- सम्झना घिमिरे
मकवानपुर । बागमती प्रदेश प्रहरीले अक्सिजनको अभावमा काेराेना संक्रमितकाे ज्यान जोखिममा परिरहेको अबस्थामा अक्सिजन सिलिण्डर संकलन गरी वितरण गर्दै आएकाे छ । हालकाे जाेखिमकाे अवस्थालाई मध्यनजर गर्दै अक्सिजन संकलन कार्य अभियानको रुपमा संचालन गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
यसैक्रममा प्रदेश प्रहरी कार्यालय हेटौंडा र मातहतका कार्यालयद्वारा हाल सम्म ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन गरी वितरण गरिएकाे छ । विभिन्न उद्योग, वर्कसप, ग्यारेज, ग्रिल उद्योग, कवाडी उद्योग, हाईड्रोपावर, क्रसर उद्योग, विभिन्न पसल तथा ब्यक्तीहरु समेतबाट खाली तथा भरिएका अक्सिजन सिलिण्डरहरु संकलन गरेर बिरामीको उपचारमा सहयोग गरिएकाे बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राज कुमार सिलवालले जानकारी दिए ।
बागमती प्रदेश अन्तर्गतका प्रहरी ईकाईहरुबाट हालसम्म १ सय २९ थान भरी र ५ सय ४१ थान खाली गरी जम्मा ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन गरिएको प्रहरी उपरीक्षक सिलवालले बताए । संकलित सिलिण्डरहरु सम्बन्धित जिल्लाहरुमै प्रयोग गर्न ब्यवस्थापन गरिएको छ भने अत्यावश्यक महसुस गरिएका अन्यन्त्र स्थानहरुमा समेत सहयोग गर्न सकिने केही सिलिण्डरहरु उपलब्ध गराउने गरिएको छ । संकलित अक्सिजन सिलिण्डरहरुलाई सम्बन्धित जिल्लाको निर्णय अनुसार आवश्यकताको आधारमा बिभिन्न अस्पताल, आईसोलेसन सेन्टरहरुमा उपलब्ध गराउने कार्यलाई अघि बढाएको सिलवालले जानकारी दिए ।
हालसम्म कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र छाउनी काठमाडाैंलाई १० थान भरी र ४० थान खाली सिलिण्डर उपलब्ध गराईएको छ । स्वर्गद्धारी अक्सिजन उद्योग चितवनलाई ५१ थान, हेटौंडा अस्पताल, धादिङ अस्पताल, रामेछाप अस्पताल, मुग्लिङ हाईवे अस्पताललाई गरी ३६ थान भरी तथा ९० थान खाली अक्सिजन सिलिण्डर उपलब्ध गरिएकाे प्रहरी उपरीक्षक सिलवालले बताए ।
अस्पतालहरुमा अक्सिजन सिलिण्डरको खपत समेत बढ्दै गईरहेकोले अस्पताल बाहेक अन्य विभिन्न प्रयोजनमा प्रयोग हुने सिलिण्डरहरुको संकलन गरी वितरण कार्य गरिएको हो । बढ्दो कोभिड–१९ को संक्रमणसंगै पछिल्लो समयमा कोभिड–१९ बाट संक्रमितहरुलाई अक्सिजन दिनुपर्ने र अक्सिजन अभावमा मृत्युबरण गर्नु परेको घटनाहरु बढ्दै गईरहेकाले यो अभियान संचालन गरिएको सिलवालले जानकारी दिए ।
मकवानपुर । नेकपा एमालेका नेता एवं बागमती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईको निधनप्रति नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले दुःख व्यक्त गरेको छ । संसदीय दलका सचिव निमा लामाले शोक वक्तव्य जारी गर्दै चौलागाईको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
चौलागाईको निधनले बागमती प्रदेशसभाले एक प्रखर, प्रभावशाली एवं गहन विचारक गुमाएको जनाईएको छ शाेक वक्तव्यमा भनिएकाे छ नेपालको राजनैतिक परिवर्तनका हरेक आन्दोलनमा उनले खेलेको भूमिका र सामाजिक क्षेत्रमा उनले पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै उपेक्षित एवं उत्पिडित वर्गको उत्थान र अधिकार स्थापित गर्न गरेको त्याग नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल सधैं स्मरण गर्ने छ ।
यसैगरी प्रदेशसभा सचिवाललयले प्रदेश सभा बागमती प्रदेश फेसवुक पेजमा प्रदेश सभाका माननीय सदस्य पशुपति चौलागाईकाे निधनमा दुख व्यक्त गर्दै समवेदना प्रकट गरेकाे छ ।
बागमती प्रदेशसभा सदस्य चौलागाईँको कोरोना संक्रमणका कारण मनमोहन मेमोरियल अस्पताल काठमाडाैंमा मंगलबार साँझ निधन भएको अस्पतालले पुष्टि गरेको थियाे । एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका चौलागाईं दोलखा (ख) बाट वागमती प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन् ।
एमालेका प्रभावशाली नेता मानिने चौलागाई दोलखाबाट दुई पटक संघीय संसदको सांसद निर्वाचित भएका थिए ।
चौलागाई २०५६ सालमा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । दोस्रो संविधानसभामा मनाेनित सभासद रहेका चौलागाई एमाले निकट युवा संघका पूर्व अध्यक्ष समेत हुन् । उनी नेकपा एमालेको साबिक बागमती अञ्चलको इन्चार्ज समेत थिए । प्रदेशको चुनावपछि उनलाई वाग्मती प्रदेशको मुख्यमन्त्रीका रुपमा पनि प्रबल दाबेदार मानिएका थियो । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका उनी एमालेका प्रभावशाली नेतामा गनिन्थे ।काठमाडौं पेप्सिकोलामा बस्दै आएका चौलागाईंका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

मकवानपुर । बागमती प्रदेशका सबै जिल्लामा प्रदेश सरकार मातहतको पीसीआर ल्याब स्थापना गरिने भएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएको अवस्थालाई मध्ये नजर गर्दै पीसीआर परीक्षणका लागि ल्याब स्थापना गर्ने सामाजिक विकास मन्त्रालयले निर्णय गरेको हो ।
मन्त्रालयले परीक्षणका लागि तत्काल एन्टीजेन पठाएको र आरटी पीसीआर सेवा संचालनका लागि प्रक्रिया अघि बढाउने निर्णय गरिएको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले जानकारी दिइन् । मन्त्री बस्नेतले भनिन्, ‘प्रयोगशाला भनेको कोरोना संक्रमणको जोखिमको बेला मात्रै होइन, अन्य रोगको पनि परीक्षणका लागि पनि प्रयोगमा आउने महत्वपूर्ण स्वास्थ्य उपकरण हो, त्यसैले अहिले कोरोना संक्रमणको बेला पीसीआर र पछि अन्य परीक्षण गर्न मिल्ने भएकाले सबै ल्याब जिल्लामा स्थापना गर्ने निर्णय गरेका हौं ।’

मन्त्रालयले मेसिन खरिदलगायतका आवश्यक प्रक्रिया शुरु गरेको छ । बागमती प्रदेश अन्तरगतका धादिङ, सिन्धुपाल्चोक, रामेछाप, रसुवा, काठमाडौं, ललितपुर र चितवनमा ल्याब स्थापना हुनेछ । यसअघि प्रदेशका ६ वटा जिल्लामा पीसीआर ल्याब स्थापना भएकाे छ । केही दिन अघि मात्रै दोलखाको चरिकोटमा अत्याधुनिक ल्याब स्थापन स्थापना भइ पीसीआर परीक्षण गर्न शुरु गरिएकाे छ ।
मकवानपुर । देशका विभिन्न भूमागमा मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाकाे सम्भावना रहेकाे छ । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भू-भाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेकोले आंशिक देखि सामान्य बदली रही रहने जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
हाल प्रदेश १, प्रदेश २ र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भाग आँशिक बदली रहेको महाशाखाले जनाएकाे छ। देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका केही स्थानमा मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन समेत महशाखाले अनुरोध गरेकाे छ।
बैशाख २६ गते आइतबार दिउँसो देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ । साथै देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आइतबार राती देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकि प्रदेशहरुमा आँशिक बदली रहने छ । साथै उक्त प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवनको शनिबार शिलन्यास गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशका सचिव मदन भुजेलले एक कार्यक्रमवीच भवन शिलन्यास गरेका हुन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा बागमती प्रदेश प्रहरी कार्यालयको परिसरमा भवन निर्माण गर्न लागिएको हो ।
नेपाल प्रहरी समायोजन भई निकट भविश्यमा प्रदेश प्रहरीको रुपमा रहने भएकोले हालको संरचना अपुग हुने र बागमती प्रदेश प्रहरीको प्रधान कार्यालयको रुपमा विकास गर्नुपर्ने भएको हुँदा उक्त भवनको निर्माण कार्य सुभारम्भ गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । बागमती प्रदेश प्रहरी हाल संघ अन्तर्गत रहेता पनि बागमती प्रदेश सरकारले भवन निर्माण लगायत शान्ति सुरक्षासंग सम्बन्धीत प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा सहयोग गर्दै आईरहेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राज कुमार सिलवालले बताए ।
सिलवालका अनुसार ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ कुल लागत ३२ करोड लागतमा भवन निर्माण गर्न लागिएकाे हाे । १ हजार ३ सय १८ स्क्वायर मिटरमा भवन निर्माण हुने छ । चालु आर्थिक वर्षको लागि मन्त्रालयबाट ५ करोड निकाशा भएकोमा टेण्डर प्रकृया सम्पन्न गरी निर्माण कम्पनीसंग सम्झौता समेत भई निर्माण कार्य प्रारम्भ भएको प्रहरी उपरीक्षक सिलवालले जानकारी दिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको सहयोगमा हालसम्म बागमती प्रदेश (उपत्यका बाहेक) अन्तर्गत ३४ वटा प्रहरी ईकाई निर्माण सम्पन्न भईसकेका छन् । १२ वटा प्रहरी ईकाई निर्माणाधिन र चालु आर्थिक वर्षमा बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय समेत गरी थप २१ वटा प्रहरी ईकाई निर्माणको लागि सम्झौता भई निर्माण कार्य प्रारम्भ भईसकेको छ । हालसम्म ६७ वटा प्रहरी ईकाईहरु निर्माणको लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशबाट सहयोग प्राप्त भएकाे सिलवालले जनाकारी दिए ।