मकवानपुर । नेकपा एमालेका नेता एवं बागमती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईको निधनप्रति नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले दुःख व्यक्त गरेको छ । संसदीय दलका सचिव निमा लामाले शोक वक्तव्य जारी गर्दै चौलागाईको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
चौलागाईको निधनले बागमती प्रदेशसभाले एक प्रखर, प्रभावशाली एवं गहन विचारक गुमाएको जनाईएको छ शाेक वक्तव्यमा भनिएकाे छ नेपालको राजनैतिक परिवर्तनका हरेक आन्दोलनमा उनले खेलेको भूमिका र सामाजिक क्षेत्रमा उनले पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै उपेक्षित एवं उत्पिडित वर्गको उत्थान र अधिकार स्थापित गर्न गरेको त्याग नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल सधैं स्मरण गर्ने छ ।
यसैगरी प्रदेशसभा सचिवाललयले प्रदेश सभा बागमती प्रदेश फेसवुक पेजमा प्रदेश सभाका माननीय सदस्य पशुपति चौलागाईकाे निधनमा दुख व्यक्त गर्दै समवेदना प्रकट गरेकाे छ ।
बागमती प्रदेशसभा सदस्य चौलागाईँको कोरोना संक्रमणका कारण मनमोहन मेमोरियल अस्पताल काठमाडाैंमा मंगलबार साँझ निधन भएको अस्पतालले पुष्टि गरेको थियाे । एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका चौलागाईं दोलखा (ख) बाट वागमती प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन् ।
एमालेका प्रभावशाली नेता मानिने चौलागाई दोलखाबाट दुई पटक संघीय संसदको सांसद निर्वाचित भएका थिए ।
चौलागाई २०५६ सालमा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । दोस्रो संविधानसभामा मनाेनित सभासद रहेका चौलागाई एमाले निकट युवा संघका पूर्व अध्यक्ष समेत हुन् । उनी नेकपा एमालेको साबिक बागमती अञ्चलको इन्चार्ज समेत थिए । प्रदेशको चुनावपछि उनलाई वाग्मती प्रदेशको मुख्यमन्त्रीका रुपमा पनि प्रबल दाबेदार मानिएका थियो । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका उनी एमालेका प्रभावशाली नेतामा गनिन्थे ।काठमाडौं पेप्सिकोलामा बस्दै आएका चौलागाईंका श्रीमती, एक छोरा र दुई छोरी छन् ।


