मकवानपुर । साफ वुमन्स च्याम्पियनसिपमा नेपाल फाइनल प्रवेश गरेको छ ।
आइतबार भएको सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भारतलाई ४-२ गोल अन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान पक्का गरेको हो । निर्धारित समयमा खेल १-१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
खेलको दोस्रो हाफमा भारतले ७० औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता लिएको थियो । एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् ।
खेलको ७०औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले तुरुन्त खेल शुरु गरेर गोल फर्काएको थियो । तर रेफ्रीले नेपालको गोललाई भने मान्यता नदिएपछि नेपालले विरोध गरेको थियो । लामो विवाद भएपछि खेल एक घण्टाभन्दा बढी समय अवरुद्ध बनेको थियो ।
खेलको ५० औं मिनेटमा रेखा पौडेलले दोहोरो पहेंलो कार्ड पाउँदै रातो कार्ड पाएपछि दर्शकले अवरोध गरेका कारण खेल १० मिनेटभन्दा बढी अवरुद्ध भएको थियो ।
फाइनलमा नेपालले आगामी बुधबार बंगलादेशसँग खेल्ने छ । आइतबारको पहिले सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

