पाल्पा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई पाल्पा जिल्लामा सम्मान गरिएकाे छ । पाल्पाको पुर्वखोला गाउँपालिका ३ स्थित उद्बुद्व माविले सम्मान गरेको हाे ।
बाल्यकालमा सोही बिद्यालय पढ्नु भएका उहाँलाई बागमतीको प्रदेश प्रमुख हुनुभएपछी सम्मान गरिएको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष पदम बहादुर थापाले बताए । विद्यालयको ७४ औं बार्षिकोत्सव समारोहमा शनिबार प्रमुख अतिथिको रुपमा सहभागी प्रदेश प्रमुख देवकोटाले आफू जन्मेको हुर्केको माटोमा पुग्दा बाल्यकालको स्मृति ताजा भएको बताए ।
“पाल्पा जिल्लाको शैक्षिक जगतको धरोहर उद्बुद्व माविले नै मलाई आजको स्थानमा पुर्याउन भूमिका खेलेको हो” प्रदेश प्रमुख देवकोटाले भने “एक दिन एक जुगमा एकपटक मात्र आउँछ भनेझैं आजको यो सद्भाव मेरो जीवनको उत्कृष्ट क्षणभित्र पर्दछ ।” पाल्पाको जिल्लाको साबिक देविनगर २ हाल पुर्वखोला वार्ड नं ४ लेम्धेममा जन्मनु भएका देवकोटा प्रारम्भिक शिक्षा हासिल गर्दै यहाँको पाखा बारीमा हुर्कदै शुरुमा बेसर्घा र लेम्धेममा रहेको रम्भादेवी प्रावि शिक्षण पेशामा समेत संलग्न भएका थिए ।
“मान्छे भौतिक रूपमा कहाँ छ भन्नुभन्दा उसको आत्मामा के कुराले जरो गाडेको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ” प्रमुख देवकोटाले भने “मलाई जन्म, सुससंस्कार , गृहस्थ र जागिरे जीवनमा प्रवेश गराउने पाल्पाको माटो मेरो लागि यो धर्तीका मूल्यवान धातु सुन र हीराभन्दा कमी छैन ।” आफू भौतिक रूपले पाल्पाको माटो भन्दा टाढा रहे पनि शरीरको रक्त नलीहरूमा पाल्पाको मीठो सम्झनाको तिनाउ र कालीगण्डकी बगेको देवकाेटाले बताए ।
“मेरा पितामाता, पूर्खा, नातेदार, छिमेकी, गुरूबर्ग, साथीसङ्गीलगायत सम्पूर्णमा नमन गर्दछु” उनले भने “म हुर्केको मगर समूदाय र दौँतरीहरूलाई बिर्सेको छैन र बिर्सिन पनि सक्दिन ।” उद्बुद्व माविका विद्यार्थीहरूलाई बिद्यालय उमेरमा नै धेरै भन्दाधेरै मेहनत गर्न उहाँले प्रेरित समेत गरे । “तपाइँहरू जीवनको उर्जाशील उमेरमा हुनुहुन्छ, मेहनतभन्दा अर्को बिकल्प छैन, संसार मेहनतीहरूको हो” प्रमुख देवकोटाले भने “तपाईहरूसङ्ग सपना हुनुपर्छ, जुन सपनाले तपाईको निन्द्रा हराओस्, यति पढ्नुस् कि अभिभावकले अब त सुत भो नानी बाबू भन्नुपरोस् ।”
उनले विद्यार्थीहरूलाई जहाँ भएपनी संस्कारी बन्न आग्रह गर्दै भने ” संस्कार बिनाको शिक्षा बिँडबिनाको खुर्पाजस्तै हुन्छ, हरेक आमाबाबुले आफ्नो भन्दा सुखद जीवन छोराछोरीको होस् भन्ने चाहन्छन्, अभिभाबकको सपना तुहाउने छुट तपाइँ बिद्यार्थीलाई छैन ।” “मेहनत गर्दागर्दै कहिलेकाही असफल हुनु नौलो होइन तर मेहनत नगरी सफलता खोज्नु धान रोपेर मकै फल्छ भन्ने सोच्नुजस्तै हो” उनले भने ।

शिक्षक अभिभावकलाई पनि सुझाव
प्रदेश प्रमुख देवकोटाले पाल्पाली अभिभावकलाई पनि सुझाव दिएका छन् । घर बालबालिकाको पहिलो पाठशाला भएको उल्लेख गर्नुहुदै उनले भने “अहिलेका नानीबाबुहरू भिन्न समयमा जन्मेका छन्, हाम्रा थुप्रै अनुभबहरू उनीहरूलाई अर्थ नलाग्लान् । जे भए पनि संस्कार र श्रमको मूल्य नानुबाबुलाई बुझाउनुपर्छ ।”
बिद्यालयका प्रधानाध्यापक , शिक्षकवर्ग ,ब्यवस्थापन समिति, समाज अब्बल दर्जाको पाएँ, यो बिद्यालयले कितावी ज्ञानलाई मात्र जोड नदिएर कला, संस्कृति, कौशल, श्रमको सम्मान तथा नानीबाबुको सर्बाङ्गीण विकासमा जोड दिएको छ जुन अति प्रशंसनीय भएको उनले बताए । “संसारका हरेक पत्थरहरू मूर्ति बन्न लायक छन् तर ती पत्थरहरू असल कालिगढको हातमा पर्नुपर्छ” देवकाेटाले शिक्षक तथा विव्यास प्रती लक्षित गर्दै भने ” तपाईं सम्पूर्ण समुदायलाई आफ्नो कालिगढी सिपमा अझै पोख्त हुने हौसला दिदै, नानीबाबुहरूबाट अझै मिहिनेतको अपेक्षा राख्दै अघि बढाउनुहोस ।”
२००७ सालमा स्थापित यो विद्यालयमा हाल ५५३ जना विद्यार्थीहरू अध्ययनरत छन् भने ४७ जना शिक्षक कर्मचारी रहेको बिद्यालयका कम्प्युटर शिक्षक शंकर न्यौपानेले जानकारी दिए । बार्षिक कार्यक्रममा बिद्यालयका प्रध्यानाध्यापक पिताम्बर न्यौपानेले बार्षिक आयब्याय प्रतिवेदन प्रस्तुत गरेका थिए ।
मकवानपुर । बागमती प्रदेशकाे धादिङ जिल्लाकाे रुबीभ्याली गाउँपालिकामा स्वास्थ्य शविर भएकाे छ । प्रदेश स्वास्थ्य मन्त्रालय जनस्वाथ्य कार्यालय धादिङको आयोजना र रुबीभ्याली गाउँपालिकाको ब्यबस्थापनमा समन्वयमा धादिङको विकट क्षेत्रमा रहेकाे रुबीभ्यालीमा ३ दिने स्वास्थ्य शिविर भएको हाे ।
शिविरमा बिभिन्न रोगका बिशेषज्ञ सहितको डाक्टरहरुद्वारा जाच तथा अन्य सेवाहरु प्रदान गरिएको थियो । शिविरमा हार्डजोर्जी तथा नशारोग, स्त्रीरोग सम्बन्धी, भिडियो एक्सरे सेवा, दन्त चिकित्सा सेव, नेत्र चिकित्सक द्वारा आँखा परिक्षण तथा तथा उपचार सेवा, बालरोग उपचार तथा ब्यबास्थापन, जनरल फिजिसियन द्वारा परिक्षण तथा उपचार सेवा,आयुर्बेद सेवा, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने,स्वास्थ्य आमा समुहमा पोषण मुख स्वास्थ्य तथा हातको सरसफाई बारे अन्तरक्रिया कार्यक्रम, विद्यालयको विद्यार्थीहरुको पोषण मुखको सरसफाई तथा हात धुने तरिकाबारे सिकाईरअन्तरक्रिया लगायतका सेवाहरु प्रदान गरिएको थियो ।
कार्यक्रमम ७३० जनाले उपचारात्मक सेवा पाएका थिए भने सेर्तुङ र तिप्लिङका समेत गरी १२५ जना आमालाई स्वास्थ्य शिक्षा दिइएको थियो । त्यसै गरी १०५ जना विद्यार्थीलाई विभिन्न विषयमा स्वास्थ्य शिक्षा प्रदान गरिएको थियो ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री थापाले रुबिभ्याली गाउँपालिका लाई १ थान ग्रामीण अल्ट्रासाउन्ड मेसिन र २ थान अक्सिजन कन्सल्ट्रेटर हस्तान्तरण गरेका छन् । मन्त्री थापाले स्वास्थ्य सेवा दुर्गम देखि सुगम क्षेत्रमा पुर्याउने बताए । ‘स्वास्थ्य सेवा हरेक नागरिकको अधिकार भएको भन्दै यसको बिस्तारमा मन्त्रालयले काम गरिरहेको मन्त्री थापाले भने ।
बागमती प्रदेशका स्वास्थ मन्त्री किरण थापाको प्रमुख आतिथ्यता तथा रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङको अध्यक्षता कार्यक्रम भएको कार्यक्रममा पुर्व मन्त्री एवम् प्रदेश सभा सदस्य डम्बर तामाङ, रुबीभ्याली गाउँपालिका उपाध्यक्ष फेलामा तामाङ, जनस्वास्थ्य प्रयोगशाला निर्देशक नारायण कार्की, बागमती प्रदेश स्वास्थ मन्त्रालयका चिकित्सक महाशाखाका प्रमुख डा खगेश्वर गेलाल, धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा गगन अधिकारीलगायतको सहभागिता थियो ।
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले लोक सेवा आयोग बागमती प्रदेश सदस्यमा रामबहादुर खड्कालाई नियुक्त गरेका छन् ।
प्रदेश प्रमुख देवकोटाले खड्कालाई लोक सेवकाे सदस्यमा बिहीबार नियुक्त गरेका हुन्। प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा १ बमोजिम गठित समितिको सिफारिसमा सोही ऐनको दफा ४ को उपदफा २ बमोजिम खड्कालाई सदस्य पदमा नियुक्त गरिएको हो ।
दोलखा जिल्ला गौरिशंकर गाउँपालिका ५ का खड्कालाई प्रदेश लोक सेवा आयोगको सदस्यमा नियुत्तिको लागि २ मंसिर २०८१ को प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख समक्ष सिफारीस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदकाे सिफारिस अनुसार उनलाई प्रदेश प्रमुखले सदस्य पदमा नियुक्त गरेका हुन् । उनको सपथ ग्रहण अर्को साता हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
प्रदेश लोक सेवका तत्कालिन सदस्य सुदर्शन ढकालले ११ कात्तिकदेखि लागु हुने गरी २ कात्तिकमा राजिनामा दिएपछि यो पद रिक्त थियो । ढकालले आफू भन्दा जुनियरलाई अध्यक्ष पदमा नियुक्ति गर्न लागिएकाे भन्दै राजिनामा दिएका थिए ।
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश खेलकुद विकास परिषदमा ४ जना सदस्य नियुक्त गर्ने निर्णय गरेकाे छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ४ जनालाई परिषद्काे सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।
परिषद्को सदस्यमा मकवानपुरका संगीत श्रेष्ठ, चितवनकी नविना खनिया, ललितपुरका रवी महर्जन र रामेछापकी कल्पना खड्कालाई नियुक्त गर्ने निर्णय गरिएकाे सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । ५ सदस्य रहने परिषदमा एक सदस्यको कार्यअवधि बाँकी रहेकाे छ । हाललाई परिषदमा रिक्त रहेकाे सदस्य पदमा ४ जनालाई नियुक्त गरिएको लामिछानेले बताए ।
मन्त्री लामिछानेका अनुसार बैठकले प्रदेश सुशासन केन्द्रको वार्षिक प्रतिवेदनलाई प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले प्रदेश सरकारका २ सचिवलाई थप जिम्मेवारी दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरेलाई युवा तथा खेलकुद मन्त्रालय र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका सचिव राजेन्द्र केसीलाई संस्कृति तथा पर्यटन मन्त्रालयको समेत जिम्मेवारी तोकिएको प्रवक्ता सुरजचन्द्र लामिछाने बताए ।
यस्तै स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति सम्बन्धी नियमावली २०८१ र प्रदेश स्वास्थ्य सेवा दोस्रो संशोधन नियमावली २०८१ स्वीकृति प्रदान गर्ने निर्णय समेत मन्त्रिपरिषद बैठकले गरेको छ ।
मकवानपुर । बागमती प्रदेश सरकारले उद्योग दिवसको अवसरमा १४ उद्यमीलाई सम्मान गरेको छ । प्रदेशका १३ जिल्लाका १/१ वटा उत्कृष्ट र प्रदेशबाट एक सर्वोत्कृष्ट घरेलु तथा साना उद्यमीलाई नगद सहित सम्मान गरेको हो ।
१० औँ उद्योग दिवसको अवसरमा हेटौँडामा उद्यमीहरूलाई सम्मान गरिएको हो । प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयले प्रदेशका १३ जिल्लाबाट उच्च अङ्क प्राप्त गर्ने उत्कृष्ट एक/एक उद्यमी र प्रदेशबाट सबैभन्दा बढी अङ्क प्राप्त गर्ने एक सर्वोत्कृष्ट उद्यमीलाई सम्मान गरिएको हो । उत्कृष्ट उद्यमीहरूलाई नगद ४० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो ।
त्यस्तै मकवानपुरकाे हेटौडा उपमहानगरपालिका १३ काे कोम्हेन्दो एकीकृत कृषि फार्मसहित प्रदेश १३ उद्योग उत्कृष्ट उद्यमी घोषित भइ पुरस्कृत भएका छन् । धादिङकाे युनिक पशुपन्छी तथा कृषि फर्म, नीलकण्ठ–८, रसुवाकाे एस. एस. टेलर्स एन्ड स्यानिटरी प्याड तथा माक्स, उत्तरगया–५, सिन्धुलीकाे बरपिपल दुना टपरी उद्योग, दुधौली–४, काठमाडौंकाे ओम फुड प्रोडक्ट, चन्द्रागिरी– ११ उत्कृष्ट उद्यमी घोषित भएका हुन् ।
त्यसैगरी ललितपुरको सृजनशील कृषि फर्म बागमती–१, दोलखाको सुरी मैरी पालन तथा घार उद्योग गौरीशङ्कर–५, नुवाकोटको नव युवा कृषि फर्म सुर्यगढी–५, भक्तपुरको लक्ष्मी चिउरा उद्योग भक्तपुर–५, चितवनको एसियन नेपाली कागज उद्योग, भरतपुर–२८, रामेछापको मन्थली डिलक्स एग्रो फरेस्ट्री मन्थली–१, सिन्धुपाल्चोकको कफी सहकारी उद्योग चौतारा साँगाचोक गढी–१० र काभ्रेको बि.जे.एस ह्याण्डीक्राफ्ट एन्ड पनौती सेभिनियर हाउस, पनौती–७ उत्कृष्ट उद्यमी घोषित भएका थिए ।
यस्तै प्रदेशकाे सर्वोत्कृष्ट उद्यमी काभ्रेको झ्याम्भल कृषि फर्म उद्योग प्रालि भएको छ । उक्त उद्योगलाई नगद १ लाख रुपैयाँसहित सम्मान गरिएको हाे । उद्योगले स्थानीय स्तरमा उत्पादित कच्चा पदार्थको प्रयोग गरेर अचार, विभिन्न प्रकारका क्याण्डीहरु उत्पादन गरेर बजारमा बिक्री गर्दै आएको मन्त्रालयले जनाएकाे छ ।
यसैबोच बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपालमा उद्योग संचालनको उपयुक्त वातावरण नरहेको बताएका छन् । १० औं उद्योग दिवसको अवसरमा हेटौँडामा आयोजित नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले उक्त कुरा बताएका हुन् ।
‘उद्यमीले लगानीका लागि राज्य तथा समुदायस्तरबाट समस्या छ’ उनले भने ‘उद्योग संचालनका लागि नागरिकस्तरबाटै सहयोग गरी उपयुक्त वातावरण तयार गरिनु पर्छ ।’ बागमती प्रदेश सरकारले उद्योग क्षेत्रलाई प्रोत्साहनका लागि नीति तयार गर्ने उनले बताए । ‘प्रदेशमा उद्योगमैत्री वातावरण तयार पार्न प्रदेश सरकार प्रतिवद्ध रहेको छ’ लामाले भने । उद्योग क्षेत्र युवा पलायन रोक्न र रोजगारी सृजनाको प्रमुख आधार रहेकाे लामाले बताए ।