मकवानपुर । बागमती प्रदेश सरकारका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालले गुणस्तरीय शिक्षाका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने बताएका छन् । मकवानपुरको बकैया गाउँपालिकाले हात्तीसुँढेमा आयोजना गरेको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
शैक्षिक समस्या समाधान गर्न अभाव र समस्याका बिच हामीले राम्रो गर्न सक्नुमा नै सामर्थ्य देखिने बताउँदै राम्रो काम गर्ने शिक्षक, विद्यालय र विद्यार्थीलाई प्रोत्साहित गर्नुपर्ने उनले बताए । ‘समाजलाई बदल्न चाहने शिक्षकले पहिले परिवर्तनको सुरुवात आफैंबाट गर्नुपर्छ’ प्रमुख सचिव लम्सालले भने ‘गुणस्तरीय शिक्षाका लागि सीमित साधनका बिच शिक्षकले जवाफदेही भएर काम गर्नुपर्छ ।’
गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले विद्यालयहरुले स्रोत र साधन सीमित हुँदा गुणस्तरीय शिक्षा दिनु चुनौती रहेकाेले गाउँपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएर काम गर्दै आएको बताए । शिक्षा विकास निर्देशनालयका महानिर्देशक खुबिराम अधिकारीले प्रदेश सरकार शैक्षिक गुणस्तर वृद्धिका लागि प्रतिबद्ध रहेको बताउँदै शिक्षक र विद्यालयको क्षमता विकासमा सहयोग गर्दै आएको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले पालिकाको शैक्षिक अवस्थाका बारेमा जानकारी गराएका थिए । पालिकामा शैक्षिक सुधारका शिक्षक बैङ, शिक्षकलाई तालिमलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए । कार्यक्रम बकैयाको सेतीदेवी आधारभूत विद्यालयका प्रअ गोमा रानाभाट, बाघभैरव माविका प्रअ रमेश लामा, महेन्द्र माविका प्रअ दीपा सिग्देल, जनक माविका प्रदीप भोम्जनलगायतले शैक्षिक क्षेत्रमा देखिएका नीतिगत, आर्थिकलगायतका समस्याहरु र समाधानका उपायहरुका बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव विनोदकुमार भट्टराई, वन तथा वातावरण मन्त्रालयका सचिव डा. केदार बराल, वन मन्त्रालयका महाशाखा प्रमुख शिव सापकोटा, मुख्यमन्त्री कार्यालयका आर्थिक प्रशासन शाखका अधिकृत श्रीराम पुडासैनी, गाउँपालिकाका विभिन्न शाखाका प्रमुखको उपस्थिति रहेको थियो ।

