मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयले ३४ औं प्रतिवेदन बुझाएको छ ।
आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाका प्रमुख उमाकान्त आचार्यलगायतको समूहले आयोगको आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन प्रदेश देवकोटा समक्ष पेश गरेका हुन् ।
‘पारदर्शिता सबैभन्दा अपरीहार्य सवाल भएकोले यसतर्फ सचेत हुनु पर्छ’ प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख देवकोटा भने ‘आर्थिक तथा अन्य कुनै पनि अख्तियारीमाथिको पारदर्शिताको लागि आयोगले गर्दै आएको काममा पूर्ण साथ रहने छ ।’ प्रतिवेदन अध्ययन गरेर थप सुझाव प्रदान गर्ने उनले बताए ।
आयोगले वर्षभरी गरेको काम कारबाही समेटिएको आर्थिक वर्ष २०८०/०८१ को ३४ औं वार्षिक प्रतिवेदन ६ परिच्छेद र ५२४ पृष्ठ रहेको छ । नेपालको संविधानको धारा २९४ को उपधारा ३ को व्यवस्था बमोजिम आयोगले प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेस गरिएको हो । यस अवधिमा आयोगबाट भ्रष्टाचार सम्बन्धी उजुरीको प्रारम्भिक छानबिन एवं विस्तृत अनुसन्धान गर्ने, भ्रष्टाचार देखिएका उजुरीउपर विशेष अदालतमा आरोप–पत्र दायर गर्ने तथा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्ने गरेको छ।
आयोगको कार्यालय, हेटौंडाको उजुरी दर्ता र फछर्यौट सम्बन्धी विवरण हेर्दा बागमती प्रदेशका विभिन्न विषयका संघीय कार्यालयहरुसँग सम्बन्धित १७९, प्रदेशका कार्यालयहरुसँग सम्बन्धित २४५ र स्थानीय तहसँग सम्बन्धित ५२३ गरी कुल ९४७ उजुरी दर्ता भएकोमा ६९९ उजुरी विभिन्न माध्यमबाट फछ्यौट भएका छन् । त्यसै गरी मधेश प्रदेशका विभिन्न विषयका संघीय कार्यालयहरुसँग सम्बन्धित २६३, प्रदेशका कार्यालयहरुसँग सम्बन्धित १८२ र स्थानीय तहसँग सम्बन्धित १७६१ गरी कुल २२०६ उजुरी दर्ता भएकोमा १५४३ उजुरी फछर्यौट भएका छन्।
सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा आयोगले अनुसन्धान गर्न वा गराउन तथा अनुसन्धानबाट भ्रष्टाचार मानिने कुनै काम गरेको देखिएमा त्यस्तो व्यक्ति र सो अपराधमा संलग्न अन्य व्यक्तिउपर कानूनबमोजिम अधिकार प्राप्त अदालतमा मुद्दा दायर गर्ने कार्य गर्दै आइरहेको छ ।

