मकवानपुरमा ५३ जना कोरोना संक्रमित, विश्वमा प्रति १५ सेकेण्डमा कोरोनाको कारण १ जनाको मृत्यु
Tags: No Comments
मकवानपुर/ पछिल्लो चौबिस घण्टामा मकवानपुर जिल्लामा ३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै मकवानपुर जिल्लामा कोरोना संक्रमितको संख्या ५३ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मकवानपुरगढी गाउँपालिका–५ भालुखोलाका स्थानीय ७० वर्षीय पुरुषलाई बुधबार कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले आफ्नो क्षेत्रभित्रको विद्यालयहरु बन्द गरेको छ । यस अघि केही सातादेखि भौतिक दुरी कायम गर्दै जोर विजोर रोल नम्बरका विद्यार्थीहरुलाई आलोपालो गर्दै विद्यालयहरुमा पठनपाठन सुरु गरिएको थियो ।
यसैगरी बुधबार हेटौंडा–९ की ४६ वर्षीया महिला र हेटौंडा–२ का २२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताउनु भयो ।
देशभर पछिल्लो २४ घन्टामा थप ३ सय ८१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यस्तै १ सय ३० जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा २४ घन्टामा ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउनु भएको हो । नेपालमा संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । नयाँ संक्रमितमध्ये सबैभन्दा बढी पर्सा जिल्लाको रहेका छन ्। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पर्सा जिल्लामा १ सय ५१, काठमाडौंमा ५७ जनामा संक्रमण देखिएको छ ।
यसैबीच विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ । प्रत्येक १५ सेकेन्डमा एक जनाको मृत्यु भएको विज्ञहरुले बताएका छन् । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोनाभाइरस रिसोर्स सेन्टरका अनुसार बुधबार बिहानसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख ६ सय ४७ पुगेको छ ।
कोरोनाबाट अमेरिका, ब्राजिल, मेक्सिको, बेलायत र भारतमा सबैभन्दा बढी मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा बढी १ लाख ५६ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म ४७ लाख ७१ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २ हप्ताको तथ्यांक हेर्दा प्रत्येक २४ घण्टामा कोरोना भाइरसबाट करिब ५ हजार ९ सय जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
त्यस्तै एक घण्टामा २ सय ४७ जना र प्रत्येक १५ सेकेन्डमा एक जनाको मृत्यु भएको देखिन्छ । पछिल्लो समय अमेरिका र ल्याटिन अमेरिकी देशहरु कोरोना भाइरसको इपिसेन्टर बनेका छन् । सुरुमा ल्याटिन अमेरिकी देशहरुमा संक्रमण कम भए पनि पछिल्लो समय ब्राजिललगायतका देशमा संक्रमण तीव्र गतिमा बढिरहेको छ । हालसम्म विश्वभर संक्रमितको संख्या १ करोड ८५ लाख नाघेको छ । संक्रमण पुष्टि भएकामध्ये अहिलेसम्म एक करोड ११ लाखभन्दा बढी निको भएका छन् ।
यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस विरुद्धको खोप निर्माणमा विभिन्न मुलुकले गरेका अनुसन्धानहरुमा आशा गर्ने ठाउँ भए पनि कहिले बन्छ भनेर भन्न नसकिने बताएको छ । डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस अडहानोम गेहब्रेयससले कोरोनाको खोप निर्माण ‘जादुको छडी’ नभएको बताएका छन् ।
उनले कोरोनाविरुद्धको खोप कहिल्यै नबन्ने सम्भावना पनि रहेको उल्लेख गर्दै मास्कको प्रयोग र आवश्यक दूरी कायम गर्नु नै संक्रमण रोकथामको उत्तम विकल्प भएको बताएका छन्
।
मकवानपुर/बितेको एक वर्षको अवधिमा बागमती प्रदेशका १० जिल्लामा दर्ता भएका मुद्दाहरु मध्ये ४९ प्रतिशत मात्रै फैसला भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा अनुसार उपत्यकाका ३ जिल्लाबाहेक प्रदेशका अन्य १० जिल्लामा दर्ता भएका कुल ४ हजार ५ सय ८६ वटा मुद्दा मध्ये ४९ दशमलब १९ प्रतिशत अर्थात २ हजार २ सय ५३ वटा मुद्दाहरु मात्रै फर्स्याैट भएका छन् ।
प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव महानिरिक्षक बसन्त कुमार लामाका अनुसार १० जिल्लाका प्रहरी कार्यालयमा परेका उजुरी मध्य २ हजार ३ सय ३३ वटा मुद्दाको फर्स्याैट हुन बाँकी रहेको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका मध्ये ८ सय ६६ वटा मुद्दामा ५ सय १८ वटा मुद्दाको मात्रै किनारा लागेको छ । त्यसैगरी चितवन प्रहरीमा १ हजार २ सय ६६ वटा मुद्दामा ७ सय ४५ वटा मुद्दा फर्स्याैट भएका छन् । सिन्धुली जिल्लामा ३ सय ३४ वटा मुद्दामध्ये ५४ वटा,रामेछाप जिल्ला प्रहरीमा १ सय ९९ वटा मुद्दा दर्ता भएकोमा ५४ वटा,दोलखा जिल्लामा २ सय ४० मध्ये १ सय २ वटा, काभ्रे जिल्ला प्रहरीमा ५ सय ५७ वटा मुद्दा दर्ता भएकोमा ३ सय १ वटा फस्र्यौट भएको लामाले बताउनु भयो ।
यसैगरी सिन्धुपाल्चोक जिल्लामा ३ सय ६१ मध्ये १ सय ४९ वटा,नुवाकोट जिल्लामा २ सय ५८ मध्ये १ सय १४ वटा, धादिङमा ४ सय ५७ मध्ये १ सय ९० वटा तथा रसुवा जिल्ला प्रहरी कार्यालयका ५२ मध्ये २६ वटा मुद्दा फैसला भएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार मकवानपुरको ३ सय ४८, चितवनको ५ सय १७,सिन्धुलीको २ सय ८०, रामेछापको १ सय ४५, दोलखाको १ सय ३२,काभ्रेको २ सय ५६,सिन्धुपाल्चोकको २ सय ९२, नुवाकोटको १ सय ४४ वटा, धादिङको २ सय ६७ तथा रसुवा जिल्लाको २६ वटा मुद्दाको अन्तिम फैसला हुन बाँकी रहेको छ ।
प्रहरीमा परेका मुद्दाहरु दोषी फेला नपर्नु, आरोपित फरार हुनु, आत्महत्याका मुद्दामा दोषी पत्ता नलाग्नु, भवितव्य भएका मुद्दामा दोषी नदेखेका कारण मुद्दाको कम फर्स्याैट भएको डीआइजी लामाले बताउनु भयो । कोरोना संक्रमणपछि आत्महत्या र हिंसाका घटना बढेको र समग्र अपराधका घटना कम भएको उनले जानकारी दिए ।
मकवानपुर / बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले कानुनलाई दिगो र स्थायी बनाउन नागरिकको सहभागिता आवश्यक रहेको बताउनु भएको छ । तर अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले हेटौंडामा आज आयोजना गरेको कार्यक्रममा अधिकारकर्मी तथा सरोकारवालाहरूले कानुन निर्माण अगाडि आफूहरूसँग सहकार्य नै नगरी हतारमा कानुन ल्याउने गरेको गुनासो गरेका छन् ।
इन्सेक बागमती प्रदेश कार्यालयद्वारा आज हेटौँडामा आयोजित नीति तथा कानून निर्माणमा नागरिक सहभागिता विषयक सम्वाद कार्यक्रममा बोल्दै सभामुख श्रेष्ठले नागरिक समाजसँगको सहकार्यबाट बनेका नीति तथा कानुनले मात्र दीगो र स्थायी हुने हुँदा जनताका सवाललाई सम्बोधन गर्न सक्ने बताउनु भएको हो । सभामुख श्रेष्ठले विभिन्न सङघ, संस्था, युनियन, सांसदको माग र दबाबकै कारण नयाँ कानुन निर्माण तथा संसोधन हुने गरेको बताउनु भयो । उहाँले प्रदेशको नीति तथा कानून निर्माणको क्रममा सरोकारवालासँग पर्याप्त संवाद हुने गरेको बताउनु भयो ।
प्रत्यक्ष, अप्रत्यक्ष रुपमा प्रदेश सभाले नागरिकका धारणा, सुझावलाई समेटेकै कारण बागमती प्रदेशको कानून निर्माणको चरणमा विवाद नभएको उहाँले दाबी गर्नुभयो । उहाँले बागमती प्रदेश सभाले छोटो समयमै ५९ ओटा कानून निर्माण गर्नु सजिलो काम नभएको बताउनु भयो ।
बागमती प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामीले कानुनलाई दिगो र स्थायी बनाउन नागरिकको सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनु भयो । उहाँले प्रदेश सभाका सदस्यको भूमिकाका बारेमा आम समुदाय प्रष्ट नरहेको उल्लेख गर्नुहुँदै प्रदेश सभा सदस्यले कानुन निर्माणमा कति भूमिका खेल्यो भन्दा पनि कति बाटो, पुल, सिँचाईका योजना ल्याए भन्नेमा मात्र चासो राख्ने गरेको बताउनुभयो ।
प्रदेश सांसद पुलामीले नीति निर्माण गर्ने भन्दा पनि विकास निर्माण गर्ने प्रतिवद्धता जाहेर गरेर चुनाव जितेको कारण पनि सांसदको ध्यान यसलाई कसरी प्रभावकारी बनाउने र जनतामा माझ लैजाने भन्दा पनि विकासको लागि बजेट छुट्याउन कुरामा बढी ध्यान दिन बाध्य भएको उल्लेख गर्नु भयो । नागरिक सहभागिता मात्रै हैन नीति निर्माणमा संलग्न हुनुपर्ने सांसदको पनि यसमा पूण सहभागिता र समपर्ण नभएको अवस्था सांसद पुलामीले उल्लेख गर्नु भयो ।
प्रदेश सभा सदस्य जुनेली श्रेष्ठले जनअपेक्षा र सरकारको कामबीच ठूलो खाडल रहेको भन्दै नीति र कानुनमा सुधार गर्दै लैजानुपर्ने बताउनुभयो । श्रेष्ठले बागमती प्रदेश सभाले जनताका प्रत्यक्ष सवालका विषयमा नीति तथा कानुनहरू निर्माण गर्नुअघि सरोकारवाला र नागरिक समाजसँग पर्याप्त छलफल भएमात्र कानुनको कार्यान्वयनमा सहज हुने बताएउनु भयो । महिला, बालबाकिलाका सवालमा अझै जटिलता रहेको भन्दै उहाँले नागरिकता, सम्पति तथा अंशका सवाल पहिले भन्दा अहिले झन जटिल बन्दै गएको उल्लेख गर्नु भयो ।
बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले संघीयताको अभ्यासमा रहेको र यसलाई कार्यान्वयन गर्नको लागि पनि हतारमा कानून निर्माण गर्नु पर्ने अवस्था भएकोले पर्याप्त मात्रमा जनताबीचमा छलफल गराउन नागरिक सङ्घसंस्थाको सुझाव लिन नसकिएको स्वीकार गर्नुभयो । खड्काले प्रदेश सभाले हालसम्म तीन ओटा संसोधन सहित ५९ ओटा कानुन पारित गरेको जानकारी दिनु भयो ।
बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ओम थपलियाले कानून निर्माणमा जनसहभागिता र जनताले आत्मसात गर्ने अवधारणालाई समावेश गर्न नसके कार्यान्वयनमा समस्या हुने बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप विष्टले प्रदेश सरकार र प्रदेश सभाका समितिले सञ्चार विधेयक निर्माणको क्रममा पर्याप्त छलफल गरेको बताउनु भयो । प्रदेशले बनाएको सञ्चार सम्बन्धी विधेयक संघीय सरकारको भन्दा उत्कृष्ट बनेको पनि बताउनु भयो ।
कार्यक्रममा प्रदेश मामिला समितिका सचिव विनोद पौडेलले सरकारको तर्फबाट प्रदेश सभामा प्रस्तुत हुने विधेयकहरूलाई समितिमा प्रयाप्त छलफल गराएर मात्र अघिबढाउने गरेको जानकारी दिनु भयो । यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत मदनप्रसाद शिवाकोटीले सरकारले प्रदेश सभामा प्रस्तुत गर्ने विधेयकहरूलाई विज्ञको सुझाव र कानुनी अड्चन आउन नदिन मन्त्रालय र सरोकारवालासँगको सुझावपछि मात्र प्रदेश सेभामा पेस गर्ने गरिएको बताउनु थियो ।
तर, कार्यक्रममा बोल्ने पत्रकार तथा नागरिक सघसंस्थाका अधिकाँश प्रतिनिधिहरूले फास्ट ट्रयाक र छिटो कानुन निर्माण गर्नुपर्ने बाध्यात्मक अवस्था भन्दै सरोकारवाला र नागरिकसमाजसंग पर्याप्त छलफल बिना नै सरकारले प्रदेशसभाबाट नीति तथा कानुनको निर्माण भइरहेको बताए । संघीय संसदबाट आएका कानुनका मस्यौदालाई नै केही फेरबदल मात्र गरेर विधेयक निर्माण हुने गरेको बताउनु भएको थियो ।
कार्यक्रममा इन्सेक बागमती प्रदेश कार्यालयका प्रमुख कृष्ण गौतमले प्रदेशको नीति तथा कानून निर्माणको क्रममा प्रदेश सभाले नागरिकलाई सहभागी गराउनु अनिवार्य आवश्यकता रहेको बताउनु भयो । ‘हतार भयो भनेर वा कुनै अन्य समय परिस्थितिलाई देखाएर सरोकारवालासँग छलफल नगरी कानुन ल्याउनु न्यायसंगत हैन’ संयोजक गौतमले भन्नुभयो ।
मकवानपुर / बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राध्यापक डाक्टर बिश्वराज जोशी (बी आर जोशी ) लाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको प्रदेशको मन्त्री परीषदको बैठकले जोशीलाई ४ वर्षका लागि प्रदेशले स्थापना गरेको प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि वीर अस्पतालमा नेसनल एकेडेमी अफ मेडिकल साईन्सको रजिस्ट्रार, वीर अस्पतालमा नै युरोलोजिष्ट प्रमुख समेत रहनुभएका जोशीले सन १९७४ मा एम डी र १९८३ मा डाक्टर उपाधी हासिल गर्नुभएको छ । उपकुलपति नियुक्तीसँगै प्रतिष्ठान सञ्चालनका कार्यहरु अगाडि बढ्ने सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो ।
यसै गरी प्रदेश सरकारले प्रदेश बालअधिकार समितिमा पनि सदस्यहरू नियुक्त गरेको छ । समितिमा बाल अधिकारको क्षेत्रमा सक्रिय सिविन बाल हेल्प लाइनका प्रमुख झबिन्द्र ज्ञवाली,अधिकारकर्मीहरु शान्ता बराल, शान्ति श्रेष्ठ, मिना थापा र लक्ष्मी ढकाललाई मनोनीत गरिएको छ । उनीहरुको कार्यकाल पनि ४ वर्षको हुनेछ ।
यसैगरी प्रदेश युवा परिषद नियमावली २०७७ स्वीकृत गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिनुभयो । यस्तै वैदेशिक सहयोग प्राप्ति र कर छुटका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
मकवानपुर /मकवानपुर जिल्लाको थाहा नगरपालिकाले विकास निर्माणको लागि अपनायको कार्यगतिको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रशंसा गर्नुभएको छ । थाहा नगरपालिकाको विकास निर्माणको कार्यहरुको अनुगमनपछि मुख्यमन्त्री पौडेलले कामको प्रशंसा गर्नु भएको हो ।
प्रदेशका बजेटहरुबाट सञ्चालन भएका योजनाहरु प्रभावकारी भएको बताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो ‘कामको तरिका अन्य स्थानीय तहहरुले यहाँबाट सिकुन् ।’ थाहानगरका लागि विनियोजित बजेटले सञ्चालन भएका योजनाहरु नतिजामुखी भएको उहाँले बताउनु भयो । मुख्यमन्त्रीसहितको टोलीले थाहानगरकाको थाहा स्मारक पार्क, थाहा शीतभण्डार, थाहा बसपार्क, आँखा उपचार केन्द्र लगायतको अनुगमन गरेको थियो ।
थाहा नगरपालिका पर्यटकीय नगर भएकोले यहाँको पर्यटन प्रवर्धनका लागि थाहा स्मारक पार्कले महत्वपूर्ण हुने मुख्य मन्त्री पौडेलले बताउनु भयो । गत आर्थिक वर्षबाट निर्माण आरम्भ गरिएको यो पार्कको लागि स्रोत व्यवस्था गरेर छिटै निर्माण सकेर आम्दनीको स्रोतको रुपमा अघि बढाउन मुख्य मन्त्री पौडेलले सुझाव दिनुभयो ।

थाहा स्मारक पार्क परिसरमा सञ्चालनको अन्तिम तयारीमा रहेको कोशेली घरलाई तत्काल सञ्चालन गर्नको लागि नगरपालिकालाई आग्रह गर्नुभएको छ । पर्यटन प्रवद्र्धनमा नगरले प्रभावकारी योजना सञ्चालन गरेको र यसलाई पूर्णता दिन आफ्नो तर्फबाट सहयोग हुने मुख्यमन्त्री पौडेलले आश्वासन दिनुभएको नगर प्रमुख लबशेर विष्टले बताउनु भयो । थाहा नगरपालिका–४ थानाबजारमा निर्माण थालिएको बसपार्क अनुगमनपछि मुख्यमन्त्री पौडेलले यो मोडेल एकदमै राम्रो भएको टिप्पणी गर्नुभयो ।
थाहा बसपार्क निर्माणका लागि निर्माणस्थलसम्म पुग्नका लागि बनाइएको सडक स्थानीयले नै सहयोग गरेका हुन् । नगर प्रमुख विष्टका अनुसार जग्गा प्रयाप्त हुनेले कमी हुनेलाई जग्गा दिएर बाटो बसपार्क पार्कसम्म पु-याएका छन् । ‘यो विकासको जस स्थानीय नै हुन्छ’ प्रमुख विष्टले भन्नुभयो । विकासमा जनताको यस्तो सहभागीता दीगो विकासको आधार भएको मुख्यमन्त्री पौडेलले बताउनु भयो । अनुमानित ७ करोड लागत रहेको बसपार्क निर्माणका लागि बजेट अपुग भएको नगर उपप्रमुख खड्ग गोपालीले बताउनु भयो ।
यसैगरी अनुगमन टोलीले थाहा नगरपालिकाको गौरवको योजनाको रुपमा रहेको थाहा शीत भण्डारको पनि अनुगमन गरेको छ । बागमती प्रदेश प्रमुख विष्णु प्रसाईँ सहित सहभागी टोलीलाई थाहानगरको अर्थतन्त्र उठाउन शीतभण्डारले ठूलो मद्दत पु-याउने जानकारी गराइएको थियो ।
मुख्यमन्त्री पौडेलले प्रदेशका अन्य जिल्लाहरुमा पनि शीतभण्डारको काम भैरहेकोमा थाहाको काम द्रुत रहेको बताउनु भयो । यसैगरी थाहा नगरपालिकामा सञ्चालन भएको आँखा उपचार केन्द्र असाध्यै प्रभावकारी भएको बताइएको छ । प्रदेश सरकारको बजेटबाट सञ्चालन भएका योजनाहरु अनुगमनको क्रममा थाहानगर आइपुगेका पौडेलले आँखा उपचार केन्द्रको विषयमा जानकारी लिएपछि यस्तो बताउनु भएको हो ।
थाहानगरको त्रिवेणी धामको निर्माणाधिन अवस्थाको समेत अनुगमन गरिएको कार्यक्रम तथा विभिन्न छलफलमा सहभागी प्रदेश प्रमुख विष्णु प्रसाईँ, मुख्यमन्त्री डोरमणी पौडेल, जिल्ला समन्वय प्रमुख रघुनाथ खुलाललगायतकाले थाहा नगरपालिकाको विकास कार्य गर्ने तौर तरिका तथा कार्यान्वयन विधि प्रभावकारी भएको बताउनु भयो ।