मकवानपुर । मकवानपुरकाे हेटौंडामा बालश्रम अन्त्यका लागि नीतिगत छलफल गरिएकाे छ । प्रदेशकाे श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयेजनामा बुधबार भएकाे कार्यक्रमकाे बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले गरे ।
श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजना तथा स्वतन्त्रता अभियान नेपाल, दिगो विकास लक्ष्यका लागि नागरिक मञ्च र राष्ट्रिय बाल संरक्षण सञ्जालको सहकार्यमा कार्यक्रम आयोजना गरिएकाे हाे । कार्यक्रमकाे उद्घाटन गर्दै मन्त्री महर्जनले प्रदेश सरकारले बालश्रम नीति ल्याउने तथा बालश्रम अन्त्यका लागि मन्त्रालयले काम गरिरहेको बताए । उनले समृद्धिका लागि बालश्रम अन्त्य हुनुपर्ने बताए । पछिल्लो समय गरिबीका कारण मात्रै बालश्रम नहुने उनले बताए ।
‘बालबालिकाहरु बालश्रममा लाग्नुको मुख्य कारण परिवारिक कलह, अशिक्षा हुन्’ उनले भने । बालश्रम अन्त्य गर्नका लागि मन्त्रालयले नीतिगत ढंगबाट अघि बढ्न बालबालिकासँग सरोकार राख्ने संघ संस्थाहरुसँगको छलफल गरेर अघि बढ्ने बताउँदै मन्त्री महर्जनले भने ‘परिवारमा कलह भएकै कारण बालबालिकाहरुले पढाई छाड्ने गरेका, आर्थिक अभावका कारण कलह हुने गरेकोले आर्थिक उपार्जन गर्ने क्रियाकलापहरु सञ्चालन गर्न मन्त्रालयले नीति बनाएर अघि बढ्छ ।’
मन्त्रालयका सचिब बलराम निरौलाले बालश्रम अन्त्य तथा श्रमको लागि संविधानमा भएका ब्यवस्था, अनुसूची ७ ( संघ र प्रदेशको साझा अधिकार) बारे जानकारी गराएका थिए ।
यसैगरी सामाजिक सुरक्षा र रोजगारी, ट्रेड युनियन, औद्यिगिक विवादको समाधान, श्रमिकका हक, अधिकार र विवाद सम्बन्धी कार्य
कार्यविस्तृतिकरण प्रतिवेदन माथि पनि जानकारी गराएका थिए । श्रमिक एवं श्रमिकको सामाजिक सुरक्षा सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड र नियमन जस्ता सवाल बागमती प्रदेश सरकारको बालबालिका सम्वन्धी नीति रहेकाे उनले बताए ।
वालश्रम, बालविवाह, यौनशोषण र दुर्व्यवहार बेचविखन र ओसारपसार जस्ता घटनाहरुबाट बालबालिकाहरु पीडित रहेनु मुख्य सवाल रहेकाे उनले बताए । यसैगरी खासगरी होटल, रेष्टुरेन्ट, चियापसल तथा क्याटरिङ्ग, इटाभट्टा, घरेलु काम, निर्माण कार्य तथा सवारीसाधनमा बालश्रमको प्रयोग हुनु प्रदेश सरकारकाे लागि मुख्य चुनाैति भएको उनले बताए ।
‘प्रदेश सरकारले सबै क्षेत्रमा बालश्रमको अन्त्य गरिने नीति लिएकाे उनले बताए । कानून विपरीत श्रममा संलग्न बालवालिकाहरुको उद्धार र पुस्थापना गर्ने तथा कानुन विपरीत बालश्रममा लगाउनेलाई कारवाही गर्ने गराउने कार्यनीति हामीले लिएका छाै’ निराैलाले भने । श्रममा संलग्न हुनबाट रोक्न विद्यालय वाहिर रहेका बालबालिकाहरुलाई विद्यालय भर्ना गरी औपचारिक शिक्षाको सुनिश्चितता गर्ने कार्यनिति लिएकाे उनले बताए ।
बागमती प्रदेश सरकारको श्रम तथा रोजगार नीति रणनीतिक उद्धेश्यहरुकाे रुपमा गुणस्तरीय र उत्पादनशील रोजगारिका अवसरम वृद्धि गर्ने, दक्ष तथा सीपयुक्त जनशक्ति उत्पादन गर्ने, श्रमिकको अधिकारको रक्षा तथा श्रम प्रशासनक सुदृढिकरण गर्ने नीति रहेकाे उनले बताए ।
बालश्रम निवारणमा स्थानीय तह, ट्रेड यनियन, रोजगारदाता र बालश्रमको क्षेत्र कार्यरत संघसंस्थाहरूसंग प्रभावकारी सहकार्य, समन्वय र सञ्जाल स्थापना गरिने उनले बताए ।
ट्रेड युनियन, मर्यादित श्रम, श्रम सम्बन्ध र सामूहिक सौदाबाजी एवं श्रम विवाद समाधान, श्रम निरिक्षण तथा श्रम अडिट, श्रम बजार सुधार, श्रमिक आपूर्तिकर्ता, बोनस विवाद समाधान, योगदानमूलक सामाजिक सुरक्षा, बालश्रम निवारण बालश्रम निषेध र नियमित गर्ने ऐन, २०५६, र सोको नियमावली २०६२ मा सुधार सवालमा प्रदेश सरकारले भूमिका निर्वाह गर्दै कानून बनाएर अघि बढ्नमा प्रदेश सरकारको श्रम तथा रोजगार क्षेत्रमा प्रदेशको भूमिका रहेने निराैलाले बताए ।
यसकाे लागि वहस पैरवी सूचना प्रवाह समन्वय गर्नमा नागरिक समाजको भूमिका रहने उनले बताए ।
कार्यक्रममास्वतन्त्रता अभियान नेपालको कार्यकारी सचिब रितु भट्ट राईले बालश्रमका प्रमुख कारणहरुमा बालश्रमिक व्यक्ति तथा परिवारसँग सम्बन्धित कारणहरू रहेकाे बताइन् । परिवारमा रहेको चरम प्रार्थिक गरिवी,अविभावक तथा परिवारका सदस्यहरु प्रशिक्षीत हुनु, वासश्रमको बारेमा परिवार र स्वयं बालवालिकालाई पर्याप्त जानकारी नहुनु, परम्परागत शोषण, विभेद तथा हिंसायुक्त गलत मान्यता एवं अभ्यासहरु, पारिवारिक ऋण, विद्यालय शिक्षा पुरा नगरी विचैमा छाड्नु, शहरी जीवनप्रतिको भाकर्षण, पारिवारिक विखण्डन र वालवालिकाको परित्यक्तता तथा हिंसा परिवार तथा समुदायमा विद्यमान भेदभावहरू जस्ता कारणहरु रहेकाे उनले बताइन् ।
यसैगरी स्थानीय स्तरमा बाल संरक्षण सेवा सहितका वाल संरक्षण प्रणाली, संरचनाहरु नहुनु, गरिव तथा पछाडि पारिएका र जोखिममा रहेका समूहका लागि सामाजिक संरक्षण तथा सामाजिक सहायताको कार्यक्रमहरू नहुनु, बजार अनुगमन तथा श्रम निरीक्षण र कानूनी कार्वाही व्यवस्थित र प्रभावकारी नहुनु, शिक्षामा रहेको विभेद तथा आधारभुत सार्वजनिक सेवाहरूको निजीकरण गर्नु र महँगो हुनु, शहर र ग्रामिण क्षेत्रबीच विकासका कार्यक्रमहरूको सन्तुलन नरहनु, बालश्रमिक प्रयोगकर्ताहरु निति निर्माणमा प्रभावशाली रहनु, उद्योग, व्यवशाय तथा सार्वजनिक खरिदको आपूर्ति प्रणालीको अनुगमन र उत्तरदायित्व प्रवर्द्धन गर्ने व्यवस्था नहुनुले राज्य प्रणालीसँग सम्बन्धित कारणहरू बालश्रमका प्रमुख कारणहरु रहेकाे उनले बताइन् ।
कार्यक्रममा दिगो विकास लक्ष्य ८.७ का लागि नागरिक मञ्च बागमती प्रदेशका अध्यक्ष प्रकाश खतिवडाले बालश्रम अन्त्यका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रदेशसभाका सदस्य विन्दु श्रेष्ठ, प्रदेश नीति तथा योजना आयोगका सदस्य डाक्टर दिपेन्द्र श्रेष्ठ, स्वतन्त्रता अभियान नेपालका कार्यकारी सचिब रितु भट्ट राई, राष्ट्रिय बालसंरक्षण सञ्जालका अध्यक्ष ज्ञानभक्त महर्जनलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बागमती प्रदेशका विभिन्न मन्त्रालय, कार्यालय, संघसंस्था तथा स्थानीय तहका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
नुवाकोट । नुवाकाेट जिल्लाकाे तादी गाउँपालिकाले कृषकहरूलाई बाँदरबाट बालीनालीमा हुने नोक्सानी कम गर्ने उद्देश्यले बन्दुक वितरण गरेको छ।
गाउँपालिकाले स्थानीय किसानको माग र समस्या बुझ्दै तत्कालका लागि बन्दुक वितरण गरेको हो। बन्दुक वितरणबाट बाँदरहरूको कारण बाली नष्ट हुने समस्याले पीडित कृषकहरूले राहत पाउने विश्वास लिइएकाे गाउँपालिका अध्यक्ष सन्तबहादुर तामाङले जानकारी दिए। गाउँपालिकाले नियन्त्रणको लागि बन्दुक बाड्नुका अलावा अन्य वैकल्पिक उपायहरू पनि अवलम्बन गर्ने योजना रहेकाे उनले बताए ।
स्थानीय आवश्यकता र मागलाई ध्यानमा राखी यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने प्रयास गरिने गाउँपालिकाका अध्यक्ष तामाङ बताउँछन् । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सन्जु श्रेष्ठ लगायतका पदाधिकारीहरूले कृषकहरूको समस्या समाधानका लागि यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मकवानपुर । बागमती प्रदेश सरकारका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालले गुणस्तरीय शिक्षाका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने बताएका छन् । मकवानपुरको बकैया गाउँपालिकाले हात्तीसुँढेमा आयोजना गरेको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
शैक्षिक समस्या समाधान गर्न अभाव र समस्याका बिच हामीले राम्रो गर्न सक्नुमा नै सामर्थ्य देखिने बताउँदै राम्रो काम गर्ने शिक्षक, विद्यालय र विद्यार्थीलाई प्रोत्साहित गर्नुपर्ने उनले बताए । ‘समाजलाई बदल्न चाहने शिक्षकले पहिले परिवर्तनको सुरुवात आफैंबाट गर्नुपर्छ’ प्रमुख सचिव लम्सालले भने ‘गुणस्तरीय शिक्षाका लागि सीमित साधनका बिच शिक्षकले जवाफदेही भएर काम गर्नुपर्छ ।’
गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले विद्यालयहरुले स्रोत र साधन सीमित हुँदा गुणस्तरीय शिक्षा दिनु चुनौती रहेकाेले गाउँपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएर काम गर्दै आएको बताए । शिक्षा विकास निर्देशनालयका महानिर्देशक खुबिराम अधिकारीले प्रदेश सरकार शैक्षिक गुणस्तर वृद्धिका लागि प्रतिबद्ध रहेको बताउँदै शिक्षक र विद्यालयको क्षमता विकासमा सहयोग गर्दै आएको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले पालिकाको शैक्षिक अवस्थाका बारेमा जानकारी गराएका थिए । पालिकामा शैक्षिक सुधारका शिक्षक बैङ, शिक्षकलाई तालिमलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए । कार्यक्रम बकैयाको सेतीदेवी आधारभूत विद्यालयका प्रअ गोमा रानाभाट, बाघभैरव माविका प्रअ रमेश लामा, महेन्द्र माविका प्रअ दीपा सिग्देल, जनक माविका प्रदीप भोम्जनलगायतले शैक्षिक क्षेत्रमा देखिएका नीतिगत, आर्थिकलगायतका समस्याहरु र समाधानका उपायहरुका बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव विनोदकुमार भट्टराई, वन तथा वातावरण मन्त्रालयका सचिव डा. केदार बराल, वन मन्त्रालयका महाशाखा प्रमुख शिव सापकोटा, मुख्यमन्त्री कार्यालयका आर्थिक प्रशासन शाखका अधिकृत श्रीराम पुडासैनी, गाउँपालिकाका विभिन्न शाखाका प्रमुखको उपस्थिति रहेको थियो ।
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले तुम ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।
प्रदेश प्रमुख देवकोटाले आज (सोमबार) शुभकामना सन्देश प्रकाशन गर्नुहुदैं नेपालको खासगरी पहाडी र उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने तमु अर्थात् गुरुङ समुदायको नयाँ बर्षको रूपमा मनाइने ल्होसार पर्वको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नु भएको हो । ‘बागमती प्रदेश, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, दीर्घायु र समृद्धिको शुभकामना व्यक्त गर्दछु’ उहाँले सन्देशमा भन्नुभएको छ ।
तमु ल्होसार पर्व संस्कृति रक्षक गुरुङ समुदायले बडो उत्साहका साथ मनाउँदछन् । परम्परागत भेषभुषाले सजिएर, इष्टमित्रसँग भेटघाट, खानपिन, नाचगान र शुभकामना आदानप्रदान गरेर गुरुङ समुदायले नयाँ सम्वत शुभारम्भको उत्सव मनाउँने गर्दछन् । ‘चाडपर्वहरू हाम्रा अमूल्य गहना हुन्, हाम्रो देश नेपाल बहुजातीय, बहुधार्मिक, बहुसंस्कृतिक विशेषताले भरिएको विविधतामा एकताको अनुपम नमुना भएको सुन्दर मुलुक हो’ सन्देशमा भनिएको छ ।
‘नेपाल आफैमा एक विश्व हो, हामीले आफ्नो मौलिक पहिचानको संरक्षण र सम्बर्द्धनमा यथाशक्य जोड दिनुपर्दछ’ उहाँले भन्नुभएको छ ।
सभ्य, सुसंस्कृत र सहिष्णु समाज निर्माणमा मैलिक परम्पराले थप टेवा दिने उहाँले बताउनु भएको छ । यी पक्षहरूलाई सुखी जीवनको मानकको रूपमा लिन सक्नु पर्ने उहाँले सन्देशमा भन्नु भएको छ ।
प्रदेश प्रमुख देवकोटाले इस्बी सम्बत् २०२५ को पूर्वसन्ध्यामा सन् २०२४ लाई मूल्यांकन गरेर कमीकमजोरी सच्याउँदै अग्रगमनको दिशामा लाग्न २०२५ ले प्रेरणा मिलोस भन्ने शुभकामना समेत दिनु भएको छ । जनवरी १ तारीखलाई टोपी दिवसको रूपमा पनि मनाउन थालिएको सन्दर्भमा पनि उहाँले शुभकामना दिन भएको छ । आफ्ना मौलिक संस्कृतिका रक्षार्थका सभ्य, अनुशासित र अर्थ पूर्ण क्रियाकलापहरूप्रती हामी सबैको गर्व र समर्थन हुनु आवश्यक रहेको उहाँले सन्देशमा उल्लेख गर्नु भएको छ ।
मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्काे बिहीबारकाे बैठकले विभिन्न निर्णयहरु गरेकाे छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सिटीइभिटी) को प्रमुख कार्यकारी निर्देशकमा शान्ति लामालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले नुवाकोट म्यागङ गाउँपालिका–४ की लामालाई प्रदेश सिटीइभिटीको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । प्रमुख कार्यकारी निर्देशकमा नियुक्त भएकी लामा नेपाली कांग्रेस नुवाकोटको महाधिवेशन समिति सदस्य छिन् भने २०७४ को स्थानीय तह निर्वाचनमा म्यागङ गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् ।
यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख कार्यालयको सबलीकरणका लागि १० लाख रुपैयाँ अख्तियारी दिने निर्णय गरेको छ । लामिछानेका अनुसार बैठकले प्रदेश औद्योगिक तथा व्यवसाय ऐनलाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसाय ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता गराउने निर्णय गरेको छ । यसैगरी अपांगता भएका व्यक्तिहरूको सशक्तीकरणका कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गर्ने निर्णय समेत बैठकले गरेको छ ।
मन्त्रिपरिषद् बैठकले स्वास्थ्य संस्था आशयपत्र सेवा सञ्चालन अनुमति नवीकरण तथा स्तरोन्नति मापदण्ड, तामिल सञ्चालन कार्यविधि, प्रविधि हस्तान्तरण कार्यविधि, प्रदेश नीति तथा योजना आयोगको वार्षिक आयोजना छनौट कार्यविधि संशोधनका लागि मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाउने निर्णय गरेको छ । बैठकले प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धी विधेयक तर्जमाका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।
यसैगरी प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १० करोड रुपैयाँ बजेट दिने निर्णय गरेको छ ।रंगशाला निर्माणका लागि वार्षिक बजेट कार्यक्रममा समावेश भए अनुसार १० करोड रुपैयाँ बजेटकाे अख्तियारी दिने निर्णय गरेको लामिछानेले जानकारी दिए । अनुदानका रूपमा १० करोड रुपैयाँ भरतपुर महानगरपालिकालाई अख्तियारी दिने निर्णय गरेको हो ।
यसैगरी मन्त्रिपरिषद् बैठकले संघीय सरकारबाट सरुवा भई आएका ३ जना र प्रदेशमा हालै बढुवा भएका एक जना सचिवलाई पदस्थापन गर्ने निर्णय गरेको छ ।