मकवानपुर । देशका विभिन्न भूमागमा मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाकाे सम्भावना रहेकाे छ । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भू-भाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेकोले आंशिक देखि सामान्य बदली रही रहने जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
हाल प्रदेश १, प्रदेश २ र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भाग आँशिक बदली रहेको महाशाखाले जनाएकाे छ। देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका केही स्थानमा मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन समेत महशाखाले अनुरोध गरेकाे छ।
बैशाख २६ गते आइतबार दिउँसो देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ । साथै देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आइतबार राती देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकि प्रदेशहरुमा आँशिक बदली रहने छ । साथै उक्त प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

