मकवानपुर । बागमती प्रदेश सभा दशौँ अधिवेशनको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को प्रि बजेट पेश भएको छ । प्रदेश सभाको आजको दोस्रो बैठकमा प्रि बजेट पेश भएसँगै बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको लागि प्रि बजेट पेश गरेलगत्तै सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको अर्को बैठक भोलि विहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका हुन् । भोलि बस्ने बैठकमा प्रि बजेटमाथि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
यस अघी आजै बसेको प्रदेशसभाको पहिलो बैठकमा ५ वटा अध्यादेश पनि पेश भएको थियो । प्रदेश सभाको अधिवेशन नचलेको समयमा सरकार संचालनको लागि अत्यावश्यक ऐनहरुलाई अध्यादेशमार्फत् ल्याएको थियो । प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ र स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ सभामा पेश गरेका हुन् ।
त्यसैगरी, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ पेश गरे । मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७८ संसदमा पेश गरेका छन् । सरकारले सभा संचालन नभएको समयमा ल्याएका अध्यादेशशरु सदनबाट पास गर्नुपर्ने व्यवस्था रहेको छ । सदनबाट पास नभए अध्यादेश कानुन वन्न नसक्ने कानुनी व्यवस्था रहेको छ ।

