मकवानपुर / मकवानपुर जिल्ला भिमफेदी गाउँपालिका वडा ७ मा भरुवा बन्दुक पड्कदा एक जना घाइते भएका छन् । वडा ७ कोगटे बस्ने २८ वर्षीय गगनबहादुर सिंजाली घाइते भएका हुन् ।
सोही स्थानको भालेडाँडा सामुदायिक वनमा बाख्रा चराउन गएकोमा उनी घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सिंजालीलाई घाइते अवस्थाबाट उद्वार गरी आफन्तले हेटौडा अस्पताल ल्याएको प्रहरीले जनाएको छ । सिंजालीको दाहिने साईडमा कम्मरको भागमा लागेको चोट गोली लागेको जस्तो देखिएपछि प्रहरीले घटना स्थलमा अनुसन्धान गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा घाईते गगन बहादुर सिंजालीले आफैले बोकेको अवैध भरुवा बन्दुक पड्कन गई घाईते भएको खुल्न आएको प्रहरी नायव उपरीक्ष जयश्वर रिमालले बताए ।
घटना स्थलबाट भरुवा बन्दुक थान १ समेत बरामद गरिएको तथा घाईतेको हाल प्रहरीको निगरानीमा उपचार भईरहेको घटना बारे थप अनुसन्धान भईरहेको रिमालले बताए ।

