मकवानपुर । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको नेतृत्व गर्न ५ जना आकांक्षी रहेका छन् । महांघमा अबकाे नेतृत्वकाे लागि सागर लामा, विरोध खतिवडा, गणेशचन्द्र दवाडी, रविन्द्र पन्त र रोचन भट्टराईले इच्छा देखाएका छन् ।
शनिबार हुने निर्वाचनमा भोटिङ मेसिनद्वारा आपाङ्गता भएका व्यक्तिहरुले अध्यक्ष चयनका लागि मतदान गरिँदैछ । बागमती प्रदेशको विभिन्न १३ जिल्लामा रहेका अपाङ्गता सम्बन्धी ७१ वटा संस्थाहरुबाट छनाैट भएका प्रतिनिधिहरुले मतदान गर्ने छन् ।
शुक्रबार राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष अश्विन लम्सालको अध्यक्षता तथा आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशका मन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यतामा साधारण सभा तथा अधिवेशन सुरु गरिएकाे छ ।
मन्त्री काफ्लेले धेरै समस्याबीच आपाङ्गता भएका व्यक्तिबीच पनि पक्ष र विपक्ष रहनु दुखद बिषय भएको बताए । नेपाल परिवर्तनशिल हुँदै गएको अवस्थामा अधिकारको नाउँमा कोही पनि बञ्चित नहुनु नपर्नु मन्त्री काफ्लेले बताए ।
मकवानपुर । बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा हरिप्रसाद पौडेल नियुक्त भएका छन् ।
प्रदेश सरकार मन्त्रिपरिषद्को मंगलबारको बैठकले पौडेललाई प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । चितवन, राप्ती नगरपालिका–७ का पौडेललाई बोर्डको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले बताए ।
बैठकले बागमती प्रदेश विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीलाई विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीको सदस्यमा मनोनित गर्न सहमति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता लामिछानेले जानकारी दिए । त्यसैगरी कारागार कार्यालयमा लघु उद्यम कार्यक्रम सञ्चालनका लागि बजेट निकासा दिने निर्णय गरेको उनले बताए ।
यसैगरी संघीय सरकार अन्तर्गत रहेका निकायका लागि चालु आर्थिक वर्षको बजेट किताबमा भएका योजना कार्यान्वयनका लागि सहमति लिने निर्णय गरेको प्रवक्ता लामिछानेले जानकारी दिए । उनका अनुसार चालूतर्फको बजेट खर्चमा २० प्रतिशत रकम खर्च कटौती गर्ने निर्णय गरेको छ । विपद्को समयमा अर्थ विविध शिर्षकको बजेट अपुग भएकाले सबै मन्त्रालयको चालू खर्च कटौती गर्ने निर्णय गरिएको मन्त्री लामिछानले बताए ।
बैठकले अपाङ्गता भएका व्यक्तिहरुको सशक्तीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेश सभामा लैजाने सैद्धान्तिक सहमति प्रदान गरेको प्रवक्ता लामिछानेले जानकारी दिए ।
मकवानपुर । नेपाली कांग्रेस र नेकपा एमालेको बागमती प्रदेश संयन्त्रको बैठकले प्रदेश सरकारले गरेको निर्णयलाई यथाशीघ्र कार्यान्वयन गर्दै जनचाहना अनुरुप प्रभावकारी ढंगले कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।
दुई दलीय संयन्त्रको आइतबार काठमाडौंमा बसेको बैठकले गत ११ असोज १३ असोजसम्म आएको बाढीपहिरोबाट प्रदेशभित्र क्षति संरचनाको पूर्ननिर्माण र विस्थापितलाई पूर्नस्थापनाको लागि आवश्यक बजेट ब्यवस्था गरि तत्काल कार्यान्वयन गर्न बागमती प्रदेश सरकालाई निर्देशन दिईएको संयन्त्रका सचिव राजु नेपालले जानकारी दिए ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको संयन्त्रको बैठकले प्रदेशमा बाँकी रहेका राजनीतिक नियुक्तिहरु दुई दलको आपसी सहमतिमा टुग्याउनुका साथै समस्याग्रस्त सहकारीको पहिचान गरि कोहीपनि सदस्य पीडित नहुने ब्यवस्था गर्न निर्देशन दिएको सचिव नेपालले बताए ।
बैठकले स्थानीय तहको उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने नेपाल सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, पर्यवेक्षक, मतलदातालगायतलाई प्रदेशस्तरीय दुई दलीय संयन्त्रले धन्यवादसहित आभार प्रकट गरेको छ । बैठकमा कांग्रेसको तर्फबाट सभापति बानियाँ, मूख्यमन्त्री बहादुर सिंह लामा र उपसभापति चन्द्र महर्जन तथा एमालेका तर्फबाट प्रदेश इन्चार्ज राजन भट्टराई, प्रदेश अध्यक्ष कैलाश ढुंगेल र संसदीय दलका नेता जगन्नाथ थपलियाको सहभागिता रहेको थियोे ।
काठमाडौं । विभिन्न कारण अभिभावक विहिन हुन पुगेका बालबालिकालाई बाल मन्दिरहरूमार्फत् संरक्षणमा राखी अभिभावकको जिम्मेवारी निर्वाह गर्ने बाल संगठनको कामको बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रसंशा गरेका छन् ।
बालबालिकाको हक हितका लागि कार्य गर्ने सबैभन्दा पुरानो, ठुलो र शसक्त सस्था नेपाल बाल संगठनद्वारा आयोजित पुनर्मिलन तथा पुनर्ताजगी कार्यक्रममा प्रदेश प्रमुख देवकोटाले शनिबार बाल संगठनकाे प्रसंशा गरेका हुन् । बाबुआमा तथा अभिभावक नभएका, विभिन्न कारण आफन्त नभएका, परिवारबाट अलग भएका, परिवारले त्याग गरेका, जोखिममा रहेका तथा बाबुआमासँग भएर पनि कैद जीवन बिताइरहेकाकाे संरक्षक बनेकाे बालबालिकाको सरोकारको संगठनकाे यो महत्वपूर्ण कार्यक्रमको हिस्सा बन्न पाउँदा आफूलाई खुसी लागेको प्रदेश प्रमुख देवकाेटाले बताए ।
पूर्व रास्ट्रपति बिद्या देवी भण्डारीसमेतको उपस्थिति रहेकाे कार्यक्रममा उनले भने “भिन्न परिस्थितिबाट आएका नानीबाबुको खानपान, बास, स्नेह, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, परामर्श, भबिष्यको गोरेटो देखाउने यी सब कार्य कुनै चानचुन कुरा होइनन् ।” बालबालिकाहरूमा असीमित क्षमता हुने उल्लेख गर्दै प्रदेश प्रमुख देवकोटाले बाज चराजस्तो गगनमा बिचरण गर्ने थुप्रै बालबालिका पालुवा निमोठिएको बिरुवा जसरी बाँचिरहेका बताए ।
राज्यको मात्र मुख नताकी अबोध नानीबाबुको भबिष्य कोर्न लागिपर्ने नेपाल बाल संगठन तथा बाल मन्दिर र बालबालिकाको क्षेत्रमा काम गर्ने सम्पुर्ण सँस्था र सरोकारवाला सबैमा उनले हार्दिकता व्यक्त गरे । “नेपालको संविधानले मौलिक हक अन्तर्गत बालबालिकाको हकसम्बन्धी व्यवस्था उल्लेख गरेको स्मरण गर्दै बालबालिकाहरूको शारीरिक, मानसिक, सामाजिक, बौद्धिक तथा संवेगात्मक विकासमा सबैले पहल गर्नुपर्छ” उनले भने ।
“बालबालिकाको आधारभूत आवश्यकता, प्रतिभा पहिचान र प्रस्फुटनमा गरिने मन ,धन ,वचन र कर्मको लगानी सबैभन्दा महत्वपूर्ण कार्य हाे” प्रदेश प्रमुख देवकाेटाले भने “राज्य र मनकारी दाताहरूले नेपाल बाल संगठन र बाल मन्दिरको नाममा अर्पेको भौतिक सम्पतिको बारेमा कता कता नरमाइला कुरा सुन्न परेकोले दुख लागेको छ ।” सम्बन्धित निकायले यो विषयलाई गम्भीर रूपमा लिनुपर्ने उनले बताए । “समयको खेलले आफन्तसँग बिछोडिए पनि मिलनका दिनले पर्खने छ” उनले भने “आज यो पुनर्मिलनको पलको साक्षी बन्दा ममा बेग्लै अनुभुती भएको छ, म भावुक भएको छु ।”
२०२१ सालमा स्थापना भएको नेपाल बाल संगठनले ६ दशक पार गरेको छ । नेपाल बाल संगठनको स्थापना पश्चात बालमन्दिर भवन निमार्ण गरी विभिन्न जिल्लाहरुबाट प्रतिकूल परिस्थितीमा रहेका बालबालिकाहरुको लागि आवास तथा बालमन्दिर विद्यालय संचालन गर्दै आएको अध्यक्ष विद्या उपाध्याय न्यौपानेले बताइन् । “समृद्ध राष्ट्रको मूल आधार, सुरक्षा र मुस्कान सहितको बाल अधिकार” भन्ने नाराका साथ संगठनले काम गरिरहेको अध्यक्ष न्यौपानेले बताइन् ।
मकवानपुर । बागमती प्रदेश लोकसेवा आयोगका सदस्य रामबहादुर खड्काले पद तथा गोपनीयताको शपथ लिएका छन् । गत १३ मंसिरमा आयोगको सदस्य नियुक्त खड्काले शुक्रबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा शपथ ग्रहण गरेका हुन् ।
प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको उपस्थितीमा आयोग अध्यक्ष महेश्वर श्रेष्ठले सदस्य खड्कालाई शपथ गराएका हुन् । सपथ ग्रहणमा मुख्यमन्त्री बहादुरसिंह लामाको समेत उपस्थिति थियो । प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित समितिको सिफारिसमा ऐनको दफा ४ को उपदफा (२) बमोजिम खड्का आयोगको सदस्यमा नियुक्त भएका थिए ।
दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–५ निवासी खड्का प्राध्यापन क्षेत्रबाट आयोगको सदस्य बनेका हुन् । यससँगै आयोगको बोर्डले अब पूर्णता पाएको छ ।