मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध खैरो हेरोइनसहित २ जना र अवैध चाँदीसहित १ जना गरी ३ जनालाई पक्राउ गरेकाे छ । आइतबार २ सय २२ ग्राम २६ मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित २ जना र ३२ थान चाँदीको मूर्तिसहित १ जनालाई हेटौडा १५ बाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५, रातोमाटे चेकपोष्टबाट सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–७ का ४१ वर्षीय दामोदर लुईटेल र १८ वर्षीय सन्देश राज धामीलाई २ सय २२ ग्राम २६ मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको हाे ।
काकडभिट्टाबाट हेटौंडा हुदैं काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१ ००६ ख ७४४३ नम्बरको यात्रुबाहक बसलाई रोकेर जाँच गर्दा लागुऔषधसहित लुइटेल र धामीलाई पक्राउ गरिएको प्रहरीले जाएकाे छ । प्रहरीका अनुसार मकवानपुर जिल्ला अदालतबाट १५ दिनको म्याद अनुमति लिई लुइटेल र धामीलाई हिरासतमै राखेर अनुसन्धान सुरु गरिएको छ ।
यसैगरी पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५, रातोमाटे चेकपोष्टबाट अवैध चाँदीसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यका ४८ वर्षीय मनोज कुमार झा रहेकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
प्रहरी चौकी रातोमाटेकाे प्रहरी टोलीले पथलैयातर्फबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ७२६२ नम्बरको बसलाई रोकी जाँच गर्दा झाको साथबाट अवैध चाँदी बरामद गरिएकाे हाे । झाले शरीरको छातीमा फल्स बटम बनाई ल्याएको ३२ थान चाँदीको मूर्तिहरु (२ किलो १९६ ग्राम) बरामद गरेको प्रहरीले जानकारी दिएकाे छ ।
उक्त चाँदीकाे मुर्तिहरु सोमबारको बजार मुल्य अनुसार ३ लाख ६६ हजार ५ सय ४९ रुपैयाँ बराबर रहेकाे बताइएकाे छ । चाँदीको मूर्तिहरुसहित झालाई अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको मकवानपुर प्रहरीले जनाएकाे छ ।

