मकवानपुर । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या बढाएकाे छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहेकाे १३ मन्त्रालयबाट बढाएर १४ मन्त्रालय बनाएको हो ।
मन्त्रिपरिषद् बैठकले मन्त्रालयको सङ्ख्या थप गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने जानकारी दिए । प्रदेशमा सहकारी तथा गरिबी निवारण मन्त्रालय गठन गर्ने निर्णय भएकाे छ’ उनले भने ‘बैठकले कार्यविभाजन समेत स्वीकृत गरेकोमा मन्त्रीको जिम्मेवारी भने तोकिएको छैन ।’
प्रदेश मुख्यमन्त्री बहादुर सिंह लामाले मन्त्रिपरिषद्काे कार्यविभाजन अनुसार बढाइएकाे मन्त्रालयमा मन्त्रीको जिम्मेवारी तोक्ने बताइएकाे छ । गत साउन ९ मा मुख्यमन्त्री लामाले नियुक्त गरेका कांग्रेसका मदुकुमार श्रेष्ठले जिम्मेवारी पाउन सकेका छैनन् । साढे तीन महिना भन्दा बढी मन्त्री काम विहिन भएका थिए । अन्य विकल्पबाट समस्या टुंग्याउन नसकेपछि प्रदेश सरकार मन्त्रालय बढाउन बाध्य भएकाे हाे । ११ कात्तिक २०७८ मा तत्कालिन गठबन्धनका मुख्यमन्त्री राजेन्द्र पाण्डेकाे कार्यकालमा गठबन्धन जोगाउन मन्त्रालय फुटाएर १४ बनाएका थिए ।
१२ साउन २०८१ मा सरकारलाई पूर्णता दिएका साउन १५ मा विश्वासको मत लिदैं सरकार सुरक्षित गरेका मुख्यमन्त्री लामाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयसहित प्रदेशका १३ मन्त्रालयमा नेपाली कांग्रेसका ७ र नेकपा एमालेका ६ जानलाई मन्त्री नियुक्त गरेका थिए । यसअघि १४ मन्त्रालय रहेकाे बागमतीमा मन्त्रालयकाे संख्या बढि भएकाे भन्दै सत्तापक्ष र प्रतिपक्षसमेतबाट आलाेचन भएकाेले कार्यदल गठन गरी मन्त्रालयकाे संख्या १२ कायम गरिएकाे थियाे । नेकपा एमालेसहितको कार्यादलले मन्त्रालय संख्या घटाउन सिफारिस गरेको थियो ।
२०७४ माघ २८ मा गठित बागमती प्रदेश सरकारकाे पहिलाे मुख्यमन्त्रीकाे नेतृत्व गरेका एमालेका डोरमणि पौडेलले प्रदेशमा ७ मन्त्रालय कायम गरेरका थिए । उनकाे कार्यकालमा उनले एमालेका ५ र माओवादी केन्द्रका २ जना मन्त्री भएका थिए । नेकपाको खारेजीसँगै एमाले र माओवादी केन्द्र बिउँतिएपछि २०७८ वैशाख १५ मा पौडेलले फेरि मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । पौडेलको कार्यकालमा राज्यमन्त्रीसहित १० जना मन्त्री बने ।
राजनीतिक कोर्स परिवर्तनपछि पौडेलले २०७८ भदौ २ मा मुख्यमन्त्री पदबाट राजीनामा दिएर एमालेकै अष्टलक्ष्मी शाक्यले केही समय प्रदेश सरकारको नेतृत्व गरिन् । २०७८ भदौ २ मा एमाले विभाजन भएकै दिन पौडेलले एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई सत्ता हस्तान्तरण गरे । शाक्यको कार्यकालमा राज्यमन्त्रीसहित ११ जनाले मन्त्री बन्ने मौका पाए । २०७८ भदौ २३ गते मुख्यमन्त्री शाक्यले मन्त्रिपरिषद् विस्तार गरे पछि ७ मन्त्री र ४ राज्यमन्त्री बने ।
अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार ढलेपछि बनेको गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बने । २०७८ कात्तिक १० मा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा सरकारमा दाबी गरेका पाण्डे कात्तिक ११ गते ५९ सांसदको समर्थनसहित मुख्यमन्त्री बनेका थिए । उनको १४ महिने कार्यकालमा १४ मन्त्रालय कायम भएको थियो भने १८ मन्त्री नियुक्त भएका थिए ।
सङ्घीयता कार्यान्वयनपछिको दोस्रो आम निर्वाचन पश्चात पुस २५ २०७९ मा गठित माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारले ३ पटक विश्वासको मत लिनु परेको थियो । राजनीतिक घटनाक्रम परिवर्तनसँगै ३ वटा समीकरणबाट उनले सरकार सञ्चालन गरे । प्रदेशमा मन्त्रालय संख्या बढी भएकाे भन्दै चौतर्फी आलोचना भएपछि उनको कार्यकालमा मन्त्रालय संख्या घटाएर १२ वटा कायम गरिएकाे थियाे । जम्कट्टेलकाे कार्यकालमा बनेकाे कार्यदलले प्रदेशमा मन्त्रालयकाे संख्या ९ देखि ११ वटा कायम गर्न सिफारिस गरेकाे थियाे ।
जम्कट्टेल नेतृत्वकाे प्रदेश सरकार ढलेसँगै सरकारको नेतृत्व लिएका कांग्रेसका बहादुर सिंह लामाको मन्त्रिपरिषदमा १४ मन्त्री रहेका छन् । एमाले काँग्रेसकाे बहुमतकाे सरकार हुँदा समेत पार्टीकाे आन्तरिक समस्याले उनले १४ वटा मन्त्रालय कायम गर्न बाध्य भए । मन्त्रालय बढाउनु उचित नहुने भन्दै आएकाे सत्ता साझेदार दल एमाले भने गठबन्धनका कारण चुप लागेकाे छ ।
मकवानपुर । नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको प्रदेशस्तरीय संयन्त्रले बागमती प्रदेशका १३ वटै जिल्लामा संयन्त्र गठन गर्न निर्देशन दिएको छ । प्रदेशस्तरीय दुई दलीय संयन्त्रको आइतबार ललितपुरमा बसेको पहिलो बैठकले उक्त निर्देशन दिएको हो ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बसेको बैठकले बागमती प्रदेशका १३ वटै जिल्लामा संयन्त्र निर्माण गर्न दुबै दलका जिल्ला तहसँग समन्वय गरी यथाशिघ्र गठन गर्न निर्देशन दिने निर्णय गरेको संयन्त्रका सचिव राजु नेपालले जानकारी दिए । बैठकले दुई दलले एक/एक महिना पालो पालो बैठकको संयोजन गर्ने समेत निर्णय गरेकाे उनले बताए । २०८१ साल मंसिर मसान्तसम्मको बैठकको संयोजन नेपाली कांग्रेसले गर्ने, संयन्त्रको सचिवालयमा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फवाट एक/एक जना रहने समेत निर्णय भएकाे छ ।
संयन्त्रको बैठक महिनामा कम्तीमा एक पटक अनिवार्य बस्ने र आवश्यकता अनुसार थप बस्न सक्ने र दलीय संयन्त्र र बागमती प्रदेश सरकारका मन्त्रीहरुको संयुक्त बैठक ३ मंसिर २०८१ मा हेटौंडामा बस्ने भएकाे छ । उक्त बैठकमा प्रदेश सरकार गठन भएको एक सय दिनको उपलब्धी र आगामी कार्यक्रमका बारेमा जानकारी लिने बताइएकाे छ ।
प्रदेशस्तरीय संयन्त्रकाे बैठकमा कांग्रेसका तर्फबाट प्रदेश सभापति बानियाँ, मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ, कांग्रेस बागमती प्रदेशका उपसभापति चन्द्र महर्जनकाे सहभागिता रहेकाे थियाे । यसैगरी नेकपा एमालेका तर्फबाट बागमती प्रदेश इन्चार्ज राजन भट्टराई र प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलको सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् । मन्त्रिपरिषदबाट स्वीकृत नगरी बैदेशीक भ्रमणमा गएको विषयमा विवादमा तानिएपछि अधिकारीले राजीनामा दिएका हुन् ।
अधिकारी केही दिनअघि भ्रमण स्वीकृत नगरी जापान गएका थिए । जापान जाँदा तीन जना असम्बन्धित व्यक्तिलाई पनि सँगै लैजान भूमिका खेलेको आरोप अधिकारीमाथि लागेको छ । मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था रहेकाे छ । यसका साथै विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था समेत रहेकाे छ ।
उक्त विवादमा मुछिएपछि बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएर पत्रकार सम्मेलन गर्दै अधिकारीले अनुसन्धानलाई सहयोग गर्न राजीनामा दिएकाे बताए । अधिकारीसँगै जापान गएका असम्बन्धित भनिएका तीनै जना अहिले हनुमान ढोका प्रहरीको नियन्त्रणमा रहेकाे समेत उनले जानकारी दिए ।
मकवानपुर । बागमती प्रदेशकाे विभिन्न जिल्लामा भएकाे घटनामा १८ जना घाइते भएका छन् । प्रदेशकाे मकवानपुर, चितवन, नुवाकाेट, धादिङ्ग र सिन्धुपाल्चोक जिल्लfमा भएका घटनामा उनीहरु घाइते भएका हुन् ।
मकवानपुरमा भएकाे सवारी दुर्घटनामा ३ जना, चितवनमा भएकाे सवारी दुर्घटनामा १२ जना, नुवाकाेटमा भएकाे सवारी दुर्घटनामा ४ जना, धादिङ्गमा भएकाे घटनामा १ जना तथा सिन्धुपाल्चोकमा भएकाे घटनामा १ जना घाइते भएकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएकाे छ ।
मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा ३ लेवट स्थित पुर्व-पश्चिम सडक खण्डमा लेवटबाट हेटौडा तर्फ जादै गरेको ना ५५ प ९७२५ नम्बरकाे मोटरसाइकल ले पैदल यात्री स्थानीय ५० वर्षीय मैया महतलाई ठक्कर दिदाँ उनी घाइते भएका हुन् । यसैगरी माेटरसाइकल स्थानीय ५२ वर्षीय राम कृष्ण ढुङ्गाना समेत घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
यसैगरी हेटौडा ४ कान्तिकोलपथ सडक खण्डमा पिप्लेबाट हेटौडा तर्फ आउदै गरेको बा ६१ प १३९५ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुदा स्कुटर चालक मकवानपुर मकवानपुरगढी गाउँपालिका ३ मक्रानचुली बस्ने अन्दाजी २५/२६ वर्षीय सरोज वाईबा घाइते भएकाे प्रदेश प्रहरीले जानकारी दिएकाे छ ।
यस्तै चितवनकाे भरतपुर महानगरपालिका २५ स्थित मिलिजुली चोकमा सिमाना चोक तर्फ बाट मिलिजुली चोक तर्फ जाँदै गरेको ना ३५प ८२६७ नम्बरकाे मोटरसाइकल र बिपरित दिशा तर्फबाट जाँदै गरेको बा. प्र.०६-००१ प ११२१ नम्बरकाे मोटरसाइकल ठक्कर खाइ दुर्घटना भएकाे हाे । दुर्घटनामा ना ३५ प ८२६७ नम्बरको चालक भरतपुर बस्ने ५२ वर्षीय प्रदिप महतो बा. प्र.०६-००१ प ११२१ नम्बरको चालक भरतपुर २४ बस्ने २२ वर्षीय बिनिता सिग्देल र साेही माेटरसाइकल पछाडी बस्ने भरतपुर ७ बस्ने १६ वर्षीय अश्रे काफ्ले घाइते भएका हुन् ।
भरतपुर ९ नं.वडा कार्यालय अगाडी प्रदेश १-०२-०४६ प ८९७४ नम्बरकाे माेटरसाइकल र प्रदेश २-०२- ००५ प ६२३० नम्बरको स्कुटर ठोकिएर भएकाे दुर्घटनामा ८९७४ नम्बरकाे चालक बारा घर भई भरतपुर बस्ने ३२ वर्षीय रमेश शाह, साेही माेटरसाइकल पछाडी बस्ने शाहकाे श्रीमती ३० वर्षीय सोनी महत्तो, निजहरुकाे छोरा ८ वर्षीय रिदम शाह तथा ६२३० नम्बरको स्कुटर चालक भरतपुर ९ बस्ने २० वर्षीय ईसान दुरा घाइते भएकाे प्रदेश प्रहरीले जनाएकाे छ ।
यस्तै भरतपुर १५ देवीचोकमा बा.प्र.००२-०३२प ८९३३ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०६-००३ प १७८८ नम्बरकाे स्कुटर टोक्किदा भएकाे दुर्घटनामा स्कुटर चालक भरतपुर १५ रामपुर बस्ने १६ वर्षीय हिमान्सु सिंह, मोटरसाइकल चालक भरतपुर ४ लंकु बस्ने ३१ वर्षीय कसम खरेल, मोटरसाइकल पछाडी बस्ने ३५ वर्षीय प्रतिक्षाराज खरेल घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
भरतपुर ८ गौरीगंञ्जमा घोलपारीबाट ज्योति तर्फ जादै गरेको बा.प्र.०३ -००४प ८७२५ नम्बरको स्कुटरले विपरीत दिशाबाट आउदै गरेको साइकल लाई ठक्कर दिदा साइकल यात्री भरतपुर ८ बस्ने ७५ वर्षीय पदम बहादुर आले स्कुटर चालक स्थानीय १९ वर्षीय आशिष थापा घाइते भएका छन् ।
यसैगरी धादिङकाे गल्छी गाउँपालिका २ खरी ढुङगामा कुटपिटबाट १ जना घाइते भएका छन् । स्थानीय काले नाम बताउने व्यक्तिले मादक पदार्थ गरी गजुरी ६ जरे बस्ने २७ वर्षीय सरोज भुजेललाई बियरको बोतल प्रहार गरी घाईते बनाएकाे प्रहरीले जनाएकाे छ ।
नुवाकाेटकाे लिखु गाउँपालिका ६ खाल्टे स्थित टोखा छहरे सडक खण्डमा काठमाडौंबाट रसुवा तर्फ जादैं गरेको बा.प्र.०२०५२ प ६४३६ नम्बरको मोटरसाइकलले बा ७८ प २५८० नम्बरको मोटरसाइकल लाई ठक्कर दिंदा २५८० मोटरसाइकल चालक लिखु ६ बस्ने ६५ वर्षीय सुदन थापा मोटरसाइकल पछाडी सवार थापाको श्रीमती बर्ष ६५ वर्षीय दुर्गा थापा, ६४३६ नम्बर मोटरसाइकल चालक रसुवा आङछेदुङगा ३ बस्ने २१ वर्षीय डम्बर तामाङ घाइते भएका छन् ।
यस्तै लिखु ६ छहरे टोखा छहरे सडक खण्डमा काठमाडौंबाट ढिकुरे तर्फ जादै गरेको बा६च ६९३२ नम्बरको टोयोटा हाईलक्स गाडी र बिपरित दिशा बाट जाँदै गरेको बा.प्र.०२००३प ७१७९ नम्बरको मोटरसाइकल ठोकिएर भएकाे दुर्घटनामा माेटरसाइकल चालक नुवाकोट पञ्चकन्या १ बस्ने २१ वर्षीय रोशन राई मोटरसाइकल पछाडी सवार उक्त स्थान बस्ने २३ वर्षीय सबिन राई घाइते भएकाे प्रदेश प्रहरी कार्यालयले जनाकारी दिएकाे छ ।
यसैगरी सिन्धुपाल्चाेक साँगाचोकगढी नगरपालिका ३ बतासेमा कुटपिटबाट १ जना घाइते भएका छन् । स्थानीय ३७ वर्षीय नवराज कटुवालले मादक पदार्थ सेवन गरी ३९ वर्षीय श्रीमति पबित्रा कटुवाललाई कुटपिट गरी घाईते बनाएको प्रहरीले जनाएकाे छ ।
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयले ३४ औं प्रतिवेदन बुझाएको छ ।
आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाका प्रमुख उमाकान्त आचार्यलगायतको समूहले आयोगको आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन प्रदेश देवकोटा समक्ष पेश गरेका हुन् ।
‘पारदर्शिता सबैभन्दा अपरीहार्य सवाल भएकोले यसतर्फ सचेत हुनु पर्छ’ प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख देवकोटा भने ‘आर्थिक तथा अन्य कुनै पनि अख्तियारीमाथिको पारदर्शिताको लागि आयोगले गर्दै आएको काममा पूर्ण साथ रहने छ ।’ प्रतिवेदन अध्ययन गरेर थप सुझाव प्रदान गर्ने उनले बताए ।
आयोगले वर्षभरी गरेको काम कारबाही समेटिएको आर्थिक वर्ष २०८०/०८१ को ३४ औं वार्षिक प्रतिवेदन ६ परिच्छेद र ५२४ पृष्ठ रहेको छ । नेपालको संविधानको धारा २९४ को उपधारा ३ को व्यवस्था बमोजिम आयोगले प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेस गरिएको हो । यस अवधिमा आयोगबाट भ्रष्टाचार सम्बन्धी उजुरीको प्रारम्भिक छानबिन एवं विस्तृत अनुसन्धान गर्ने, भ्रष्टाचार देखिएका उजुरीउपर विशेष अदालतमा आरोप–पत्र दायर गर्ने तथा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्ने गरेको छ।
आयोगको कार्यालय, हेटौंडाको उजुरी दर्ता र फछर्यौट सम्बन्धी विवरण हेर्दा बागमती प्रदेशका विभिन्न विषयका संघीय कार्यालयहरुसँग सम्बन्धित १७९, प्रदेशका कार्यालयहरुसँग सम्बन्धित २४५ र स्थानीय तहसँग सम्बन्धित ५२३ गरी कुल ९४७ उजुरी दर्ता भएकोमा ६९९ उजुरी विभिन्न माध्यमबाट फछ्यौट भएका छन् । त्यसै गरी मधेश प्रदेशका विभिन्न विषयका संघीय कार्यालयहरुसँग सम्बन्धित २६३, प्रदेशका कार्यालयहरुसँग सम्बन्धित १८२ र स्थानीय तहसँग सम्बन्धित १७६१ गरी कुल २२०६ उजुरी दर्ता भएकोमा १५४३ उजुरी फछर्यौट भएका छन्।
सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा आयोगले अनुसन्धान गर्न वा गराउन तथा अनुसन्धानबाट भ्रष्टाचार मानिने कुनै काम गरेको देखिएमा त्यस्तो व्यक्ति र सो अपराधमा संलग्न अन्य व्यक्तिउपर कानूनबमोजिम अधिकार प्राप्त अदालतमा मुद्दा दायर गर्ने कार्य गर्दै आइरहेको छ ।