मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय हेटौंडालाई ३० थान मोटरसाइकल हस्तान्तरण गरेको छ।
बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण पौडेललाई मोटरसाइकलको साँचो हस्तान्तरण गरेका हुन् । प्रदेश प्रहरीको कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यले हस्तान्तरण गरिएको ३० थान मोटरसाइकल प्रदेश अन्तर्गतका १० जिल्लाका प्रहरी कार्यालय तथा ट्राफिक कार्यालयहरूलाई प्रदान गरिने बताइएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको ९७ लाख २० हजार रुपैयाँ बजेटबाट खरिद गरिएका १६० सीसीका ३० वटा मोटरसाइकल गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सवारी साधनको विकल्पका रूपमा उपलब्ध गराइएको हो ।
मोटरसाइकल हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री बानियाँले प्रहरीको मनोबल उच्च बनाउनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । ‘समन्वय, सहकार्य र सहअस्तित्वको भावनाका साथ शान्ति सुरक्षा कायम गर्न सरकार र प्रहरीबीच सहकार्य आवश्यक रहेको छ’ उनले भने । आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जनताको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई प्रदेश सरकारले निरन्तर सहयोग गर्दै आएको बताए ।उनले भने ‘जेनजी आन्दोलनका क्रममा क्षति पुगेका प्रहरी कार्यालयहरूको मर्मतसम्भारका लागि समेत सरकारले बजेट विनियोजन गरेको छ ।’
प्रदेश प्रहरी प्रमुख डिआइजी अरुण पौडेलले प्रदेश सरकारको सहयोगमा १ अर्ब रुपैयाँभन्दा बढी लागतमा ७२ वटा प्रहरी कार्यालय भवन निर्माण भइसकेको र केही अझै निर्माणाधीन अवस्थामा रहेको बताए ।
‘आन्दोलनका क्रममा सवारी साधन क्षति हुँदा कार्यसम्पादनमा असर परेको छ’ उनले भने ‘प्रहरीलाई चारपाङ्ग्रे सवारी साधनको आवश्यकता छ ।’ ‘उक्त सवारी साधनले दैनिक शान्ति सुरक्षा, निर्वाचन लक्षित सुरक्षा योजना तथा अपराध रोकथाममा प्रभावकारी भूमिका रहन्छ’ उनले भने ।
मकवानपुर । बागमती प्रदेश सरकारले बैठकले ३२ वटा ‘प्रदेश गौरवका आयोजना’ छनोट गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न मन्त्रालयहरूले प्रस्ताव गरेका प्रदेश गौरवका आयोजना तथा बहुवर्षीय आयोजनालाई पारित गरेको हो । सरकारले प्रदेशमा ३२ वटा आयोजनाहरूलाई गौरवको आयोजनाका रूपमा अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।
‘बुधबारको बैठकले गौरवका आयोजनाको शीर्षक मात्र स्वीकृत गरेको छ’ मन्त्री तामाङले भने ‘बजेटको हकमा आर्थिक मामिला मन्त्रालयले वित्तीय व्यवस्थापनको क्षमता हेरेर तय गर्नेछ ।’
अरु के के भए निर्णय:
• केही समयदेखि रोकिएको प्रदेश सचिवहरूको तलबका विषयमा प्रदेश ऐनले तोके बमोजिम प्रक्रिया अगाडि बढाउने ।
• प्रदेश निजामती सेवा नियमावलीको मस्यौदा तयार गरी परामर्शका लागि लोक सेवा आयोगमा पठाउने। निजामती सेवा ऐनले निदृष्ट गरे बमोजिमका विषयमा थप प्रस्ट पार्न र ऐनले नसमेटेका विषयहरूलाई तोकिएको ढाँचामा प्रस्तुत गर्न नियमावली तयारी गरिएको ।
• ‘विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष नियमावली २०८२’ स्वीकृत । उक्त नियमावली सामाजिक विकास मन्त्रालयको प्रस्तावमा पेश गरिएको हो ।
• कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा ‘प्रादेशिक कृषि थोक बजार सञ्चालन निर्देशिका २०८२’ को मस्यौदा स्वीकृत ।
चितवन । थारु कला संस्कृति संरक्षण गर्न चितवनको खैरहनीमा ११ औं खिचरा महोत्सव–२०८२’ सुरु भएको छ ।
बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले थारु समुदायको महत्वपूर्ण चाड माघी ‘खिचरा’ पर्वको संरक्षण गर्न महोत्सव नै आयोजना गर्नु सकरात्मक कदम भएको बताएका छन् । खैरहनी–५ गौचरनमा सुरु भएको खिचरा महोत्सवको मंगलबार उद्घाटन गर्दै उनले कृषिसँग घनिष्ठ सम्बन्ध रहेको थारु समुदायको उत्थानका लागि प्रदेश सरकार सदैव तयार रहेको बताए ।
“आफ्नो संस्कृति नयाँ पुस्तालाई सिकाउनु आवश्यक छ । कृषि मन्त्रालयको तर्फबाट थारु समुदायको कृषि पद्धतिलाई अझ राम्रो र आधुनिक बनाउन सकिन्छ, त्यसका लागि बागमती प्रदेश सरकारले सहयोग गर्नेछ” मन्त्री पौडेलले भने । मन्त्री पौडेलले भदौ २३ को आन्दोलनलाई युवा विद्रोहको रूपमा व्याख्या गरेका छन् । तर, सोही आन्दोलनलाई दुरुपयोग गरेर २४ गते देश जलाउने काम भएको भन्दै उनले आक्रोश व्यक्त गरे । “युवा विद्रोहलाई दुरुपयोग गरेर हिंसा मच्चाउने र देश जलाउने तत्वहरूलाई जनताले चिन्न जरुरी छ,” उनले थपे ।
थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले आयोजना गरेको महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव समुद्घाटन अघि झाकी सहितको शोभा यात्रा निकालिएको थियो । चितवनका थारु समुदायले खिचरा पर्वलाई नयाँ वर्षको रुपमा मनाउने गरेका छन् । थारू समुदायको सांस्कृतिक, वेशभूषा, भाषा–साहित्य, कला–संस्कृति एवं थारू खानाका परिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव मूल समारोह समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिए।
‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा एक सय ५० स्टल रहेका छन् । महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवर्द्धन, स्थानीय कला संस्कृतिको प्रवर्द्धन, स्थानीय स्तरमा उत्पादित वस्तुको प्रवर्द्धन एवं शैक्षिक, वित्तीय संस्था र विभिन्न संघसंस्थाका स्टल रहेको छ । यस्तै महोत्सव परिसरमा थारु कलासंस्कृति झल्किने आर्ट ग्यालरी समेत निर्माण गरिएको छ ।
मकवानपुर । आगामी राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशतर्फमा नेपाली कम्युनिष्ट पार्टीले एक महिला र एक पुरुषको मनाेनयन दर्ता गराएको छ । यस अघि नेकपा एमाले नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग गठबन्धन गर्ने तयारी भएपनि सहमति टुटेपछी नेपाली कम्युनिष्ट पार्टीले एकल उम्मेदवार दर्ता गरेको हाे ।
गठबन्धनबाट बाहिरीएपछि एकल उम्मेदरवार मनोनयन नेपाली कम्युनिष्ट पार्टीले बागमतीमा प्रेमप्रसाद सापकोटा र सरोजकुमारी झाको मनोनयन दर्ता गरेको छ । सिन्धुपाल्चोक जिल्लाका सापकोटा हाल पार्टीको केन्द्रीय सदस्य हुन् । सापकोटाकाे लागि पार्टी नेता प्रेम बहादुर पुलामी प्रस्तावक र बकैया गाउँपालिका उपाध्यक्ष भक्त खत्री समर्थक रहेका छन् ।
यसै गरी सरोजकुमारी झाको प्रस्तावकमा हेटौंडा उपमहानगरपालिका मेयर मीना कुमारी लामा र समर्थकमा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर रहेका छन् ।
मकवानपुर । आगामी राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशतर्फको एक सिटमा गठबन्धनबाट नेपाली कांग्रेसले चितवनकी गीता कार्की देवकोटालाई उम्मेदवार बनाएको छ ।
गिताको लागि प्रस्तावकमा नेपाली काँग्रेसका प्रलाह सापकोटा र समर्थक नेकपा एमालेबाट बागमती प्रदेश सभा सदस्य तथा स्वास्थ्यमन्त्री किरण थापा रहेका छन् । माघ ११ मा हुने निर्वाचनमा नेपाली कांग्रेसले चितवनको महासमिति सदस्य रहेकी देवकोटालाई उम्मेदवार बनाएको हाे ।
उनी पेसाले मौरीपालक कृषक हुन् । रत्ननगर नगरपालिका–१४, डुम्री चोक निवासी देवकोटालाई ३२ वर्षे राजनीतिक यात्रामा पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएकी हुन् ।
कांग्रेसको तर्फबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन भएकी देवकोटा विगत ३२ वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय छिन् । देवकोटाले उम्मेदवारीलाई उनको लामो राजनीतिक सङ्घर्ष र सामाजिक योगदानको रूपमा लिएको बताइन् ।