्धि सन्तोषजनक रहेको तर अझै सुधार गर्न बाँकी रहेकाे बताए। उनले नयाँ मोडलबाट कार्य सञ्चालन गर्न लागिएको जानकारी दिए।
साउन २२ र २३ गते भएकाे गोष्ठीमा निर्देशनालयका निर्देशक सुधीर श्रेष्ठले गत वर्षको प्रगति प्रस्तुतिसँगै यस वर्ष थप प्रगति हासिल गर्न उपलब्ध स्रोत साधनको उचित प्रयोग गर्नुपर्ने बताए। कार्यक्रममा कृषि क्षेत्रको बजेट वृद्धि, सेवा प्रवाह सुधार, पारदर्शिता र सुशासनमा जोड दिनुपर्ने विषयमा छलफल भएकाे थियाे ।
सहभागीले रैथाने बालीको प्रवर्द्धन र नयाँ कार्यक्रम मोडेलको कार्यान्वयनमा जोड दिएका थिए। निर्देशनालय मातहतका १९ वटा कार्यालयहरूले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका गोष्ठीले आगामी वर्षका लागि रणनीति तय गर्न मद्दत पुग्ने आयोजकले जनाएकाे छ ।