मकवानपुर । बागमती प्रदेश सभा दशौँ अधिवेशनको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को प्रि बजेट पेश भएको छ । प्रदेश सभाको आजको दोस्रो बैठकमा प्रि बजेट पेश भएसँगै बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको लागि प्रि बजेट पेश गरेलगत्तै सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको अर्को बैठक भोलि विहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका हुन् । भोलि बस्ने बैठकमा प्रि बजेटमाथि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
यस अघी आजै बसेको प्रदेशसभाको पहिलो बैठकमा ५ वटा अध्यादेश पनि पेश भएको थियो । प्रदेश सभाको अधिवेशन नचलेको समयमा सरकार संचालनको लागि अत्यावश्यक ऐनहरुलाई अध्यादेशमार्फत् ल्याएको थियो । प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ र स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ सभामा पेश गरेका हुन् ।
त्यसैगरी, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ पेश गरे । मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७८ संसदमा पेश गरेका छन् । सरकारले सभा संचालन नभएको समयमा ल्याएका अध्यादेशशरु सदनबाट पास गर्नुपर्ने व्यवस्था रहेको छ । सदनबाट पास नभए अध्यादेश कानुन वन्न नसक्ने कानुनी व्यवस्था रहेको छ ।
मकवानपुर । बागमती प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने भएका छन्। पाँच दलीय सत्ता गठबन्धनबीच यसअघि भएको सहमति अनुसार बानियाँ मुख्यमन्त्री बन्न लागेका हुन्।
स्रोतका अनुसार‚ प्रदेश सरकारले बजेट सार्वजनिक गरेपछि मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा दिनेछन्। त्यसपछि बानियाँ नयाँ मुख्यमन्त्री बन्नेछन्। प्रदेश सरकारले असार १ गतेभित्र बजेट प्रदेश सभामा पेश गर्नुपर्ने व्यवस्था छ।
सरकारको पदावधि एक वर्ष बाँकी रहँदा गत कात्तिक ११ गते नेकपा (एकीकृत समाजवादी) का पाण्डे मुख्यमन्त्री बनेका थिए। त्यस वेला आधा-आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको थियो।
कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता बानियाँले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्ने वेला भएकाले जिम्मेवारीको बाँडफाँड पनि यसै अनुरूप गरिएको बताए। उनले भने‚ “बजेट एउटाले ल्याउने र चुनावी सरकारको नेतृत्व अर्कोले गर्ने भन्ने जेन्टलमेन एग्रिमेन्ट भएको छ‚ यसै हुनेछ।”
एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलले भने मुख्यमन्त्री फेरिनेबारे आफूलाई जानकारी नभएको बताइन्। “विगतमा भएको सहमति मलाई थाहा छैन, अहिले फेरिने कुरो पनि थाहा छैन‚” सिग्देलले भनिन्‚ “यो पार्टीको आन्तरिक कुरा हो।”
बानियाँ यसअघि पनि मुख्यमन्त्रीको होडमा थिए। नेकपा (एमाले) विभाजन भएर एकीकृत समाजवादी बनेपछि तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी थिइन्। त्यससँगै बानियाँ मुख्यमन्त्री बन्ने चर्चा थियो। तर‚ गठबन्धनको भागबन्डामा मुख्यमन्त्री एकीकृत समाजवादीको भागमा पर्यो। सोही अनुसार पाण्डे मुख्यमन्त्री भए।
प्रदेश सभामा अहिले १०९ सांसद छन्। जसमध्ये सत्ता गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) का २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका एक सांसद छन्।
त्यस्तै एमालेका ४३ सांसद छन्। विवेकशील साझाका तीन, नेपाल किसान मजदूर पार्टी र राप्रपाका एक-एक सांसद छन्। सरकार गठन गर्न ५५ सांसदको समर्थन चाहिन्छ।
himalkhabar.com बाट
मकवानपुर । बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १६ गते प्रस्तुत गरिने भएको छ । प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नेछन ।
प्रदेशसभा सचिवालयमा विहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १६ गते ल्याउने सहमति भएको हो ।
जेठ १६ गते दिउँसो २ बजे बस्ने पहिलो बैठकमा प्रदेश प्रमुख शर्माले आव ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
जेठ १६ गतेनै बस्ने दोसो बैठकमा सभामा प्रस्तुत नीति कार्यक्रम मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले टेबुल गर्ने र जेठ १७ गते छलफल हुने कार्यसूचि तय भएको छ ।
नीति तथा कार्यक्रममाथि जेठ १८ गते सभामा छलफल हुनेछ । सोही दिन नीति कार्यक्रम माथी सभामा उठेका प्रश्नहरुको जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत हुने भएको छ ।
मकवानपुर । बागमती प्रदेश सभा बैठक जेठ १३ गते शुक्रबार (भोलि) बस्ने भएको छ । प्रदेश सभा भवन हेटौंडामा बस्ने बैठकमा ५ वटा अध्यादेश पेश हुने कार्यसुची रहेको छ ।
विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, प्रदेश युवा परिषद ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेश हुने भएका छन् । यसै गरि प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७८ पनि संसदमा पेश हुने भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
यी अध्यादेशहरु संसद संचालन नभएको समयमा प्रदेश सरकारले ल्याएको थियो ।
मकवानपुर । आफ्नो उमेदवारलाई सहयोग नगरेको भन्दै नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीले आफ्नो १ जना गाउँ कमिटी अध्यक्षलाई कारवाही गरेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका कमिटीका अध्यक्ष हरि थापा कारवाहीमा परेका छन्। उमेदवार छनौटमा आफूअनुकुल उमेदवार नभएपछि सूर्य चिन्हमा भोट माग्दै हिँडेको आरोप लागेका अध्यक्ष थापालाई नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीले कारवाही गरेको पत्र पठाएको हो।
स्थानीय तह निर्वाचनमा घोषितरुपमै पार्टीको आधिकारिक उमेदवारलाई असहयोग गरेको भन्दै बागमती प्रदेश कमिटीले पार्टीको सबै पदबाट कारवाहीस्वरुप अर्को निर्णय नहुँदा सम्मको लागि निलम्बन गरेको हो।
जेठ २ गतेको पत्रमा ‘पाँच दलीय गठबन्धनका उमेदवारलाई घोषितरुपमै असहयोग गरेर पार्टीलाई गम्भीर आघात पुर्याउने काममा संलग्न भई पार्टीले जारी गरेको वक्तव्यको समयसीमा भित्र समेत आधिकारिक पार्टी लाइनमा नउभिएका कारण पार्टी विधान र बागमती प्रदेश समितिको निर्वाचन निर्देशिका-२०७९ अनुसार पार्टीको सबै पदबाट निलम्बन गरिएको’ भनेर उल्लेख गरेको छ।
कारवाहीमा परेका नेता थापाले भने कागजी कारवाहीले केही नहुने प्रतिकृया दिएका छन्। पार्टीले भने थापालाई निलम्बन गरेसँगै गाउँकमिटीको लागि रामप्रसाद बोहोरालाई कार्यबहाक अध्यक्ष तोकेको छ।