मकवानपुर । मकवानपुरमा बसोबास गर्ने गुरुङ समुदायले तमु ल्होछार मनाएका छन् । सोमवार हेटौंडा ११ स्थित सहिद स्मारकमा शुभकामना आदान–प्रदानसँगै नाचगान गरेर तमु अर्थात् गुरुङ समुदायको नयाँ वर्ष ल्होछार मनाएका हुन् ।
तमु ह्युल छोंज धि (गुरुङ राष्ट्रिय परिषद्) मकवानपुरले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले तमु ल्होछारसहित जनजातिको विशेष पर्वहरुको संरक्षण र प्रवर्द्धनका लागि तीनै तहको सरकारले विशेष ध्यान दिनुपर्ने बताए । हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडाध्यक्ष ढलक बहादुर थापाले सस्कृती जोगाउन यस्ता पर्वहरुले महत्व दिने बताए । उनले भने ‘आफ्नो भाषा, संस्कृतिसँगै ल्होछार जस्ता पर्वको मौलिकता जोगाउन आदिवासी जनजाति गम्भीर हुनुपर्ने बेला भएको छ ।’
त्यसैगरी, गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य जंगबहादुर गुरुङले गणतान्त्रिक नेपालमा ल्होछारमा सार्वजनिक बिदा दिनु सकारात्मक भएपनि मौलिक संस्कृति संरक्षण गर्न सरकारले बजेट विनियोजन गरी योजना बनाउनु पर्ने बताए । मकवानपुर जिल्लामा बजेट बिनियोजन गर्ने क्रममा आदिवासी जनजातिलाई अन्याय भएकाे समेत उनको भनाइ थियो । उनले मकवानपुर जिल्लामा गुरुङ समुदाय सातौं स्थानमा रहेका बताए । ‘मकवानपुरमा मात्रै १५ सय १८ जना गुरुङ समुदायको बसोबास रहेको छ’ उनले भने । गुरुङले आफ्नो सस्कृती जोगाउन सबै गुरुङ समुदाय एकजुट भएर लाग्न पनि आग्रह गरे ।
‘बागमती प्रदेश सरकारले तामाङ भाषा र नेवार भाषालाई सरकारी कामकाजी भाषाको रुपमा ल्याइएको छ । त्यसैगरि गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजीकि रुपमा अघि सारेको छ ,’ उनले भने, ‘यसैगरि सरकारले आदिवासी जनजातीको हितमा काम गर्दा सस्कृतीको जगेर्ना हुने देखिन्छ ।’
कार्यक्रममा गुरुङ समुदायबाट विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएकाे छ । सम्मानित हुनेमा नेपाल पत्रकार महासघ मकवानपुरका नव निर्वाचित कार्यसमिति सदस्य निशा गुरुङसहित ६ जना रहेका छन् । शिक्षा विकास तथा समन्वय इकाई कार्यालय मकवानपुरमा कार्यरत शाखा अधिकृत संगिता गुरूङ, त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्र विषयको दर्शनाचार्य परीक्षामा सर्वोत्तम श्रेणीमा उतिर्ण मकवानपुर तमु समुदायबाट पहिलो व्यक्ती मनिराज गुरूङ, `फिजियोथेरापी करियर पथ´ का लेखिका रती कुमारी गुरुङ, मेडिकल ब्यवसायी राजु गुरुङ , भु तथा जलाधार व्यस्थापन कार्यालय मकवानपुरका कार्यालय प्रमुख सृजना गुरुङलाई कार्यक्रममा सम्मानित गरिएकाे थियाे ।
यस्तै कार्यक्रममा स्वर्गीय माधव गुरुङको नाममा स्थापित माधव गुरुङ अक्षयकोष-२०७५ बाट प्रदान गरिने छात्रवृत्तिमा मनहरी गाउँपालिका-८ की करिष्मा गुरुङ, थाहानगरपालिका-५ का सुदीप गुरुङ, थाहानगरपालिका-५ कै प्रेरणा गुरुङ, कैलाश गाउँपालिका-१ की विनुता गुरुङ र कैलाश-१ कै विना गुरुङलाई नगद ८ हजार ५ सय सहित छात्रवृत्ति प्रदान गरिएको थियो ।
गुरुङ राष्ट्रिय परिषद् मकवानपुरका अध्यक्ष केशर बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ मकवापुरका अध्यक्ष कालु घलान, किरात राई यायोक्ख्या मकवानपुरका अध्यक्ष केबी राई, नेपाल मगर संघ मकवानपुर अध्यक्ष सन्देश मगर, थारू कल्याणकारिणी सभा मकवानपुरका अध्यक्ष संचता नन्द थारू, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गुरुङ पहिरनमा सजिएका गुरुङ युवायुवती,बालबालिकाहरुले गुरुङ साँस्कृतिक नाँच-गाँन प्रस्तुत गरेका थिए । मकवानपुरमा २०५५ सालबाट गुरुङ समुदायले सामुहिक रुपमा तमू ल्होछार मनाउँदै आएका छ्न ।

