मकवानपुर /मकवानपुर जिल्लाको थाहा नगरपालिकाले विकास निर्माणको लागि अपनायको कार्यगतिको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रशंसा गर्नुभएको छ । थाहा नगरपालिकाको विकास निर्माणको कार्यहरुको अनुगमनपछि मुख्यमन्त्री पौडेलले कामको प्रशंसा गर्नु भएको हो ।
प्रदेशका बजेटहरुबाट सञ्चालन भएका योजनाहरु प्रभावकारी भएको बताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो ‘कामको तरिका अन्य स्थानीय तहहरुले यहाँबाट सिकुन् ।’ थाहानगरका लागि विनियोजित बजेटले सञ्चालन भएका योजनाहरु नतिजामुखी भएको उहाँले बताउनु भयो । मुख्यमन्त्रीसहितको टोलीले थाहानगरकाको थाहा स्मारक पार्क, थाहा शीतभण्डार, थाहा बसपार्क, आँखा उपचार केन्द्र लगायतको अनुगमन गरेको थियो ।
थाहा नगरपालिका पर्यटकीय नगर भएकोले यहाँको पर्यटन प्रवर्धनका लागि थाहा स्मारक पार्कले महत्वपूर्ण हुने मुख्य मन्त्री पौडेलले बताउनु भयो । गत आर्थिक वर्षबाट निर्माण आरम्भ गरिएको यो पार्कको लागि स्रोत व्यवस्था गरेर छिटै निर्माण सकेर आम्दनीको स्रोतको रुपमा अघि बढाउन मुख्य मन्त्री पौडेलले सुझाव दिनुभयो ।

थाहा स्मारक पार्क परिसरमा सञ्चालनको अन्तिम तयारीमा रहेको कोशेली घरलाई तत्काल सञ्चालन गर्नको लागि नगरपालिकालाई आग्रह गर्नुभएको छ । पर्यटन प्रवद्र्धनमा नगरले प्रभावकारी योजना सञ्चालन गरेको र यसलाई पूर्णता दिन आफ्नो तर्फबाट सहयोग हुने मुख्यमन्त्री पौडेलले आश्वासन दिनुभएको नगर प्रमुख लबशेर विष्टले बताउनु भयो । थाहा नगरपालिका–४ थानाबजारमा निर्माण थालिएको बसपार्क अनुगमनपछि मुख्यमन्त्री पौडेलले यो मोडेल एकदमै राम्रो भएको टिप्पणी गर्नुभयो ।
थाहा बसपार्क निर्माणका लागि निर्माणस्थलसम्म पुग्नका लागि बनाइएको सडक स्थानीयले नै सहयोग गरेका हुन् । नगर प्रमुख विष्टका अनुसार जग्गा प्रयाप्त हुनेले कमी हुनेलाई जग्गा दिएर बाटो बसपार्क पार्कसम्म पु-याएका छन् । ‘यो विकासको जस स्थानीय नै हुन्छ’ प्रमुख विष्टले भन्नुभयो । विकासमा जनताको यस्तो सहभागीता दीगो विकासको आधार भएको मुख्यमन्त्री पौडेलले बताउनु भयो । अनुमानित ७ करोड लागत रहेको बसपार्क निर्माणका लागि बजेट अपुग भएको नगर उपप्रमुख खड्ग गोपालीले बताउनु भयो ।
यसैगरी अनुगमन टोलीले थाहा नगरपालिकाको गौरवको योजनाको रुपमा रहेको थाहा शीत भण्डारको पनि अनुगमन गरेको छ । बागमती प्रदेश प्रमुख विष्णु प्रसाईँ सहित सहभागी टोलीलाई थाहानगरको अर्थतन्त्र उठाउन शीतभण्डारले ठूलो मद्दत पु-याउने जानकारी गराइएको थियो ।
मुख्यमन्त्री पौडेलले प्रदेशका अन्य जिल्लाहरुमा पनि शीतभण्डारको काम भैरहेकोमा थाहाको काम द्रुत रहेको बताउनु भयो । यसैगरी थाहा नगरपालिकामा सञ्चालन भएको आँखा उपचार केन्द्र असाध्यै प्रभावकारी भएको बताइएको छ । प्रदेश सरकारको बजेटबाट सञ्चालन भएका योजनाहरु अनुगमनको क्रममा थाहानगर आइपुगेका पौडेलले आँखा उपचार केन्द्रको विषयमा जानकारी लिएपछि यस्तो बताउनु भएको हो ।
थाहानगरको त्रिवेणी धामको निर्माणाधिन अवस्थाको समेत अनुगमन गरिएको कार्यक्रम तथा विभिन्न छलफलमा सहभागी प्रदेश प्रमुख विष्णु प्रसाईँ, मुख्यमन्त्री डोरमणी पौडेल, जिल्ला समन्वय प्रमुख रघुनाथ खुलाललगायतकाले थाहा नगरपालिकाको विकास कार्य गर्ने तौर तरिका तथा कार्यान्वयन विधि प्रभावकारी भएको बताउनु भयो ।

